Mero Sabda

विजुलीको पोलमा ठोकिएका अरुण दाइ


(भोगाइ)

– लिलक सिटौला

शनिश्चरेको कथाभित्र आदरणीय पात्रहरु शेखरनाथ अधिकारी, दुर्गालाल श्रेष्ठ, छत्रभूषण दाहाल, बासुदेव ढुङ्गेलहरु जुनसुकै पेशामा भए पनि खुल्ला रुपमा बहदुलको पक्षमा हिंडिरहेका थिए । त्यो बेलामा कम्युनिष्ट पार्टीका मान्छेहरु कम नै थिए । जनमत संग्रहका विषयमा कम्युनिष्टहरुको विचार बाझिएको थियो । कोही यसमा सहभागी हुने र कोहीले बहिष्कार गरेका थिए । त्यसैले उनीहरुका कार्यक्रमहरु बिरलै हुन्थ्यो ।

कालिस्थानमा लेफ्ट अर्थात् कम्युनिष्टहरुको एउटा साँस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । त्यो कार्यक्रममा शेखरनाथ अधिकारी, उद्वव थापा, पृथ्वी बुढाथोकी, भवानी ओली, प्रशन्न श्रेष्ठ, विष्णु ढकाल लगायतलाई निम्तो थियो । हामीले त्यो कार्यक्रमलाई सहयोग पनि गर्नु थियो । हामी पनि के कम भीआईपी भएर हातमा डण्डा लिएरै त्यस कार्यक्रममा पुगेका थियौं ।

कार्यक्रम दुर्गालाल श्रेष्ठ दाइको मिलको चट्टालमा थियो । समय करिब चार बजेको थियो । वास्तवमा कम्युनिष्टहरुले धेरै कार्यक्रमहरु साँझमा अनि राति नै गर्ने चलन रहेछ । त्यो कार्यक्रमको संयोजक प्रेमसागर सापकोटा थिए । कार्यक्रममा कम्युनिष्टहरुको गीत गाएर बहुदल व्यवस्थाको प्रचार गरेका थिए । मञ्चको वरिपरि सेतो कपडाले घेरेका थिए । खुल्ला रुपमा नृत्य, गायन साथै बहुदलको पक्षमा भोट माग्ने कार्यक्रम निक्कै रोचक थियो ।

हामी सबैको सहयोगले कार्यक्रम सफल भयो । त्यो कार्यक्रममा आक्रमण हुने सम्भावना थियो । तर हामी सबैको उपस्थितिबाट आक्रमणको सम्भावना टरेर गयो । त्यो बेलामा कांग्रेस, कम्युनिष्टहरु एकअर्कालाई सहयोग गर्थे । किनभने पञ्चायत ढाल्नु मात्र त्यस बेलाको एउटै उद्देश्य थियो । त्यस बेला शनिश्चरेमा कम्युनिष्टहरुको बोलबाला कम थियो, हामी नै धेरै थियौं, त्यसैले पनि हामी सहयोग गर्दथ्यौं ।

शनिश्चरेमा कांग्रेसी नेताहरुको कमी थिएन । मेरो हेराइ र भोगाइमा फत्तेबहादुर बुढाथोकी, दलकृष्ण श्रेष्ठ, पूर्णबहादुर ढकाल, कृष्ण मिश्र, डा. शंकरप्रसाद उप्रेतीहरुको खानी शनिश्चरे बजारमा थियो । उता कप्तानबारीमा झन् खुङ्खार कांग्रेसी नेता डिल्ली सिटौलाको बसोबास थियो । हामी धेरै सुरक्षित भएको अनुभव थियो । हाम्रा लागि त प्रचार गर्नु नै ठूलो कुरो भएको थियो ।

