Mero Sabda

फर्किएको अवस्था


(लेख)

– दीपक ढकाल

जय भद्रकाली ।

देब्रेहात अर्थात् बाँया हात उचालेर कान्छी औंलो खोल्दै मुठी सहितको प्रभातकालिन अभिव्यक्ति अर्थात् अभिवादन .. ।

यो बिहान घरबाट बाहिर आउँदा वा फर्किदा दिनहुँ म तर्फ संकेत गरेर प्रवाह गर्ने अभिवादन । हुन त अहिले जतिखेर पनि बेलुकै भए पनि हान्दिन्छ उसले– जय भद्रकाली ….. ।

आज भन्दा करिब पच्चीस–तीस बर्ष अगाडि त्यही एकाउन्न÷बाउन्न सालतिरको कुरा । एउटा सामाजिक संस्थाको स्थापना र त्यसको क्रियाकलाप सञ्चालनमा म निकै दरो तरिकाले लागेको थिएँ । (त्यस विषयमा पछि लेख्नेछु ।) सन्दर्भ चाहिं यसैसँग जोडिन्छ ।

सन्दभर्गसँग सन्दर्भ जोडिंदाजोडिंदै एउटा क्रियाकलाप सानोतिनो अक्षर जोडेर शब्द र हरफहरुको बस्ती निर्माणमा पुगिएछ ।

म जागिरको सन्दर्भमा विर्तामोड फिर्ता भएँ । शुरु भएको कुलेखानीको यात्रा काठमाडौं, विराटनगर हुँदै विर्तामोडमा पुनः थालनी । क्रम निरन्तर …… ।

कृष्ण बराल । कृष्ण बराल हाम्रा अग्रज दाइ । साइनोले ठूलो भिनाजू टंक सापकोटाको मामा राधाकृष्ण बरालका कान्छा छोरा । पछि आएर स्तरबृद्धि हो, सम्बन्ध स्थानान्तरण । उहाँ ज्वाइँ । अब बहिनी ज्वाइँ । मेरा काका शनिश्चरे माविका पूर्व हेडसर अनि पूर्व माननीय केदारमणि ढकाल । उहाँकी माइली छोरी रजनी ढकालसँग वैवाहिक बन्धनको सम्बन्धपछि भएको मेरो नयाँ सम्बन्ध ।

तर यो सम्बन्ध औपचारिकताका लागि मात्र । हामी पुरानै स्टाइलमा । सामान्य अप्ठ्यारो चाहिं भएको हो कि जस्तो पनि शुरुशुरुमा । बिहान करिब नौ बजेदेखि बेलुकै सँगसँगै । तर अफिसमा आआफ्नै ठाउँमा ।

म विजुली अफिस, बराल सर राष्ट्रिय वीमा संस्थानमा । यत्तिकैमा कहाँबाट, कतिखेर अक्षरहरु उक्किएर लेखरचना बनिसकेका रहेछन् । यत्तिकैमा घना जंगलमा हिंड्दाहिंड्दै फ्याट्ट राउटे भेटिए जस्तो– धराबासी दाइ ।

कृष्ण धराबासी अहिले नेपाली साहित्यको अन्तर्राष्ट्रिय उचाइ धारण गरेको व्यक्ति । म दाइ भन्छु र बराल सर भाइ । बराल सर भन्दा अलिकति उमेरले पनि सानो र उचाइले पनि । तर खतरा मान्छे । सिर्जनाका खतरा साधक, बुद्धिको महाप्रतापी पनि ।

बराल सर पनि साहित्य सिर्जनाका योद्धा नै । साहित्यलाई प्राविधिक व्याख्या र प्रयोग गर्ने यी महारथीको चेपमा परिन त विचरा म ।

यो निरन्तर अगाडि बढ्दाबढ्दै के के भएछ, भएछ । कहिले समाचार, आर्टिकल, निबन्ध, लेख, प्रबन्ध, कथा । खोई के के ।

कति बच्यो, कति बग्यो यो खोला । कुन बेला समुद्रमा विलय भयो थाहा भएन । भाग्दाभाग्दै धेरै भएन । भद्रकालीले छोड्दै छोडेन ।

जय भद्रकाली अर्थात् कुमार भट्टराई ।

शनिश्चरे, झापा

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।