Mero Sabda

विदेशबाट घरमा पहिलो फोन


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

शुक्रबार यानिकी विदाको दिन । घरमा फोन गर्नुपर्ने । कम्पनीले दिएको दुई सय रियाल । त्यसबाट आफूलाई चाहिने अन्य सामग्री जस्तै ब्रस, मञ्जन, साबुन आदि इत्यादि खरिद गरेर बाँकी रहेको एक डेढ सय रियल साथमा थियो । साथीभाइहरुलाई फोन गर्नुपर्ने । कता के हो ? भनेर सोधियो । उनीहरुले पनि ‘तीस रियालमा एउटा बुथ कार्ड पाइन्छ । त्यो लिएर जहाँ बुथ छ, त्यहाँ गएर फोन गर्दा हुन्छ’ भन्ने जवाफ दिए ।

मैले पनि त्यसै गरें । तीस रियालको एउटा बुथ कार्ड लिएँ र गल्ली चहार्न थालें । हरेक गल्लीमा एउटा बुथ हुँदोरहेछ । एउटा बुथमा गएर उभिएँ । एक जना हामी जस्तै नेपाली अनुहार परेको मानिस फोन गर्दै रहेछ । केही बेर प्रतिक्षा गरें । फोन गर्दा गर्दै बुथबाट कार्ड निकाल्यो र फेरि अर्को कार्ड हाल्यो । अब त कुरा गरिसक्छ होला भनेर केही बेर प्रतिक्षा गरें । तर उसले त फोन छाड्ने छाँट नै देखाएन । तर पनि अन्य बुथमा नगएर त्यही पर्खी बसें । धेरै बेर पश्चात् बल्ल ऊ बाहिर निस्कियो । म हतार हतार कार्ड हालेर फोन गर्न लागें ।

त्यस समय अहिले जस्तो सञ्चारको सुविधा थिएन हाम्रोतिर । कतै कतै मात्र पीसीओ खुलेका थिए । एक पटक फोन गरेर आफ्नो मानिस बोलाउन लगाउनु पर्ने । अनि कति समय लाग्ने हो । थाहा हुँदैन थियो । आफ्नो मानिस पीसीओमा आएर बस्दा पनि सहजै फोन नलाग्ने । त्यस्तै गरेर फोनमा मेरो घरको मानिस बोलाउन लगाएर केही बेरसम्म प्रतिक्षा गरें । त्यसको आधा घण्टामा फेरि फोन गरेको मानिसहरु आइपुगेको रहेछ । घर छाडेर हिँडेको यत्तिका दिन पश्चात् आफ्नो श्रीमतकिो आवाज सुन्न पाउँदा मुटु नै फाटेर आयो । सारा शरीर सर्सराएर आयो । आँखामा आँशु पनि छल्कियो । पहिला त के बोल्ने होस नै भएन । फेरि आफूलाई सम्हाल्दै ‘तिम्रो र छोरीहरुको खबर के छ ? सञ्चै छौ ? नानीहरु सञ्चै छन् ?’ एक तमासले प्रश्नहरु वर्षन थाल्यो । मानौं कुनै प्यासीले अचानक पानी पिउन पाउँदा एकोहोरो पानी पिए जस्तै भएछु ।

उसले पनि ‘हामी सञ्चै छौं । तपाईंलाई कस्तो छ ?’ भनेर प्रश्न गरी । केही बेर भलाकुसारी भयो । छोरी पनि आएकी रहिछे । उसले छोरीलाई बोल्न दिई । भर्खर छ वर्ष पुगेकी छोरी । यत्तिका दिन देख्न नपाएको । अचानक ‘बुबा’ भनेर सम्बोधन गर्दा धुरुधुरु रोएको थिएँ । केही बेर म आफूलाई सम्हाल्नै सकिनँ । मन भक्कानिएर आयो । आँशुका बलिद्रधारा निरन्तर बगिरह्यो । श्रीमती र छोरीसँग धेरै बेर गफ गर्न मन थियो । तर तीस रुपैयाँको कार्डले छ मिनेट मात्र फोन गर्न पाइने रहेछ । मनमा गुम्सिएका प्रश्नहरु त्यति राम्ररी सोध्न नपाई नै पैसा सकिएछ । फोनमा एकोहोरो ट्वाँ….ट्वाँ….आवाज आउन थाल्यो । मन नलागी नलागी भए पनि फोन राख्न बाध्य भएँ ।

मनका भावनाहरु मनमा नै अधुरो रह्यो । तर पनि अर्को पटक फेरि फोन गर्दा बाँकी रहेका मनका भावनाहरु पोख्नेछु । भन्दै भारी मन बोकेर आँखाको आँशु पुछ्दै बाहिरिएँ । पाइलाहरु पनि गरुङ्गो लाग्यो । एकान्तमा केही बेर एक्लै बसेर रुन मन लाग्यो । तर त्यहाँ एकान्त कहाँ पाउनु । जता हे¥यो त्यतै मानिसको चहलपहल थियो । शुक्रबारको दिन । सबैको विदा । त्यसैले चारैतर्फ मानिसको भप्ड देखिन्थ्यो । रित्तो भए पनि भारी मन लिएर आफ्नो रुममा आएँ ।

