Mero Sabda

भोग


कथाः 

-ऋषि शान्तिप्रिय

जेठको महिना । सत्र ठाँउमा हिलो बाटोमा मोटर साइकलमा पछारिदै  र उठ्दै  अफिस पुगेको थिएँ । माई नगरपालिका वडा नं. ७ को कार्यालयमा काम गर्न थालेको करीब तीन वर्ष भैसकेको थियो । भिजेका लुगा तथा गमबुटहरु धोइपखाली गरेर अफिसमै राखेका लुगा फेरेर बस्दै मात्र थिएँ । एक जना करीब ८० वर्षका मान्छेले कार्यालय प्रवेशसँगै लामो सुस्केरा हाले । बुढो शरीरलाई लट्ठीमा अड्याउँदै, मुसो झैं भिजेर, थरथर काम्दै कार्यालयमा आइपुगेकका रहेछन् ।  सोधें- “हजुरको के काम थियो ?”

-“……… मृत्यु दर्ता गर्नु थियो ।” अझै पिलपिलाउदो अनुहार लगाएर उनले आफ्नो कुरा भने । शुरुमा भनेको केही वाक्यांश बुझिन । बलेंसीको धररर… आवाजले छेकेको थियो उनको शब्द।

मलाई लाग्यो- धेरै नै प्रेम गरिएको कोही थियो उनको । त्यस्ता मान्छेको मृत्यु दर्ता आँफैले गर्नु पर्ने बाध्यता पर्दा त्यसको मानसिकता के हुन्छ भन्ने कुराहरुको अध्ययन मैले यस अघि पनि धेरै नै गरिसकेको थिएँ । मैले यस वडा कार्यालयमा वडा सचिबको जिम्मेवारी सम्हालेपछि आर्जन गरेको अनुभव त्यही हो । भन्नलाई घटना दर्ता भनिन्छ । तर अरु घटना जस्तो होइन मृत्यु दर्ता ।आफ्नो आँखा भित्र लुकाउनु पर्ने मानिसको लागि अन्तिम अग्नी हो मृत्यु दर्ता ।जीवित आफन्तको कानूनी दागबत्ती हो मृत्यु दर्ता । दुखद मृत्यूलाई  र मृतकको बियोगलाई कानूनी रुपमा स्वीकार्न बाध्य गराउँछ मृत्यू दर्ताले ।

आगन्तुकको मनस्थिति बुझेपछि उनी झरी बन्नु अघि नै मैले अनुसुची फाराम निकाले र भरिदिन थालें । लेख्दै गएँ –  सूचकको नाम, मृतकको नाम, स्थायी ठेगाना, उमेर, मृत्यूको कारण…..

एउटा अनुसुची फारम भरिसक्दा थाहा भयो-  ती आगन्तुक त उनकी १४ वर्षकी नातिनीको मृत्यु दर्ता गर्न आएका रहेछन् । उनले अर्को पनि सुचना फारम भर्नु पर्ने बताए । त्यो पनि भरिदिएँ । दोस्रो सूचना फाराम थियो उनकै १५ वर्षिया अर्की नातिनीको । अनि फेरि तेस्रो फाराम भरिदिएँ उनको १७ वर्षका नातीको । एकै मितिमा खोलाले बगाएर मृत्यु भएका तीन जना सन्तानलाई कानूनी दागबत्ती दिन बुढाले ढुङ्गाको मुटु बनाएर मकहाँ आएका रहेछन् ।  आगन्तुक भन्दा अघि नै मेरो आँखा रसाइसकेका थिए । उनी तिर टाउको उठाएर हेर्न सकिन । के उनी मसँग सँगै रोइरहेका थिएनन् होला त  ? के उनका आँखा जीवन भर कहिल्यै ओभाउलान ?  मुटु मिचेर तीनवटा अनुसुची फारम भरिदिएँ ।  घटनाबारे मलाई थप जिज्ञासा भयो । केही भन्नको लगि उनलाई आग्रह गरें ।  पहिला त ‘त्यो कालो दिनको बज्र प्रहारलाई कसरी भन्न सक्छु  र ? बरु यसलाई कुनै तरिकाले बिर्सन पाए पनि हुन्थ्यो’ भनेर आँशु पुछ्दै सुकसुकाइरहे ।  मैले  दुःख बाँड्दा  मन हलुका हुन्छ भन्दै धेरै नै जिद्दी गरेपछि त्यो दिनको कहानी छोटकरीमा भन्न बुढाबाबै राजी भए ।

