Mero Sabda

छत्तीस साल आन्दोलन– सत्ताको आडमा गोली प्रहार


(भोगाइ)

– लिलक सिटौला

जसले जे भने पनि नेपालको राजनीतिक इतिहासभित्र राजाहरुले चलाएको यो देशमा राष्ट्रघाट कहिल्यै भएन । राजनीतिक सुझबुझ थियो । नेपालमा देश बेचेर खाने कुरा हुँदैनथियो । जनमत संग्रह पनि त्यस्तै थियो । देशभित्र बहुदलीय व्यवस्था चाहियो कि निर्दलीय व्यवस्था चाहियो, राजाले छत्तीस साल जेष्ठ चौध गते दिएको सन्देश त्यही थियो ।

प्रचारको क्रम शान्तिपूर्ण नै थियो । पञ्च र बहुदलवादीहरु आआफ्नो कसरथबाट भोटमा जाने नै थियो । चुनावको बेला हुने राम्रो अनि नराम्रो प्रवृत्ति त्यही बेला भित्रिएको थियो । हाम्रो मानसपटलमा त्यो बेला पञ्चायती व्यवस्थाले जित्नु, जंगल सखाप पारिनु, पदमा बसेकाले ब्रह्मलुट गरेकाले पञ्चायती व्यवस्थाप्रति वितृष्णा पैदा भएको थियो । त्यति हुँदाहुँदै पनि राजा चाहिं ठीकै छन् जस्तो लाग्थ्यो ।

यता प्रचारप्रसारको क्रममा अलिकति बदमासी शुरु भएको हामीले महसुस गर्न थालेका थियौं । हाम्रा नेताहरु रामबाबु प्रसाई, सीके प्रसाई, केशबकुमार बुढाथोकी, डिल्ली सिटौला, सुधिरकुमार शिवाकोटी, गोपाल बस्नेत, कृष्ण सिटौला, वीरमणि ढकाल, राजेश खड्काहरु झापा जिल्लाभरि बहुदलको पक्षमा भोट मागेर हिंडेका थिए । त्यसो त कांग्रेस झापा जिल्ला समितिले बहुदलको पक्षमा चुनाव प्रचारप्रसार समिति गठन गरेको थियो । किनभने जिल्लाभरिका लागि निर्देशन त्यही समितिबाट आउँथ्यो ।

झापा जिल्ला प्रचारप्रसार समितिका सभापति सीके प्रसाई (भरतबाबु) हुनुहु्न्थ्यो भने उपसभापति पूर्णानन्द शर्मा र सचिवमा डिल्ली सिटौला हुनुहुन्थ्यो । समितिले आवश्यकता अनुसार नेताहरुलाई सदस्य बनाउने काम गर्दथ्यो । हामी दिनैभरि बहुदलको प्रचारमा थियौं ।

अहिलेको शब्दमा सहयोगी हात भने जस्तै भयो त्यो दिन । जयपुर बुधबारेबाट बुधबारको दिन हाट लाग्ने दिनमा हामी शनिश्चरेका युवा साथीहरुलाई एउटा महत्वपूर्ण खबर आयो । बहुदलको प्रचार गर्नका लागि पञ्च र मण्डलेहरुले दिएनन्, सहयोग चाहियो । त्यो कुराको खबर खड्ग प्रसाई र सुरेन्द्र प्रसाईबाट आयो । हामीलाई गाडीको व्यवस्था पहिले नै भएको थियो । हामी जयपुर पुगेका थियौं । त्यहाँ धेरै साथीहरु हाम्रो पर्खाइमा थिए । त्यहाँ बसेका बहुदलवादी दाइ र साथीहरु खड्ग प्रसाई, दिव्य प्रसाई, विणा प्रसाई, ज्ञानेन्द्र प्रसाई, लीला ढकाल, सनत ओली, सुरेन्द्र प्रसाई, काजी ओली, नरेन्द्र खरेल, ध्रुव ओली, विमला उप्रेती, लक्ष्मी सुबेदी, राजेन्द्र ओली, झलक सुबेदी, टंक वाग्ले, खड्ग बराल, सन्तोष थापा, शान्ता खरेल, कमला खरेल, डिल्ली ओली, सीता ओली, नन्दलाल बजगाई, मदन श्रेष्ठ लगायतहरु बहुदलका पक्षमा थिए ।

हामी सहयोगीहरु उद्वव थापा, अरुण बुढाथोकी, मित्रसेन भट्टराई, रोहित श्रेष्ठ, भवानी ओली, गोविन्द खड्का, म लगायत ज्ञानु मगर, विष्णु ढकाल, भरत बुढाथोकी, अरु धेरै साथीहरु जयपुरमा भएको समूहलाई लिएर बुधबारेको हटिया पुगेका थियौं । त्यहाँ ढुङ्गा हानाहान भयो, सबै मण्डलेहरु विस्थापित भए । खड्ग प्रसाई लगायतले बहदुलको पक्षमा भाषण गरे ।

हाम्रो काम सकियो, हाम्रो गाडी शनिश्चरे तर्फ लाग्यो । त्यो दिनको खाजाको व्यवस्था बुधबारेका स्थानीय साथीहरुले गरेका थिए । बुधबारेमा हाम्रा एक जना नेता हुनुहुन्थ्यो– श्री लालबहादुर मगर । उहाँको पार्टीप्रति ठूलो समर्पण भाव थियो ।