रुममा साथीहरु हल्ला गर्दै बसिरहेका रहेछन् । कोठाभित्र प्रवेश गरेको केही बेर पश्चात् त्यो अघिको अवस्था सबै गायब भयो । पहिला जस्तै सामान्य अवस्थामा आइपुगें । किनकि त्यो रुममा दश–बाह्र जना थियौं । फेरि अर्को क्याम्पको साथीहरु पनि थुप्रिदाँ त त्यो रुम एउटा सिनेमा हलझैं हुन्थ्यो । कोही टिभी हेर्ने त कोही तास खेल्ने । कोही त्यत्तिकै हल्ला गर्दै बस्ने । अनि त त्यस्तो अवस्थामा घरको याद कसैलाई पो आँउथ्यो र । सबै जना आफ्नो धुनमा दिन बिताइरहेका हुन्थे । हुन पनि यतिका टाढा आफ्ना परिवारको खुशीको लागि आफ्नै पैसा लगानी गरेर आउनु । अनि सधैं उनीहरुको यादमा तड्पिएर हुन्छ र ? यो त एउटा नाटक मञ्चन जस्तै त हो नि । आज सम्पत्ति कमाउने बहानामा टाढा छौं । भोलि हातमा सम्पत्ति बोकेर आफ्नो परिवारसँग साथैमा बस्ने दिन पनि आउला भनेर आफैंलाई ढाढस दिँदै दिन बिताउनु परेको छ ।

हाम्रो रुम ठूलो थियो । वरिपरि डबल बेड । बीचमा खाली ठाँउ । त्यही बीचको खाली ठाँउमा तास खेल्थ्यौं । त्यत्तिका साथीहरु बीचमा म मात्रै एक जना झापाको परेछु । अरु साथीहरु कोही बाग्लुङ, कोही चितवन त कोही पोखरातिरका थिए । अनि म सँगसँगै आएका टोखाका श्रेष्ठ थरका साथीहरु थिए । उनीहरु आठ जना मध्येमा दुई जना अर्कै क्याम्पमा बस्थे । यहाँ हामी सँग छ जना थिए । उनीहरुले आफ्नै भाषामा बोल्थे । नेवारी भाषा त्यहाँ प्राय कसैले बुझ्थेन । त्यसैले उनीहरु छ जना भेला भइरहँदा भने उनीहरुको बीचमा अरु कसैले बोल्छु वा केही कुरा सोध्छु भनेर कल्पना नगरे हुन्थ्यो ।

उनीहरु त्यो रुममा आफ्नो हैकम चलाउन खोज्थे । आफ्ना कुराहरु अरुमा प्रभाव जमाउन प्रयास गर्थे । हुन पनि त्यस्तो विरानो देशमा । आफ्ना गाउँको एक दुई जना भेट्न पनि हम्मे–हम्मे पर्ने ठाउँमा । उनीहरु त झन् आठ–आठ जना । त्यो पनि आफ्नै गाउँको । त्यस्तोमा प्रभाव त जमाउनै खोज्ने हो । तर त्यत्तिका साथीहरुको भीडमा म एक्लै झापालीको बेग्लै प्रभाव थियो । उनीहरु ट्ँया ट्ँया र टुँ टुँ गरेर हल्ला गरे पनि मेरो एक दुई शब्दले नै त्यो रुममा प्रभाव पथ्र्यो ।

दोहामा एउटा उखान खुबै प्रचलितमा आएको थियो । त्यो के भने ‘चार स्याङजाली, एक झापाली ।’ त्यही उखानलाई चरितार्थ गर्दै झापालीहरु अरु जिल्लाका भन्दा केही कदम अगाडि नै थिएँ । उदाहरणमा भन्दा– जस्तो एउटा समूहमा केही छलफल भइरहेको बेलामा एक जना झापालीले ‘म झापाको’ भनेर परिचय दियो भने त्यो समूहको वार्ता केही क्षण भए पनि रोकिन्थ्यो । त्यस पश्चात् उनीहरुको हेर्ने दृष्टिकोण पनि परिवर्तन हुन्थ्यो । तर यत्ति हो त्यहाँ (दोहामा) हामी झापालीलाई चण्डाल र फटाहाको रुपमा पनि हेर्ने गरिएको थियो ।

आखिर हामी झापालीलाई जुन नजरले हेरे पनि यो परदेशमा इज्जत साथ सारा नेपाली साथीहरुसँग मित्रता गाँसेर अरु कुनै जिल्लाको मित्रहरुसँग काँधमा काँध र साथमा साथ मिलाई कष्ट परेका हरेक नेपालीलाई सहयोग गर्दै आइरह्यौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।