२०७८ असार ४ शुकर्बार
Mero Sabda

छत्तीस सालको आन्दोलन


(भोगाइ)

– लिलक सिटौला

काठमाडौंमा मात्र होइन, देशभरि नै विद्यार्थीहरुको फाट्टफुट्ट आन्दोलन भइरहेको थियो । त्यसको असर हाम्रो शनिश्चरेलाई पनि परेको थियो । २०३५ को अन्त्य र २०३६ को बैशाख पहिलो हप्तादेखि नै अन्दोलनको आगो सल्किसकेको थियो । त्यो आन्दोलनले ठूलो रुप लियो । त्यस बेला प्रधानमन्त्री सूर्यबहादुर थापा हुनुहुन्थ्यो । हामीलाई विरोध गर्ने पाए हुन्थ्यो । किनभने हामी पञ्चायतको विरोधी भएका थियौं ।

वास्तवमा हामी धेरै साथीहरु पञ्चायती व्यवस्थाको विरोधी भइसकेकै रहेछौं पहिलादेखि नै । विद्यार्थीका केन्द्रीय नेताहरु जिल्ला–जिल्ला आएर भाषण गर्न थाले । आन्दोलन झन् बढेर आयो । देशव्यापी रुपमा आन्दोलन भयो । हामीले पनि शनिश्चरे मावि बन्द गर्यौं । म लगायत दीपकसेन भट्टराई, लीला खतिवडा, सुरेश आचार्य, गोविन्द गिरी, केदार गिरी, सरोज बुढाथोकी, विष्णु ढकाल, ज्ञानबहादुर थापा, टेकमाया बराल, कृष्णमाया कढुवाल, सकिला ढकाल, सविता ढकाल, उर्मिला दाहाल, सरस्वती भेटवाल यस्ता धेरै पाात्रहरुको जन्म भएको रहेछ त्यो आन्दोलनका लागि । आन्दोलनको कारण शनिश्चरे बजार मूख्य टार्गेट थियो । स्कूल हाम्रो कब्जामा थियो ।

हाम्रो अर्थात् देशभरिका विद्यार्थी आन्दोलनले धेरै राजबन्दी जेलबाट छुटे साथै प्रवासमा रहेका राजनेताहरु पनि देशभित्र आउने वातावरण बन्यो । छत्तीस सालको त्यो आन्दोलनका कारण राजा वीरेन्द्रबाट जनताको नाममा हुकुम भयो । त्यो हुकुमबाट सुधारिएको पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्थाको जनमत संग्रह गर्ने घोषणा भयो । त्यसपछि हामी धेरै बलियो भएको महसुस गरियो । बहुदलीय व्यवस्थाका पक्षले जित्ने निश्चित छ भन्ने आत्मविश्वास हामीलाई जाग्यो ।

बहुदलको पक्षमा प्रचार गर्नेहरुको भीड लागेको थियो । विजय देवान, विजय तोस्निवालहरु पनि सक्रिय हुनथालेका थिए । हामी पछाडिका साथीभाइहरु पनि प्रचार–प्रसारमा कुद्न थाले । अर्थात् हामीले कुदाएका थियौं । किरण बन, दुर्गा सुबेदी, राधेश्याम गुप्ता, रमेश मिन्त्री, ज्योति विष्ट, विदुर थापा, चतुर्भुज काफ्ले, महिला साथीहरुमा सुशिला शिवाकोटी, पवित्रा कार्की, तारा भण्डारीहरुको भूमिका राम्रो भएर आएको थियो ।

त्यस बेला हाम्रा आदरणीय नेताहरु हुनुहुन्थ्यो, फत्तेबहादुर बुढाथोकी, दलकृष्ण श्रेष्ठ, पूर्णबहादुर ढकाल, भूविक्रम नेम्वाङ, चक्र बाँस्तोला, फत्तेबहादुर बुढाथोकी, दलकृष्ण श्रेष्ठ, डा. शंकरप्रसाद उप्रेती, कृष्णप्रसाद मिश्र, पूर्णबहादुर ढकाल, भूविक्रम नेम्वाङ, चक्रप्रसाद बाँस्तोला, सीके प्रसाई, रामबाबु प्रसाई लगायत । हाम्रो यस भेग अर्थात् शनिश्चरे, खुदुनावारी, पाराखोपी छेउछाउका विर्तामोडसम्म हाम्रो एरिया थियो । प्रचारप्रसारका क्रममा कहिलेकाहिं मारपिट पनि हुन्थ्यो ।

पञ्चायत समर्थकलाई पञ्च र मण्डले भन्ने चलन थियो । हामीहरुलाई भने बहदुले भन्दथे । हाम्रो जात नै बहुदले भएको थियो । मण्डललेको झुण्डले हामीलाई भेटे भने बोदी हान्थे, हामी पनि उनीहरुलाई भेटे रामधुलाई हान्थ्यौं । त्यतिखेर जसले मान्छे धेरै कुट्यो त्यसैलाई धेरै भोट आउँछ जस्तै भएको थियो ।

