Mero Sabda

प्रश्नहरु


कविता

– आरती आचार्य

जीत के हो ?
कतिपटक हारेपछि जितिन्छ ?
गन्तव्य के हो ?
पाइलाहरुले कतिसम्म दूरी नापेपछि गन्तव्यमा पुगिन्छ ?
त्यहाँ पुग्न कतिपटक लड्नु पर्छ ?
कतिपटक लडेपछि पाइला गन्तव्यमा
पुग्न मजबुत हुन्छन् ?
गन्तव्यको क्षितिजलाई देख्न विचारको स्वतन्त्रता कतिसम्म हुनुपर्छ ?
स्वतन्त्रता के हो ?
तपाईं स्वतन्त्र हुनुहुन्छ ?
हुनुहुन्न भने केले बाँधेको छ ?
स्वतन्त्र भएर के गर्न चाहनुहुन्छ ?

१. ‘जीवन बाँच्न ?’
बाँच्नु के हो रु
तपाईं कति पटक मर्दै बाँच्नुभएको छरु

२. ‘उज्यालो बाल्न ?’
उज्यालो के हो ?
के उज्यालो हुनु अध्याँरोको विपरीत हुनु हो ?
अँध्यारो भएर नै उज्यालोको अस्तित्व भएको होइन ?

३, ‘प्रेम गर्न ?’
प्रेम के हो ?
सम्बन्ध के हो ?
अक्सर प्रेमले रुवाउँछ या सम्बन्धहरुको अविश्वासले ?

विश्वास के हो ?
तपाईं मलाई विश्वास गर्नुहुन्छ ?
तपाईं को हो ?
म को हो ?
मेरो र तपाईंको नाम बाहेक हाम्रो अर्को परिचय के छ ?
‘मान्छे ?’
तपाईं मान्छे बन्नु भयो ?
मान्छे को हो ?
मान्छे बन्न के गर्नुपर्छ ?
मान्छे बन्न सम्भव छ ?
’सम्भव छ तर बहुत कठिन ?’
त्यसोभए जीवन के हो ?’
‘कविता ?’
कविता हुन के हुनुपर्छ ?
के प्रश्नहरु कविता बन्न सक्दैनन् ?
के तपाईंलाई पनि यी कविता प्रश्न जत्तिकै सुन्दर लागेन ?

म्याग्दी

प्रतिकृया व्यक्त गर्नुहोस् ।