Mero Sabda

मजदुर दोस्रो दर्जाको नागरिक होइन


– ऐतराज नेम्वाङ ‘सन्तोष’

इलाममा काम गर्दा एउटा स्मरणयोग्य कुरा के भने त्यस बेला झापाबाट धेरै जना इलाम पढ्नका लागि जान्थे । क्याम्पस पढ्नका लागि कोठा भाडामा लिएर बस्नै पर्ने । विद्यार्थीहरुले बजारमा कोठा भाडा लिने कुरै भएन । त्यसैले गाउँमा कोठा भाडा लिएर बस्थे । क्याम्पस आउँदा–जाँदा बाटोमा कोही कसैसँग गफ गरेकै हुन्थे । युवा मन । बाटामा कुनै युवती भेटे आँखा जुधाउने दुस्प्रयासहरु गर्थे होलान् । त्यो त स्वाभाविक नै हो ।

तर जब बेलुकी कोठामा आराम गरेको बेलामा त्यहाँका स्थानीय युवाहरु विद्यार्थीको घर अगाडि खाएर खुब गाली गर्थे । कोही–कोही त घरमाथि नै चढेर धाकधम्की दिन्थे । घरको भित्तामा लातले हान्थे । विचरा विद्यार्थी चुँ नबोली ढोकामा चुकुल लगाएर बस्न बाध्य हुन्थे । नयाँ ठाँउ । कहिले नचिनेका अल्लारे युवाहरु रक्सीले मातेर कराएको बेला बाहिर निस्केर के गर्न सक्थे र ।

फेरि भोलि बिहान उज्यालो हुन्थ्यो सबै चुपचाप । यस्ता घटनाहरु प्राय मैले देखेको छु । बजारका युवाहरु पनि हामी जस्तो कोही नौला मानिस देख्दा केही पावर देखाउने प्रयास गर्दा रहेछन् । त्यो मैले भोगेको अनुभव हो ।

हामीले उमाकान्त शिवाकोटीको घर निर्माण गर्दै थियौं । त्यो बेला जिरो किलोमिटर स्थित सडक विभागको भवन बनाउनका लागि हाम्रो गाउँबाट धेरै जना सथीहरु आएका छन् भन्ने सुनेर एक दिन भेट गर्न गयौं । मालापथबाट केही ओरालो लागेपछि सडक विभागको अफिस छेउमा साथीहरुलाई भेटें । प्रेम समाल, कुमार कार्कीहरु जम्मा पन्ध्र–बीस जना आएका रहेछन् । साइँला दाइको सम्पर्कबाट त्यहाँ भवन बनाउनका लागि आएका रहेछन् उनीहरु । काम गर्दै जाने क्रममा कति जना काम गर्न नसकेर फिर्ता गए छन्, तर सन्थालहरु र प्रेम समाल, कुमार कार्की चाहिं धेरै महिनासम्म त्यहाँ काम गरे ।

म पनि कहिलेकाहिं साथीहरुलाई भेट्न गइरहन्थें । कहिले उतै रात बिताउथें । उनीहरु बसेको घर दुई तलाको थियो । तल्लो तला भान्सामा प्रयोग गर्थे । माथिल्लो तलामा सुत्ने ओछ्यान थियो । त्यो कोठाको भुईं माटोले लिपेको थियो । तर पनि भुईं भने चिरा चिरा परेको थियो । जब ओछ्यान लगाएर सुतिन्थ्यो मस्तनिन्द्रामा पेट र कम्मर चिलाउन थाल्थ्यो । शुरुशुरुमा त कन्याएर चिलाइ मेटाउने प्रयास गरियो । जब हद भएर उठेर हे¥यो केही नदेख्ने । मैनबत्ती बालेर हे¥यो, तब उपियाँ उफ्रेको देखिन्थ्यो ।

