Mero Sabda

विदेश जानु पर्ने वाध्यता


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

यो छ र त त्यो छ । त्यो छ र त यो छ । लाग्छ, यस संसारमा एकअर्कामा सबै जना परिपूरक छन् । जस्तै दिन छ र त रात छ । त्यस्तै रात छ र त दिन छ । संसारको नियम चल्न र चलाउन यो कुराको आवश्यकता अनिवार्य हो जस्तो लाग्छ । तिमी धनी हौ र त हामी गरीब हौं । हामी गरीब छौं र त तिमी धनी छौ । समाज यसरी नै चल्छ जस्तो लाग्छ । तर यहाँ अलिकति सम्पत्ति हातमा के बर्षिन थाल्छ, मानिसहरु आफूलाई कुवेर झैं ठान्न थाल्छन् । सम्पत्ति कमाउन नराम्रो होइन । सम्पत्ति कमाउन आफू र आफ्नो परिवारलाई खुशी र सुखी राख्न सकिन्छ भन्ने ध्येयले कसैले धेरै मेहनत गरेर कमाउँछन्, कसैले कम मेहनत गरेर कमाउँछन् । त्यो आफ्नै ठाउँमा छ ।

तर आफूले कमाएको सम्पत्ति अरु कसैको लागि कमाइ दिए झैं घमण्डले भ्यागुता झैं फुलेर गजक्क परेका मानिसहरु पनि देख्न पाइन्छ यहाँ । एउटै क्षेत्रमा काम गरेर पनि कसैले सम्पत्ति कमाउन नसकेकाहरुलाई अछुत झैं सम्झन्छन् । यदि भेदभाव सम्पत्तिले नै जन्माउँछ भने त्यो सम्पत्तिको मूल्य के ?

हामी असंगठित क्षेत्रमा काम गर्ने निर्माण मजदुरहरु, शरीरले त सुगठित हुन्छन् तर सबैको मन भने चाहिं दह्रो हुँदैन । कोही बाध्यताले मजदुर भएका हुन्छन् भने कोही रहरै रहरले मजदुर बनिएका हुन्छन् । जे भए पनि आवश्यकता सबैको एउटै हुन्छ जस्तो लाग्छ । कसैलाई आफ्नो परिवारको पेट भर्न सम्पत्तिको आवश्यकता त कसैलाई समय काट्नलाई व्यस्तताको आवश्यकता हुन्छ । तर यहाँ निर्माणक्षेत्रमा काम गर्ने मजदुरहरु पूर्वजन्मको कर्म भोग्न आएका झैं ठान्छन् ।

हुन त एउटै क्षेत्रमा काम गर्नेहरुमा त सम्पत्ति कमाए पश्चात् भेदभाव गर्छन् भने अन्यले त सोच्ने नै भए । उनीहरुले निर्माण मजदुरलाई दोस्रो दर्जाको नागरिक ठान्छन् । तर अब मजदुर संगठनहरु च्याउ झैं जन्मेका छन् । यी संगठनमा बसेकाहरुले समाजको सोचाइ बदल्न संघर्ष गर्ने बेला आयो । त्यही संगठनहरुले निर्माण मजदुरहरुलाई समाजमा स्वाभिमानका साथ बाँच्न पाउने वातावरण बनाउनका लागि पहल गर्ने बेला आएको छ । यदि यस्तको कार्य गर्न संगठन असमर्थ भए संगठन खोलिनुको कुनै औचित्य नै रहँदैन । किनकि सबैको आफ्नो आफ्नो संगठन छ । त्यस संगठनमा आवद्ध रहेपछि आफ्नो पीरमार्का र आफ्नो हकअधिकार खोज्न त्यही संगठनलाई झकझकाउँछन् । सबैको आस्थाको धरोहर भनेकै आफू आवद्ध संगठनहरु नै हो ।

त्यसैले अहिले समाजमा भइरहेको विभाजनलाई यस्तै संगठन मार्फत् विभाजनको खाल्डो पुर्न सक्छ । तर आफ्नै निर्माणक्षेत्र होस् या अन्य कुनै क्षेत्र होस्, त्यसमा रहेकाहरु भित्रै वरिष्ठ र कनिष्टको विभाजनलाई चाहिं यो संगठन भन्ने चिजले पनि जोड्न नसक्ने रहेछ ।

निर्माण क्षेत्रमा प्राय अनुभविहरु जो धेरै पहिलाबाट नै काम गर्दैआएकाले कम अनुभविलाई केही हेयको दृष्टिले हेर्ने चलन पनि छ । नयाँ प्रवेश गरेका मजदुरलाई त त्यस्तो दुव्र्यवहार गर्दैनन् । तर यस क्षेत्रमा काम जान्ने र नजान्नेको बीचमा केही असमझदारी झैं हुन्छ । अझ यसको चर्चा त छुट्टिको दिन दारुपानी खान बस्दा जब दारुले छुन थाल्छ तब सबै कुरा ओकल्छन् । कुन साइडको कुन मजदुरले उसको मानहानी गरेको थियो । कुन ठेकेदारले उसको अपहेलना गरेको थियो । आफ्नो साथमा काम गर्ने दक्ष मिस्त्री कत्तिको काम गर्न जान्दछ या जान्दैन । त्यसले उसलाई कस्तो असर परेको छ । सबै त्यो बेला ओकल्छन् । किनकि जब मानिस मात्छन्, तब उसको मुखबाट सत्य वचन निस्कन्छ । त्यसमा म पनि अछुतो थिइनँ ।

