Mero Sabda

गाउँ र घर


कविता

– विवश बलिभद्र कोइराला

आमा यतै छिन्
यतै छन्
उनले बा पछि जोडेका
दुःख सुख साट्ने
साथी र दौतरीहरू ।
भन्छिन्
तैंले सहरमा जोडेको घर
पटकै पिच्छे अलमलिन्छु
र, हराइरहन्छु
किन बनाको ?
यसरी
हराइरहने ठाउँमा घर ?
यसो भनेर मुस्कुराई रहन्छिन् आमा
र भन्छिन्
तेरो सहरमा घर खोज्न भन्दा हराउनै सजिलो ।

यतै छ
बा को बल, बैँस र तागतको
पहिचान दिने बारी ,
यतै फल्छन्
उनलाई मन पर्ने तागतका फल
यतै छन्
उनले अलमलिने चौतारी र वरपीपलका छहारीहरू
अनि यतै चल्छ
बाघचाल र तासका जुटपत्ती
भन्छन्
जाँदिन यो उमेरमा
माटो, गोबर र तुलसी छोडेर
तेरो उराठ लाग्ने
ढुङ्गा, सिमेन्ट र बालुवाको सहरमा

यतै छन्, मसँग
भाषा, सँस्कृति र लवज नमिले पनि
मलाई
मेरी आमाकै जस्ता आँखाले हेर्ने
बोजूहरू, बड्यामाहरू
यतै छन्
मेरा सहोदर भन्दा बढी
आफ्नो ठान्ने
फुपूहरू, भाउजूहरू
यतै फल्छ कोदो,फापर र जुनेलो
यतै छन् आविस्कारका भट्टीहरू
र पिलाइ रहन्छन्
दुनियाँका आँखा छलेर
सद्भावको मिठो तीनपाने ।

यतै छन्
मेरा पनि मसँगै हुर्किएका सम्झनाका तरेलीहरू
यतै छ
मेरो साल गाढिएको
दुधिलोको प्रिय रुख
मैले लड्दा
मैले उठ्दा
वा, मैले अभिमानले चिच्याउँदा
पर…. परबाट
प्रेमले
मेरै प्रतिक्रिया दिने
मेरा आफन्तीहरूका
घरका यादगार छानाहरू
बारीका मलिला पाटाहरू

भीरका छातीहरू
स्वाभिमानका अक्करहरू
यतै छन्
मैले न्वारानमै कमाएका
मेरा हितैषी मलामीहरू ।

यी यावत् प्राप्तिपछि
प्राप्त भएकी
मेरी सबभन्दा प्रिय मान्छे
तिमीलाई
सहर मन पर्छ,
मलाई तिमी मनपर्छ
म के गरौं ?
तिमी रमेको, मुस्कुराएको देखेर
मेरी आमा झैं
हराउँछु म पनि
तिम्रा ओठहरूमा,आँखाहरूमा
कुनै दिन
अवसर मिल्यो भने भन्नु छ मैले पनि
मेरी आमाले भने झैं
मेरा बाले भने झैं
अनि
मेरा आफन्तीले भने झैं
एउटा कुरा
कि बनाउनु थियो मैले
तिम्रो स्निग्ध र शुभ्र मनको कुनामा
एउटा सानो तर प्रेमिल
गाउँको घर ।

२०७७ चैत्र २२, चुलाचुली

प्रतिकृया व्यक्त गर्नुहोस् ।