उनी जन्मनु भन्दा अघि नै उनका बाबु मरेका रहेछन ।आमाले पनि उनको जन्मको बदला आफ्नो शरीर नै यमराजलाई अर्पण गरेकी रहिछन् । उनी काकीको दुध खाएर हुर्किएका रहेछन् । उनी भन्दा १ महिना जेठो दाजु छ काकाको छोरो । बाबुआमा नभए पछि आफ्नो छोरालाई झैं समान व्यवहार गर्न सकेनन् काका काकीले ।त्यस माथि पोलियोले गर्दा उनका खुट्टाहरु पनि लुला थिए । धेरै काम गर्न नसक्ने थिए । २०१२ साल तिर एक दिन काका र गाउँका अरु धेरै मान्छेसँग साथ लागेर शन्सरे बजार नुन बोक्न झरेका उनी अहिलेसम्म जन्मभुमि जितपुर तिर फर्केका छैनन् रे । त्यतिखेर त्यस्तै १५ वर्ष जतिका थिए । खोरिया फाँड्नेहरुको जमातमा लागेर आफ्नो भाग अलिकति फाँडेर त्यतै घरजम गरेका रहेछन् । अलिकति खेत बिराएर र केही बारी समेत थप गरी एउटा परिवार पालिन पुग्ने जग्गा जमिन कमाएर गुजारा गर्दै आएका रहेछन् । छोरा बुहारी र नाति नातिनाको धनी भएर मन भरी सुखै सुख लिएर सन्तोषको जीवन बाँच्न थालेका रहेछन् ।

यसै बिचमा तीनबर्ष अघि एउटा बज्रपात भयो उनको जीवनमा । उनका छोरा र बुहारीलाई त्यही माई खोलाले निल्यो । साउने सङ्क्रान्तिको लागि किनमेल गर्न शुक्रबारे बजार जाँदा डुङ्गा दुर्घटनाले उनको ढकमक्क फुलेको फुलको पत्रबाट सुन्दर दुई पत्र चुँडालिदियो । उनी साह्रै शोकमा परे । नपरुन पनि किन ? संसारमा आफ्नै छोराको अर्थी उठाउनुको दुःख कसैले कल्पना गर्न सक्ने भन्दा ठूलो दुःख हो । आफूलाई जसो तसो सम्हालेर छोराको नासो नाती नातिनाको जिम्मा लिई मन बुझाएर बसेका रहेछन ।

“बाबुआमा बितेको तीन वर्ष पनि नबित्दै हुर्किसकेका नाती र नातिनीहरुलाई त्यही खोलाले बगायो । आँखै अगाडि उनीहरु भेलमा पसे । कति खोजियो, लाससम्म फेला पार्न सकिएन…….” त्यसपछिको कष्टकर कहानीलाई बुढाले एकै सासमा भने र लामो सुस्केरा हाले । उनका आँखाको भेलले उनको दुःखलाई कसै गर्दा बगाउन सक्दैन । उनको कहानी सुनेर मलाई लाग्यो, दैब भन्ने न्यायकर्ता छ र कतै ? या त छैन, या त त्यो न्यायकर्ता नभई अन्यायकर्ता र पीडक हो । नत्र किन एकै व्यक्तिको जीवनमा पीडा माथि पीडा थपिदिन्छ ? कति परीक्षा लिन्छ एउटा अपाङ्ग बेसाहाराको ?