के हुँदो रहेछ भने जब हामी सुत्थ्यौं, तब हामीले लगाएको सर्ट सरेर केही माथि सर्दो रहेछ र कम्मरको भाग खाली हुँदोरहेछ । त्यसै बेला उपियाँले हमला गर्दोरहेछ । साथीहरु मैनबत्ती बालेर उपियाँ मार्ने असफल प्रयास गर्थे । उपियाँ चाहिं उफ्रेर कहाँ पुगिसक्थ्यो । कहाँ मार्न सक्नु । त्यसरी नै फेरि निन्द्राले ब्याकुल भएर फेरि सुतिन्थ्यो । उज्यालो भएर जब ओछ्यान पल्टाएर उपियाँ हे¥यो, कतैकहीं एउटा पनि फेला पर्थेन । धेरै दिनसम्म अनुसन्धान गरियो । दिँउसो एउटै नदेखिने तर जब रात पथ्र्यो फेरि उपियाँको हमला ।

धेरै अनुसन्धान पश्चात् थाहा भो त्यो भुईंमा चिराचिरा परेको ठाउँमा लुक्ने रहेछ । दिनभर त्यहीं लुक्यो, अनि रात परेपछि वाहिर निस्कने रहेछ । ओ…..हो……हो…..त्यो ठाउँको कुरा सम्झियो भने आज पनि शरीर चिलाउन थाल्छ ।

त्यस कामको ठेकेदार शिव खतिवडा लगायत अरु पनि कोही हुनुहुदोरहेछ । शिव खतिवडा त्यहीं पल्लो घरमा बस्नुहुँदो रहेछ । त्यहाँ काम गर्नेहरुका लागि जब रात परेपछि दैनिकी जसो रक्सीको व्यवस्था हुँदोरहेछ । दिनभर काम ग¥यो अनि बेलुकी भए पश्चात् कोठामा रक्सी ल्यायो खायो । कहिले कसको पालो, कहिले कसको पालो । किनकि म प्राय त्यहाँ गएको बेला खाएर रमाइलो गरिरहेको देख्यौं । म त्यहाँ पुगेपछि म पनि त्यही भीडमा सरिक हुन्थें । नाच्ने नाचिरहेका हुन्थे । लाग्थ्यो– दिनभरको परिश्रमको थकाइ र आफ्नो परिवारको विछोडको पीडा हरेक चुस्की र गीतको भाकाबाट भुलिरहेको हुन्थे । आफन्तसँग कुरा गर्नका लागि फोनको सुविधा त्यति सहज थिएन । फोन गर्नु प¥यो भने बजारको पिसिओ नै पुग्नुपथ्र्यो । फेरि पिसिओबाट फोन गर्दा सहजै फोन लाग्थेन । किनकि शनिश्चरे बजारमा एक मात्र पिसिओ गौरी दाइको घरमा थियो । जहाँ सधैं भीड हुन्थ्यो । आफूले यताबाट फोन गर्दा अचानक फोन लागिहाले रिसिभ गरेपछि मान्छे बोलाउन पठाउनु पथ्र्यो । मान्छे कहिले बोलाएर ल्याउने । त्यसैले फोन गर्नलाई त्यति सहज थिएन ।

कोठामा बस्दा हेर्ने न टिभी थियो, न त गीत सुन्नलाई केही उपाय थियो । त्यसैले उपाय त केवल रक्सीको चुस्की सहितको गानाबजाना र नाच मात्र थियो । साथीहरुसँग काम गर्ने एक जना रुपा भन्ने युवती थिई । प्रायजसो ती युवती साथीहरुको साथैमा हुन्थी । काम गर्ने साइडदेखि केही मुन्तिर उसको घर थियो, तर पनि प्राय यतै साथीहरुसँगै बसेर काम गर्थी र साथीहरुसँग नै खाना खान्थी ।

एक दिन साथीहरु बेलुका रक्सी पिउँदै रमाइलो गरिरहेको बेला अचानक हामी बसेको केही मास्तिर हल्लीखल्ली सुनियो । केहीबेर पश्चात् कोही जोरजोरले कराएको सुनिन थाल्यो । हामी सबै गाना गाउन छाडेर हल्ला भएतर्फ आकर्षित भयौं । हामीले बुझ्नै सकेनौं, त्यहाँ के भइरहेछ । केहीबेरमा गाली गरेको शब्दहरु सुनिन थाल्यो । आवाजहरु हामी नजिक आउन थाल्यो । पाँच–सात जना स्थानीय युवाहरु हामीलाई नै लक्षित गर्दै गाली गरिरहेका रहेछन् ।

