२०७८ असार ४ शुकर्बार
Mero Sabda

प्लेनको यात्रा


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

आँखाभरि अरबमा पैसा बटुलेर सानो संसार सजाउने सपना बोकेर अनि मनभरि आफ्नो मुटुको टुक्रा छोरीहरुलाई र जीवनसाथीलाई छाडेर जानुको पीडा, हातमा सानो हरियो झोला बोकेर जसोतसो काठमाडौं पुगियो । हाम्रो दश जनाको भिषामा म मात्र काठमाडौं आइपुगेको थिएँ । अरु एक जना ओखलढुङ्गाबाट आउनुपर्ने रहेछ । अन्य आठ जना त्यहीं काठमाडौं वरपर टोखातिरका रहेछन् । उनीहरुले म्यानपावरमा पैसा बुझाएको रहेन रहेछ । म एक्लै काठमाडौंको गेष्टहाउसमा बस्न बाध्य भएँ । मसँग साथमा भानु शिवाकोटी त थिए, तर उनी पनि एक दुई दिन बसेर घर फिरे । अब म एक्लै पेन्टको भित्री पकेटमा साठी हजार रुपैयाँ बोकेर कहिले कता, कहिले कता भौतारिएँ । काठमाडौंमा एक हप्ता घुमेपछि बल्ल–बल्ल प्लेन चढ्ने साइत जु¥यो ।

हातमा पासपोर्ट र टिकट बोकेर एयरपोर्ट पुगियो । मूलगेटमा धेरैबेर प्रतीक्षा गर्नुप¥यो । अन्य साथीहरुको परिवारहरु साथैमा आएका रहेछन् । सबैको निधारमा रातो टीका र घाँटीमा फूलको माला पहिरिएर आएका थिए । उनीहरु आफ्ना आफन्तसँग गफ गर्न थाल्थे । तर मेरो त आफन्तहरु कोही थिएन । मन अमिलो भएर आयो । सबैको अनुहार हँसिलो देखिन्थ्यो । हँसिलो पनि किन नहोस्, उता अरबमा पैसा टिप्न जाने मान्छेको मन प्रफुल्ल भइरहेको बेलामा । केहीक्षण पश्चात् जब हामी एयरपोर्ट पुग्यौंं, मेरो मुटु ढुकटुक गर्न थाल्यो । अब चाहिं पक्कै देश छाडिने प¥यो । भनेर मनमा कताकता दुःख लागेर आयो । फेरि उता नौलो ठाउँ त्यहाँको रितिरिवाज कस्तो छ ? कस्तो कम्पनीमा परिने हो ? मनमा खेलिरह्यो । नयाँ देशको नयाँ परिवेशमा घुल्न सकौंला कि नसकौंला ? त्यहाँ त दुई–चा वटा सूर्य उदाउँछ अरे भन्ने सुनेको । आगोको राप नै दन्कन्छ कि क्या हो ? मनमा ढुकढुकी बढी नै रह्यो । घरबाट छुट्टिनुको पीर सबै भूलेर अब त उतैको पीरले छाती पोल्न थाल्यो । विमानस्थलको प्रतीक्षालयमा बस्दा निधारमा चिटचिट पसिना निस्कन थाल्यो । हातखुट्टा पनि चिसो भएर आएझैं लाग्यो ।

केही क्षण पश्चात् हामी चढ्ने प्लेनको लागि सूचना जारी भयो । हामी जराकजुरुक उठ्यौं र भेडाबाख्रा झैं लस्कर लागेर प्लेन भएतर्फ लाग्यौं । धावनमार्गमा या बडेमानको जहाज उभिएको देख्यौं । अरुलाई त कस्तो अनुभूति भयो मलाई थाहा भएन, तर मलाई चाहिं प्लेन उडेको आवाज सुन्दा पनि मुन्टो ठाडो पारेर आकाशतर्फ हेर्ने गर्थें पहिला त्यसैले धेरै बेर हेरें । धेरैबेर हेरेपछि सानो भँगेरो जत्रो जहाज उडिरहेको केही क्षण निहाल्ने मानिस म आज प्रत्यक्ष आँखाकै सामु ठूलो जहाज देख्दा अँगालो हालौं झैं त लागिहाल्छ नि । फेरि विराटनगरको कथा त यादै छ ।

