Mero Sabda

विदेशमा मजदुरको पहिलो बास


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

प्लेनले अवतरण गरे पश्चात् केही बेरमा प्लेनको ढोका खोलियो । हामी पनि लामो सुस्केरा तान्दै हातमा हरियो ब्याग झुण्ड्याउँदै बाहिर निस्कन लागेका थियौं, ढोकामा तिनै युवतीहरु मुसुक्क हाँस्दै खै के–के भनिन् मैले बुझिनँ । म पनि मुस्कुराउँदै सिंडीबाट तल उत्रन लागें । अचानक तातो हावाको झोंका आयो । मानौं कुनै ग्याँसको चेम्बरमा पसेझैं लाग्यो । बाहिरको घामको रापले र उज्यालोले आँखा तिरमिर्यायो । केही क्षण आँखा बन्द भयो । तर पनि मुस्किलले आँखा खोलेर सिडीबाट उत्रिन थालें । त्यहाँबाट गाडीमा चढाएर एयरपोर्ट भित्र पु¥यायो । भित्र प्रवेश गरेको फेरि केही शितलको अनुभव भयो ।

केहीबेरमा हामी पासपोर्ट हातमा बोकेर इमिग्रेसनको लाइनमा बस्यौंं । लाइनमा बसेको बेला पारिपट्टि बाहिर निस्कने ढोका देखें । कोही मानिस त्यस ढोकाबाट बाहिर निस्कन्थे, ढोका अचानक खुल्थ्यो । फेरि आफैं बन्द हुन्थ्यो । यस्तो क्रिया बारम्बार भइरहेको थियो । मैले सोचे, ‘विचरा त्यहाँ ड्युटी गर्ने मानिस वाक्क हुन्छ होला ।’ क्षण–क्षणमा मानिसहरु बाहिर निस्किरहन्थे । कति जनालाई कति बेरसम्म ढोका खोल्नु । ‘विचरा कस्तो ठाउँमा ड्युटी परेछ’ भनेर चिन्ता लाग्यो ।

इमिग्रेसनको काम सकेर हामी पनि त्यही ढोकाबाट बाहिर निस्कन लागेको थियौं । वरपर हेरेको कोही मान्छे थिएन । भरे थाहा भयो, त्यो ढोका त अटोमेटिक रहेछ । जब मानिस त्यो ढोकाको छेउमा जान्थ्यो सेन्सरले गर्दा आफै खुल्दोरहेछ । पहिलो पटक त्यहीं देखेको अटोमेटिक ढोका । अचम्म मान्दै बाहिर निस्कें । त्यस पश्चात् प्रतिक्षालयमा आफ्नो कम्पनीको मानिस पर्खिबस्यौं । झण्डै दुई घण्टाको प्रतिक्षा पश्चात् एक जना कालो–मोटो मान्छे हामीलाई लिन आइपुग्यो । हामी त्यही मान्छेको पछिपछि लागेर बाहिर निस्क्यौं । बाहिर निस्केको तातो बाफले छ्वाप्प छोप्यो । फेरि कुनै च्याम्बरमा पसेझैं भयो ।

छेउमा या बडेमानको पहेंलो बस रहेछ, हामीलाई लिन आएको । हतार–हतार हामी त्यही बसभित्र पस्यौं । बस केही बेर ठूला–ठूला महलहरु छिचोल्दै हामीलाई कुनै एउटा गल्लीभित्र छिरायो । एउटा ठूलो गेट भएको घरको अगाडि लगेर रोक्यो । हामीलाई त्यहाँ उत्रन लगायो, हामी सबैजना त्यही उत्रियौं । हामीलाई त्यहाँ उतारेर त्यो गाडी अगाडि बढ्यो । हामी गेटभित्र छिरेको मात्र के थियौं, एक जना अग्लो कालो मान्छेले हामीलाई डो¥याएर कुनाको एउटा कोठामा जान आदेश दियो । हामी त्यहाँको ढोका खोलेर भित्र पसेको शरीर सबै चिसो भएर आयो । कोठामा एसी चलिरहेको रहेछ । अनि त्यो कोठामा आठ–दश जना नेपाली साथीहरु रहेछन् । सबै अपरिचित साथीहरु भए पनि हामीलाई मुस्कुराएर स्वागत गरे । मनमा केही शान्ति मिल्यो ।

