Mero Sabda

अवस्था अनुसार दृश्य फरक हुन्छ


मजदुरको कथा

– ऐतराज नेम्वाङ ‘सन्तोष’

त्यो छाँगामा पनि पानीको बहाव धेरै बढेको थियो । तर पनि केही आँट गरेर तर्ने प्रयासमा हामी थियौं । हामी तीन जना मात्र भए त अन्जानमै तर्ने थियौं तर अरु ती पाँचथरका साथीहरुले हामीलाई तर्न दिएनन् ।

‘यस्तो छाँगामा पानी बढेको बेला तर्न हुँदैन । पानीसँगै ढुङ्गा पनि बगाएर ल्याएको हुन्छ । त्यही ढुङ्गाले लागेर मान्छे मरिन्छ’ भन्ने कुरा आएपछि हामी ढुकढुक हुँदै केही पछि सर्यौं । धन्य बाँचिएछ भन्दै हामी छाती समाउन पुग्यौं ।

अब के गर्ने ? समस्याले गाँजेर ल्यायो । तल झरौं बेगले आएको बाढी, उकालो चढौं कतै केही छैन । न समाउने ठाउँ, न टेक्ने ठाउँ । अँध्यारोमा नै भए पनि पाखाभित्तातिर मुन्टो उठाएर हेर्यौं, अन्धकार । केही नदेखिएको बेला झिलिक्क गरेर बिजुली चम्कँदा ठाडो उकालो देखियो । त्यहीं बसौं फेरि पाखा भित्ताबाट ढुङ्गा खस्ने हो कि ? भन्ने पीर । त्यहाँबाट कहीं न कहीं जानैपर्छ । साथीहरुसँग सल्लाह गरेर त्यहीं उकालैउकालो जाने विचार गरेर उकालो चढ्ने प्रयास गर्यौं ।

वनमाराको घारी समातेर खुट्टाको औंला भित्तामा गाडेर चढ्ने प्रयास गरियो । तर औंला त अड्याउने ठाउँ नै बनिएन । पहाडको माटो नाथे हाम्रो खुट्टाको औंलाले के खोस्रिन्थ्यो । तर पनि जसोतसो त्यो एउटा खुड्किलो त उक्लियौं तर त्यसपछिका आलीहरु त्यो भन्दा डरलाग्दा रहेछन् । भर्खर–भर्खर धान रोपेको खेत रहेछ । खुट्टा पूरै हिलोमा डुब्ने । आली त झन् कोदालोले चिल्लो पारेर ताछेको । झार भन्ने चिज उम्रिन नै पाएको थिएन रहेछ । हिलो लागेको खुट्टाले आली कोट्याउने असफल प्रयास ग¥यो सब व्यर्थ । खेतको हिलोले पोतिएको खुट्टा झनै चिप्लिने । हातले आलीमा समाएर बल लगाउँ भन्दा पनि हातै खाली छैन । उपाय केही लागेन । अन्त्यमा हातले एउटा खुट्टा आलीमा पुर्यायो, अनि त्यही खुट्टाले आलीमा अडेस लगाएर आफ्नो शरीरलाई माथि तान्यो । अन्त्यमा हाम्रो उपाय भनेकै त्यही भयो ।

यसरी चढ्दै जाँदा कतिवटा आली उक्लियौं थाहै भएन । किनकि मन र शरीर दुबै हतास भएर होश नै थिएन । जे जसरी हुन्छ माथि कतै पुगेर ठूलो रुख होस् या सानो कटेरो, जे भेटिन्छ आजको रातका लागि बास बस्ने ठाँउको खोजीमा थियौं । पानी एकनास परिनै रहेको थियो । त्यही तरिकाले उकालो चढ्दै जाँदा जाडोको त यादै भएन । शरीरमा भएको दुईवटा कपडा पनि सबै हिलाम्यै भइसकेका थिए । खुट्टाको पाइतालामा ढुङ्गाले कति ठाउँ चोट लाग्यो, त्यो सबै हेक्का राख्ने कुरै भएन । हाम्रो त एउटै ध्येय, कसरी हुन्छ आज रातको लागि टाउको लुकाउन पाउँ । बस हाम्रो लक्ष्य यति नै थियो ।

