Mero Sabda

घरकालाई आफ्नो मृत्युको शंका


मजदुरको कथा

– ऐतराज नेम्वाङ “सन्तोष”

केहीबेर ओरालो लागे पश्चात् खेतको अन्तिम आली, जहाँ हामी, त्यहीं छाँगा भएको ठाउँमा आइपुग्यौं । त्यहाँबाट तल खोलाको बगरमा नजर दौडायौं । खोलामा बाढीको ताण्डव मत्थर भइसकेको थियो तर पनि पानीको मात्रा अझै पनि घटिसकेको थिएन । हामी बसेको डेरा भए ठाउँमा अझै पनि पानी बगिरहेको थियो । त्यो डेराको नामोनिशान थिएन । सिलपुरको पहिरोबाट बगेको पानीले सबै चिज बगाएर लगिसकेको थियो । अघिल्लो दिनसम्म खोलाबाट पाँच–छ फुटमाथि डिलमा बसेर काम गर्दै गरेको जेसीभी त्यो ठाउँमा थिएन । हामीले केही परसम्म नजर दौडायौं । तल खोलाको कुइनेटोमा जेसीभीको सानो अंश मात्र देख्यौं । यसको मतलब हिजो रातिको बाढी निकै भयंकर थिएछ । त्यो बाढीले धेरै ताण्डव मच्चाए जस्तो लाग्यो ।

हामी खोलामा उत्रियौं । अझै पनि घुँडा–घुँडासम्म पानी बगिरहेको थियो । त्यसमा डुब्दै हामी एमके कम्पनीको क्वाटरमा आइपुग्यौं । त्यो क्वाटरमा बस्ने मानिसले पालेको सुँगुरहरु पनि बगाएछ । त्यो क्वाटरदेखि केही मास्तिर राखेको जालीले गर्दा माइखोलाको पानी त्यता पस्न भ्याएनछ । यदि त्यो जालीलाई नाघेर पानी पसेको भए हामी त्यहीं डेरामा नै रामनाम सत्य भइसक्ने रहेछौं ।

पानीले बगाएर ल्याएको लेदोमा टेक्दै भित्ता काटेर बनाएको बाटोबाट पुलतर्फ जाने विचार गर्दै थियौं तर त्यो बाटो त राति नै खोलाको बाढीले बगाएर लगेछ । अब प¥यो समस्या कताबाट जाने ? हामी अन्योलमा उभिएर सोच्दै थियौं । त्यहाँको मानिसले ‘यताबाट जानुहोस्’ भनेर ठाडोतिर देखायो । हामीले आफ्नो सामान बोकेर जंगलको ठाडो बाटो उकालो लाग्यौं ।

कहिले त्यहाँको रुख समाउँदै र कहिले बुट्यान समाउँदै उकालो लाग्दै माथि बाटोमा आइपुग्यौं । त्यहाँबाट पिचको बाटो भएर हामी राजदुवाली पुग्यौं । पुलको छेउमा रहेको हामीले खाना खाने होटलमा पुग्यौं । दोकानको अवस्था देखेर हामीलाई टिठ लाग्यो । हिजोको बाढीले त्यो होटलको भान्सा घर जुन तल बगरबाट खम्बा गाडेर बनाइएको थियो त्यो भान्सा घर सबै बगाएछ । दोकानको आधा भाग सबै ह्वाङ्गै थियो । भान्सा घरमा रहेको सबै सामान पनि घरसँगै खोलामा बगेर गएछ । तर पनि त्यो पसलेले पसलमा आउनेलाई नास्तापानी बेचिरहेका थिए । लाग्थ्यो– उनीहरुलाई त्यो घर भत्किनु भनेको निन्द्रामा देखिएको सपना मात्र थियो ।

