२०७८ असार ४ शुकर्बार
Mero Sabda

आर्मीलाई धुलाइ, सित्तैमा सिनेमा


(भोगाइ)

– लिलक सिटौला

सर्बप्रथम, सबै पाठक तथा शुभचिन्तकहरुमा म अनुरोध गर्दछु कि आफू बचौं र अरुलाई पनि बचाऔं । कोभिडको रङ्गीविरङ्गी चालसँग जोगिऔं । सबैमा यही कामना छ ।

मानिसको जीवनमा जन्मपछिको कर्महरु धेरै हुन्छन् । कहिले दुःखमा, कहिले सुखमा बितेको जीवनभित्र मेरा धेरै साथीहरु सुखमय थिए । म पनि हल्का दुःख भए पनि खानेकुराको कमी थिएन । किनभने मेरो घर शनिश्चरे बजारको बीचमा थियो । शनिश्चरे बजारभित्र धेरै ठाउँमा रुखहरु थिए । वरपरका घरहरुमा बगैंचाहरु थिए आँपलिचीका । दुर्गा मन्दिरभित्र जमुनाको रुख थियो । कतिपय घरहरु काठका भाटा तथा बाकलहरुले घेराबारा गरेका हुन्थे । तर पनि ती रुखहरुका फलहरु हाम्रा लागि नै रोपिदिए जस्तै थिए । अर्थात् फलफूल जसले र जहाँ रोपे पनि हाम्रा लागि खान समस्या थिएन ।

शनिश्चरेमा शनिवारका दिन सिनेमा दिनमा तीन शो लाग्थ्यो । शनिवारका दिन केही न केही हुनै पथ्र्यो । घटना घट्न आँटेको रहेछ । हामीहरु पनि राजनीतिमा अलिक अगाडि बढिसकेका रहेछौं । पाठकहरुलाई मैले पहिले नै भनिसकेको छु । हाम्रो टीम धेरै असल र सभ्य थियो ।

कुरो शनिवारको थियो । हामी भन्दा पनि म र गोविन्द गिरी बाह्र बजेको शो फिल्म हेर्न गएका थियौं । फिल्मको नाम थियो– ‘हात्ती मेरा साथी ।’ हिरो थिए राजेश खन्ना र हिरोइन थिइन् तनुजा । गीतको बोल थियो– ‘चल चल मेरे हाथी, तु मेरा साथी ….. ।’ वाह ! गीत पनि राम्रो, फिल्म हिट भयो । शनिश्चरेको हलको नाम थियो– पारस टाकिज ।

फिल्म सकिएको मात्र के थियो हामीलाई अर्थात् म र गोविन्दलाई खबर आयो– ज्ञाने थापालाई आर्मीहरुले धुलाइ गर्ने रे । हामी दुबै हलबाट बाहिरिंदै बजार तर्फ लाग्यौं । कथा के रहेछ भने शनिवार शनिश्चरे बजारमा ठूलो हाट लाग्थ्यो । चारआलीबाट आएका राजाका सेनाहरुले गोसहट्टीमा मस्त मालपानी खाएर बजार भरेर आफ्नो गन्तव्यमा फर्कन लागेका हाम्रा गाउँका चेलीबेटीहरुलाई अभद्र गर्न थालेछन् । नारायण चौक वर भीम कट्टेल सरको घर अगाडि हाट भरेर फर्कैदै गरेका महिलाहरुको समाउने, स्तन छुने लगायत विभिन्न किसिमका दुव्र्यवहारहरु सेनाले गर्दै गरेको भन्ने सूचना ज्ञानेलाई पुगेछ ।

ऊ तुरुन्त त्यहाँ गएछ । त्यस कुराको प्रतिकार गर्ने खोज्दा हात हालाहाल भएछ । ज्ञानेले एउटालाई त्यहीं घुँडा टेकाएछ । त्यहाँ तीन जना रहेछन् । अरु भागे छन् तत्कालै । भागेर जानेले अरुतिर छरिएका आर्मीहरुलाई भेला गरेछ र सबै मिलेर ज्ञानेलाई पक्रिएर ल्याउँदै रहेछन् । सात–आठ जना आर्मीहरु थिए, प्रायः सबै मातेका थिए ।