धेरैवटा आलीमा त्यसरी नै चढ्दै गयौं । केहीमाथि पुगेपछि एउटा ग्वाली जस्तो कटरो भेट्यौं । आहा….हर्षले सीमा नाघ्यो । खेतमा गोरु ल्याउँदा बाँध्ने र काम गर्दा थकाइ मार्ने गरी कटेरो बनाइएको रहेछ । तर त्यहाँ पनि ती पहाडका साथीहरु तीन–चार जना पहिला नै बसेका रहेछन् । तीन–चार जनामा हामी पनि बस्दा हुन्छ होला भनेर हातमा भएको सामान राखेर बस्न खोजेको कर्याक….कर्याक गर्यो । किन रहेछ भनेर राम्ररी निहालेको सबै बाँसले बनाएको रहेछ । त्यसका बन्धन सबै चोयाले बाँधेको रहेछ । तीन–चार जना त ठीकै छ, अब अरु भार दियो भने त नथाम्ने रहेछ भनेर म त्यही कटेरोको तल झरें ।

यसो हेरेको धेरै राम्रो ठाँउ देखे । गोरु बाँध्ने ठाँउ रहेछ । भुँइमा घाँसहरु छरिएको रहेछ । हातले राम्ररी छामे । घाँस पराल छरिएको ठाँउ बस्न त लायक हुने रहेछ भनेर मैले साथीलाई बोलाएँ । अनि आफूले ओढिरहेको प्लाष्टिक ओछ्याएर बसेको म त भासिएँ । कुरा के रहेछ भने, त्यो घाँसको मुन्तिर गोबरको हिलो रहेछ । आफैंलाई सिक्सिको लागेर आयो । जुरुक्क उठें र फेरि साथीहरु भए ठाउँमा पुगे । त्यहाँ पनि हाम्रो लागि ठाँउ मिलेन । फेरि प्रश्न तेर्सियो, अब के गर्ने ?

हामी तीन जनाको सल्लाह भयो कि जबसम्म बस्ने ठाँउ पाइँदैन, तबसम्म यसरी नै उकालो चढिरहने । आखिर यो डाँडामा त कसैको घर त होला नि । अँध्यारोमा फेरि उकालो नजर दौडाइयो । आकाशमा झिलिक्क बत्ती चम्किंदा माथि रुखहरु देख्यौं । केही हौसला जाग्यो । घर नभेटे पनि कुनै रुखमा ओत लाग्न पाए पनि हुने भनेर फेरि उही काम दोहोर्याइयो । आलीमा खुट्टा उचालेर राख्ने अनि घिस्रिएर आली चढ्ने ।

यो क्रम कति घण्टा चल्यो अनुमान नै भएन । हाम्रो त लक्ष्य केवल ‘आजको रात सुरक्षित बास’ भन्ने सोचाइ मात्र थियो । आफ्नो ज्यानको सुरक्षा त गर्नैपर्यो । हातमा बोकेको औजार कर्नी–मार्तोल त्यति बेलासम्म हातबाट छुटेको थिएन । अर्को हातमा समाएको चप्पल पनि हातैमा सुरक्षित थियो । गिटारको हालत के भयो ? केही थाहा थिएन । काँधमा भिरेको व्याग र आफ्नो ओछ्यानको हालत पनि के कस्तो भयो, वास्तै भएन ।

