Mero Sabda

रियाल कमाउन स्याल हुनुपर्छ


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष‘

दोहा पुगेर काम गर्न थालेको एक हप्ता बितिसकेको थियो । चैतको महिना । बिहान सबेरैको मौसम केही चिसो भएको अनुभव हुन्थ्यो । बेलुकाको समय पनि शहरबाट टाढो त चिसाको अनुभूति हुन्थ्यो तर शहरको क्षेत्रमा प्रवेश गरेपछि तातोको अनुभूति हुन्थ्यो । ड्युटीबाट फर्केर रुमभित्र प्रवेश गरेपछि आफू स्वर्ग पुगेझैं हुन्थ्यो । रुममा २४ सै घण्टा एसी चलिरहेको हुन्थ्यो । हाम्रो रुममा मानिसको चाप कम भएको बेला चिसो धेरै बढेको अनुभव हुन्थ्यो तर साथीहरु सबै जना भेला हुँदा भने कोठामा तापक्रम बढेको अनुभव हुन्थ्यो । तर राति सुत्दा त ब्ल्याङ्केट अनिवार्य ओढ्नु पथ्र्यो ।

हामी प्रत्येक दिनको रात परेपछि क्याम्पबोसको रुम छेउमा गएर भोलिको ड्युटी कहाँ प¥यो भनेर लिस्ट हेर्ने गर्नुपथ्र्यो । मेरो पनि ड्युटी बदली भएछ । तर त्यो ठाउँ कता पथ्र्यो हामीलाई थाहा हुने कुरै आएन । त्यही लिस्टमा समय र ड्राइभरको नाम लेखेको हुन्थ्यो । बिहान त्यही समय र त्यही ड्राइभर गाडी लिएर फलामको गेट बाहिर पर्खिरहेको हुन्थ्यो । अनि त्यसैमा चढ्यो । अनि ड्युटी गयो ।

त्यो दिनको बिहान पाँच बजे नै गाडी आयो, हामी त्यसमा चढ्यौं । केहीबेरको यात्रा पश्चात् मिर्मिरेको उज्यालोमा हामीलाई कार्यस्थलमा ल्याइ पु¥यायो । हामी सबै जना गाडीबाट ओर्लियौं । बाहिर निस्केर शरीर तन्काउँदै यता उता नजर दौडाएँ । मिर्मिरे उज्यालोमा नजिकैको दृश्य मात्र देखियो । चारैतर्फ उजाड थियो । एकातर्फ भने तारजालीले घेरेको थियो । त्यो घेराभित्र पाइप नै पाइपहरुको सञ्जालले भरिएको ठाउँ रहेछ । पश्चिमतर्फ तीन वटा ठूला ठूला तीनवटा माटोको ढिस्को देखें । नयाँ ठाउँ चारैतर्फ नजर दौडाउँदै दौडाउँदै अचानक हुस्सुले चारैतर्फ ढाक्यो । हुस्सु पनि बाक्लै थियो । अघि देखिएको दृश्यहरु पनि हुस्सुले गर्दा देखिन छाड्यो ।

अचानक मेरो मन फुरुङ्ग भएर आयो । ‘आहा हुस्सु लाग्यो । अब चाहिं जाडो बढ्ने भयो । सायद यतै कतै छेउमा नै समुन्द्र होला । दिनभर काम गर्न मज्जा आउने भयो’ भनेर खुशी भएँ । त्यही सोच्दै नास्ता खान थाल्यौं । नास्ता खाइ नसकी नै मेरो खुशी चकनाचुर भयो । अचानक शरीरभरि चरचर गर्न थाल्यो । साथै केही बेरमा केही गर्मीको आभाष भयो । शरीरको रौंको फेदबाट पसिना निस्कन थाल्यो । निधारबाट पनि पसिना बग्न थाल्यो । केही क्षणमा नै हामीले लगाएको कपडा पनि भिजन थाल्यो । त्यो बेला पुराना साथीहरुलाई त स्वभाविक नै लागेछ । तर हामी नयाँ साथीहरुलाई चाहिं केही असजिलो लाग्न थाल्यो । हामीले पुराना साथीहरुलाई जिज्ञासा राख्दा ‘यो बेला सापेक्षित आद्रता बढेको र यो बेला अक्सिजनको कमी हुन्छ, त्यसैले यस्तो हुन्छ । भरेसम्म मौसम ठीक भइहाल्छ’ भनेर हामीलाई सान्तवना दिने प्रयास गरें । त्यो सुनेर हामी पनि केही आश्वस्त भयौं ।

केही बेरमा फोरमेन पनि आइपुग्यो हातमा वर्कपर्मिट बोकेर । अनि हामीले काम गर्ने स्थानको गेटको ताला पनि खोलियो । अब रह्यो काम थालनी गर्नुपर्ने । गर्नुपर्ने काम के रहेछ भने त्यो पाइप नै पाइपको सञ्जालको जमीनमा सबै कंक्रिट गरेको रहेछ । अनि हामीले त्यो कंक्रिट तोड्नुपर्ने रहेछ । कंक्रिट तोडेर पनि सानो हातले ठेल्ने गाडी (अर्बाना)मा हालेर बाहिर फँयाक्नुपर्ने अरे ।