तर पनि बाध्यताका कारणले खाना चाहिं पाक्न असम्भव थियो । त्यसैले हामीले चाउचाउ मात्र खाएर उकालो इलामतिर लाग्ने तर्खरमा लाग्यौं । पुवामाईबाट आएको पावर हाउसको पानीको पाइपमा टेक्दै टेक्दै उकालो चढियो । रात भरको अनिद्रो आँखा । आलीमा घिस्रिएर थाकेको शरीर । त्यो पाइपको ठाढो उकालो पार गर्न गारो । म अघिअघि धेरैमाथि पुगेर हेरेको, विचरा प्रेम समाल त धेरै तल छाडिएको थियो । जसोतसो राजमार्गमा पुगियो । ठूलो श्वास फेरियो । केहीबेर पश्चात् जिरो किलोमिटर पुगियो र अफिसमा प्रवेश ग¥यौं । त्यहाँ गएर ‘अब हामी घर जाने । हाम्रो कति हिसाब हुन्छ सबै दिनु होला’ भनेको तर अफिसबाट हामीलाई घर जान दिएन । ‘भोलि फेरि तल खोलामा नै जानु । त्यहाँ जेसीभी बगाएको ठाउँमा गएर त्यसको बालुवा सफा गर्नु’ भन्ने आदेश दिए । हामीले आफू घर जाने भन्ने मात्र जिकिर राख्यौं । हामी त्यहाँबाट निस्केर पहिला सडक विभागको काम गर्दा बसेको डेरामा गयौं । त्यहाँ हाम्रो एक जना साथी कुमार कार्की अझै त्यहीं बसेर काम गर्थे । त्यो रात त्यहीं बितायौं ।

हिजोको बाढीले यता माईखोलमा त्यत िविध्वंश मच्चाएन, तर उता पुवामाई जहाँ जल विद्युतको लागि सुरुङ खनेको ठाउँमा त धेरै विनाश भएछ । कति गाडी बगाएछ । सुरुङ बनाउन प्रयोग हुने औजार पनि बगाएछ । त्यो भन्दा अझ ठूलो एक जना त्यही गोलाखर्कको स्थायी बासिन्दा र एक जना हाम्रै गाँउ हात्तीकिल्लाका मान्छेको पनि मृत्यु भएछ । शनिश्चरेको एक जना सुब्बालाई खोलाले बगायो भन्ने खबर सुनेर यता घरकाहरु धेरै आत्तिएछन् । झापाबाट इलाम उमाकान्त शिवाकोटीको घरमा फोन गरेछन् । तर त्यहाँबाट ‘हामीलाई थाहा छैन’ भन्ने जवाफ सुने पश्चात् घरकाहरु झन् धेरै आत्तिए छन् । हामीलाई त्यस बेला घरमा फोन गर्नुपर्ने भन्ने पनि होस थिएन । हाम्रो ध्येय भनेको घर जानु । केवल घर जानु ।

भोलिपल्ट उज्यालो भए पश्चात् हामी फेरि अफिस गयौं । र आफ्नो कुरा राख्यौं । पहिला त अघिल्लो दिनको जस्तै आनाकानी गर्दै थियो । धेरैवेरको घुर्कीपछी ‘घर कता हो ?’ भनेर प्रश्न गरे । हामीले पनि ‘शनिश्चरे हो’ भनेर जवाफ दियौं । त्यस पश्चात् उनीहरुले केही छलफल गरे । अनि हाम्रो हिसाबा गरेर दिए । हिसाबको रकम थापेर बाहिर निस्कँदा हामीलाई संसारनै जिते जस्तो भान भयो ।

हाम्रो मनमा अझै पनि यसको बारेमा प्रश्न उठ्छ । कि हामीले हाम्रो घर शनिश्चरे नभनेर अन्य ठाउँको नाम भन्दा त्यति सजिलै हाम्रो हिसाब दिन्थ्यो होला ? के शनिश्चरेको नामबाट नै उनीहरु डराएका थिए ? यस्ता अनुत्तरित प्रश्न अझै पनि दोहोरिन्छ । अहिले पनि लाग्छ शनिश्चरे नाम त्यहाँ मात्र होइन नेपाल राज्यको आधा भाग चाहिं अवश्य प्रभाव परेको थियो जस्तो लाग्छ । प्रभाव त झापा नामको पनि छ, तर झापा मध्येमा खास गरेर शनिश्चरेको नाम चाहिं केही अगाडि छ जस्तो लाग्छ । म प्राय कतै नयाँ ठाउँ चाहे वैदेशिक रोजगारको समयमा पनि ‘म झापाली अनि शनिश्चरेको’ भन्ने गर्वका साथ भन्ने गर्थे ।

