Mero Sabda

मजदुर त बेचिंदारहेछौं वैदेशिक रोजगारमा


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

वैदेशिक रोजगारको पहिलो दिनको अनुभव खासै कष्टदायक भएन । यताको कोठाको टेबल उताको कोठामा लाने । अनि उताको सामान त्यता लाने । मतलब कोठाहरु परिवर्तन गरेका रहेछन् । ठूला–ठूला गोलो टेबल । टेबल माथि ग्रेनाइटको पाता । धेरै गरुङ्गो । हातबाट फुस्किएर झर्ने हो कि भन्ने पीर । चिप्लो पनि त्यतिकै । तीन–चार जनाले सकी नसकी भए पनि बोकेर लग्यौं ।

प्लाई ओछ्याइएको टाँड । त्यसमा हामी त्यो सेफ्टी सुज लगाएर हिंड्दा सेनाहरु परेल खेलेझैं गड्याप गड्याप आवाज आउँथ्यो । त्यो सुनेर अफिसको मान्छे पनि हाँस्थे । हामी हाँसोको पात्र भएका थियौं । भरे थाहा भयो, हामीले हेल्मेट लगाएर काम गरेका रहेछौं । वास्तवमा त्यहाँ भित्र काम गर्दा हेल्मेट लगाउनु पर्दैन रहेछ । तर हामीलाई के थाहा । हामीले त सोच्यौं, त्यो हेल्मेट अनिवार्य होला, त्यसैले लगाएको । त्यो दिन हामीले दिनभर हेल्मेट लगाएरै काम ग¥यौं ।

त्यो दिन अर्को एउटा कुरा थाहा भयो कि म्यानपावरले र एजेन्टले हामीलाई कति र कसरी ठग्दो रहेछ भनेर । अफिसमा काम गर्दै गरेको समयमा त्यही अफिसकाले हिन्दी भाषामा सोधेको थियो, ‘तिमीहरुले कति पैसा तिरेर आएको ?’ अनि हामीले पनि वास्तविक कुरा भनिदियौैं, ‘पचास हजार तिरेर आएको ।’ उनीहरु आश्चर्य चकित हुँदै आफू–आफू अनुहार हेराहेर गर्न थाले । भने, ‘त्यत्रोविधि पैसा लिँदोरहेछ ? किन दिएको त पैसा ? हामीले त भिषा फ्रिमा पठाएको हो त ।’

हामी नेपाली जो आफ्नो गाउँमा केही परिश्रम नगर्ने अनि वैदेशिक रोजगार भनेपछि जति पनि पैसा तिर्न तयार हुनेहरुले गर्दा नै यो म्यानपावरले यस्तो कार्य गर्छ । ‘अब तपाईको भिषा आउँदैछ ।’ ‘यति पैसा तयार गर्नु’ भनेर खबर आउने बित्तिकै आँखा चिम्लेर आफ्नो जायजेथा बेचेर होस् या साहुसँग जति ब्याज दिएर भए पनि हतार–हतार पैसा बुझाउन तयार हुन्छौं । के कम्पनी हो ? के काम हो ? तलब कति हो ? कम्पनीको अवस्था कस्तो छ ? केही बुझ्ने प्रयास नै गर्दैनौं ।

हामीलाई त जसरी र जे गरेर भए पनि विदेश जानु छ । यस्तै ध्येयले गर्दा म्यानपावरले हामीलाई ठगिरहेको हुँदोरहेछ । वास्तवमा उता कम्पनीहरुले जस्तोसुकै भिषा पनि निःशुल्क पठाएको हुन्छ । म्यानपावरलाई केही सीमित पैसा जस्तो प्लेन टिकट र सरकारी कामको लागि लाग्ने खर्च मात्र लिएर मानिस पठाउने निर्देशन जारी गरेको हुँदो रहेछ । तर यहाँ मानिसहरुलाई क्विन्टलको हिसाबले बेचिरहेको हुँदोरहेछ । किनकि हामी केही बुझ्ने प्रयास गर्दैनौं ।

अनि एजेन्टले पनि खुद मलाई ‘इन्टरभ्यूमा जानुपर्छ । तपाईंलाई इन्टरभ्यूमा जान गाह्रो हुन्छ । तपाईंले दश हजार दिनु । हामी सबै मिलाई दिन्छौं’ भनेको थियो । मैले पनि यसो सोचे । त्यति टाढो काठमाडौं जानु, इन्टरभ्यू दिनु । भरे फेल भइयो भने आएको गएको सबै बेकार हुन्छ भनेर मैले हुन्छ भनिदिएँ र अलग्गै दश हजार दिएँ । तर पछि कम्पनीको मानिसले कुरा खुलाउँदा पो थाहा भयो । यताबाट इन्टरभ्यूको लागि मानिस काठमाडौं नै गएको थिएन रहेछ । म त त्यो कुरा सुनेर झसङ्ग भएँ । यहाँ नेपालमा हुँदा घरैमा आएर मिठा मिठा चिप्ला कुरा गर्थे । मैले पनि आँखा चिम्लेर विश्वास गरें । तर एजेन्टले यसरी नै कोखमा छुरा रोप्दो रहेछ ।

