Mero Sabda

भिन्नता


(कविता)

आरती आचार्य

झरी मेरोमा पनि पर्छ,
झरी तिम्रोमा पनि पर्छ ।

हाम्रोतिरको झरीले पूर्व प्रेमिकाको याद दिलाउँदैन,
बरु याद दिलाउँछ
पहिरोले पुरेका आफन्तको सम्झनाको घाउ ।

कफिको स्वादमा प्रेमिल पुस्तक पढ्ने
गरेर परेको छैन अहिलेसम्म
मेरो बस्तीमा झरी ।
बरु मैले पढ्ने किताबको गाता च्यातिने
गरी भिजाउँछ सिङ्गै वर्तमान ।

झरी मेरोमा पनि पर्छ,
झरी तिम्रोमा पनि पर्छ ।

तिम्रो झरी भिज्न मन लाग्ने बनाउँछ ।
मेरो झरी ओभानोमै बस,
बिरामी भए
म औषधि किन्न सक्दिनँ भन्छ ।

तिम्रो झरी बोतलहरुमा भरिएर
प्यालाहरुमा रित्तिन्छ ।
मेरो झरी चिसो चुल्होमा भरिएर
भोको पेटमा रित्तिन्छ ।

झरी तिम्रोमा पनि पर्छ
झरी मेरोमा पनि पर्छ ।

थाहा छैन किन पर्दैन मेरो झुपडीमा
रोमान्टिक झरी
नत्र मै पनि लेखिदिने थिएँ
प्रेमिकालाई समर्पित एक प्रणय कविता ।
मेरो बस्तीमा केवल
छानो चुहिने झरी पर्छ,
पहिरो चलाउने झरी पर्छ ।

झरी तिम्रोमा पनि पर्छ
झरी मेरोमा पनि पर्छ ।

तिम्रो सोखको झरी,
मेरो बाध्यताको झरी,
तिम्रो झरी प्रेम बोकेर बर्सन्छ,
मेरो झरी अभावै अभाव बोकेरै बर्सन्छ,
मित्र,
तिमी एक दर्को
सम्पन्नताको झरी यता पठाउनू
म अर्को दर्को दरिद्रताको झरी त्यहाँ पठाउँछु ।

खोइ किन–किन आज मलाई
हामी बराबर भएको हेर्न मन छ ।

म्याग्दी

प्रतिकृया व्यक्त गर्नुहोस् ।