ज्ञाने अलिक सन्काहा भए पनि न्यायप्रेमी थियो । अन्याय सहँदैनथ्यो । हाम्रो टीको विशेषता पनि यही नै थियो । म, भरत बुढाथोकी र गोविन्द गिरी बजारभित्र पसिसकेका थियौं । ढाट छेउमा रहेको नेपाल बैंक अगाडि हामी भेला भएका थियौं । ज्ञानेका पक्षमा हामीले धेरै ठूलो जमात बनाइसकेका थियौं । बजारका भुरा केटाकेटी समेत त्यहाँ भेला भएका थिए । सबै मिलेर उनीहरुलाई रामधुलाइ गरियो । हामीलाई सजिलो के थियो भने उनीहरु मस्त मातेका थिए । मातेकाहरुलाई कुट्न सजिलो पनि हुँदोरहेछ । बजारमा लडाइँ हेर्नेको भीड थियो ।

भरतले फ्ल्याङ्किक माथ्र्यो । गोविन्द बलियो थियो, टिप्दै फाल्दै गथ्र्यो । म र ज्ञाने भने नानचाकुले गोद्थ्यौं । राजाका आर्मीहरु भागे । हामीलाई त्यस बेलामा शनिश्चरे र गोसहट्टीका सबै दाजुबैनी, दिदीभाइहरुले साथ दिएका थिए । हामी भने दङ्ग भएका थियौं । घटनापछि त्यहाँ त दीपकसेन भट्टराई, लोकबहादुर तामाङ, विनोद थापा, सुरेन्द्र हाडा, मोहन शिवाकोटी लगायत धेरै जना आइपुग्नु भयो । धेरै साथीहरु यस्तो मामलामा आउँदैन थिए । किनकि उनीहरु भलाद्मी थिए । तर पनि हाम्रो कदमलाई साथ भने दिन्थे ।

भोलिपल्ट राजाको शाहीसेना कुट्ने केटाहरु को–को हो भनेर दुई ट्रक आर्मीहरु शनिश्चरे बजारलाई रेड गर्न आएछन् । हामी चार जनाले सुइको पाउने बित्तिकै आआफ्नो गौंडामा भूमिगत भएका थियौं । पैंतीस सालतिरको कुरा हुनपर्छ यो । आर्मीले हामीलाई भेटेन । बेलुकातिर फर्कियो बटालियन ।

त्यो बेला हामीलाई बचाउन केशबकुमार बुढाथोकी दाइको महत्वपूर्ण भूमिका रह्यो । किनभने हाम्रो नियत खराब थिएन । हाम्रो गाउँघरका चेलीबेटीहरुलाई बाहिरबाट आएर, त्यो पनि श्री ५ को सरकारको जागिरे आर्मीहरुले देश र जनताको सुरक्षा दिनुपर्ने अवस्थमा रक्षक नै भक्षक भएको हुँदा नै त्यो घटना घटेको थियो । शनिश्चरेका सबै मानिसहरुले यो काम ठीक गरे केटाहरुले भनेर हाम्रो समर्थन गरेका थिए । हामी पनि राजनीतिक सोच बोकेर हिंडिसकेका थियौं । जसले गलत काम गर्छ, त्यसको विरोध गर्नु हाम्रो दायित्व र कर्तव्य हुन गएको थियो ।

केशवकुमार दाइ त्यस बेला शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । त्यो बेलामा जनप्रतिनिधिहरुको ठूलो पावर हुन्थ्यो । केशवकुमार दाइसँग प्रशासन डराउँथ्यो । पञ्चायतको चरम बेलामा हाम्रो कुरा बुझ्ने मान्छेमा केशवकुमार दाइ पनि हुन्थ्यो । त्यसो त छात्रा साथीहरुको पनि अमूल्य सहयोग र समर्थन थियो । जस्तै सुष्मा शिवाकोटी, सुष्मा कपिल, सुशिला शिवाकोटी, पवित्रा कार्की, तारा भण्डारी, पुष्पा ओली, टीका घिमिरे, भोजकुमारी भट्टराई, सकिला ढकाल । सकिला अहिले हामी माझ रहिनन् ।

अरु धेरै साथीहरुको हामीलाई समर्थन थियो । बाहिरी रुपमा हामी जे भए पनि भित्री रुपमा हामी त्यो बेला बलिया थियौं । सबै समस्याको समाधान भएपछि हाम्रो टीम फेरि सिनेमा हेर्ने भयो । ‘हात्ती मेरा साथी’ हर्ने धोको पूरा भएको थिएन । यस पटक रि–बाल्कोनीबाट फिल्म हेर्ने मैले प्रस्ताव गरें, भरतले समर्थन ग¥यो । किनकि भरत हल मालिक थियो । पैसा लाग्दैनथ्यो । उसले समर्थन गरेपछि आर्मीलाई धुलाइ हानेर सबै झगडा मिलिसकेपछि फेरि मन शान्त पारेर नौ जनाले सित्तैमा सिनेमा हेर्यौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।