Mero Sabda

विजय घोष पहिला स्थानीय बिजुली मिस्त्री


(भोगाइ)

– लिलक सिटौला

विजुलीको अर्थात् उज्यालो, शनिश्चरेमा आयो । पोल भन्नुको मतलब काठबाट बनेका खम्बाहरुमा बिजुली बल्यो । बाटाहरु कच्ची थिए । तर पनि ती कच्ची बाटाहरु साँझ परेपछि उज्याला भएका थिए । बजारको रौनक पहिलाको भन्दा निक्कै राम्रो भएको थियो । यो बत्तीले शनिश्चरेमा सुनमा सुगन्ध थपेर ल्याएको अनुभव शनिश्चरेबासीलाई भएको थियो । किनभने नक्सालबाडी र सिलिगुढीमा हामी भन्दा पहिले नै बिजुली आएको रहेछ । त्यस ठाउँका खप्पिस मानिसहरु शनिश्चरे आउन थाले । कारण के भने जुन ठाउँमा बिजुली आउँछ, त्यस ठाउँलाई कर्मभूमि बनाउनेहरुको कमी थिएन । अर्थात् आफ्नो परिवारको भरणपोषण गर्नका लागि बिजुली बिस्तार गर्ने सीप भएका मानिसहरु यहाँ आउन थाले ।

शनिश्चरेमा एक–दुई घर छाडेर सबै घर काठका थिए । ती पनि एकतले र दुई तलेसम्मका थिए । हाम्रो पनि बजार बीचमा एउटा सानो झुपडी थियो । अब पोलबाट घरभित्र बिजुली पुर्याउने जिम्मा मित्रीहरुको थियो । त्यो बेलामा काम गर्नेलाई हेरिहेरि आफ्नो अनुसारको दर्जा दिने चलन थियो । गाडी चलाउनेलाई गुरुजी, पढाउनेलाई मास्टरलाई पनि गुरुजी, लुगा सिलाउनेलाई दमाई, जुत्ता सिलाउनेलाई मोची, कपाल दारीजुँगा काट्नेलाई हजाम भनेर दर्जा दिइन्थ्यो । यस्ता धेरै दर्जा त्यो बेला काम अनुसार काम गर्नेले पाइन्थ्यो । बिजुली घरघरमा पु¥याउनेलाई मिस्त्री भन्ने चलन शुरु भयो । ती मिस्त्रीहरु सबै बाहिरबाट आएका थिए । काम पनि राम्रो गर्थे ।

हाम्रो शनिश्चरेमा धेरै कुराको अभाव थियो । किनभने शिक्षा क्षेत्रमा पनि बाहिरबाट अर्थात् भारतबाट शिक्षक ल्याएर पढाउने अवस्था थियो । त्यसको कारण हामीहरु अशिक्षित थियौं । हामीलाई शिक्षित बनाउन बाहिरबाट मानिसहरु यहाँ ल्याउनु पर्दथ्यो । जे भए पनि त्यो बेलामा स्थानीयबासी हाम्रा अभिभावकहरुको अथक परिश्रमका कारण हामीले केही सिक्ने मौका पाएका थियौं । समय परिस्थितिसँगै सबै कुराहरु बदल्नु हुँदैन । समय आउँछ, जान्छ पनि । हामी जुन अवस्थामा छौं, त्यो बिर्सनु भने कदापि हुँदैन । आफ्नो धरातल भुलेपछि मान्छे कहाँ पुग्छ, उसैलाई थाहा हुँदैन ।

बाहिरबाट आएका मिस्त्री बंगालीभाषी थिए । हाम्रो टीममा धनी, गरीब र यहीं जन्मिएका नेपालीहरु बंगाली, बिहारी, मारवाडी साथीहरुको टीम थियो । जीवनमा साथीभाइहरु पनि आआफ्ना गच्छे अनुसार छुट्दै र छोडिदै गए । तर हामीहरु बजारमा रमाउँदै गएका थियौं । बिजुली घरघर पु¥याइ दिने व्यक्तिलाई सबैले धन्यवाद दिए । तर फेरि बिजुलीले यस क्षेत्रका धेरै युवाहरुलाई हेल्फर, सहयोगीको उत्पादन ग¥यो । भन्नुको मतलब हाम्रा साथीहरुले रोजगारी पाएका थिए । जसमा हाम्रो टीमका साथी विजय घोष निकट भविष्यमा नै बिजुली जोड्ने मेकानिक भयो । हेल्फरबाट मिस्त्री भएपछि उनको यात्रा एक कदम अगाडि बढ्यो । अनि उसले पढाइ छाड्यो । ऊ बिस्तारी राम्रो मेकानिक भयो । उसले ती सबै कुरा भारतबाट आएका केशव चटर्जीबाट सिकेको थियो । त्यही सीप हुनेहरुले बिजलीको पोलमा भएको तीन वटा तारबाट घरघरमा बिजली तानियो । मलाई लाग्छ, शनिश्चरेका लागि त्यही नयाँ युग थियो ।

