Mero Sabda

माईखोलाको बाढीभित्रको त्यो रात


मजदुरको कथा

– ऐतराज नेम्वाङ ‘सन्तोष’

कुनै एक विशेष ठाँउ । बजार होस् या गाँउ । त्यसको नामको प्रभावले पनि धेरै ठूलो काम हुँदोरहेछ । त्यसको विशेषता असलमा होस् या खराबमा, केही केही प्रभाव त पर्दोरहेछ । जस्तै कुनै नौलो ठाउँमा पुगेपछि कसैले ‘तपाईंको घर कहाँ हो ?’ भनेर प्रश्न गर्दा ‘मेरो घर फलानो ठाउँ हो’ भनेर अभिमानसाथ भन्दा प्रश्न सोध्नेको मनमा केही प्रभावको आभाष पाइयो भने झन् आफ्रमा हर्ष साथै दम्भ पनि बढ्दो रहेछ ।

जस्तै, एक पटकको कुरा हो, जुन कुराको वृतान्त मैले पहिला नै लेखिसकेको छु । तर यो विषय आउँदा त्यो बेला घटेको कुरा र लेख्दा छुटाएका कुरा लेख्दैछु । तत्कालिन बुधबारेको सिनेमा हलमा कार्यक्रम गर्ने क्रममा हामी साथीहरु केही दिनसम्म शनिश्चरे घरबाट पैदल नै बुधबारेसम्म पुग्थ्यौं । प्रेम समाल, म, साजन राई, प्रकाश आचार्य लगायत साथीहरुको एक समूह नै आवत्जावत् गथ्र्यौं । शुरु शुरुको अभियानमा सबै जना नयाँ अनुहारका थिएँ । एक आपसमा परिचय भइसकेको थिएन । त्यही अनुहारहरु बीचमा दुई जना युवती गोपालडाँडातिरका थिए । उता जाँदा हामी कुन समयमा जान्थ्यौं र ती युवतीहरु कति बेला जान्थे थाहा हुन्न थियो । किनकि उनीहरुलाई हामीले बाटोमा कहिल्यै भेटेनौं । तर जब अभ्यास सकिन्थ्यो, तब हामी उनीहरुसँगै निस्केर बाटो लाग्थ्यौं । त्यो बेला हामी अल्लारे उमेरको । न त कसैको डर, न त केही शरम । सामुन्ने कुनै सुन्दर र वैंशालु युवती त हाम्रो लागि कुवेरकै खजाना नै लाग्थ्यो । त्यो सुन्दर नारी देहको लालसा त जाग्ने नै भयो । उनीहरु अघिअघि लाग्थे, तब हामी उनीहरुको पिछा गर्दै जिस्काउँदै हिँड्थ्यौं ।

कति गाली गर्थे । कहिले ढुंगा टिपेर हानौंला झैं गर्थे तर हाम्रो लागि केही अर्थ नै हुन्थेन । बुधबारेबाट पछ्याउँदै जयपुर जाने बाटो हुँदै गोपालडाँडा जाने बाटोसम्म पुग्दा हामीले के–केसम्म भन्न भ्यायौं होला, तपाईंहरुले अनुमान लगाउन सक्नुहुन्छ । उनीहरुको मुखारवृन्दबाट गालीका शब्दहरु निस्कदा पनि हामीलाई त्यो गाली फूलको थुँगा झैं लाग्थ्यो । विचरीहरुले कति गाली गर्नु, अन्त्यमा गालीका थुँगाको भण्डार रित्तिए पश्चात् ‘शनिश्चरेका गुण्डाहरु’सम्म भन्न भ्याए । त्यो गाली सुने पश्चात् हामीलाई झन् गौरवको आभाष भयो । हामीले आफूले आफैलाई कुनै चलचित्रका पात्रझैं सम्झन थाल्यौं ।

