Mero Sabda

गणेशमानको सुरक्षा जिम्मा शनिश्चरेका युवालाई


(भोगाइ)

– लिलक सिटौला

शनिश्चरेको इतिहास आफैमा पुरानो थियो । त्यसैले त यहाँका मानिसहरु हरेक क्षेत्रमा अग्रणी भएका थिए । चाहे त्यो राजनीतिमा होस्, चाहे सामाजिक सहयोगमा होस् । कला, सँस्कृति, साहित्यमा होस् या स्वास्थ्यका लागि खेलकुदमा होस् या औद्योगिक क्षेत्रमा होस्, शनिश्चरको आफ्नै ठूलो इतिहास छ ।

छत्तीस सालको व्यापक प्रचारप्रसारका कारण शनिश्चरेका युवाहरुले धेरै मौका अर्थात् अवसरहरु पाएका थिए । जस्तै जयपुर– बुधबारे काण्ड, त्यसपछि विर्ताबजारको काण्ड । हामी निक्कै चडिसकेका थियौं । मानौं यो सबै क्षेत्र हाम्रो हो । हामी यहाँका अथवा कहींकै भए पनि हिटलर जत्तिकै भएका थियौं जस्तो अहिले आएर मलाई लाग्छ । त्यो सबै बकवास रहेछ ।

जे होस्, झापा जिल्लामा काठमाडौंबाट बहुदलीय नेताहरुको आगमन हुँदा हाम्रो पनि सान पल्टिन थालेको थियो । नेताहरुको आगेपिछे हाम्रो टीमको पहरा हुन्थ्यो । हामी पनि छक्क परका थियौं । मान्छे कुट्ने संगठनलाई नै नेताको वरिपरि राखिने चलन पहिलेदेखि नै रहेछ । नेताका रक्षकहरुलाई खानपान पनि त्यो राम्रो नै थियो । झापा हुँदै इलाम तर्फ नेपाली कांग्रेसका महान नेता गणेशमान सिंह जाने खबर पाइयो । उहाँलाई स्कटिङ गरेर इलाम पु¥याउने जिम्मा पनि शनिश्चरेको हाम्रो टीमले पायो । जस्तो कि प्रहरीको आइजीले हामीलाई खटाए जस्तो । हामी खुशी भएका थियौं ।

त्यो भन्दा एकदिन अगाडि प्रकाशमान सिंह र झापाका आदरणीय दाइ जनार्दन उप्रेती वस्तुस्थिति बुझ्न बुधबारेको बहुदलको पार्टी कार्यालयमा सम्पर्क गर्न गएका थिए । प्रकाशमान सिंह स्वयम् गणेशमानका छोरा थिए भने जनार्दन उप्रेती आफ्नै बलबुतामा कांग्रेसका नेता भएका थिए । जनार्दन उप्रेतीलाई मेरो सलाम छ ।

गणेशमान सिंहलाई सुधिरकुमार शिवाकोटी, केशवकुमार बुढाथोकी, खड्ग प्रसाई, गोपाल बस्नेतहरु हिंडेका थिए । त्यो टोलीमा काठमाडौंबाट आएका अरु मानिसहरु पनि थिए । बुढाथोकी, बस्नेत परिवारहरुको इलाममा पहिल्यैदेखि हालीमुहाली थियो । त्यो त सुधिरकुमार शिवाकोटीको राजनीतिक जीवन पनि इलामकै भूमिबाट शुरु भएको थि यो । हाम्रा लागि एउटा ट्रक आयो । पछि बुझु्दो त्यो ट्रक कांग्रेसी नेता आदरणीय टीएन भट्टराईको रहेछ । उहाँ जनता र पार्टीका लागि घरबाट पनि छाड्ने व्यक्ति हुनुहुन्थ्यो । टीएन दाइलाई सलाम छ ।

हामीलाई ट्रकमा लिएर जाने मान्छे अर्थात् मित्रसेन भट्टराईको नेतृत्वमा हामी गएका थियौं । उहाँसँगै गोविन्द खड्का, पृथ्वी बुढाथोकी लगायत म, विष्णु ढकाल, लीला खतिवडा, गोविन्द गिरी, दीपक भट्टराई आदि–इत्यादि गरी लगभग पच्चीस जना जति हामी थियौं । भैरव थापा, मदन नेम्वाङहरु इलाम मै थिए । इलाम पुग्न पनि हम्मेहम्मे नै िथयो । आज भन्दा चालीस बर्षअगिको कुरा हो यो । विकास निर्माण शुन्य थियो । बाटाहरु सबै कच्ची थिए । जसोतसो इलाम पुगियो । समय पनि साढेबाह्र बजेको थियो होला । खाना फिक्कलमा खाएको हुनाले हामीलाई भोक लागेको थिएन ।