यतैका मान्छेहरुले काम सिकेपछि भारतबाट आउने मानिसहरुले नेपालमा कमाएको पैसा लिएर आफ्नो देश फर्किए । जे भए पनि उनीहरुको आगमनले नै हाम्रो ठाउँका मान्छेहरुले नयाँ सीप सिकेका थिए, उनीहरुले त्यो सीप सिकाएका थिए । त्यसका लागि हामी उनीहरुप्रति कृतज्ञ थियौं ।

शनिश्चरे बजारमा बत्ती आए पनि पाराखोपीमा विरिङ र टाङटिङ फुट्ने गरेको थियो । ठूलो बाढी आउँथ्यो । मानिसहरुको घरबाट, धानखेत र मान्छे समेत बगाउने गरेको थियो । बजारमा रहेको दुर्गा मन्दिर पश्चिम ठूलो बाढी आउँथ्यो । मानिसहरु हाहाकार हुन्थे । हामी भने बाढीमा पौडी खेल्नमा मस्त हुन्थ्यौं । बर्खामा ठीक समयमा पानी पर्दथ्यो । पाँचदेखि दश दिनसम्म बाढी आउँथ्यो । धेरै धनजनको नास हुन्थ्यो । तर शनिश्चरे बजारमा बाढी कहिल्यै पसेन । भगवती दुर्गामाताको संरक्षणमा शनिश्चरेबासीको कारणले क्षति नभएको हो भन्ने अलिकति अहमी हुन मन लाग्थ्यो हामीलाई ।

म जन्मिएको घर पूर्व एउटा बीस फुट चौडा भएको पैनी थियो । बाढीको प्रभाव कम भएपछि हामी त्यहाँ माछा खोज्न पस्दथ्यौं । शनिश्चरे बजारबीचबाट बग्ने त्यो पैनी काशीनाथ र बद्रीनाथको सीमानाबाट अशोक विष्ट दाइको घर पछाडिबाट हालको बिजुली अफिसको उत्तर भएर पानी बग्दथ्यो । त्यो खेत बुढाथोकी परिवारको थियो । पैनीमा माछा मार्दै जाँदा त्यो खेतसम्म पुग्दा आठ–दश किलो माछा भेटिन्थ्यो । पैनीमा मागुर, पोठी, पैंया, हिले, गराइ, ट्याङ्ग्रा लगायतका माछाहरु पर्याप्त पाइथ्यो ।

एक–दुई केजी माछा खाएर अरु माछा सस्तो दाममा बेचिन्थ्यो । काशिनाथ गुप्ताको अगाडि एक जना ठूला माछा व्यापारी थिए, एक पटक तीनलाई आठ केजी माछा नौ रुपैयाँमा बेचेको सम्झना ताजै छ । पैनीमा भएका स्थानीय माछाको भाउ अहिले आकाशिएको छ तर त्यतिखेर भाउ थिएन । शनिश्चरेको त्यो माछा बजारमा कछुवा, बुहाली, मागुर, गराइ, झिंगे, पैयाँ, गँगटा, कैंचीबाम, आदि–इत्यादि प्रकारका माछाहरु पाइन्थ्यो धेरै सस्तोमा । त्यतिखेरको नौ रुपैयाँ पनि अहिलेको तुलनामा धेरै नै पैसा थियो । त्यो नौ रुपैयाँ पचाउन हाम्रो टीमलाई झण्डै सात दिन लाग्यो । त्यस बेला आफ्नो व्यक्तिगत खर्च जुटाउन हामी माछा समेत मार्ने गथ्र्यौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।