यस्तै प्रकारको घटनाहरु प्राय कहाँ हुन्छ र ! म सानो छँदा सुनेको– यदि धरानका मानिसले कोही कसैले ‘म शनिश्चरेको हुँ’ मात्र भने मज्जाले रामधुलाइ हान्थ्यो अरे । त्यसैले कुनै ठाउँ विशेष सधैं नराम्रोले मात्र चर्चा हुँदैन । कुनै ठाउँमा त त्यसको राम्रो पक्षले पनि चर्चा या प्रभाव परेको छ । कुरा चौहन्न साल ताकाको हो । प्रेम समाल र मलाई इलामबाट प्रिकाष्ट ड्रेन बनाउने भनेर बोलावट भयो । यहाँ घरमा सबै कुराको बन्दोवस्त गरेर इलामतर्फको यात्रा लागियो । इलामको जिरो किलोमिटरमा रहेको श्रेष्ठ कन्स्ट्रक्सनको अफिसमा सम्पर्क गरियो । उनीहरुले ‘अहिले काम शुरु भएको छैन, त्यसैले तपाईहरु तल माईखोलामा गएर काम गर्दै गर्नुहोला’ भनेर जवाफ पाएपश्चात् हामी ओरालो माईखोला झ¥र्यौं । दोमुखाको पुलबाट केही तलतिर कम्पनीको जेसिभी चल्दैरहेछ । त्यसले माईखोलाबाट बालुवा निकाल्ने काम गर्दोरहेछ । त्यसैको छेउमा एउटा दुई कोठाको बाँसको टाटीले बारेको स्टोर जस्तो घर रहेछ । बाँसको टाटी त लगाएको थियो तर छानो छाउनै बाँकी थियो । त्यसैमा सुत्ने मिल्ने खालको एउटा बाँसको खाट बनाइयो ।

हामी पुगेको केहीबेरमा अर्को एक जना पनि आउनुभयो । परिचय ग¥र्यौं । काठमाडौंका् श्रेष्ठ थरको हुनुहँदोरहेछ । पेसा इन्जिनियर । उहाँको बोल्ने शैली ठ्याक्कै काठमाडौंको नेवारकै जस्तो । ‘त’ लाई ‘ट’ ‘थ’ लाई ‘ठ’ भनेर उचारण गर्थे । हाम्रो डेरादेखि केही उत्तर अर्को अलिक ठूलो डेरा थियो । त्यहाँ चाहिं पाँचथरतिरका मजदुरहरु बस्थे । हाम्रो खाना पकाउने केही व्यवस्था थिएन । केही दिनको लागि भनेर कम्पनीले नै राजदुवालीको पुल छेउको एक होटलमा भनी दिएका थिए । हामी दिँउसो र राति खोलाको तिरैतिर बनिएको बाटोबाट त्यहाँ खाना खान जान्थ्यौं । बाटोमा आउँदा माईखोलाको किनारामा एम.के. कम्पनीको क्वाटरहरु थियो । त्यही क्वाटरको वरिपरि एम.के. कम्पनीमा काम गर्ने मजदुरहरु स्थायीरुपमा घर बनाएर बसेका थिए । बसाईंको क्रममा सुँगुर–बाख्रा पालेका थिए । भनौं न, यसो हेर्दा पुरा बन्दोबस्तीका साथ बसोबास गरेको भान हुन्थ्यो ।

खोलाको बगरबीच बनिएको सानो डेरा छेउबाट पूर्व–उत्तर हेर्दा सिलपुरको पहिरो गएको देखिने । त्यहाँबाट बगेको पानीले त्यहाँ रहेको सबै खेतीयोग्य जग्गाहरु बगरमा परिणत भई सकेको थियो । त्यो बगर केही तलसम्म आएर एम.के. कम्पनीको क्वाटरलाई छाडेर दुईतर्फ धार बगेको थियो । तल्लो धारको बीचमा हाम्रो डेरा र माथिल्लो धारतर्फ भने एम.के.कम्पनीले तारजाली राखेर बाटो छेकिदिएको थियो । हामी बसेको बगरबाट चारैतर्फ भीर देखिन्थ्यो ।

