Mero Sabda

मजदुर भनेको छुट्टीको दिन मात्ने हुन्थ्यो


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

म कसैको दुःखपिरमा सहयोग गर्न चाहने मान्छे । झन् आफ्नै क्षेत्रमा काम गर्ने निर्माण मजदुरको पिरमर्कामा अगाडि नबढ्ने त कुरै थिएन । कहींकतै समस्या आइपरेमा म धेरै पटक अगाडि आएर बोलेको छु । मैले मेरो हैसियत बराबरको समस्याहरु हल गरेको छु ।

त्यो बेला विर्तामोड एरियामा भारतीय मजदुरको आगमन नगन्य संख्यामा मात्र थिए । एक–दुई जना कतै–कतै मात्र देखिन्थे । भवन बनिने क्रम पनि धेरै सुस्तगतिमा थियो । त्यस समयमा धेरै ठूलो भवन बनिएको भनेर भन्दा शिव सिनेमा हलको ठीक अगाडि पाँच तलाको घर, हालको परिवार पाउरोटी भएको भवन र उर्वसी सिनेमा हलतर्फ जाने बाटोको दाहिनेपट्टि एक जना लाहुरेको अन्डरग्राउन्ड घर मात्र गन्तीमा आँउथ्यो । त्यस भवन बाहेक अरु प्रायः भवनहरु साना–साना मात्र थिए ।

घर ढलाइ गर्ने मिक्सचर मिसिन पनि एक जना थापा भन्ने मान्छेको मात्र थियो । त्यसको एक–दुई वर्षपछि अरु एक–दुई जनाले फेरि यस्तै मिसिन ल्याएर चलाउन थालेका थिए । अहिले जस्तो चार–पाँच तला भवन ढलाइ गर्नुपरेमा एउटै घरमा चालिस–पचास जना ढलाइ मजदुरहरु चाहिन्थ्यो । बिहान दश बजे शुरु गर्दा रातको कति बज्ने हो पत्तै हुन्थेन । पानी परोस् या घाम लागोस्, त्यसको केही पर्वाह नगरी थालेको काम सकेर मात्र जान्थे । ती ढलाइ मजदुरको अवस्था त्यसबेला निकै दयनीय देखिन्थ्यो । तर के गर्नु मजदुर भनेको मजदुर नै हो । अर्काको खटनमा काम गर्नुपर्ने । काम गर्दै जाँदा अशक्त भएर काम छाड्दा भोलिबाट काम गर्न नै बोलाउँदैन थिए । सिल्भरको आरीमा मसला बोकेर रड बाँधेको छतमा हिँड्दा चप्पल चुँडिएर त कसैको चप्पल फाटेर जबरजस्ती काम गर्दा पाइतालाको हालत हेरिनसक्नु हुन्थ्यो । त्यो अवस्था देखेर मेरो मन जिरिङ्ग भएर आँउथ्यो । संगठनको नाममा साधारण मजदुरबाट लेवी बापत वार्षिक रकम उठायो । अफिस खर्च भन्यो । जस्ताको त्यस्तै ।

यस स्थानमा सर्बप्रथम खुलेको संगठनमा स्थानीय निर्माण मजदुरहरु अनिवार्य आवद्ध हुन आह्वान गरियो । ‘विश्वका मजदुर एक हौं’ भन्ने नारा बोकेर खुलेको क्युपेक भन्ने संस्था कुनै एक पार्टीको अन्र्तगतमा पर्छ भन्ने त सामान्य नागरिकले बुझ्न सकेको थिएन । त्यो संस्थाले प्राय अधिराज्यमा फैलन थालिसकेको थियो । तर त्यस संस्थामा प्रवेश गरेपछि मुठ्ठी उचालेर सपथ खानु र हरेक शब्दमा ‘कमरेड’ भन्ने शब्द प्रयोग गर्नुले पक्कै कम्युनिष्टतर्फ झुकाउ राखेको हुने खुलस्त भइसकेको थियो ।

