२०७८ असार ४ शुकर्बार
Mero Sabda

मृत्यु



(कविता)

– निरज आचार्य

गनाएको छ डुङ्डुङ्
हावामै मिसिएको मृत्युका कणहरु
सन्त्रासमा, कोठाभित्र उकुसमुकुस
सिंगो शहर
हरदिन
सरकारले जारी गर्ने सूचनामा
मृत्य गनेर बसेका छन् ।

आफन्तका लागि
एक ‘सिलिण्डर’ श्वास खोज्न नसकेर
एक ‘भायल’ प्राण किन्न नपाएर
किंकर्तव्यबिमुढ मनुवाहरु
किरा–फट्याङ्ग्रासरि
अस्पतालमा लडेका आफ्नाहरुको
मृत्युको खबरको पर्खाइमा
विवश, लाचार कुरिरहेका छन्

जीवनको खोजीमा देशभरिका
मान्छेहरु थुप्रने यो शहर
भष्मेश्वरको नमिठो धुँवामा गुम्सिएर
एक घुट्को प्राणवायुको लागि छट्पटाइरहेको छ
थाहा छैन
भोलि ककसको मृत्युको खबरले
रंगिने हो सामाजिक सञ्जाल
ककसको मृत्युको संख्या जोडिने हो
सरकारी आँकडामा

प्रतिकृया व्यक्त गर्नुहोस् ।