‘साथीहरुलाई भोक लाग्यो होला, नास्ता खान जाँउ’ भन्दै त्यहाँको साथीहरुले किचनतर्फ लगे । किचनमा पनि दुई जना नेपाली साथीहरु रहेछन् । एक जना कालो मान्छे खै के–के पकाउँदै थियो । ती दुई जना नेपाली साथीहरु चाहिं उसलाई सघाउँदै थिए । हामीलाई सत्कारका साथ नास्ता खुवाए । त्यो घरभित्रका आँगन आगोको भुङ्गरो जस्तो बलिरहेको थियो । गर्मीले दिमाग खराब हुन थालेका थियो । त्यसैले जसोतसो नास्ता खाएर कोठाभित्र प्रवेश ग¥यौं । भित्र प्रवेश गर्दा श्वास सितल भएर आयो । अनि खाली रहेको बेडमा आफ्नो आफ्नो अड्डा जमाउन थाल्यौं ।

पुराना साथीहरुसँग नेपालतर्फका खबर सुनाउन थाल्यौं । यसरी नै धेरै बेर भलाकुसारी गरियो । अहिले जस्तो सूचनाको सुविधा थिएन । न इन्टरनेट, न त फोनको त्यति सुविधा । त्यस बेला घरको खबर पाउन र यहाँको खबर दिन केवल पत्रको मात्र एक विकल्प थियो । त्यो पनि आज पत्र लेखेर पठायो, हप्ता–दश दिनमा मात्र प्राप्त हुन्थ्यो । त्यस्तोमा नेपालबाट आउने मानिसलाई नेपालको बारेमा सोध्ने गर्थे । हामीले पनि जाने जति बेलिबिस्तार लगायौं ।

जब साँझ प¥यो, तब हामीलाई त्यही कालो अग्लो मान्छेले बोलाउन आयो । पछि थाहा भो, त्यो मान्छे त्यो क्याम्पको लिडर यानेकि क्याम बोस भनिंदोरहेछ । उसको छेउमा पुगेर लस्करै उभियौं । त्यस पश्चात् उसले हामीलाई द¥हो न द¥हो बुट (सेफ्टी सु), काम गर्दा लगाउने कपडा (कवरोल), टिफिन क्यारी, ओछ्याउने तन्ना, ब्लाङकेट, एउटा फर्म, सिरानीको साथमा हेल्मेट, एउटा कार्ड (जबकार्ड) अनि दुई सय रियल दियो । मलाई लाग्यो अब चाहि पक्का विदेशमा काम गर्न आएको मजदुर जस्तो लाग्यो । अनि कता–कता कुब्जीमा बाँधेको खसि झैं लाग्न थाल्यो । ती सबै सामान बोकेर रुमभित्र छिरियो र आफ्नो बेडमा ओछ्यान लगाउन थालियो ।

तर जब रातिको खाना खान किचनतर्फ लागियो, खाना पस्केर खान थालेको त खाना घाँटीबाटै छिर्न सकेन । नयाँ स्वाद । खै के गनायो जस्तो लाग्ने । भातको सिता पनि मुराईको दाना जत्रो । दिनभरको यात्राको थकान, भोकले अलसतलस परेको बेलामा जबरजस्ती गरेर खाउँ भन्यो, आँट नै आएन । अहिलेको छाक त निल्न सकिएन भने अब यहाँ बसिञ्जेल खाँदा त मरिने परियो जस्तो लाग्यो । त्यो त भारतीय केरलाकाहरुले खाने खाना रहेछ । राम्ररी निहालेर हेरें । भिण्डी, सजिवन, खोई कस्तो तरुल, बोडी साथमा नरिवलको धुलो । पछि थाहा भयो त्यसको नाम साम्भर रहेछ । अनि त्यसमा हिंङ पनि हालिंदो रहेछ । खासमा गनाएको त्यही हिंङ रहेछ ।

त्यो दिन जबरजस्ती पानीसँग निलियो । अनि अलिकति मात्र खाएर उठियो । उठ्ने बेलामा सोचियो, आज त साम्भर परेछ अझै भोलि–पर्सि के–के पकाउने हुन् । खान सकिने हो कि होइन ? यस्तै सोच्दै हात धोएर कोठाभित्र प्रवेश गरियो । साथीहरुसँग खानाको बारेमा छलफल गरियो । साथीहरुले हाँस्दै भने, –तपाईंहरु नयाँ आउनु भएकोले यस्तो भएको हो । हामी त बानी परिसकेको छौं । अब बिस्तारै तपाईहरु पनि बानी पर्नुहुन्छ ।’ हामी पनि अवस्था अनुसार बदल्ने प्रयास गर्ने अठोट गर्दै ओछ्यानमा सुत्न गयौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।