हामी त्यहाँ बसेको एक–दुई दिन मात्र भएको थियो, त्यो दिनभर पानी परिरह्यो । पानीमा भिज्दै–रुझ्दै जेसिभीको छेउमा गएर उभिने मात्र काम थियो । हाम्रो डेरामा टीनको छाना लगाएको थिएन । डेराको भित्ता सबै बाँसको टाटीले बारेको थियो । अनि पानीले भिजाउँला भनेर डेराको चारैतर्फ प्लाष्टिकले बेरेर राख्यौं । दिनभर खोलामा बसेर निरीक्षण गरे पश्चात् साँझमा खाना खान होटल तर्फ लाग्यौं । आकाश धुम्मिएर अँध्यारो भएकोले बाटोमा हिँड्न पनि मुस्किल भयो । जसोतसो खाना खाएर डेरामा फर्कियौं । टिनको पाताले ओछ्यान छोपेर राखेको थियौं र त्यो टिन उठाएर भित्तातर्फ ठाडो पार्यौं । ओछ्यानमा त सुत्यौं तर हावाको झोंकाहरुको प्रहारले पानीसँगै ल्याउँदा जताबाट हावा आउँथ्यो टिन पनि त्यतै सार्न थालियो । हावा पनि हामीसँग जिस्केझैं कहिले पूर्वबाट झोंका आउँथ्यो त कहिले पश्चिमबाट । कहिले उत्तरबाट आउँथ्यो त कहिले दक्षिणबाट । हाम्रो काम नै टिन यता र उता सार्न मै व्यस्त । सुत्न त कता हो कता । एकनास पानी परिरहेको थियो । कता कता मानिसहरु हल्ला गरेको सुनिन थालियो । के भएछ ? भनेर हेर्नका लागि खाटबाट ओर्लिएको हाम्रो डेरामा त पानी पो भरिन थालेछ । अन्दाजी एक फुट पानी भरिएछ, लौ । अब त हाम्रो सातोपुत्लो गयो ।

ढोकाबाट टाउको निकालेर बाहिर हेर्न खोजेको, बाहिर केही नदेखिने निष्पट अँध्यारो । कहिलेकाहिं आकाशमा बिजुली चम्कँदा मात्र जति आँखाले हेर्न भ्याउनु पर्ने त्यति मात्र देखिने । टाढाको त केही हेर्न नभ्याउने । त्यही झिलिक्कको बेला देखियो, हामी त खोला बाढीको बीचमा पो रहेछौं । अरु साथीहरु केहीबेर पहिला त बाढी आयो भनेर हल्ला गर्दै थिए तर अहिले सबै चकमन्न भइसकेको थियो । अब हामी तीनजना मात्र रहेछौं । अरुले हामीलाई केही जानकारी नै नदिइ भागे जस्तो लाग्यो । अब के गर्ने ? बिस्तारै बिस्तारै खोलाको बहाव बढिरहेको थियो । केहीबेर पश्चात् हामीले दक्षिणतर्फ टर्चको उज्यालो देख्यौं । हामीलाई लाग्यो– साथीहरु त्यतै भागेछन् । अनि हामीले पनि त्यतै जाने निर्णय ग¥यौं ।

प्रेम समालले हातमा गिटार, काँधमा झोला, अर्को हातमा चप्पल बोकेर प्लाष्टिक ओढेर निस्कियो । मैले पनि हाम्रो ओछ्यान बाँधेर काँधमा हालें । अनि एक हाता चप्पल र अर्को हातमा हाम्रो काम गर्ने औजार बोके । अनि प्लाष्टिक ओढेर म पनि बाहिर निस्के । हामीसँगको अर्को साथीको त सामान त्यस्तो खास केही थिएन । उहाँले पनि आफ्नो व्याग बोकेर प्लाष्टिक ओढेर निस्कनु भयो ।

राति सुत्ने बेलामा सेन्डो र पेन्टी मात्र लगाएर सुतेका हामी त्यहाँबाट बाहिर निस्कने बेलामा पनि त्यही हालमा थियौं । हावाको वेगले पानीको छिटा लिएर आउँदा हाम्रो सारा शरीर निथु्रक्कै भइसकेको थियो । बगरमा घुँडा–घुँडा पानी भइसकेको थियो । जसोतसो गरेर साथीहरुले बोकेको टर्चलाइट भए तर्फ लम्कियौं । साथीहरु पारी भित्तामा पुगिसेकका थिए । त्यहाँबाट पारीको खेतमा जाने सानो गोरेटो पनि रहेछ । हामी त्यही बाटोमा उक्लियौं । अनि ती साथीहरुसँगै त्यही गोरेटोलाई पछ्याउँदै अगाडि बढ्दै थियौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।