हामी नयाँ मान्छे । त्यहाँको आनीवानी केही थाहा थिएन । पुराना साथीहरुले हामीलाई चुप लाग्ने इशारा गरे र उनीहरु फोरमेनसँग गफ गर्न थाले । ‘हामी यति काम गर्छौं, कति ओभरटाइम दिने ?’ फोरमेन पनि नयाँ थियो । तर गल्फमा अरु धेरै देशमा काम गरेको अनुभव रहेछ । उसले पनि भनिदिइ हाल्यो– ‘दुई घण्टा ।’ साथीहरुले मानेनन् । फोरमेनले फेरि थप्यो– ‘तीन घण्टा ।’ अन्त्यमा साथीहरुले चार घण्टा दिने भए कन्ट्याक्टमा गर्ने नत्र होस् भनेर घुर्की लगाए ।

अन्त्यमा फोरमेनले ‘हुन्छ’ भन्यो । अनि हामी सबैले हाम्रो जबकार्ड उसलाई दियौंं । उसले सबैको कार्डमा चार घण्टा लेखेर सही गरेर कार्ड हामीलाई दियो । पुराना साथीहरु हाँस्दै हामीतर्फ हेरे । हामी नयाँहरु प्नि पहिलो दिनमा नै चार घण्टा ओभरटाइम पाएकोमा मख्ख परेर काम गर्ने तर्खरमा लाग्यौं ।

कम्पनीको ठूलो कम्प्रेसर रहेछ । त्यहाँबाट गएको हावाले ज्याकहम्मर चल्दोरहेछ । जुन ज्याकहम्मर हाम्रो छाती भन्दा अग्लो हुने रहेछ । पुराना साथीहरुले त्यो ह्याँ मानको ज्याक हम्मर चलाउने अनि हामी नयाँले चाहिं त्यही सानो गाडीमा ठेलेर बाहिर लगेर फ्याल्ने गर्ने सल्लाह भयो ।

त्यो ज्याक हम्मर अन्दाजी चालिस–पचास किलो जति गह्रुङ्गो हुँदो हो । हामी नयाँका लागि भने एकदमै मुस्किल पर्ने रहेछ । त्यो चलाउन तागत पनि राम्रै चाहिने र तरिका पनि चाहिने रहेछ ।

कन्ट्रयाक्टमा काम गर्नु भनेको त एक पटक हुरुक्क भइने रहेछ । आधा घण्टा एक सुरले पसिना पसिना भइन्जेल काम ग¥यो, त्यस पश्चात् भित्र अफिस कोठामा गएर एसी चलाएर केहीबेर आराम गर्ने । अनि एसीले आफूले लगाएको कपडाको पसिना चिसो हुन्थ्यो । अनि शरीरमा टाँसिदा पनि चिसो लाग्न थाल्थ्यो । त्यो कपडा शरीरमा टाँसिन नदिनका लागि औंलाले कपडा तन्काउँथ्यौं । जब कपडाको चिसो हद हुन्थ्यो अनि फुत्त बाहिर निस्केर फेरि काम सुरु ग¥थ्र्यौं । एवम् प्रकारले फोरमेनले देखाएको काम दश बजेसम्ममा सकिइ दिन्थ्यौं । त्यतिबेरसम्म फोरमेन एक ठाँउ गएर निदाइरहेको हुन्थ्यो । काम सके पश्चात् फोरमेनलाई बोलाएर काम देखायो । अनि उसले ओके भने पश्चात् हामी आफ्नो डेरातर्फ लाग्ने तर्खर गथ्र्यौं । कम्पनीको नियम अनुसार गाडी दिनको दुई बजे मात्र आइपुग्ने । त्यसैले हामीले पैदल नै मेनरोडतर्फ लम्किन्थ्यौं । पैदल बाटोमा हिँड्दा पाइताला पोले पनि, घामले तालु पोले पनि रुम जाने सोचले सबै बिर्सिन्थ्यौं । जब मेनरोड पुग्थ्यौं, तब कुनै गाडी देखे लिफ्ट माग्ने प्रयास गथ्र्यौं । त्यसमा कसै न कसैले लिफ्ट दिइहाल्ने । अनि त रुम पुग्न के कष्ट र । रुम पुगेर पुराना साथीहरुले गर्व साथ भन्थे– ‘साथी हो ! पैसा कमाउन विदेश आएको हो । जसरी पनि पैसा कमाउने हो । फकाएर हुन्छ या धम्क्याएर होस् । त्यसैले रियाल कमाउन स्याल जस्तै हुनुपर्छ ।’ उनीहरु विदेशमा गर्नुपर्ने यस्तै चलाखीपूर्ण कुराहरु हामीलाई सिकाउँथे ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।