इलाम बजार पुग्दा ‘वीर गणेशमान जिन्दावाद,’ ‘पञ्चायती व्यवस्था मुर्दावाद’ जस्ता नाराहरु सुन्नु र बोल्न पाइयो । पञ्चहरुले इलामको टुँडीखेलमा कार्यक्रम गर्न दिएनन् । इलाम जिल्ला र झापाबाट पुगेको नेताहरुले अहिलेको बसपार्क भएको ठाउँमा जोडदार भाषण गरे । त्यो ठाउँ त्यस बेला खुल्ला थियो । गणेशमानको भाषणले मान्छेलाई तताएको थियो । । इलामका आदरणीय अग्रजहरु कुलबबहादुर (केवी) गुरुङ, टीएन भट्टराई, धर्म गौतम, हरि खनाल, चक्रबहादुर सावदेन, शेखर घिमिरे, निवज गुरुङ, आसबहादुर एक्तेन लगायको नेतृत्वदायी साख मैले मज्जाले देख्ने अवसर पाएको थिएँ ।

नेपाली कांग्रेसको प्रतिबन्धित अवस्थाबाट आफ्नो जीवनलाई समर्पण गर्ने हाम्रा आदरणीय दाइ नेपाल र इलामको राजनीतिमा नबिर्सिने नाम हो– वेनुप प्रसाई । त्यसो त पछि इलाममा टंक बस्नेत, केशव थापा, बासु बस्नेत, आदरणीय गुरु उमाराम प्रसाई, त्यो भन्दा अगाडिका नेता पूर्णलाल श्रेष्ठ, कर्णबहादुर गुरुङ, इन्द्रप्रसाद वैद्य, विक्रम पाण्डे, पहलमान बस्नेत, गणेश तामाङ, गणेश दुलाल, निर्मला प्रसाई, रत्नकुमार बस्नेत, पुण्य शिवाकोटी, ध्रुवभक्त भण्डारी, नारायण श्रेष्ठ लगायत नेताहरु आन्दोलनमा होमिएका थिए । रमेश डिसी केटाकेटी थिए, तर पनि आन्दोलनमा अग्रपंक्तिमा थिए । शिक्षकहरु ठाकुर शिवाकोटी, महावीर अग्रवाल (ठूलो महावीर), केवानन्द दुलाल, जयन्द्र शिवाकोटी, कुमार थापा सहित त्यो आन्दोलनका मूख्य आकर्षण आसबहादुर एक्तेन हुनुहुन्थ्यो । उहाँ भयंकर लडाकु हुनुहुन्थ्यो ।

अर्को कुरो सुधिरकुमार शिवाकोटी, राम गिरी, भैरव थापाहरुको धेरै महत्वपूर्ण भूमिका थियो । हामीलाई लिएर गएको टीएन दाइको ट्रकमा आदरणीय नेत्रजंग कपिल र रिद्धीबहादुर खड्काहरुले बन्दुक बोकेका थिए । हामी त्यही दिन झापा फर्किका थियौं । त्यो कार्यक्रममा अरुण बुढाथोकी र पृथ्वी बुढाथोकीको सहभागिता थियो । हामी इलामबाट आउँदा फिक्कलमा खड्ग प्रसाई लगायतको अग्रजहरुको एउटा ठूलै समूहलाई चियापान गर्दै गरेको भेट्यौं । हाम्रो ट्रकका नायक सहित हामी सहनायकहरु पनि ‘बहुदलीय व्यवस्था जिन्दावाद, पञ्चायती व्यवस्था मुर्दावाद’ भन्दै झरेको सम्झना मेरो दिमागमा अझै ताजा छ ।

कस्तो समय थियो, धेरै बर्ष जेलनेल बसेको मान्छेले आफ्ना कुराहरु राख्छ र पञ्चायतको विरोध गर्छ भनेर पञ्चहरुलर्य ठूलो डर थियो । त्यही कुराले त्यत्रो सत्ता सम्हालेर सेना, प्रहरी, कर्मचारीहरुको समूह भएको पञ्चायती व्यवस्था डराएको थियो ।

पञ्चहरुमा पनि एउटा भ्रम थियो– दरबारले बहुदलीय व्यवस्था वा सुधारिएको निर्दलीय व्यवस्थाको घोषणा किन गरेको भनेर । ‘हामी पञ्चहरुलाई यत्रो हैरानी किन दिएका राजा वीरेन्द्रले ? कहीं हाम्रो भविष्य सखाप त हुँदैन ? भोटमा हारिने पो हो कि ?’ भन्ने त्रासले पञ्च र मण्डलेहरु आत्तिएका थिए ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।