एकनास आली चढ्दै जाँदा अचानक एउटा गोठ देखियो । हर्षले मन फुरुङ्ग भयो । गोठको अगाडि उभिएर ‘कोही हुनुहुन्छ ?’ भन्दै आवाज लगायौं । कोही बोलेनन् । तर पनि कसैले सुनिहाल्छन् र बोली हाल्छन् भनेर धेरैबेर आवाज लगायौं । तर उताबाट केही जवाफ आएन । घरिघरि कसैले खोकेको आवाज मात्र आइरहेको थियो । गोठको भुइँ तला खाली थियो । चारैतर्फ खुल्ला । आकाशको झिलिक्कको लाइटमा एउटा सानो काठको सिंडी देख्यौं । हामी हतार–हतार त्यहीं सिंडी चढेर माथिल्लो तल्लामा चढ्यौं । माथिल्लो तल्लाभरि मकैको खोसेलाले भरिएको रहेछ । त्यहाँ पुगेर खोसेला यताउता पन्छाएर आफू सुत्नलाई ठाउँ बनायौं र आफूले बोकेको भारी बिसायौं । त्यस पश्चात् आनन्दको सास फेरेर त्यतिकै ढल्कियौं । सुत्नलाई ठाँउ त पाइयो, तर निन्द्रा कहाँ लाग्नु । त्यतिका समयको संघर्षमा लखतरान भए पनि निन्द्रा गायव थियो । त्यही खोसेलाको बीचमा कसले खोक्थ्यो, त्यति बेला हामी सुतेको गोठ सबै हल्लिन्थ्यो । हल्लिनु मात्र होइन गोठ नै गल्र्याम गुर्लुमझैं लाग्थ्यो । त्यस्तोमा निन्द्रा कहाँ लाग्नु ।

आजलाई लुक्ने ठाँउ र न्यानो ठाँउ भेट्नु नै हाम्रो निम्ती भाग्य मान्नुपर्यो । कति बजे डेरा छाडेर भागियो ? कति घण्टा उकालो घिस्रियो ? त्यो न्यानो ठाँउमा पुग्दा कति बजेको थियो ? र, कति घण्टा त्यो गोठमा बसियो केही पत्तै भएन । किनकि घडी हेर्ने होस् र फुर्सद नै थिएन । केही समय खोसेलाको बीचमा आराम गर्दा शरीरमा केही गर्मी आयो । शरीरलाई आराम मिले जस्तो भयो । खोसेलामा सुत्दा पनि स्वर्ग नै पुगे जस्तो भयो । अब त पक्कै बाँचिन्छ होला जस्तो लाग्यो ।

आराम गरेको केही क्षण पश्चात् उज्यालो भयो जस्तो लाग्यो । हामी खोसेला पन्छाएर बाहिर निस्कने तर्खरमा लाग्यौं । आफूले राखेको सबै सामानहरु बोकेर गोठबाट बाहिर निस्क्यौं । बाहिर हेरेको पानी रोकिएको रहेछ । आकाश खुल्ला थियो । वातावरण सफा देखिन्थ्यो । घाम भर्खर उदाउँदै थियो । जब हामी आफू उभिएको ठाँउ निहाल्यौं, आफैं आश्चर्यमा प¥यौं । तल खोला भन्दा धेरै माथि पो आइपुगेका रहेछौं । हिजो उक्लेका खेतका आली देखेर तीनछक्क परियो । सिधा ठाडो भिरालोमा बनिएको खेतको गह्रा । तीन–चार फुट अग्ला–चिल्ला आलीहरु । अन्य समयमा देखेको भए रमणीय सुन्दर स्थल लाग्थ्यो होला । तर आज त्यही दृश्य कहाली लाग्दो लाग्यो ।

मानिसमा परिस्थिति अनुसार दृश्य पनि परिवर्तन हुँदोरहेछ भन्ने अनुभव भयो मलाई । किनकि त्यो घटनापछि पनि इलामतिर म धेरै पटक गएको छु । तर त्यो समयको र पछि इलाम गएको समयमा त्यो स्थानको दृश्य धेरै सुन्दर लागेको थियो । तल माईखोला, माथि हरिया डाँडा । त्यहीं डाँडामा खुड्किला खुड्किला जस्ता देखिने सुन्दर आलीका दृश्य । त्यो देख्दा आजभोलि पनि आहा….भन्न मन लाग्छ ।

तर त्यो समयको परिस्थिति नै बेग्लै थियो । त्यसबेला त आफू कसरी आफ्नो ज्यान बचाउने भन्ने सोचाइ मात्र थियो । त्यो गोठबाट खेतको छेउछेउ हुँदै हामी खोलामा झर्न थाल्यौं । अनि हिजो राति उक्लिएको आफ्नो शरीरको डोबहरु पनि नियाल्दै गयौं । आफूलाई आपत्विपत् परेको बेला कस्तो–कस्तो स्थानबाट पनि हिंड्नु पर्दोरहेछ भन्ने ज्ञान पनि दिमागमा छाप छाड्न थाल्यो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।