त्यस बेलाका बहुदको पक्षमा संगीतको माध्यमबाट गीत गाएर प्रचारप्रसार गर्ने हाम्रा गायक नेताहरु लक्ष्मीप्रसाद काफ्ले, प्रकाश बुढाथोकी, खगेन्द्र कोइराला हुनुहुन्थ्यो । उहाँहरुलाई भरत बुढाथोकी र मैले पनि कहिलेकाहिं साथ दिन्थ्यौं । त्यो बेलाको गीत थियो– ‘छिनाइ देउ यो पञ्चे डोरी, बीस बर्ष बाँधेको जनतालाई ।’ यस गीतको मर्मले ठूलो जमातलाई छोएको थियो ।

हाम्रो प्रचारमा पञ्चे र मण्डले आँत्तिएको अवस्था थियो । हाम्रो पक्षमा नलागेका मान्छेहरु शान्त थिए । हामीले त राजाको कुरा मानेर बहुदलको प्रचार गरेका थियौं । तर पञ्च र मण्डलेहरुले हामीमाथि पदको दुरुपयोग गरेका थिए । हामीलाई एक प्रकारको खतरा थियो ।

ती सबै मान्छेहरुलाई मेरो सलाम र सम्मान छ । अहिले ती सबै के कस्तो अवस्था छन् ? पार्टीले खोजको छ कि छैन मलाई थाहा छैन । व्यक्तिगत हिसाबले सम्पर्क गर्नु त्यो राम्रो पक्ष हो तर परिवर्तनपछि मानिसहरु खोज्ने काम हराएको जस्तो लाग्छ ।

बुधबारेपछि विर्ताबजारमा हाम्रा नेताहरु सीके प्रसाई, डिल्ली सिटौला, केशवकुमार बढाथोकीहरुले चढेको गाडीमाथि सैनिकका मण्डलेहरुले आक्रमण गरेका थिए । मलाई लाग्छ– त्यति बेला नेताहरु भाषणमा थिए । उता हाम्रा नेताहरु चढ्ने गाडी पल्टाइ दिएका थिए । त्यो खबर शनिश्चरेलाई आयो । हामी सबै त्यस तर्फ बढेका थियौं । हाम्रो हिंडाइको पछिपछि रामकुमार महत, चतुर्भुज काफ्ले, भानु जोशीहरु कुदेका थिए । ढुङ्गा हानाहान भयो । दुबै पक्षमा मान्छेहरु तितरवितर भए । दुबै पक्ष गलेर हो कि डराएर हो भागाभाग भयो । कोही प्रजापतितिर, कोही चारपानेतिर लागे । कोही बुट्टाबारीतिरबाट आआफ्नो गन्तव्यमा आएका थियौं ।

अनारमनी काण्डमा सीके प्रसाई, केशबकुमार बुढाथोकीहरुलाई झण्डै गोली लागेको थियो । हुन त त्यस काण्डमा शनिश्चरेका सबै साथीहरु र त्यस क्षेत्रमा पार्टीका काम गर्ने साथीहरु आदरणीय सुधिरकुमार शिवाकोटी, डिल्ली सिटौला, उद्दिम उप्रेती, हर्कलाल गिरी, शम्भु पोखरेल, राजेश खड्काहरुको बहुदलको पक्षमा अतुलनीय योगदान थियो । साथै काशीलाल चौधरीहरुको पनि अमूल्य योगदान बहुदलको पक्षमा थियो ।

अन्तिममा हाम्रो टीमकै भागाभाग भयो । गाडी डाक्टर शंकरप्रसाद उप्रेतीको थियो । हामीले पनि विर्तामोडबाट सखुवाको चिर्पट लिएर गएका थियौं । त्यो बेला अहिलेको विर्तामोड थिएन, विर्ताबजार मात्र थियो । हाम्रो टीमका मित्रसेन भट्टराई, उद्वव थापा, भवानी ओली, चित्रसेन भण्डारी लगायत पुग्ने बित्तिकै झडप शुरु भएको थियो । मैले रामदर्शन दाइको टाउकोमा चिर्पटले हान्न लागेको थिएँ, राम महतले मेरो हात रोकेका थिए । त्यसपछि नै ठूलो झडप भयो र सबैको भागाभाग शुरु भयो । सबै जना एकअर्कासँग डराएका थिए, त्यसैले मण्डले र बहुदलवादी दुबै तर्फ एकअर्कासँग डराएर भागाभाग गरेका थिए ।

सीके प्रसाई, तुर्सा हेमरम, सुधिरकुमार शिवाकोटी, केशबकुमार बुढाथोकी, राजेश खड्काहरु ज्यान बचाउनका लागि भागेर गोपालकुमार बस्नेतको बाँसघारीमा बसेका थिए । त्यो कार्यक्रममा गोपालकुमार बस्नेत पनि सहभागी हुनुहुन्थ्यो । डाक्टर साहेवले आफ्नो गाडी लिएर घर तर्फ लाग्नु भयो ।

त्यस घटनापछि मण्डलेले राजेश खड्काको घरमा तोडफोड गरेका थिए । त्यस बेला यस्ता घटना घट्दा पनि मज्जा आउँथ्यो, घटना नघटे पनि मज्जा आउँथ्यो । शरीर नै फुर्ति भएको महसुस हुन्थ्यो । हाम्रा नेताहरुको ज्यानको सुरक्षामा हामी खटिएका थियौं । त्यस बेलाको कार्यक्रममा ज्यान जानेसम्मको खतरा थियो । पञ्चहरुले सत्ता र शक्तिको आडमा गोली समेत चलाएका थिए ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।