Mero Sabda

निर्माण सामाग्री उत्पादन गर्नेहरु नै मजदुरप्रति उदासिन


मजदुरको कथा

– ऐतराज नेम्वाङ ‘सन्तोष’

मेरो सृष्टी के कारणले भएको हो र के का लागि भएको हो ? त्यो मलाई थाहा हुने कुरै भएन । तर जब यी कलिला हातबाट कलम र कापी अनि स्कूल जाने बाटो नै बन्द भएपछि मैले जानेर हो या अन्जानमा हो निर्माण क्षेत्रमा हात हाले । भनिन्छ मजदुरहरु देश निर्माण गर्ने एक योद्धा हुन् । त्यसमा पनि निर्माण मजदुरहरु त प्रत्यक्षरुपमा नै संसार निर्माणमा लाग्ने एक योद्धा नै हो । जानेर होस् या नजानेर भए पनि राष्ट्रको लागि भौतिक निर्माणका जगहरु यिनै निर्माण मजदुरको हातबाट नै हुन्छ । यो मेरो विचार मात्र होइन म मजदुर हुनुको नाताले गर्व साथ भन्न सक्छु ।

किनकि हरेक संरचनामा म जस्ता लाखौं निर्माण मजदुरको हस्तरेखा मेटाउँदै एक एक इँटा र पाइतालामा ठेला उठाउँदै भवन निर्माणकर्ताको आँगन सुकिलो बनाइरहेको हुन्छ । आफू हिलोमा डुबेर सिमेन्टका बाछिटाले कपडा फोहोर बनाएर भए पनि आफ्नो कर्तव्य निभाउँदै घरधनीलाई सुकिला ठाउँमा बस्न योग्य हुने गरी महल बनाइदिन्छन् ।

आफ्ना मनका रहरहरु थाँती राखी आफन्तको पेट पाल्नका लागि बाध्य भएर एकनास दिनभर परिश्रम खर्चेर ठूला–ठूला महल बनाउनेहरु प्राय बर्खामा पानी चुहिने झोपडीमा बस्न बाध्य छन् । तर पनि निर्माण क्षेत्रका मजदुरहरु स्वाभिमान साथ परिश्रम गर्न तयार छन्– हर दिन, हर क्षण ।

यो प्रसंग लेख्नुको कारण के भने देशमा करोडौं लगानी गरेर खोलेका सिमेन्टका फ्याक्ट्रीहरु, त्यस्तै करोडौं लगानी गरेर खोलिएका फलामका फ्याक्ट्रीहरु, आफ्ना सामान तयार भए पश्चात् बजारमा जानुभन्दा अगाडि विज्ञापनमा लाखौं खर्च गर्छन् । ‘मेरो यो कम्पनीले यो गुणस्तर चिन्ह प्राप्त गरेको छ’ भनेर रेडियोमा विज्ञापन दिन्छन् । विज्ञापन निर्माण गरी टेलिभिजनमा प्रशारण गर्छन् । त्यसमा टेलिभिजन कम्पनीलाई खर्च दिनैपर्यो । त्यसमा अभिनय गर्ने कलाकारलाई पारिश्रमिक दिनैपर्यो ।

शहर बजारतिर या बाटा छेउहरु बडेमानको बोर्ड बनाएर झुण्ड्याउनै प¥यो । अग्ला अग्ला घरको भित्ता रङ्ग्याउनै प¥यो । त्यति गर्दा मात्र ती सामाग्रीको गुणस्तरमा विश्वास गर्नुपर्ने भो । ठूला ठूला सरकारी परियोजनामा गुणस्तर जाँच्ने प्रक्रिया हुन्छ । त्यो सामानको गुणस्तर जाँचेर मात्र प्रयोग गर्छन् । तर हामी जस्तो स्थानीयस्तरको ठेकेदार मिस्त्रीले कुन आधारले त्यसको गुणस्तर जाँच गर्ने ?

जो जीवनभर अनुभवको आधारमा मात्र निर्माण काम गरिरहेका हुन्छन् । यो डण्डी यो स्तरको छ र यो सिमेन्ट यो स्तरको छ भनेर हामीले अनुभवको आधारमा मात्र प्रयोग गरिरहेको हुन्छौं ।

अब अर्को पाटो निर्माण सामग्री बिक्री गर्ने पसल । घर साहुहरु जब पसलमा गएर निर्माण सामग्रीको लागि सौदा गर्नुहुन्छ । तब त्यो पसलेले आफ्नो सामाग्री बेच्न अनेक वहानाहरु र चिप्ला चिप्ला कुरा गरिरहेको हुन्छ । लाग्छ, निर्माण सामग्रीहरुको गुणस्तरहरु सबै उनीहरुलाई मात्र थाहा छ । त्यो बेला हामी स्थानीय ठेकेदार मौन भएर एकातर्फ फर्केर बस्न बाध्य हुन्छौं । किनकि हामी निर्माण ठेकेदार त्यहाँ गएर साक्षी मात्र बस्नुपर्छ जस्तो गर्छन् । पसले र घर साहुको मोलमोलाइको बीचमा पैसाको अड्चन आउँछ, त्यो क्षणमा त हामी झन् बोल्नै हुँदैन । किनकि लिने र दिनेको बीचमा फसियो भने धेरै महिनासम्म खुकुरीको धारमुनिको अचानो भएर बस्नुपर्छ ।

