Mero Sabda

विदेशी मदजुरलाई घरको न्यास्रो


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

हामी काम गर्ने ठाउँमा बिहानै पाँच बजे गाडीले ल्याएर छाडी दिन्थ्यो । काम गर्ने स्थलमा यहाँ जस्तो सिधै गएर काम गर्न नमिल्ने रहेछ । हामी पुगेको केहीबेर पश्चात् फोरमेन आउँथ्यो । ऊ आएर वर्कपर्मिट देखाए पश्चात् मात्र भित्र पसेर काम गर्न पाइन्थ्यो । काम थाल्न पनि त्यति सजिलो हुन्थेन । त्यहाँ वरिपरि तारहरु बिछ्याएको हुन्थे । अनि त्यसको नक्सा हेरेर मात्र काम थालनी हुन्थ्यो ।

त्यसरी नै एक दिन बिहानै गाडीले छाडिदियो । चिसो–चिसो हावा चलिरहेको थियो । हामी काम गर्ने साथीहरु त्यही घेरा बाहिर टत्र्mयाकटुक्रुक बसिरहेका थियौं । अचानक मलाई के मन भो, म जुरुक्क उठे । अनि अलिक पर समुन्द्रको किनार तर्फ लागें । सरासर किनार तर्फ लागेर समुन्द्रको बालुवामा शंख खोज्न थालें । अचानक कोही मेरो पछाडि तर्फ उभिएको जस्तो लाग्यो । पछाडि फर्केर हेरेको एउटा आर्मीको डे«स लगाएको मानिस म तर्फ बन्दुक तेर्साएर उभिएको रहेछ । यसो हेरें, मेरो होसहवास गायब । लाऽऽ… अब मेरो अन्तिम दिन आएछ जस्तो लाग्यो ।

पाकिस्तानी रहेछ । त्यहाँको सुरक्षा गार्ड । बन्दुक तेर्साएर ‘को होस् ?’ भनेर सोध्यो । मेरो त मुखबाट आवाज नै निस्केन । फेरि सोध्यो, ‘कहाँबाट आएको ? किन आएको ?’ अनि मैले पनि अत्तालिएर मेरो पकेटमा रहेको जबकार्ड देखाउँदै भनें, ‘म ऊ त्यहाँ काम गर्न आएको । गेट खुलेको थिएन । म नयाँ मान्छे । मलाई केही थाहा भएन । त्यसैले यहाँ घुम्न आएको ।’ उसले पनि त्यो जबकार्ड हे¥यो । त्यहाँ इन्ट्रीको डेट र कम्पनीको नाम लेखेको थियो । त्यो पढेर म तर्फ फर्काएर भन्यो, ‘ल ठिकै छ । यहाँ आउनुहुँदैन । अबदेखि नआउनु ।’ त्यति भनेर ऊ हिंड्यो ।

त्यस पश्चात् म एकै श्वासमा साथीहरु भएतर्फ दौडिएर आइपुगें । ‘धन्य बाँचियो’ भनेर मनमनै आफ्नो परिवार सम्झिएँ । त्यो दिनको यो घटना सम्झेर लेखिरहँदा मेरो मन ढुकढुक भइरहेको छ । त्यो घटना लेख्दा मेरो हात कामिरहेको छ । कुनै–कुनै घटनाहरु मानसपटलमा रुमलिरहन्छ । कुनै रोमाञ्चक हुन्छ त कुनै सन्त्रासले भरिएका हुन्छ । त्यही सन्त्रासले भरिएको घटना मध्ये यो घटना एउटा हो । त्यो बेला उसले ताकेको बन्दुकको नाल मेरो जीवनको अन्तिम समय झैं लागेको थियो । धन्य त्यो बेला आफूसँग जबकार्ड साथैमा थियो, र त्यो मानिसले हिन्दी बुझ्थ्यो । यदि उसले हिन्दी नबुझेर केवल अरबी मात्र बुझ्ने भएको भए मेरो अवस्था के हुन्थ्यो ? आफूलाई अरबी नआउने । अनि कसरी आफ्नो कुरा राख्ने ? मलाई अझै पनि डर लागेर आइरहेको छ ।

शुक्रबार विदाको दिन । साथीहरु सदाझैं बिहान नउठ्ने । विदाको दिन भएर होला साथीहरु नौ–दश बजे मात्र ओछ्यान छाड्ने रहेछ । म आश्चर्य चकित हुँदै साथीहरुको बेडतर्फ हेर्थे । कोही उठ्ने तर्खर गरेनन् । त्यसैले म पनि निन्द्रा नलागे पनि त्यतिकै ओछ्यानमा सुतिरहें । एक जना पश्चिमतिरका चुडा गाहा भन्ने साथी थियो । ऊ ड्राइभर थियो । ऊ हामी भन्दा अलग्गै क्याम्पमा बस्थे । शुक्रबार भएपछि बिहान नै हाम्रो क्याम्पमा आउने गर्दोरहेछ । आएपछि कोठामा सबैलाई हल्ला गर्दै उठाउने गर्दोरहेछ । हामी ओछ्यानमा पल्टिरहेका बेला ऊ अचानक ढोका खोलेर हल्ला गर्दै पसे । त्यसपछि साथीहरु ज¥याकजुरुक उठे । सबैले पालैपालो आफ्नो नित्यकर्म सके पश्चात् पसलमा गएर नास्ता लिएर आए । नास्ता पनि पाकिस्तानीले पकाएको ठूला ठूला रोटी । त्यसलाई पठानी खबुस भन्दा रहेछन् ।