शनिश्चरे बजारभित्र दुवारिका अग्रवाल भन्ने बूढा मान्छे थिए । उहाँको नाम नै बहदले काका रह्यो । हाम्रा केही साथीहरुलार्य पञ्चहरुको इशारामा प्रहरीले पक्राउ गरी शनिश्चरे प्रहरी चौकी पु¥याएछ । हामीले तुरुन्तै गएर छुटाएर ल्याएका थियौं । छुट्ने भाइहरुमा सुरेश आचार्य, राधेश्याम गुप्ता, रमेश मिन्त्रीहरु थिए । मोहनकृष्ण ढकाल, टंक राय, नारद कोइरालाहरु पनि मच्चिन थाल्नु भएको थियो । इन्द्र कार्की झन् सशक्त भएर आउनु भो । शनिश्चरे बजारको माहौल तातेको थियो । कसैलाई पनि फुर्सद नै थिएन । सबै पक्षले काम पाएका थिए ।

एकाएक हाम्रो हल्ला आयो, हाम्रा अग्रजहरुको आग्रहमा केशवकुमार बुढाथोकी पनि बहुदलमा आउने अरे । हामी धेरै खुशी भएका थियौं । किनभने संगठन अलिक गतिलो हुन्छ भनेर । भोलिपल्ट कृष्ण मिलको प्राङ्गणमा हाम्रा अग्रजहरु फत्तेबहादुर बुढाथोकी, दलकृष्ण श्रेष्ठ लगायतको छलफलबाट केशवकुमार बुढाथोकी बहुदलीय व्यवस्थाको आन्दोलनमा प्रवेश गर्नुभयो । शनिश्चरेले सुनमा सुगन्ध पायो । उहाँ त्यस बेला शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो ।

केशवकुमार बुढाथोकी बहुदलवादीको समर्थनमा भएको हल्लासँगै शनिश्चरेमा ठूलो परिवर्तन आयो । त्यसको कारण शनिश्चरे बजारबीचमा रहेको उत्तर तर्फ फर्केको भिर्गुनाथ गुप्ताको घरको अगाडिको पक्की ठाउँमा हामीले ‘बहुदल जिन्दावाद,’ ‘भोट के मा नीलोमा’ भनेर लेख्यौं । त्यो लेखेपछि शनिश्चरे बजार नै कब्जा भएको हामीले महसुस गरेका थियौं ।

केशवकुमार बुढाथोकी बहुदलको पक्षमा जिल्लाकै अग्रज नेता हुनुभयो । सीके प्रसाई, भारतबाबुहरुसँगै उहाँले झापा जिल्लाभरि बहुदलको पक्षमामा मत मागेर हिंड्नु भयो । पञ्चायतहरुको चुनाव चिन्ह पहेंलो थियो । शनिश्चरे बजारभित्र घर भएका बाबुराम भण्डारी काजी दाइ र जंग कपिल त झन् बन्दुक नै उठाउने हिसाबमा आक्रमकशैलीमा हुनुहुन्थ्यो ।

शनिश्चरेका ढकाल बन्दुहरु आधा बहुदलवादी र आधा निर्दल तर्फ बाँडिनु भएको थियो । मोहन धिताल खास मान्छेमा पर्नुहुन्थ्यो आन्दोलनको । शिक्षक संघका शिक्षकहरु आदरणीय गुरु–गुरुआमाहरु कृष्णप्रसाद शिवाकोटी, भरत विमली, शेखरनाथ अधिकारी, बासुदेव ढुङ्गेल, डिल्लीराम दहाल, गंगादेवी जोशीहरुको भूमिका कदरयोग्य थियो । बहुदललाई विजय गराउन पक्षमा उहाँहरुको अथक प्रयास रहेको थियो ।

बजारबीचमा ‘म विपी कोइरालासँग हिंडेको मान्छे’ भन्दै पुराना व्यापारी हिरालाल मित्तल बहुदलवादी भए । उहाँ मेरा अनन्य मित्र भिखम मित्तलका पिताजी हुनुहुन्थ्यो । देशभरि मच्चिएको बहुदलको प्रचारमा कांग्रेस पार्टीले निर्णय गर्यो, सबै विद्यार्थीa, अभिभावकहरुले आआफ्नो गाउँमा गएर बहुदलको पक्षमा प्रचारप्रसार गर्नु भनेर । नभन्दै काठमाडौंमा पढ्न गएका हाम्रा अग्रज दाइहरु, साथीहरु मित्रसेन भट्टराई, उद्वव थापा, भवानी ओली, गौरीशंकर श्रेष्ठ, पृथ्वी बुढाथोकी, विनिता बुढाथोकी लगायतको शनिश्चरेमा घुइँचो लाग्यो ।

केशवकुमार दाइ बहुदलको पक्षमा खुलेर आएपछि प्रकाश बुढाथोकी, अरुण बुढाथोकी, सुदर्शन बुढाथोकी सबै बहुदलको पक्षमा उत्रिए । त्यो मात्र होइन कुमार दाइलाई मान्ने मान्छेहरु ध्रुव प्रधान, बाबुराम कार्कीदेखि कयौं चुनावका पक्षमा जोडतोडले हिंडेका थिए । हाम्रो एउटै मात्र लक्ष्य थियो, बहुदलको जीत ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।