हेर्दाहेर्दै आफ्नो अगाडि लामो सिंडी तेर्सिएको देखें । त्यसको खुड्किलोमा एक पटक टाउकोले ढोगौं झैं लाग्यो तर संकोचको कारणले त्यसो गर्न सकिनँ । सिंडीबाट उक्लिएर प्लेनको ढोकामा पुगेको एउटी सुन्दरी युवती मूख्य द्वारमा नै उभिएर अंग्रेजीमा खोइ के भनी र मुसुक्क मुस्कुराइ दिएँ । भित्र प्रवेश गरेपछि अर्की युवती आई र मसँग टिकट मागी अनी सिट नम्बर बताइ दिई । अनि म गमक्क परेर सिटमा बसें ।

त्यसको केहीबेर पश्चात् हाम्रो अगाडि आएर के के भट्याउन थाली र त्यसको केही बेरमा प्लेन उड्न थाल्यो । जब जहाजले जमीन छाड्यो, एक पटक हंसले ठाँउ छाड्यो । त्यो क्षण सोच्दा त अबबाट प्लेन चढ्दिन भन्न मन लागेको थियो । त्यो प्लेनको साढे चार घण्टाको यात्रा मेरो लागि जीवनको पहिलो रोमाञ्चक यात्रा थियो । कहिलेकाहिं ढुङ्गाघारीमा गाडी कुदेझैं गडडड गथ्र्यो त कहिले मुटु नै चिसो हुने गरी तलमाथि गथ्र्यो । सानोमा रोटेपिङ खेलेझैं लाग्थ्यो ।

खाना त ल्याएर दिएकी थिई, तर खै के के हो कुन्नी ? एउटा च्याउको डल्लो झैं लागेको थियो तर अरु के के हो चिन्नै सकिएन । तर पनि स्वादिलो मानेर खाइयो । केही बेरमा चियाकफी ल्याएर दिई, तर चिनी नै भेटिएन । त्यो पोको हेरें, त्यो पनि छैन । अर्को पोका हेरें, त्यो पनि होइन । अन्त्यमा खल्लै चिया पिएर ग्लास सिटमा रहेको चेपमा घुसारी दिएँ । यी सबै चिज खाइसकेपछि चारैतर्फ हेरें, सबै जना मस्त निदाउन पो थालेका थिए तर आफू चाहिं निदाउन सकिएन ।

मेरो सिट झ्यालको छेउमा थियो । अनि म चाहिं एकनास झ्यालबाट दृश्यहरु चिहाउन थालें । धेरै टाढा–टाढासम्म पहाडहरु मात्र देखिन्थ्यो । हिँउ नै हिँउले ढाकेका पहाडका टाकुराहरु देख्दा कस्तो आनन्द आएको थियो ।

जब प्लेन उडेको दुई–तीन घण्टा बित्यो। तब त ल जमीनको ठाउँमा समुन्द्र नै समुन्द्र देखिन थाल्यो । जता हे¥यो पानी मात्रै । नीलो समुन्द्र बीचमा आगोको मुस्लो निस्किरहेको देखिन्थ्यो । एक–डेढ घण्टासम्म चारैतर्फ पानी मात्रै देख्दा आफैलाईं निस्सासिएको भान भयो । आफूले आफूलाई ढाढस दिँदै सम्हालिएँ । त्यो दृश्य हेरिरहेको बेला अचानक केही भनेको जस्तो गरी माइकमा बोल्यो । प्लेनको अगाडि रहेको ठूलो स्क्रीनमा हेरेको हामी पुग्नु पर्ने देश कतार आउन लागेको रहेछ । अनि त्यही स्क्रीनमा त्यो देशको सँस्कृति झल्कने पहिरन अनि त्यहाँको रितिरिवाजहरु देखाउन थाल्यो । त्यहाँको पर्यटकीय स्थलहरु पनि देखाउन थाल्यो । अनि बल्ल लामो श्वास फेरियो ।

‘अब चाहिं पक्कै गन्तव्यमा पुगियो’ भनेर हामी एकअर्काको अनुहारमा हेर्न थाल्यौं । सबैको अनुहारमा खुशीको लहर छाएजस्तै लागिरहेको थियो । जे होस् सकुशल गन्तव्यमा पुगियो भनेर हामी ढुक्क भयौं । र त्यसको केही बेरमा प्लेन पनि अवतरण भयो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।