Mero Sabda

घाँटीबाट खाना नछिरेको त्यो दिन


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

खै…मेरो हार भनौं कि जीत । हिजोसम्म आफ्नो गाउँघरमा स्वतन्त्ररुपमा हिंड्डुल गरिरहने । आफ्नो मनमर्जी तरिकाले काम गरिरहेको । सानो सानो भए पनि आफ्नो नेतृत्वमा ठेक्कापट्टाको काम गरिरहेको म, आज आएर घडीको काँटाका साथ भित्तामा टाँसेको डिउटी टाइममा उठ्नुपर्ने । गाडी चढ्नुपर्ने । मानौं कुनै कमारो मालिकको खटनमा खटिन बाध्य । फेरि साहुकोबाट सय कडा आठ रुपैयाँको हिसाबले लिएको ऋणको भारी । अरु केही नभए पनि साहुको ऋण तिर्न भए पनि बाध्यतावस काम गर्नुपर्ने ।

अर्को पाटो नेपाली हरेक युवाहरुको एउटै लक्ष्य अरब या अरु कुनै देश गएर पैसा कमाउने ध्येय । म काठमाडौंंमा एक हप्ता बरालिंदा देखेको नेपाली युवाहरु वैदेशिक रोजगारीका निम्ति घर छाडेर रत्नपार्क र खुलामञ्चमा दिनभर बदाम खाँदै चउरमा बरालिएका । कतिले आफूसँग भएको पैसा म्यानपावरले खाएर भीरको चिण्डो बनाइदिएका युवाहरुको जमात देख्दा आफू पनि त्यस्तै अवस्थामा पुगिन्छ कि जस्तो नलागेको होइन तर सौभाग्यवश आफू चाहिं त्यो अवस्थामा पुग्न परेन । भनेकै समय र भनेकै कम्पनीमा काम गर्न पुगियो यसमा मेरो भाग्यको जीत नै मान्नुपर्छ । तर आफ्नो परिवार र गाउँघर छाडेर यति टाढा सात समुन्द्र तरेर विछोडको पीडामा छटपटिनु चाहिं मेरो हार नै मान्नुपर्छ जस्तो लाग्छ ।

जुन ठाउँ खुला ठाउँमा आएर श्वास लिनु पनि गाह्रो हुने । जहाँ बजार घुम्न र रमाइलो गर्न पनि निकै सोचेर र हिम्मत जुटाएर निस्कन पर्ने । किनकि त्यहाँको कानून एउटा बाधा थियो भने अर्को धेरै गर्मी । जहाँ बाउन्न डिग्री त सामान्य मानिन्छ । नआउनु आइगइयो । साहुको ऋण सगरमाथाझैं शिरमा बसेर थिचिरहेको थियो र अर्को बाध्यता घरमा भएको साना साना तोते बोली मात्र बोल्दै गरेकी धुतमुने छोरीहरु र आफ्नो प्राणको एक टुक्रा श्रीमतीलाई केही पैसा कमाएर सुखी र खुशी साथ जीवन बिताउने । त्यसैले आफ्नो गाउँको स्वतन्त्र छाडेर यो खाडीमा कसैको इशारामा रहेर काम गर्न आइपुगियो ।

त्यो रात निकै थाकिएछ र चाँडै निदाइयो । जब विहान सबै साथीहरु हल्ला गर्न थाले तब हाम्रो निन्द्रा खुल्यो । सबै जना काममा जानका लागि आफ्नो कपडा लगाउन व्यस्त थिए । अनि हामी पनि त्यसै गर्न थाल्यौं । केहि बेरमा गाडी पनि आइपुग्यो । हातमा खानाको झोला बोकेर साथीहरु आफ्नो आफ्नो गाडी चढ्न थाले । जब साथीहरु चढेको गाडी गए पश्चात् हामी नयाँहरुका लागि अर्को गाडी आयो । हामी त्यसैमा चढेर गयौं ।

हामीलाई घरी ठूला ठूला सडक अनि गगनचुम्बी महलको विचबाट लान्थे त घरी कुनै गल्लीको बाटो लान्थे । केहि क्षण पश्चात् मरुभूमीको बाटो दौडायो । त्यसको केहि बेरपछी सानो साने गल्ली हुँदै एक ठाउँ पु¥याएर रोक्यो । ड्राइभर ओर्लिएपछी हामी पनि ओर्लियौं । अगाडि ठूलो फलामको गेट थियो । त्यसको छेउमा सानो ढोका थियो । त्यसबाट हामी भित्र छि¥यौं । ढोकामा हाम्रै कोठामा बस्ने एक जना नेपाली दाइ गार्ड बस्नुभएको रहेछ । वहाँले हामीलाई “त्यहाँ बस्दै गर्नु” भनेर बस्ने ठाउँ देखाउनुभयो र हामी सत्र जना एकै ठाउँमा बस्यौं ।