जब हामी बेलुका रुममा पुग्यौं । शरीर सबै पसिनाले निथ्रुक्कै भिजिसकेको थियो । त्यहाँ काम गर्दा भन्दा गाडीमा बसेर साइट पुग्दा या रुम आउँदा पसिनाले भिजाउँदो रहेछ । रुममा आएर शान्तिको श्वास फेरियो । आफूले लगाएको जुत्ता र कपडा खोलेर नुहाउन बाथरुम पसेर नुहाउनलाई पानी खन्याएको सातोपुत्लो गयो । तातो पानीले शरीरको सबैको छाला पोल्यो । पहिला थाहा भएन । बाथरुमको पानी यति तातो हुन्छ भनेर । तर पनि बाध्य भएर नुहाउन प¥यो । पछि साथीहरुले थाहा पाएछन् भोलि नुहाउनलाई आज नै बाल्टिनमा पानी राख्नुपनर्छ भनेर । अगाडि नै देखि बस्नेले त्यही सल्लाह दिए । पछि मैले पनि त्यसै गरें ।

त्यो बेला मनोरञ्जनको साधन भनेको एउटा टिभी हुन्थ्यो अनि भीसीआर हुन्थ्यो । बजारबाट भीसीआर क्यासेट किनेर ल्यायो, टिभीमा हे¥यो । या त रिलवाला अडियो क्यासेट पाइन्थ्यो । न त कसैको हातमा मोबाइल थियो । न त कम्प्युटर थियो । साथीहरुले प्रायः लोकगीतको क्यासेट ल्याएर सुन्थे । अनि भीसीआरमा हिन्दी फिल्म, लोकगीतको नृत्य हे¥यो दिन बितायो ।

दोस्रो दिन पनि अफिसमा नै काम गर्न लगे । शुरु–शुरुका दिन हामी नयाँ मानिसलाई न त कसैले चिन्दैनथे । न त हामीले कसैलाई चिन्थ्यौं । कार्यस्थलमा पुग्यो, आफ्नो धुनमा एकोहोरो काम ग¥यो । जसोतसो समय बितायो । रुम आयो । दिनको दुई बजेसम्म ड्युटी ग¥यो । त्यसपछि गाडी आएर चढेर रुम पुग्दा चार बजिसकेको हुन्थ्यो । कामको समयमा व्यस्तताले गर्दा घरको त्यति याद आउँथेन । रुममा आयो साथीहरुसँग गाना सुन्दै हल्ला गर्दा पनि घरको याद आउँथेन, तर जब राति ओछ्यानमा पल्टेपछि भने घरको याद अति नै आउँथ्यो । श्रीमती के गर्दै होली ? छोरीहरुले मलाई खोज्छे कि खोज्दिन ? उनीहरुलाई खानको लागि चामल, तेल छ कि छैन ? यस्तै कल्पनाहरु मनमा खेलिरहन्थ्यो ।

दुई दिन अफिसमा सरसफाईको काम सकेपछि हाम्रो ड्युटी अर्कै ठाउँमा सारिदियो । एयरपोर्टबाट पूर्वतर्फ । पावरहाउसमा । समुन्द्रको किनार । वैशाखको महिना । बिहान पाँच बजे गाडीले पु¥याइ दिन्थ्यो । समुन्द्रको किनार भएर होला चिसो सिरेटोले हान्यो । केही जाडोको अनुभूति भयो । दिनभर यस्तै मौसम हुन्छ होला भनेर अनुमान लगाएको तर दिउँसो त गर्मीले उग्र बनायो ।

हामी एकनास काम गरिरहेको बेलामा हाम्रो शिरमाथिबाट जहाज आउने जाने क्रम चलिरहन्थ्यो । त्यो देखेर मेरो मनमा कौतुहल जाग्थ्यो । म चाहिं कहिले यसरी उडेर जाने । आज आएको चार दिन भयो । अब एक वर्ष एघार महिना छब्बिस दिन बाँकी रह्यो भनेर हिसाब लगाइरहन्थें । हिसाब गर्न त धेरै सजिलो लाग्थ्यो, तर त्यो हिसाबभित्रको जोडघटाउको पीडाको त बयान गर्नै नसकिने । अरबको रियालको बोट हल्लाउन त्यति सजिलो छैन रहेछ ।

एक दिनको कुरा हो । मजदुरले काम गर्ने ठाउँमा एउटा प्लाष्टिकको कुलर दिएको हुन्छ । पानी चाहियो भने पर मस्जिदमा गएर लिएर आउँथ्यौं । त्यो कुलरमा पानी राख्दा दिनभर चिसै रहन्थ्यो । एक पटक म कुलरमा पानी लिन अलिक परको मस्जिदमा गएँ । पानी भरेर हिंड्न लागेको एक जना पाकिस्तानी जो त्यही मस्जिदमा बस्ने रहेछ । उसँग गफ गर्दै गइयो । उसले आफ्नो धर्मको बारेमा फलाक्दै गयो । ‘अल्लाह यस्तो, अल्लाह उस्तो, ‘यो समुन्द्र अल्लाहले बनाएको । फूल अल्लाहले फुलाएको । यो तेल (पेट्रोल) अल्लाहले बनाएको । यो घाम, जुन, हावा, बादल सबै अल्लाहले बनाएको’ भन्दै थियो ।

म विचरा मुन्टो हल्लाउँदै हो–हो भन्दै समर्थन जनाएँ । उसले अझैं के–के फलाक्दै थियो । जबसम्म म त्यहाँबाट हिंडिनँ तबसम्म मैले उसको होमा हो मिलाउँदै गएँ । धेरै हद नाघेपछि ‘ल म गएँ’ भनेर आफ्नो बाटो लागें । मैले सुनेको थिएँ कि उनीहरुको अल्लाहको विरोधमा केही बोलेमा सिधै पुलिस बोलाउँछन् अरे त्यसैले मैले डरले उसको हो मा हो मिलाएँ । विदेशी नागरिक नै किन नहोस् त्यो देशको कानुन भनेको सबैमा लागू हुन्छ ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।