उनी अरु थप भन्दैथिए । “त्यही खोलाले मेरो छोरा बुहारी खायो, नाती नातिनी खायो । अनि मलाई चै किन खाँदैन ? खान्थ्यो पनि होला, म त्यही खोलामा फाल हाल्न सक्दिन ।अहिले सर्खारले पुल हालिदियो, मोटर चल्ने…

… कन्काइ हाइस्कूलको कक्षा १२ मा पढ्थ्यो नाती । साह्रै जाति थियो । आफ्नो बाबुआमा बितेपछि घरको सबै जिम्मा लिई बसेको थियो । बहिनीहरु त्यही स्कूलमा १० र ९ कक्षामा पढ्दै थिए । साह्रै माया गर्थ्यो बहिनीहरुलाई पनि । स्कूल हिडेंका त्यस्ता लाउँलाउँ र खाउँखाउँ उमेरका नानीहरुको भोग खायो यो पुलले ।”

त्यसो त माई खोलाले वर्षैपिच्छे महमाईका मानिसहरु निल्थ्यो । वर्खा लागे पछि महमाई एउटा टापुमा परिणत हुन्थ्यो । उत्तर, पुर्व र दक्षिण तिर माईको छेको हुन्थ्यो । तर्नलाई कसैको पिताम् चल्दैनथ्यो । पश्चिम तिरको झोडाको बाटोमा सयौं खहरेहरुले छेक्थे । कि त प्राणको बाजी थापेर पारी जानु पर्थ्यो कि त चुपचाप आफूसँग जे छ, त्यसैमा सन्तोष मानेर बस्नु पर्थ्यो, हलचल नगरी । उनले आफ्नो कथा सकेसम्म छोटकरीमा सुनाएर हिक्क हिक्क गर्दै रुन थाले । मैले आजभन्दा २० वर्ष अघिको आँफैले भोगेको कथा सम्झिएँ ।

****

कलकत्तेबाट फर्किदा खेरि माई खोलामा केही पानी बढेको जस्तो देखिएको थियो। हिजो पानी कम्मर कम्मरसम्म मात्र थियो । यति पानी भनेको दानाबारी तथा महमाईका मान्छेका लागि अति साधारण कुरा हो । तर हिजोको एकै भङ्गालो भई बगेको पानी आज दुई ठाउँबाट बगिरहेको देखिएको थियो । मनमा लाग्यो – ‘पहाड तिर अलिअलि पानी परेछ ।’ पानीमा टेक्न पनि डराउने मान्छे थिएँ । दानाबारीको बसाईले मलाई पानी देखि नडराउने बनाइसकेको थियो ।  खोलामा पस्ने बेलामा अरु पनि मान्छे बिस्नेटार तिरबाट आएको देखेर थप आश्वस्त पनि भएको थिएँ –  खोला तर्न सकिएला भनेर ।

पहिलो जङ्घार मेरो लागि नौलो थियो । हिजोको बगरमा पानीले आज धेरैजसो अड्डा जमाइसकेको थियो । पानीको बहाब बिचार गरेर खुट्टाले नै जमिनको सतह थाहा पाई सन्तुलित भई हिडेमात्र पारी पुग्न सकिन्छ । खोला तर्ने  सिद्धान्तको यस विषयमा म जस्तो दुई चार दिन दानाबारी बसेर सिक्नेहरुका लागि ठूलै कुरा हुन्थ्यो । मेरा लागि पहिलो जङ्घार नै निकै चुनौतिपुर्ण भएको थियो । साँच्चै नै जङ्घार तर्नु थियो, तिघ्रा कमाउनु थिएन । मनोबल सकेसम्म दह्रो बनाएर पाइला चालें । पहाड मधेश गरिरहने काकाका छोराहरुले माई खोलो तरेका विभिन्न कथाहरु सुनाएका थिए । तिनै कथाहरुको सम्झना गरें । साउनका भेलमा समेत खोलो तरेको साहासिक कथाहरु सम्झेर आफूलाई कमजोर हुन पटक्कै दिइन । आजको दिन साउन पनि थिएन । यो त बैसाखको अन्तिम तिर थियो । बैसाखको मध्य दिनको धुपमा पानी खेल्ने ठाउँको कथा थियो यो ।