त्यो खबुस दुई वटा र एक डिब्बा क्रिम ल्याएर खाँदा छ जनासम्म मानिसहरु अघाँउदो रहेछ । त्यसपछि पेप्सी खाँदा त दिनभर खाना नै खान नपर्ने । मैले सुनेको थिएँ शुक्रबार त्यही कतै नेपालीहरु भेला हुने ठाउँ छ भनेर । मैले पनि साथीहरुलाई त्यहाँ जान उत्सुक रहेको कुरा सुनाएँ । तर साथीहरु अहिले होइन भरे दिउँसो मात्र जाने कुरा गर्न थाले । तर मलाई भने मनमा धेरै कौतुहल जागेको थियो । नयाँ ठाँउ एक्लै जाने कुरा पनि त आएन । त्यसैले मन खुम्च्याएर बस्न बाध्य भएँ । तर एक जना नेपालगञ्जतिरका साथीले ‘मसँग चर्चमा जाने भए म पु¥याइ दिन्छु’ भन्ने प्रस्ताव आयो । मैले तुरुन्त हुन्छ भनिदिएँ । ऊसँग पैदल हिँड्दै उनीहरुको चर्चमा गयौं । केही बेरसम्म उनीहरुको प्रवचन सुने पश्चात् उसले मलाई नेपाली बजारतर्फ लिएर गयो । बजार पुगेपछि उसले मलाई त्यहीं छाडेर रुमतर्फ लाग्यो ।

बजारको बीचमा उभिएर यताउता हेर्न थालें । कोही चिनेका मान्छेहरु भेटिन्छन् कि भन्दै प्यासी नजरले खोज्न थालें । त्यो बेलासम्ममा केही मानिसहरु भेला भइसकेका रहेछन् । वल्लो गल्ली हेरें, पल्लो गल्ली हेरें । आफूले चिनेको मानिस कोही नजरमा आएन । बिस्तारै बिस्तारै गर्दै मानिसको भीड बढ्न थालेको थियो । दिन चढ्दै जाँदा गर्मीले सताउन थाल्यो । शरीरभरि पसिनाका धारा बग्न थालेको थियो । तर पनि त्यस्तो गर्मीको पर्वाह नगरी म यो गल्ली र त्यो गल्ली गर्न छाडेको थिइनँ ।

अचानक एउटा गल्लीमा मानिसहरुको धेरै भीड जमेको देखें । त्यहाँ त तराईमुलका निवासीहरु मात्र रहेछन् । गोलो घेरा लगाएर बसेका । त्यो घेराको बीचमा चिठीपत्रको चाङ थियो । परदेशमा बसेर घरको अवस्था बुझ्न र आफ्नो हालखबर जानकारी दिने माध्यम नै यही पत्र थियो । त्यसमा अर्को विकल्प पनि रहेछ । अडियो क्यासेटमा आफ्नो मनको वह पोखाउँदै रेकर्ड गर्ने रहेछ । अनि त्यो अडियोको रिल त्यसको कभरबाट निकाल्ने अनि खाममा पोको पारेर पठाउने । अनि घरकाले त्यो रिल फेरि कभरमा हालेर सुन्ने । मलाई यो तरिका सुन्दा र देख्दा धेरै हाँसो उठेको थियो ।

त्यो नेपाली बजारमा आफ्नो आफ्नो जिल्लाको आआफ्नै झुण्ड हुँदोरहेछ । मैले छेउमा गएर सोध्दा यो गुल्मीको भन्थे, त कोही पोखराको भन्थे । झापाको चाहिं कता हुन्छन् भनेर सोध्दा ‘ऊ त्यो डाँडामा हुन्छ’ भनेर देखाइदिए । हतार–हतार म त्यही ठाँउमा पुगें । त्यहाँ पुग्दा मेरै छिमेकी दाइ मेघनाथ गिरीलाई देखें । मनमा खुशीको सीमा नै रहेन । दाइसँग केही क्षण गाउँघरको भलाकुसारी ग¥यौं । दाइले ‘मेरो घरबाट केही पठाएनन् ?’ भनेर प्रश्न गरे । ‘मैले कसैलाई थाहा नदिइ हिंडेको‘ भन्ने जवाफ दिएँ ।

परदेशमा बस्दा कोही साथीभाइ आउँदा मेरो घरबाट केही सामान ल्याइ दिन्छ भन्ने धेरै आशा हुन्छ । आफ्नो आफन्तले पठाएको सामान प्राप्त गर्नु भनेको विछोडिएको घाउमा अलिकति भए पनि मलहमपट्टी जस्तै हुन्छ । अहिले चाहिं के कस्तो अनुभव हुन्छ थाहा भएन । किनकि अहिले त चौबिसै घण्टा भिडियो कल हुन्छ । तर त्यो समयमा फोन गर्नु भनेको एक पटक घर पुगेर आएकै अनुभव हुन्थ्यो । परिवारको एक शब्द सुन्न पनि सौभाग्य नै सम्झिनु पथ्र्यो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।