Mero Sabda

घरदेखि विद्यालयसम्मको मनोसम्वाद


– प्रजिता शिवाकोटी

बाटो सारै सजिलो लागे जस्तो हुन्छ, तर हिंडेर विद्यालय जाँदा कहाँ त्यस्तो हुन्छ र ? डडेल्नोमा पुस्तकहरुको भारी दश किलो भए जस्तो हुन्छ । घामले पनि कुनै पाप गरेर नर्कमा पापी व्यक्तिलाई जलाएको जस्तै अनुभव गर्छु । जीवनमा संघर्षको ठूलै बाटो कठिन भएर गएको जस्तो लाग्न थाल्छ ।

संसारमा मानिस दुई प्रकारको बाटोमा मात्र सफलताको शिखर छुन सक्छन्, कि त कठोर परिश्रम गरेर, कि त पैसाले ठेलेर । जो गरीब छ, ऊ लाचार र विवश छ । जो धनी छ उसले परिश्रमको महत्वलाई पैसाको आडले थिचेर राखेको तथा परिसकेको छ । यस्ता कुरा मनमा आएपछि आफ्नो सोचाइमा सारै डुबे जस्तो छु म । मेरो जीवनको प्रत्येक दिनमा मैले यो कुरा अनुभव गरेको छु ।

गाडीबाट विद्यालय आउँदा म भाडा तिर्छु र फेरि यो सोचाइ आउँछ कि यो संसारमा यस्तो अनेकौं मानिसहरु छन्, जसले आफ्नो लक्ष्यसम्म पुग्नको निम्ति आफ्ना सपनाहरु पूरा गर्नका निम्ति, खुनपसिना बनाइ रहेका छन् । तर कति यस्ता मानिसहरु छन्, जो चाहिं पैसाले ठेलेर सफलताको सागरमा पुगेका छन् ।

कहिलेकाहिं गाडीमा आउँदा म आफैलाई प्रश्न गर्छु कि अहिले तीस मिनेटको बाटो त हिंड्न आलस्य मान्छु र दश रुपैयाँ तिरेर गाडीमा आउँछु । के भविष्यमा पनि परिश्रम गर्न आलस्य मान्न थालेपछि पैसाले पेलेर म अगि बढ्नु र ? कहाँबाट ल्याउनु होला त्यत्रो पैसा ? आफूले परिश्रम गर्न आलस्य मानेपछि कहाँबाट आउँछ होला र पैसा ? त्यति बेला आफूले आमाबुबालाई कमाएर दिने बेलामा उल्टै आफूले उनीहरुलाई पैसाको निम्ति दङ्ग्याउनु र ? यी सब प्रश्नहरु मेरा मस्तिष्कमा खिचडी भएर डुलिरहन्छ । यो भयो मेरो गाडीमा आउँदाको अनुभव । हिंडेर आउँदा मेरो मस्तिष्कमा अर्कै सोचाइ आउँछ । घामले जलाए पनि, पुस्तकको भारले थकाए पनि, जीवनमा संघर्ष गर्दै गरेको बाटोमा काँडैकाँडा भए जस्तो लागे पनि मलाई भित्री हृदयमा आफूले साँच्चै परिश्रम गर्दैछु भन्ने अनुभव हुन्छ ।

हिंडेर विद्यालय जाँदा साँच्चै नै मैले जीवनमा आफ्नो लक्ष्यलाई पूरा गर्नको निम्ति परिश्रम र संघर्ष गरेको जस्तो मलाई लाग्छ । निधारबाट पसिना झर्दा कठोर संघर्ष गरेको जस्तो, खुट्टा गलेर आउँदा जीवनमा नै हार माने जस्तो, पुस्तकको भारले डडाल्नो गलेर आउँदा सबैले साथ छोडे जस्तो, सास फुलेर आउँदा संघर्ष गर्दा धोका खाए जस्तो मलाई अनुभव हुन्छ ।

यसरी हिंडेर आउँदा बाटोमा भएका सबै मानिसहरुले आँखा ममाथि गाडे जस्तो मलाई लाग्छ । यस्तो हुँदा पनि मलाई फेरि अर्को सोचाइ आउँछ । यस्तो लाग्छ कि जीवनमा यसरी नै कठोर परिश्रम गर्दागर्दै अकस्मात सबै सपनाहरु टुटेर गएको र जगतकका सबै मानिसहरुले हेला गरेको नजरले हेरेका हुन् जस्तै मलाई अनुभव हुन्छ । मेरो आत्मबल जुन थियो, त्यसलाई खोलाले बगाएर लगे जस्तो हुन्छ ।

गाडीमा चढ्ने बानी लागेपछि मानिस हिंड्न आलस्य मान्छ । त्यसरी नै जीवनमा सफलताको निम्ति छोटो बाटो मात्र खोज्न थाल्या भने हामी परिश्रम गर्न आलस्य मान्छौं । साथसाथै गाडी ट्रफिक जाममा फसे जस्तै हाम्रो जीवनमा पनि छोटो र सजिलो बाटो खोज्दाखोज्दै त्यहीं समय बित्छ र जीवनको यात्रा त्यहीं अड्किन्छ । तर हिंडेर जाने मानिसलाई सधैं परिश्रमको र समयको महत्व हुन्छ । ऊ जाममा फसेको मानिस जस्तो छोटो बाटो खोजी बस्दैन र जीवनको संघर्षमा अगि बढी रहन्छ । विद्यालय जाँदा कसै शिक्षक अथवा साथीलाई बाटोमा भेट्दा संघर्षको समयमा आफन्त वा चिनजानकालाई भेटे जस्तो लाग्छ । विद्यालयभित्र पस्ता त आफ्नो लक्ष्यलाई पूरा गरे जस्तो लाग्न थालेको छ ।

यस बेला मेरो घरदेखि विद्यालयसम्को यात्राको अनुभव यस्तै छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।