त्यसको केही बेरमा एक जना सेतो कपडा लगाएको र टाउकोमा पनि सेतो फेटा बाँधेको मान्छे आयो र हामीलाई लक्षित गर्दै खै के भन्यो । ती गार्ड दाइले पनि खै के जवाफ दियो थाहा भएन र त्यो मान्छे सरासर गेट बाहिर निस्कियो । ती गार्ड दाइ हाम्रो छेउ आएर ‘तिनीहरु माओवादी हो ?’ भनेर सोध्दै थियो । तर मैले होइन भनेर जवाफ दिएँ । भनेर सुनाउनु भो । त्यो सुनेर अरुले के सोचे थाहा भएन तर मेरो अनुहारमा अमिलो मुस्कान छरियो । र मनमनै भने ‘धान खाने मुसा चोट पाउने भ्यागुता ।’

त्यो बेला देशमा माओवादीको अघोषित युद्ध दन्किरहेको थियो । त्यो आगोले कतिको ज्यान लिईसकेको थियो । सबैको मनमा केही त्रासले डेरा जमाएको थियो । कसैलाई थाहा थिएन कि त्यो ज्वाला कति बेला कताबाट कसलाई जलाउन आईपुग्छ । र को को यसमा जल्ने हो । अनि कतिको सिन्दुर पुछिने हो या कतिको काख रित्तिने हो । झन् युवाहरु त यो युद्धमा होमिनुपर्ने डरले नागरिकतामा उमेर बढाएर पासपोर्ट बनाउँदै खाडी छिरेको देखेको छु । भरखर जुँगाको रेखी पनि नबसेको नाबालक युवाहरु पनि देखे । त्यो बेला हामी नेपालीहरु “म नेपाली हुँ” भन्न पनि शर्म लाग्थ्यो । तर पनि बाध्यता हो या नेपाली हुनुको गर्वले हो “म नेपाली हुँ” भन्न मन लागि हाल्थ्यो ।

हामीलाई काम गर्नका लागि भित्र बोलाइयो । त्यो हाम्रो कम्पनीको अफिस रहेछ । हामी सरासर माथिल्लो तल्ला गयौं । र यो यो काम गर्ने भनेर अ¥हाए । उनीहरुले अ¥हाएको काम गर्दै गयौं तर केही बेरमा आफैंलाई काम गर्न अप्ठ्यारो लाग्न थाल्यो । जीवनमा कहिले नलगाएको ढ्वाङग्रो जस्तो लुगा । माथि लगाउने कपडा र तल लगाउने कपडा एउटै हुँदो रहेछ । सोलो डोलो । त्यही पनि बाक्लो । टाउकोमा हेल्मेट । मानौं शिरमा कुनै भारी चिज राखेको झैं । जुत्ता पनि त्यस्तै । छालाको कालो गहुँ¥गो जुत्ता । त्यो जुत्ता माथि गाडी चढे पनि केही नहुने । त्यो पहिरन जीवनमा पहिलो चोटी पहिरिएको । केही क्षण काम गरे पश्चात् आफैंलाई शरीर भारी झैं लाग्न थाल्यो । बाक्लो कपडाको कारणले पसिनाले शरीर भिज्न थालेको थियो । तर पनि हाम्रो पहिलो दिन । काममा केही त्रुटी देखाउन भएन । कतै काम गर्न नसक्ने भनेर गाली गर्ने हो कि भनेर मनमा चिन्ता लागिरह्यो ।

माथिल्लो तल्ला अफिस थियो । र तल्लो तल्ला भने वर्कसप थियो । त्यहाँ काम गर्नेहरुमा नेपाली कोही थिएन । एक जना गार्ड बाहेक । चारैतर्फ सबै काला काला छाला भएका इन्डियनहरु मात्र थिए । उनीहरु कुन भाषामा कुरा गर्थे हामीलाई बुझ्नै गा¥हो । तर कोही कोही हामीलाई काम अ¥हाउने चाहिं हिन्दीमा नै बात गर्थे ।दिउँसै सबै जना खाना खान छुट्टी गरेको बेला हामी पनि खाना खान बस्यौं । तर त्यो खाना मेरो घाँटीबाट भित्र गएन । भोक लागेको बेला । नयाँ ठाउँ । कसले हामीलाई हेरचाह ग¥थ्यो र । पेटमा मुसा कुदिरहेको थियो । त्यसैले एक गाँस भात मुखमा हालेर हल्का चपाउने अनि पानीका साथ निल्थें । त्यो खाना देखेर अब त भोकले मरिन्छ क्यारे ? भनेर साथीहरुसँग प्रश्न गर्थे । यसरी नै वैदेशिक रोजगारको पहिलो दिनको पहिलो ड्युटी निभाएर रुमतर्फ लागियो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।