अनि स्थानीय ठेकेदार पनि त्यसमा केही कमी थिएन । जसले धेरै सम्पत्ति कमायो ऊ समाजमा गन्यमान्य ठेकेदार । जसले सम्पत्ति कमाएन, ऊ जहिले पनि मजदुर केवल मजदुर मात्र भएर जीवन बिताइरहेको हुन्छ । उदाहरणका लागि भन्नुपर्दा हाम्रै साथी छन् रामव्रिज । जो केवल मजदुर मात्र रहेर काम गरिरहेका छन् । ऊ पनि यहाँ यस क्षेत्रको धेरै पुरानो मिस्त्री हो । उसले धेरै वर्ष यो क्षेत्रमा रहेर काम गरेको छ । तर उसले सम्पत्तिको नाममा केवल नाम (रामव्रिज) मात्र नाम कमाएको छ । ऊ जस्तै अन्य धेरै जना ठेकेदार पनि छन् । तर रामव्रिजको जस्तो अवस्था अरुको छैन । तर पनि ऊ आफ्नो परिवारसँग बसेर सुखी र खुशीसाथ जीवन बिताइरहेका छन् । न उनमा नामको घमण्ड छ, न त दामको घमण्ड छ । तर यहाँ कोही–कोही ठेकेदार रुपैयाँ–पैसा कमाएर घमण्डले भ्यागुता फूले झैं फूलेर हिंडिरहेका हुन्छन् । घमण्ड पनि यति कि संसारमा उसले मात्र सम्पत्ति कमाएको छ । अनि जीवनभर सम्पत्ति मात्र कमाइरहने आशामा अहंकारले जीवन बिताइरहेको छ ।

त्यो भीडमा म अलग्गै थिएँ र छु । सदा संगठनको पछि लागेर आफू र आफू जस्तै मजदुरको हकहितको लागि सदा अग्रसर भएर लागिरहेको थिएँ । कहिले सम्पत्ति कमाएँ होला । कहिले शुन्य हात लिएर कुनामा थन्किएको पनि छु । सम्पत्ति कमाएर भ्यागुता फूले झैं फूल्न पनि जानिनँ । हात लाग्यो शुन्य हुँदा पनि निराशामा डुबिनँ । जीवनभर जति सम्पत्ति कमाए जस्तै केही नाम पनि कमाए झैं लाग्छ । कहिलेकाहिं एक्लै हुँदा सोच्छु कि दाम कमाउन नसकिए पनि नाम चाहिं पक्कै कमाएको छु, यति सोच्दा आफैलाई गौरव लाग्छ ।

जीवनको आरोह–अवरोहसँगै जिन्दगी बितिरहेको थियो । तर जीवन एकैनास कहाँ हुँदोरहेछ र । मेरी कान्छी छोरी बिनिताको जन्म भए पश्चात् हामी तीनबाट चार भयौंं । म दोस्रो छोरीको जन्मबाट धेरै खुशी भएको थिएँ । म मात्र होइन, मेरी श्रीमती पनि खुशी देखिन्थिन् । तर जन्मेको दश दिन पश्चात् अचानक सानी छोरीलाई ज्वरो आयो । डाक्टरकोमा उपचार गराएर दबाइ पनि ल्यायौं । तर पनि ज्वरो उत्रेन । अन्त्यमा डा.बलराम मिश्रकोमा पुगियो । उहाँले दबाइको साथ बीसवटा सुई लगाउनुपर्छ भनेर दश वटा सुई दिएर पठाइ दिनु भो । त्यो दश दिनको शिशुलाई दश वटा सुई लगाउँदा पनि ज्वरो उत्रिएन । फेरि डाक्टरलाई देखायौं । फेरि उहाँले पाँच वटा सुई दिनुभयो । र त्यो सुई दुई वटा लगाउँदा नानीको खुट्टा चल्न छाड्यो । हामी आत्तियौं । के गर्ने के नगर्ने । आत्तिएर फेरि डाक्टरकोमा पुग्यौंं, तर डाक्टर सा’ब ‘म बाट केही हुँदैन’ भनेर पन्छिए । अब हामीले के गर्ने ? बाध्य भएर हामी घर फि¥यौं । त्यही अवस्थाको नानीलाई हुर्काउन थाल्यौं । त्यसको केही दिनमा नानीको ज्वरो उत्रियो तर उसको कम्मरदेखि तल चलेन । त्यसमा हाम्रो दोष हो या त्यो नानीको कर्म । हामी विवश भएर त्यही अवस्थाको छोरी पाल्न थाल्यौंं ।

घरको अवस्था कमजोर भएकोले एकपटक वैदेशिक रोजगारमा जाने अठोट गरियो । र साहुसँग ब्याजमा पैसा लिएर विदेश जान तयार भइयो । आफ्नो घरमा छ वर्षको र चार वर्षको नाबालक छोरीहरु र जीवनसंगिनीलाई छोडेर अन्ठाउन्न सालको चैत महिनामा घरबाट विदा लिएर काठमाडौं लागें ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।