पैसा हातमा प¥यो तर कसरी घर फिर्ने ? ठाउँ–ठाउँमा पहिरो गएर बस चलेको थिएन । त्यत्तिकैमा एउटा ट्रकमा बाख्रा हालेर शनिश्चरे जान लागेको रहेछ । हामी हतार हतार पछाडिपट्टि डालामा चढ्यौं । भित्र हेरेको बाख्रा भेडाहरु हालेको रहेछ । ह्वास्स गनायो । के गर्ने बाध्यताले गर्दा बाख्रोसँग यात्रा गर्नुप¥यो । हामी गाडीको भित्ता समाएर उभिएको थियौं । गाडी घुमाउरो बाटोमा घुम्दा बाख्राहरु सरर सुल्केर अर्को भित्ता पुग्थ्यो । फेरि अर्को घुमाउरोमा गाडी घुम्दा त्यो भित्ताबाट अर्को भित्ता पुग्थ्यो ।

पहिले त चालकले धेरै स्पिड कुदाउँदै थियो । गोदक छेउमा एउटा ट्रक भीरबाट भर्खर झरेको रहेछ । त्यो देखेर हाम्रो चालकले बिस्तारो कुदाउन थाल्यो । त्यत्तिका भेडा र बाख्रा मध्येमा एउटा भेडा चाहिं बारम्बार हाम्रो टाङमुनि आफ्नो मुन्टो घुसार्न आइरहन्थ्यो । कहिले मेरोमा आउने त कहिले प्रेमकोमा घुस्रिने । हामीसँग अर्को एक जना पनि चढेको थियो । यता हामीले खेदाउँथ्यौं, त्यो फेरि त्यो मानिसकोमा घुस्रिन पुग्थ्यो । त्यो देखेर हामी हाम्रा सारा कष्ट भुलेर मरिमरि हाँस्थ्यौं । खास गरेर फलामको पाता भएको भुइँमा भेडा बाख्राले दिसापिसाब गरेको ठाउँमा जब कुइनेटोमा गाडी मोडिन्थ्यो तब भेडाबाख्रा हिँउमा चिप्लिएझैं यता र उता चिप्लिएको देख्दा हामी खित्का छाडेर हाँस्थ्यौं । त्यो हँसाइमा अघिल्ला रातका सारा दुःख भुल्न सक्यौं ।

जसोतसो गरेर विर्तामोड आयौं । ड्राइभरले हामीलाई उत्रनु भने । ‘गाडी अहिले शनिश्चरे जाँदैन, तपाईंहरु अर्को गाडीमा जानु’ भन्ने सुनेर हामी उत्रेर आफ्नो कपडा हेरेको सबै बेहाल । भेडाबाख्राका फोहोरहरु सबै कपडाभरि लागेको थियो । तिनीहरुको मलमुत्रले सबै शरीर गन्हाएर आफैंलाई आफ्नो शरीर घिनलाग्दो लाग्यो । हामी आफ्नो घर आइपुग्दा स्वर्गमा नै पुगे जस्तो भान भयो । घरका परिवार पनि हामीलाई सकुशल देखेर शान्तिको स्वास फेरे ।

कुरा के भएछ भने एक जना हात्तीकिल्लाको देशी साँइला भन्ने सुब्बा केटालाई त्यसै बाढीमा पुवामाई खोलाले बगाएको खबरले ‘शनिश्चरेको सुब्बालाई बगायो’ भन्ने हल्ला हुँदा र हामीसँग घरको प्रत्यक्ष फोन वार्ता नभएकोले हामीलाई नै बगाएको भन्ने शंका गरेका रहेछन् । तर धन्य त्यस्तो अवस्थाबाट पनि बाँचेर आफ्नो घर आइपुग्दा त्यो बेला मृत्युलाई नै जितेर आए झैं लाग्यो ।

शनिश्चरे, झापा

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।