Mero Sabda

स्यालको दिमाग भएको साथी


मजदुरको कथा

– ऐतराज नेम्वाङ ‘सन्तोष’

विरीङ खोला झापा जिल्लाको शिर हो । खारभित्ता छेउमा सिस्ने खानेपानीका योजना अन्र्तगत इन्टेक ट्याङ्की बनाउनु पर्ने भन्ने कुरा आएपछि हामी तीन–चार जना त्यहाँ जाने तर्खरमा लाग्यौं । त्यसमा म, प्रेम समाल, अर्जुन राई र मेरो छिमेकी भाइ अर्जुन वि.क., जसलाई सबैले सानो भाइ भनेर बोलाउन गर्थे । त्यसैले हामीले पनि सानो भाइ नै भन्ने गथ्र्यौं । आफूलाई चाहिने औजार बोकेर बाटो लाग्यौं । हामीलाई कामको लागि गाइड गर्ने भनेको टेकबहादुर कार्की थिए ।

हामीसँग सवारीसाधन केही पनि थिएन । त्यो बेला साइकल मात्र किन्न पनि धेरै ठूलो कुरा हुन्थ्यो । त्यसैले हामी विरीङको बगरैबगर हुँदै त्यस ठाँउमा पुग्यौं । पैदल हिंड्दा अन्दाजी तीन–चार घण्टा जति लाग्यो होला । जब हामी कार्यस्थलमा आइपुग्यौं । हेर्यौं– चारैतिर खोलाबगर । पश्चिमतर्फ ठूलो भीर, सायद यही होला खारभित्ता भन्ने भीर । बगरभरि कोइला र आधा जलेका काठका ठुटाहरु । मनमा केही चिसो पस्यो । अवुइ…..चिहानघारी ? तर दिँउसो भर काम गर्दा त डर मान्ने कुरै आएन । एक दुई जना मात्र काम गर्ने होइन । हामी जम्मा पाँच जना थियौं ।

केही दिनसम्म दिनभर काम गर्ने अनि बेलुकी भएपछि घर फिथ्र्यौं । यो पाराले त कामको मेलो नै नसर्ने भयो । बिहान पनि बल्ल–बल्ल नौ बजे पुग्ने, पुगेर चाँजोपाँजो मिलाउँदा दश बजे सक्ने । अनि काम कति गर्ने ?

त्यसमा अर्को पनि सम्झौता भयो । आखिरमा त्यस ट्याङकी बनाउँदा गिटी, बालुवाको आवश्यकता पर्छ नै । त्यसैले हामीले सल्लाह गर्यौं । गाडीबाट किन ल्याउन लगाउने । हामी आफै गिटी चाल्ने । हामी काम गर्न जाने सबैले टेकबहादुरलाई बतायौं । उनले पनि ‘हुन्छ त’ भनेपछि गिटी पनि चाल्ने भयौं ।

आखिरमा जसरी पनि पैसा कमाउने उपाय त निकाल्नै पर्याे । काम जे होस्, केही परिश्रम गर्दा आय बढ्छ भने हामी के कम । फेरि भन्छन् नि ‘ओखलमा टाउको राखिसकेपछि मुसली आउँछ भनेर किन व्यर्थमा डराउनु ।’ मलाई कामको निम्ति न लाज, न सरम, न त घिन नै थियो । मैले गर्नुपर्ने काम हो । जे जस्तो गर्नु परे पनि पछि पाइला सार्नेमा म थिइनँ । म आफ्नो कर्तव्यपथबाट कहिल्यै पनि डगमगाउन नचाहने मान्छे । म चाहान्थें, यी मेरा परिश्रम गर्ने हातहरु कहिल्यै नथाकुन् । यसरी नै एकनास सदा परिश्रम गर्न पाइरहुँ ।

दिनभर काम गरेर जब बेलुकी घर फिथ्र्यौं । बाटामा टेकबहादुरले आफ्नो पार्टीको अनुभवको कुरा सुनाउँथे । ‘हामी कम्युनिष्टहरु यस्ता थियौं, यस्ता हौं, यस्तो ग¥यौं । हामीहरु जहीं पनि मिटिङ गर्दा रातको समयमा मात्र गथ्र्यौं । उता सेल्टर हुन्थ्यो । यता सेल्टर हुन्थ्यो । पञ्चायती शासकबाट लुक्दैछिप्दै सेल्टरमा जम्मा भएर आधा रातमा मिटिङ हुन्थ्यो ।’ उसले आफ्नो पार्टीका अनुभव सुनाउँदा हामी चार जना चाहिं आराम साथ सुन्दै आउँदा घर आइपुगेको पत्तै हुन्थेन । त्यहाँबाट पैदल घर आइपुग्दा अन्दाजी एक डेढ घण्टा लाग्थ्यो होला । तर हामीलाई त्यही टेकबहादुरको गफले गर्दा कति समय लाग्यो, पत्तै पाउँदैन थियौं । त्यसो त त्यस ठाँउमा ढुङ्गा लिन ट्रकहरु नगन्य मात्रामा कुदथ्यो । कहिले समय नमिल्ने त कहिले आउने जाने बाटो नै फरक पथ्र्यो । त्यसैले ट्रक पर्खनु भन्दा पैदल नै गइन्थ्यो ।

