Mero Sabda

शनिश्चरेमा उज्यालो भित्र्याउने सूर्यनाथ बाँस्तोला


भोगाइ

– लिलक सिटौला

घटना शनिश्चरे बजारभित्रकै हुन्छ । किनभने शनिश्चरे, पाराखोपी, खुदुनावारी यी तीनै गाउँ पञ्चायतहरुलाई पञ्चायती शासनले सकेको कारण विकासनिर्माणको क्रम रोकिएको थियो । कसरी भने शनिश्चरेबाट खुदुनावारी, दानावारी हुँदै इलाम जाने गरिएको पुरानो बाटो त्यो बेला बनाएको भए यस क्षेत्रका जनतालाई मात्र सजिलो हुने थिएन, विकासको लहर नै फैलिने थियो । त्यसबेलाका विकसित ठाउँहरु अहिले आएर पिछडिने थिएनन् ।

हाम्री आमा गत २०७७ साल माघको जाडो महिनामा सत्र गते तृतीया तिथीमा हामीलाई छाडेर परमधाम जानु भयो । उहाँको उमेर अन्ठानब्बे भइसकेको थियो । त्यस बेला उहाँको बैकुण्ठबासका लागि कामना गर्न तथा हाम्रो दुःख बाँड्नका लागि परिवारका सदस्यहरु, पार्टीका सदस्यहरु, आफन्त, छरछिमेक लगायत देशविदेशबाट समेत धेरै क्षेत्रका शुभचिन्तकहरु आउनु भयो, उहाँहरु सबैले पुनः धन्यवाद तथा आभार व्यक्त गर्दछु ।

आमालाई विदा गरिरहँदा एउटा कुराको ज्ञान मलाई प्राप्त भयो, मान्छे कोही अमर रहेनछ । सबै ठूला, साना, तन्देरी, बृद्धबृद्धाले समेत आफ्नो अमूल्य जीवन न्याय कार्यमा लगाइ सुलभ र सरल बनाए मात्र जीवन सहज बितेको अनुभव हुनेरहेछ ।

हामी सानै थियौं । शनिश्चरे बजारमा बिजुली आयो । बजारमा गाडीको बिजुलीको बोल कमजोर थियो । बजारमा बिजुली आउने कुरा सुनेर नै हामी केटाकेटी समेत खुशी भएका थियौं । पहिलो पल्ट बजारका सबै बिजुलीका पोलहरुमा बेलुका साढे छ बजे बल्भहरु बले, तर मधुरो बले । एक घण्टापछि बल्भहरु उज्यालो भएर बले । त्यो उनान्तिस–तीस साल तिरको कुरा थियो । त्यो क्षण शनिश्चरेबासी र विकासप्रेमीहरुका लागि अद्भूत आनन्द र उमङ्गको क्षण थियो । पार्टी जजसको, जेजे भए पनि नागरिकले खोजेको त विकास नै थियो ।

आममानिसहरु र मैले समेत बुझेको कुरा के हो भने चाहे त्यो तानाशाी होस् या प्रजातन्त्रवादी होस्, उसको कर्तव्य के हुनजान्छ भने आफ्नो गाउँ, आफ्नो नगर, आफ्नो जिल्लाको विकास गर्ने जिम्मा उसैको रहेको हुन्छ । त्यो बेलाको बिजुलीको हाकिम सूर्यनाथ बाँस्तोला थिए । उहाँ शनिश्चरेबासी हुनुहुन्थ्यो । त्यही नाताले शनिश्चरेमा उनान्तिस सालमा विजुली भित्रियो । सूर्यनाथ बाँस्तोलालाई हाम्रो टीमले धन्यवाद दिएको थियो । भन्न मिल्दैन, बिजुली आएको दिन हाम्रो टीमले सुर्तीहट्टीमा एउटा ठूलो पार्टी गरेका थियौं । ज्ञानु मगर, लोकबहादुर मगरको घरमा एउटा ठूलो कुखुराको भोज थियो त्यो । वास्तवमा त्यो कुखुरा हामीले किनेर खाएको होइन, त्यो कसरी आयो भन्ने कुरा पाठक आफैले बुझे हुन्छ ।

त्यो बेला समयको पहिचान हुन्थ्यो । पढेका, नपढेका साथीभाइहरु बीच सम्बन्ध हुन्थ्यो । कुनै निर्णय गरिसकेपछि जुनसुकै मूल्य चुकाउनु परे पनि साथीहरु पछि हट्ने कुरा आउँदैनथ्यो । सबै निर्णय र कुराहरु गोप्य रुपमा गर्ने वाचा हुन्थ्यो । जुनसुकै काम पनि फत्ते हुन्थ्यो । जे होस्, हाम्रा लागि समय राम्रो थियो । साथीभाइ बीच जालसाजी हुँदैनथ्यो ।

शनिश्चरे बजारको विशेषता अनमोल थियो । यहाँका गनेचुनेका ठूलाबडाले गरेको निर्णय पनि चित्त बुझेन भने हाम्रो टीमले मान्दैनथ्यो । आफ्नै विवेक प्रयोग गरेर हिंड्ने हाम्रो टीमको चलन थियो । अहिले पनि हाम्रा साथीभाइहरुको त्यही चलन छ । जे होस्, सत्यको पछि लाग्ने, असत्यको विरोध गर्ने बानी हामीसँगै थियो । त्यो बेला शनिश्चरेको इतिहास क्रान्तिकारी मात्र थिएन । विचार, चिन्तन, साहित्य, सामाजिक मर्यादा र राजनीतिक विवेक बोकेको थलो थियो ।

जे होस्, शनिश्चरेमा बिजुली आयो । यहाँका बासिन्दाहरुले खुशीयाली बनाए । हामीले पनि मनायौं । नसोधी अर्काकै भए पनि कुखुरा पनि खायौं, चोरेको भने होइन, नसोधी खाएको मात्र हो । पाठकहरुलाई यसको टीम चाहिं को होला त्यतिखेर भनेर जिज्ञासा हुनसक्छ । अघिपछिका लेखहरुमा नामहरु सार्वजनिक भएकै हुन्, पुनः हुने नै छ ।

जसको नामबाट ठाउँको नाम नै बस्यो कप्तानबारी, उनै कप्तान साहेबका नामले सूर्यनाथ बाँस्तोलाका कारणबाट शनिश्चरे बजारमा बिजुली बल्यो इतिहासमा नै पहिलो पल्ट । कप्तानबारीमा घर भए पनि उहाँ चाहिं शनिश्चरे बजारको स्थित चन्द्रमणि ढकाल अर्थात् हाल दीपक ढकालको घरमा बस्नु हुन्थ्यो । आफ्नो घर छाडेर उहाँ चन्द्रमणि ढकालको घरमा किन बस्नु हुन्थ्यो, त्यो भने थाहा भएन । उहाँलाई शनिश्चरेबासीको तर्फबाट म पुनः धन्यवाद तथा आभार व्यक्त गर्दछु ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।