मैले धेरै ठाँउमा केही जिज्ञासाहरु राख्ने गरेको थिएँ– ‘के मजदुर सबै कम्युनिष्ट हुन् ?’ र, ‘कमरेड भन्ने शब्द कहाँ र के मा प्रयोग हुन्छ ?’ त्यो प्रश्नको उत्तरमा ‘कमरेड भनेको साथी हो’ भन्ने जवाफ पाएँ । ‘ठीकै छ त ! कमरेड भन्ने शब्द साथीलाई भनिन्छ भने यो शब्द कुन देशको हो ?’ भन्ने प्रश्न गरे । त्यो प्रश्नको जवाफ उहाँहरुले हाँसेर ‘यो कमरेड भन्ने शब्द अंग्रेजी हो’ भन्दै दिनु भो । ‘ए अंग्रेजी हो ? त्यसो भए निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुले अंग्रेजी पढ्न जान्दछन् त ?’ भनेर मैले प्रतिप्रश्न गरें ।

त्यसपछि उहाँहरुले ‘के कमरेड नभनेर जय नेपाल भन्नु’ भन्दै जंगिनु भो । अनि मैले बिस्तारै भनें, ‘कमरेड पनि भन्नु पर्दैन र जय नेपाल पनि भन्नु पर्दैन । यदि स्वच्छ मनले मजदुरको हितको काम गर्ने हो भने नेपालको जय होस् भन्दा हुन्छ’ भने । त्यसपछि उहाँहरु पनि मबाट केही तर्सिएझैं जस्तो व्यवहार गर्न थाल्नु भो ।

उहाँहरु र मेरो त्यस्तो वार्ता हुँदा पनि मैले त्यो संगठन छाडिनँ । किनकि म सधैं मजदुरको हक, हित र अधिकारको कुरा गर्न चाहने मानिस थिएँ । किनकि त्यो संगठन बाहेक अन्य संगठनमा मेरो नजिकको सम्बन्ध थिएन ।

यता गाँउ कमिटीमा पनि म राम्रै पदमा थिएँ । जिल्लाको अधिवेशनमा प्राय मेरो नाम सिफारिस हुन्थ्यो । मेरो विचार र उहाँहरुको बेग्लाबेग्लै भए पनि के सोचेर हो उहाँहरुबाट मलाई प्राय अधिवेशनमा नाम सिफारिस भइरहेको थियो तर मैले त्यो जिल्ला अधिवेशनमा कुनै पदको लागि नाम दिइनँ । म केवल प्रतिनिधि मात्र भएर जान्थें ।

यसरी नै केही बर्ष यसै संगठनमा रहेर धेरै काम गरियो । कहिले विरोध कार्यक्रम त कहिले सहयोगका निम्ति कार्यक्रम । कहिले देउसी खेलेर रकम संकलन गरियो । आस्था अलग–अलग भए पनि एउटै क्षेत्रमा काम गरेपछि संगठन एउटा नाम मात्र सम्झेर निर्माण क्षेत्रमा काम गर्ने निर्माण मजदुरका निम्ति भनेर साथसाथै काम गरियो ।

संगठनको काम गर्दा कहिलेकाहिं प्रेम समाललाई पनि ‘तिमी पनि यसमा आवद्ध भएर काम गर न’ भन्दा उसले हल्का रुपमा लिई मलाई नै ‘जाँदै गर्नु नि, म पछि जान्छु’ भन्थ्यो । त्यसको अर्थ उसलाई संगठनप्रति त्यति लगाव थिएन जस्तो लाग्थ्यो । त्यस समय उसलाई काम गर्न पाएँ मात्र हुन्थ्यो र काम गरे बापत पैसा प्राप्त गरेर आफ्नो परिवारको भोको पेट भर्न र भाडामा बसेको घरको भाडा तिर्न पाए हुन्थ्यो जस्तो मात्र लाग्थ्यो ।

एवम् रितले काम गर्दै जाने क्रममा म उमाकान्त शिवाकोटीको मूलघर इलाममा गएर काम गर्न थाले । मसँग प्रकाश आचार्य र अर्जुन राई पनि गएको थियो । टुँडिखेलदेखि केही मुन्तिर भन्ज्याङ जाने बाटो छेउमा उहाँहरुको मूलघर छ । काठको दुईतले घर । बाटोबाट केही तलतिर हेर्दा चिटिक्क परेको घर । त्यहाँ ठाकुर सर र प्ण्य दाइको परिवार बस्नु हुँदोरहेछ । त्यसको अगाडि नयाँ घर बनाउनु पर्ने ।