लडाइँ, झगडा अलिक कम भएको थियो । दिनभरि प्रचारको काममा गएर आउँदा बेलुका गलेर लखतरान भइन्थ्यो । हामी स्वच्छ र निष्पक्ष मनले लागेका थियौं । बजारमा एउटा ठूलो हल्ला आयो । हल्ला के आयो भने सीके प्रसाई अर्थात् भरतबाबुको सल्लाहमा बहुदललाई जिताउन धेरै साथीहरुस्लाई पार्टीमा ल्याउनु पर्छ भनेर जिल्लाका नेताहरु खटाउनु भएको रहेछ । कांग्रेसी नेताहरु सुधिरकुमार शिवाकोटी, कृष्णप्रसाद सिटौला, गोपाल बस्नेत, राजेश खड्का लगायतलाई कांग्रेस पार्टीको रसिद काटेर बहुदलको प्रचारमा ल्याउन अह्राउनु भएको रहेछ । यता हाम्रो शनिश्चरेमा डिल्ली सटौला मार्फत वीरमणि ढकाललाई पार्टीमा काम गर्ने सर्तमा बहुदलको पक्षमा उतारेको इतिहास छ ।

हामी धेरै खुशी भएका थियौं । आँखिर नेता भनेका नेता नै हुन् । संगठन बिस्तारका निम्ति मानिसहरु चाहिन्छ नै । धेरै साथीहरुको मन मल्यिो भने जे पनि गर्न सकिन्छ । हाम्रो मनमा अब पक्कै बहुदल व्यवस्थाले जित्छ जस्तो लाग्यो । हाम्रो टीमलाई यस्त खबर आई नै रहन्थ्यो । जीवनको पहिलो इच्छा राजनीतिमा लागेर देश र जनताको सेवामा समर्पण गर्ने सकल्प लिएर हामी हिंडेका थियौं । आफू भन्दा ठूला नेताहरुको त्याग र तपश्याहरुको भूमिका हेरेर कुदेका हामीहरु धेरै थियौं ।

हामीलाई अर्थात् शनिश्चरेका बहुदलवादी युवाहरुलाई एउटा गाडी प्राप्त भएको थियो । त्यो जीप थियो । लगभग दशदेखि बाह्र जनासम्म त्यसमा अटिन्थ्यो । त्यसै बेला विर्तामोडमा एउटा घटना घट्यो । अरुण बुढाथोकीलाई पञ्चहरुले कुटे । अरुण दाइ हाम्रो पनि आदरणीय अभिभावक हुनुहुन्थ्यो । त्यो खबर पाउने बित्तिकै हामी जीप लिएर विर्तामोडतिर लाग्यौं । जीपका धनी गणेश श्रेष्ठ थिए । हामीले अरुण दाइलाई लिएर विर्तामोड पुग्यौं । दाइ रक्ताम्मे हुनुभएको थियो । हामीले सारा विर्तामोड छान मार्यौं, तर कसैलाई भेटेनौं । हामी निरास भएर घर फर्कियौं ।

फर्किएर शनिश्चरेको ग्रिन होटलमा हामी पुग्यौं । अरुण दाइले अलिअलि मालपानी पनि खानु भयो । हामीले पनि खायौं । खाजापानीको लगभग चार सय रुपैयाँ भएको रहेछ, जय काकाले त्यो सबै पैसा तिरिदिनु भयो । जय काका भन्नाले जयप्रसाद ढकाल । जो पछि समालोचक हुनु भयो ।

निक्कै बेर बसेपछि होटल सञ्चालक चन्द्रराज भण्डारीले ‘तपाईहरु जानुहोस्, नौ पनि बजिसकेको छ’ भन्नु भयो । उठ्ने बेलामा अरुण दाइले हामी सबैलाई एकछिन् बस्न भन्नु भयो । त्यहाँ पृथ्वी बुढाथोकी, उद्वव थापा, भवानी ओली, चित्रसेन भण्डारी लगायत अरु धेरै दाइहरु हुनुहुन्थ्यो । अरुण दाइले भन्नु भयो, ‘मलाई कुट्न कसको हिम्मत, म आफै बिजुलीको पोलमा ठोक्किएको रहेछु ।’ अरुण दाइको कुराले हामी छक्क पर्यौं ।

जय काका र अरुण दाइ दुबै अहिले हामी बीच हुनुहुन्न । हाम्रा लागि असल दुबै अभिभावक प्रति हार्दिक श्रद्धाञ्जली ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।