Mero Sabda

रङ जीवनका


कविता

– कुमार भट्टराई

सातै रङ मिलेपछि
आँखामा भ्रम हुन्छ सायद
त्यसैले त रङ नछुट्टिएर सेतो हुन्छ ।

सेतो हुनु राम्रो हो भने
जीवन सेतो होस्
तर सेतो हुँदा पनि कहिलेकाहिं
जीवन जीवन नै होइन जस्तो पो हुँदोरहेछ वेरङको ।

सेतो मात्र राम्रो हुने हो भने
किन यतिविघ्न मन परेको रातो रङ ?
किन यतिविघ्न मन परेको नीलो रङ ?
समय अनुसार किन मन परेका
फरक फरक रङहरु ?

एकहोरो कालो पो मन नपरेको होला
तर कालो पनि मनपर्दो लाग्छ कहिलेकाहिं ।

देखिएका सातै रङ
जीवन भोगिन्छ सेकेन्ड, मिनेट र घण्टाहरुमा
त्यसैले त होला
शरीरले समयको रङसँगको प्रतिक्रियाबाट
उत्पादन हुने मनोदशा
हाम्रा आआफ्ना पो रहेछन् ।

त्यसैले यहाँ वरसम्म आइपुगेर
मैले स्वीकारेको छु सबै रङहरुलाई
ती सबैहरु आवश्यक थिएछन् मेरा लागि
जीवन बुझाउनका लागि
जीवन भोगाउनका लागि ।

शनिश्चरे, झापा

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।