हामी सबै जना अलमलमा पर्यौं । हामीलाई किन गाली गरिरहेछन् ? हामी आफ्नो धुनमा रमाइरहेको अवस्थामा कसलाई के असर भयो ? हामी एकअर्कालाई हेर्दै प्रश्न तेर्साउन थाल्यौं । नयाँ ठाँउ । अपरिचित मानिसका बीच हामी कसैसँग पनि त्यति हेलमेल भएका थिएनौं । हामी त बस दिनभर काम ग¥यो, बेलुका भेला भयो, रमाइलो ग¥यो । नाचेर थाके पश्चात् खाना खायो र बिहानको प्रतिक्षाको लागि निन्द्रामा मस्त ।

तर आज यो के भइरहेछ ? हामीले एक अर्कालाई प्रश्न गर्यौं । कसले के ग¥यो ? तर कसैले पनि जवाफ दिएन । हेर्दाहेर्दै उनीहरु हामी बसेको घरमाथि नै चढ्न थाले । मुखमा गालीको पिचकारी निस्किरहेको थियो । हामीले देख्यौं, उनीहरु पनि रक्सी पिएर मस्त भएका रहेछन् । हामीले उनीहरुलाई रोकेर के गल्ती भयो हामीबाट ? भन्दै प्रश्न गर्न थाल्यौं तर उनीहरुले हाम्रो प्रश्न सुन्ने कष्ट नै गरेनन् । उल्टै मुख छाड्दै हामीतिर आक्रमण गर्ने प्रयास गर्न थाले । हामी पनि के कम । साथीहरु अलिअलि रङ्गेरङ्गे भएको बेला कोसँग डराउने । हेर्दाहेर्दै रणभ्रमिमा परिणत हुनथाल्यो बास बसेको घर । कसले कसलाई कति हाने कसैलाई पत्तै भएन ।

तानातान हानाहानको अवस्था आएपछि को–को कता भागे । अँध्यारोमा कसले कसलाई कुटाइ हाने पत्तै भएन । केहीबेरको कुस्ताकुस्तीको अवस्थापछि केही मत्थर भयो । हल्ला गर्ने स्थानीय युवाहरु अलिकतिमाथि पुगे । टाढैबाट भनाभन चलिरह्यो । अन्त्यमा थाहा भो विषय के रहेछ भनेर । विषय रहेछ ती रुपा भन्ने युवतीको बारेमा । जो विचरी श्रीमान्ले छाडेर हिंडेको र साथमा सानो बालक सहित आमा र बुबासँग बस्दै आएकी थिइन् । त्यहीं नजिक काम पाएको हुनाले ऊ त्यहीं काम गर्थिन् । हामी झापालीहरु विन्दास तरिकाले काम गर्ने र खानपिनका साथै सधैं रमाइलो गर्ने हुनाले हामीसँग जो पनि प्राय आकर्षित हुन्थ्यो । त्यसैले ऊ हाम्रो साथीहरु सँग प्राय सँगै बस्थिन्, खाना त्यहीं खान्थिन् ।

त्यही कारणले गर्दा त्यहाँका स्थानीय युवाहरु हाम्रा साथीहरुसँग आक्रामक भएका रहेछन् । सायद नौलो मानिससँग ती महिला धेरै हेलमेल भएकोले इष्र्या जागेको होला । उनीहरुको व्यक्तिगत सम्बन्ध के थियो, त्यो हामीलाई थाहा हुने कुरा पनि होइन तर कुनै नौलो ठाँउमा कोही मजदुर गएर निर्माणको काम गर्छ भने त्यहाँको समाजले ती मजदुरको हिफाजत गर्ने कर्तव्य हो । हामी पनि कोही अपरिचित मजदुर काम गर्न आए भने हामीले संरक्षण दिनुपर्छ । किनकि निर्माण मजदुर पनि कुनै समाजको जिम्मेवार नागरिक हुन् । उनीहरु कहिले पनि दोस्रो दर्जाको नागरिक होइनन् । उनीहरुको पनि इज्जत हुन्छ ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।