त्यसैकारण साहुले जस्तो सामाग्री किन्छन् र पसलेले जस्तो सामग्री दिन्छ, त्यसैको आधारमा हामीले काम गर्नुपर्ने बाध्यता छ । जब एउटा भवन बनाएर तयार भए पश्चात् जति नाफा आए पनि या नआए पनि आफ्नो औजारहरु बोकेर बाटो लाग्नुपर्छ । जसमा कुनै ठाउँमा हात लाग्यो शुन्य पनि हुनसक्छ त कतै केही रकम पनि कमाउन सकिन्छ । त्यो पनि ठेकेदारको हातमा । तर दश–बाह्र महिना कडा मेहनत गरेर काम गर्ने साधारण निर्माण मजदुरदेखि दक्ष मिस्त्री किन नहोस् आफ्नो ज्याला मजदुरीको हाजिरा बोक्यो हिंड्यो ।

यो करोडौं लगानी गरेर खोलेका फ्याक्ट्रीले उसको सामग्री प्रयोग गरिदिए बापत दिनुपर्ने केही सान्तवना (जो जुनसुकै रुपमा होस्) किन दिँदैनन् त मजदुरहरुलाई ? यदि उसको सामाग्री प्रचार गर्नेले पारिश्रमिक पाँउछ भने, उसको सामाग्रीको फोटोले भित्ता रङ्गाउँदा पारिश्रमिक पाउँछ भने, उसको सामाग्री बेचिदिने पसलेले शतप्रतिशत र बोनस पाँउछ भने जीवनभर टालेको भित्ता र चुहिएको छानामा बसेर उसको सामाग्री प्रयोग गरिदिए बापत किन केही नपाउने ? कि उद्योगीको लागि यी निर्माणकर्मीहरु एक निर्जिव मेसिन मात्र हुन् ? जो भिजे पनि आउँछ भन्ने र घामले पोल्दा पनि आत्था नभन्ने ?

एकपटक बजारमा शिवम् सिमेन्टको प्रवेश भयो । जुन मुलुकभरको सिमेन्ट बजारमा आफ्नो परिचय दिन आएको थियो । त्यसको निम्ति हामी जस्तो स्थानीय ठेकेदारलाई आफ्नो आफ्नो संगठनबाट यस दिन त्यहाँ भेला हुने भन्ने खबर आयो । खोज्दै जाँदा फेला प¥यो । विर्तामोडको विनायक होटल रहेछ । हामी धेरै जना ठेकेदार जम्मा भएका रहेछौं । हामी एकअर्कालाई हेर्दै अन्यौलले होटलभित्र प्रवेश ग¥यौं ।

हामी जस्तै मजदुरले बनाएको होटलभित्रको दृश्य देखेर हामी आश्चर्यमा पर्यो । पूरा कोठा झकिझकाउ । कोठाको बीचमा एउटा ठूलो प्रोजेक्टर रहेछ । त्यसमा निरन्तर एक जना बलवान युवा आफ्नो पाखुरा देखाउँदै तरवारले ढुंगा फुटाउँदै नमस्ते गर्दै शिवम् सिमेन्टको प्रचार गरिरहेको दृश्य बारम्बार देखाइरहेको रहेछ । आहा ! त्यो दृश्य हेर्दै मनमोहक । मन नै प्रफुल्ल पारिदिने खाले दृश्य ।

छेवैमा एक जना ठूला पेट भएका मानिस बसेका थिए । उसँगै अर्को एक जना हिन्दी भाषा मात्र जान्ने पनि थियो । पछि जानकारी भयो । हामी ठेकेदारहरुलाई एक वर्षको लागि जीवन विमा गरिदिने रे । सबै खुशी भए । सबैले आफ्नो आफ्नो आवश्यक कागज पेश गरे पश्चात् कम्पनीको प्रमाण पत्रमा नाम र ठेगाना अनि विमा शुरु र समाप्त लेखेको एउटा प्रमाणपत्र हातमा थमाइ दिए । त्यसको केहीबेरसम्म खानेकुराको चहलपहल बढ्यो । त्यस्तो अवसरमा त हाम्रा मजदुरहरु पछि हट्ने कुरै थिएन । खुब दबाएर खाए । सबै जना विदावारी भएर आफ्नो बाटो लागे ।

एक वर्षसम्म त हामी ढुक्क भयौं । हामीलाई केही दुर्घटना भएमा वीमा छँदै थियो । निश्चिन्त भइयो । आफू त निश्चिन्त भइयो तर आफ्नो नियन्त्रणमा काम गर्नेहरुको लागि त केही भएन । तर एक वर्ष पश्चात् त्यो वीमा पनि निष्क्रिय भयो । त्यति वीमाको कारणले त्यो कम्पनीले आफ्नो बजार फैलाइहाल्यो । जे होस्, केही सानो स्वार्थ देखाएर आफ्नो दुनो त सोझ्याए । त्यो सिमेन्ट कम्पनीले सानो भए पनि हामी जस्तो असंगठित क्षेत्रमा काम गर्ने निर्माणकर्मीलाई सानै भए पनि सम्बोधन त गरे । यहाँ त बरु उसको सामग्री बेच्ने पसलेलाई राम्रै बोनस दिन्छन् । तर भोकले छट्पटाइ छट्पटाइ आफ्नो हातको ठेला उप्किने गरी परिश्रम गरी उसको सामग्री खपत गरिदिनेलाई केही सोधपुछ गर्दैनन् ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।