खुट्टाले बालुवा सरर बगिरहेको अनुभब गरिरहेको थियो । जमिन पनि अलि कति कमजोर नै थियो । टेकेको ठाउँको बालुवा पानीले तुरुन्तै बगाइहाल्ने भएकोले तुरून्तै पाइला चालि हाल्नु पर्थ्यो नत्र लडिने डर हुन्थ्यो ।  पानीको सतह क्रमशः बढीरहेको थियो । पानीको धार पनि पहिला भन्दा अलि धेरै नै थियो । नत्र चण्डालघाटमा आइपुग्दासम्म माइखोला निक्कै नै लोतो गरी बग्न थालिहाल्नु पर्ने हो । यसै खोलाको माथिल्ला जङ्घारहरु सिस्ने, घण्टे, निर्फुक, बेलासीहरुमा पानी निक्कै नै बेगले बग्ने गर्छ । त्यसैले त्यहाँ खोला तर्न निक्कै नै जमेर बगेको ठाउँ खोज्नु पर्छ । तर यहाँ जङ्घार खोज्न त्यति धेरै मिहिनेत गर्नु पर्दैन थियो ।  तर आज के भइरहेछ ?

पहिलो जङ्घारमा करीब एक सय मिटर तल पुगेर पारी उत्रिएँ । एउटा फराकिलो सडक जत्ति नै ठाँउ छोडेर दोस्रो जङ्घार शुरु हुन्थ्यो । मेरो मूल सातो त्यही पहिलो जङ्घारले लगिसकेको थियो । दुईपट्टि खोला बिचको टापुमा म एक्लो यात्री उभिएको थिएँ । अघि देखिएका बिस्नेटार तिरका युवा साथीहरुलाई हेरें । उनीहरु बगरबाट बिस्नेटार तिरै फर्किरहेका देखिए । के उनीहरु खोलो कति बढेछ भनी हेर्न मात्र आएका थिए ? कदाचित् तिनीहरुमा खोलो तर्न आँट पुगेन होला त ? खोलो तर्ने साथीहरु पनि छैनन् भनेर पूर्ण रुपमा पुष्टि भयो । मेरा लागि नितान्त एक्लै माईखोलासँग युद्ध गरेर पारी जानु पर्ने भन्ने संकेत पनि थियो यो । हुनत हिजो आफ्नै खुट्टाले हिडेर तरेको जङ्घार थियो त्यो । त्यही सोचेर आफूलाई थप तयार पार्दै लगें । हिजो कम्मरसम्म आएको पानी आज अर्को जङ्घारबाट पनि बगेको छ । त्यसैले सोचें- कति बढी नै पो होला र ? त्यसपछि दोस्रो जङ्घार तर्नलाई पाइला अघि बढाएँ ।  पानीमा पसें ।

पहिलो जङ्घार करीब १० मिटर चौडाइको थियो होला । दोस्रोलाई किनारबाट नियाल्दा यसको चार गुणा  देखिन्थ्यो । किनारमा बसेर गरेको अन्दाज थियो त्यो । करीब मध्यतिर पुगेर  पछाडि फर्किएर किनार नियालें । तर्दै गरेको खोलो समुद्र जस्तो देखियो । पानीले छातिमात्र छोएको थियो ।  त्यसो त अघि नै घाँटीसम्म आउने पानीसँग परिचय भैसकेको थियो । बहाबलाई काट्दै दक्षिण तिर फर्किएर अलि अलि पुर्ब तिर छड्किदै थिएँ ।  अब पार लगाइएला जस्तो महसुस गर्दै थिएँ । पानीको सतह नबढे त के थियो र जति सुकै फराकिलो भए पनि खास फरक पर्ने थिएन ।