आउँदा–जाँदा हैरान भए पश्चात् हामीले सल्लाह ग¥यौं । चिहानघारी भए पनि त्यहीं डेरा बनाएर काम सक्ने । हामीसँगै ठेकेदारको पनि सहमति साथ सानो डेरा बनाइयो । दिनभर ट्याङकीको काम गर्याे, केही वास्ता हुन्थेन । तर जब रात पर्न थाल्थ्यो, तब मनमा केही डर प्रवेश हुन्थ्यो । शरीर–मन केही चिसो भएर आँउथ्यो । त्यही खोलामा ट्रक आउने जानेका निम्ति एउटा दोकान खोलेको थियो । उनीहरु पनि दिनभर त दोकानमा बस्थे तर रात परेपछि उनीहरु पनि घर जान्थे । तर रात केही छिप्पिएपछि मात्र बन्द गर्दा रहेछन् ।

हाम्रो अस्थायी डेरा तयार थियो । भित्तामा टँसाएर बनाएको सानो झुप्रो । ओछ्याउन पराल पनि खोजेर ल्याइयो । त्यतै बस्ने कुरा भए पछि खाना पकाउने भाँडा पनि लगियो । केहीबेर पश्चात् खाना पनि तयार भो । तर खाना खान भन्दा पहिला केही दारुपानी त अवश्य चढाउनु पर्ने नै भयो । खाना त्यतिकै राखेर अँध्यारोमा खोला तर्दै परको दोकानमा पुगियो । दोकान खुल्लै रहेछ । केहीबेरसम्म आफूलाई पुग्ने गरी दारुपानी चढाइयो । धेरै रात परिसकेको थियो । नौलो ठाँउ । खोलाको कलकल । ठूला–ठूला ढुंगाहरु समाउँदै खोला तरेर झोपडीतर्फ लागियो । विरीङखोलाको सङ्लो पानी, चिसो पनि त्यतिकै । जसोतसो डेरा पुगेर खाना खाइयो । खोलाको किनार भएपछि चिसो त बढ्ने नै भयो । त्यसैले झोपडी अगाडि आगो बालियो । खाना खाएर केहीबेर सुस्ताएपछि अर्जुन र म खोलातर्फ माछा मार्न जाने सल्लाह साथ राँको बालेर खोलातिर लाग्यौं ।

राँकोको उज्यालोमा माछा हेर्न थाल्यौं । एक दुई वटा भुरा माछा मात्र देख्यौं । ढुंगाको मुनि माछा होला भनेर पानीमा पसेर ढुंगामुनि हातले छाम्यौं । धेरै ठाँउमा छामियो । तर कहीं पनि माछा फेला परेन । अन्दाजी एक घण्टासम्म खोज्दा पनि माछा पाइएन । अन्त्यमा दिक्क लाग्यो । हामीले केही सल्लाह ग¥यौं । जसोतसो एउटा भ्यागुता मा¥यौं । शरीरको भाग फ्यालेर त्यसको फिला–फिला राख्यौं । फेरि त्यो फिलाबाट त्यसको पञ्जा पनि काटेर फाल्यौं । त्यस पश्चात् सरासर झोपडीतर्फ लाग्यौं । झोपडी अगाडि आगो त बलिरहेको थियो । हामीले त्यो भ्यागुताको फिला आगोमा पोल्न थाल्यौं । त्यसको केहीबेरमा त्यो फिला पाकेपछि प्रेम समाल र सानो भाइलाई दियौं । सानो भाइले त हातमा लिएर क्वाप्प मुखमा हालेर चपाउन थाल्यो । तर प्रेम समालले भने केहीबेर हेरेर मुखमा हालेर चपाउन मात्र लागेको थियो– ‘छ्या……भ्यागुता..’ भनेर फ्याल्यो । अनि थु….थु….गर्न थाल्यो । जब प्रेमले ‘छ्या भ्यागुता’ मात्र के भनेको थियो, सानो भाइले पनि चपाउँदै गरेको भ्यागुताको फिला ‘थु….थु….’ भन्दै थुक्न थाल्यो । त्यसपछि त हामीलाई हाँस्न कसले रोक्न सक्थ्यो र ? पेट मिची–मिची धेरैबेर हाँस्यौं ।

त्यो रात यति रमाइलो भयो कि छेउमा शव जलाउँछन् र तर्साउँछ भन्ने सोचाइ नै सबै बिर्सियौं । अझै पनि त्यो दिनको याद आउँछ र अझै आश्चर्य लागेर सोच्ने गर्छु कि त्यो अँध्यारो रातमा प्रेम समाललाई त्यो भ्यागुता हो भनेर कसरी थाहा भयो ?

मैले पहिला नै लेखेको छु कि हामी साथीहरुले प्रेम समाललाई ज्याकल (स्याल) भनेर बोलाउँथ्यौ भनेर । सत्य कुरा सत्य नै हुन्छ । किनकी प्रेम समालको दिमाग स्याल जस्तै थियो । यो एक शास्वत सत्य हो । यसमा प्रेम समालले पनि स्वीकाथ्र्यो ।

शनिश्चरे, झापा–

प्रतिकृया व्यक्त गर्नुहोस् ।