सधैं तराईमा बसेर काम गर्ने बानी परेका हामी जब त्यहाँ काम गर्न पुग्यौं, त्यहाँको डाँडाकाँडा देखेर केही दिनसम्म त डर लाग्यो । काम गर्दा र तल–माथि गर्दा डिलबाट लडिने हो कि भन्ने डर लाग्थ्यो । फेरि त्यहाँको वातावरण नै बेग्लै । चिसो–चिसो हावा चलिरहने । कहिले काँहि बाक्लो हुस्सुले छपक्क छोप्ने । जाडोले गर्दा हात ठिहि¥याउने । पहिला दार्जिलिङमा बसेर काम गरेकाले मलाई त त्यति गारो भएन, तर अरु साथीहरुलाई निक्कै सकस पर्यो ।

ढुंगाको गारो लगाएर घर बाउनु पर्ने । तर हामीले चाहिं गारो लगाउनु परेन । त्यहींका स्थानीयले ढुंगाको गारो लगाउने भए र हामीले चाहिं त्यहाँ गर्नुपर्ने आरसीसीका काम मात्र गर्नुपर्ने । उनीहरुले गारो लगाउँदै जाने हामी चाहिं आरसीसीको काम गर्दै जाने । हामीसँग काठको काम गर्नका लागि शिवु शाह, केशरीचन्द चौधरीलगायत अरु दुई–तीन जना थिए । धेरै जना हुँदा त काम गर्न धेरै मज्जा आउने । दिनभर काम ग¥यो साँझ परेपछि काम छाडेर त्यही छेउमा रहेको भुजेल थरको एउटा घरमा गएर अलिअलि सोमरस चढाउन जान्थ्यौं । त्यो सोमरस चाहिं दाइको तर्फबाट खाइन्थ्यो । सोमरस खाइसकेर कोठामा आएर सुत्नुअगाडि केहीबेर हल्ला ग¥यो अनि भोलिको लागि भनेर थपक्क सुतिन्थ्यो ।

बिहिबार इलामको बजार । बिहिबार भएपछि बाह्र बजेसम्म काम गरेपछि सबै जना मिलेर इलाम बजार घुम्न निस्कन्थ्यौं । घुम्न त एक वहाना मात्र थियो । केहीबेर बजारको परिक्रमा ग¥यो अनि दोकानमा पसेर मासु र सोमरस चढायो । जब साँझ प¥यो अनि फेरि लाग्यो आफ्नो कर्म क्षेत्रतिर ।

हामी निर्माण मजदुरहरुको प्रायः यस्तै तरिका हुन्छ । यहाँ झापा हुँदा पनि शनिबार भएपछि प्रायः प्राय बिहानैबाट सोमरस र मासु पोल्न लगाएर खायो त कहिले कुनै साथीको घरमा पकाउन लगाएर खायो । मलाई लाग्छ, यसरी खाने हामी निर्माण मजदुर मात्र हौं होला । मलाई अरुको बारेमा त्यति थाहा भएन । त्यसरी नै इलाममा पनि खाइन्थ्यो । बिहिबार आउनै नहुने । बजार पुग्न हतारो भइहाल्थ्यो । यसरी नै अन्दाजी पाँच–छ महिनामा त्यहाँको घर सम्पन्न गरियो ।

अर्को कुरा, जब हामी त्यहाँ काम गथ्र्यौं, खाना चाहिं उहाँहरुले घरमा नै पकाएर खुवाउनु हुन्थ्यो । जब खाना खाने बेला हुन्थ्यो, बारीमा गएर एक दुई वटा अकबरे खोर्सानी टिपेर ल्याइन्थ्यो र खानाका साथ अकबरे खोर्सानी खुब मज्जाले खाइन्थ्यो । चिसो–चिसो मौसममा पिरो खोर्सानीले कान र जिब्रो तताउने गरी अकबरे खोर्सानी चपाउँदा स्वाँ स्वाँ गर्दै खाँदा दुई वटा त खाइन्थ्यो । अकबरे खाँदा त मज्जा आउने । जब खाइसकेपछि पचे त ठीकै हुन्थ्यो, तर नपच्दा चाहिं खुब गा¥हो हुन्थ्यो ।

शनिश्चरे, झापा

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।