सोचे जस्तो मात्र कहाँ हुने रहेछ एक दुई पाइला अघि बढ्दैमा पानीको सतह माथि आइहाल्यो । अघि बढ्दैछु, पानी अझ बढ्दैछ ।  छाती छोपियो । पछाडि भिरेको सानो झोलामा जुत्ता र एक जोर लुगा थिए- सबै भिजे । त्यसलाई छुट्टै बगाउन खोज्छ । पछाडिको झोलाले आँफैलाई तान्न खोज्छ । निकै बेर घम्साघम्सी भैरह्यो । सम्भवतः खोलाको सबैभन्दा गहिरो ठाँउ थियो त्यो- पानीले तल्लो ओठ छोयो । भगवान भन्दा अरु सम्झन सकिन ।  सम्झनु मात्र न थियो । भगवानले त्यहाँ कसरी बचाउदा हुन् र ? मनोबल दरो बनाउदै अघि बढ्नु भन्दा अर्को विकल्प थिएन । सबैतिर समान रुपले बगेको र भुमरी नपरेको पानी भएकोले डुबेरै भए पनि हिडिरहन्छु जस्तो आँट पलायो । पछाडि फर्कने कुरै थिएन । खोलाको चौडाइको हिसाबले एक तिहाइ पानी पार भैसकेको थियो । मैले खोलो पुरै पार लगाएँ भन्ने अनुमान लगाएँ । पारी किनारमा डिपु डाँडाबाट मान्छेहरु झरेका रहेछन् । खोलाको बाढी हेर्न ।

ओठसम्म पानी आएपछि भने बहाबकै दिशामा सिधै उँधो तिर हिडें । छड्किन सकिन । केही तल गए पछि पानीको सतह घट्यो तर बेग अझ तिब्र भयो । पानीको तीब्र वेगले मलाई उभिन दिएन ।मेरा खुट्टाले जमिन टेक्न सकेनन् र म पानीमा तैरिन पनि सकिन । मलाई माईको जल प्रवाहले बगाउन थाल्यो । जतिनै उत्रने वा सिधा भई भुईं टेक्ने प्रयास गरेपनि मैले सकिन । मुख खुलेका बेला दुई घुट्की पानी  निलियो । त्यसपछि म लाचार भएँ । थाहा छैन मलाई कति तल सम्म बगायो । म पानीमा डुवेर मरें भन्ने आफैलाई निश्चय भयो । प्राण जानु भन्दा अघिको तन्द्रावस्था थियो यो ।अर्थात वेहेश अवस्थामा थिएँ कि ?

म बादलमा तैरिदै तैरिदै कतै जाँदै थिएँ । उड्न पनि कति सजिलो हुँदो रहेछ । मलाई चराजस्तै उडेको अनुभव थिएन ।तर कसरी हो, शरीर र हात खुट्टाको सन्तुलन मिलाउँदा उडिदो रहेछ त । यत्रो जीवनमा यति जाबो काम गर्न जानिएन छ । यही सोच्दै म झन झन माथि उडिरहें। आकाशको अन्त्यमा एउटा गेट आयो । गेटमा  भित्रपट्टि जान टिकट देखाउनु पर्दो रहेछ । मँसग टिकट होला भनी सबै गोजीमा छामें । अँह ! मसँग टिकट थिएन ।त्यसपछि त्यही उभिएको डिपुडाँडाको गोपाल दाइले एक झापड लगाए । टिकट नलिइ आउने हो भनेर ।

उनको झापड हनाइसँगै म झसंग भई बिउझिएँ । मेरो मुखबाट हुलुक्क गरेर धमीलो पानी निस्कियो । म माईखोलाको पुर्वी किनारमा लडिरहेको थिएँ । गोपाल दाइ मेरो पेट थिच्दै पेटको पानी निकाल्दै गर्दै थिए । मैले आँखा खोल्दा डिपुडाँडाबाट आउने रमितेहरु वरिपरीबाट मलाई नै हेरिरहेका थिए । उनीहरु आत्तिइरहेका थिए ।गोपाल दाइले म होसमा आएको थाहा पाएर थर्काए- “हैन तपाई आफूलाई के ठान्नु हुन्छ ? कि मर्ने नै बिचार हो ? पौडी खेल्न समेत नजान्ने मान्छे यसरी बाढीमा पस्ने हो त ?”

त्यसपछि मात्र मैले आफूले कत्रो गल्ती गरेको रहेछु भनेर बोध भयो । केही उत्तर दिन सकिन । त्यो कहाली लाग्दो माई खोलाको बाढीसँग जुधेको र मृत्युको मुखबाट फर्किएको सम्झेर एकातिर मन हर्षित भयो भने अर्को तिर सम्भावित जोखिम सम्झेर पैताला चिसा भएका थिए । मनमनै उद्दार गर्ने डिपु डाँडाका रमितेहरु तथा विशेष गरी गोपालदाइलाई धन्यबाद दिएँ । साँच्चै भन्ने हो भने त्यस्तो बाढी आएको खोलो तरेर आउनै पर्ने आकस्मिक काम पनि थिएन मेरो । यो त अति साधारण कामका लागि अज्ञानताबस लिइएको जोखिम थियो ।

***

आफ्नो कर्तव्य त गर्नै पर्यो –  मन आँफै मृत्युको मुखबाट फर्किएको सुखद (?)  र आगन्तुक बुढा बाबैको आँशुको कहानीले अमिलो भएको थियो । बुढाले गुमाएका सम्पूर्ण परिवारहरुको तुलनामा मेरो कथा लाजमर्दो भयो । एक पटक झण्डै मर्दैमा यसलाई कथा भन्नु पर्ने के थियो र ? मरै त होइन नि !  बुढाले कत्रो दुःखको खोला तरेर आएका रहेछन् सम्झेर एक प्रकारले मन भरङ्ग भयो । मनमा गाँठो पार्दै तीनै जनाको मृत्यु दर्ता प्रमाण पत्र बनाइदिएँ ।अनलाईन तथा कार्यालयको अभिलेख रजिष्टरमा चढाए पछि काम सकियो । बुढाबा भन्दै थिए-  “नानी जस्तै थियो मेरो छोरो पनि । नानीलाई देख्दा आफ्नै नाति जस्तो लागेर म त शुरुमै ब्याकुल भएको थिएँ । जिद्दी गर्ने स्वभाव पनि मेरो नातिकै जस्तो …”

“बा पनि एक्लै हुनुहुदो रहेछ, मेरो घर त्यहीं शनिश्चरे त हो नि। कैले काँही न्यास्रो लाउदा आउनुहोला । अहिले त माईमा पुल पनि हालेका छन् । गाडि चलिहाल्छ । अब त खोलाले बगाउदैन नि !”  मैले बुढालाई आफ्नोपनको सकेसम्म अनुभुति दिलाउने कोशिश गरें ।

“साह्रै धेरै मान्छेको भोग खायो नानी, पापी खोलाले !”  उनले आफ्नो लौरोले माई खोलालाई देखाएर सरापे । भने- “हुन्छ नानी अब त एक्लो बुढो बाँकी रहेको छु, जे होला । सकेंछु भने शन्सरे तिर आउछु नि !”

यसपछि मसँग बिदा भई ती आगन्तुक आफ्नो घरतर्फ फर्किए । उनी निस्कदा पानी पर्न रोकिएको थियो ।माई खोलाको सुसाईलाई बतासले यतै तिर बोकेर ल्याउदै थियो । त्यो भोग खाएर अघाएको माईखोलाको सन्तुष्टि थियो कि ?

अस्तु

२०७८/०२/१३

शनिश्चरे, झापा  ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।