Mero Sabda

प्रधानमन्त्रीको गाडी रोक्दा देशद्रोहको आरोप


(अनुभूति)

– लिलक सिटौला

परम्परा र निरन्तरताको जीवनमा हामी बाँचेका रहेछौं । मानिसको जन्म हुन्छ । एउटा केटो भएर जन्मिन्छ, अर्को केटी भएर जन्मिन्छिन् । त्यो कुरा हामी सबैलाई थाहा छ । तर केटाले के काम गर्ने, केटीले के काम गर्ने भन्ने विषयमा आजभन्दा चालिस–एकचालिस बर्ष अगाडि त्यो चलन थिएन । सबैभन्दा राम्रो समय त्यही थियो । सबै महिला र पुरुषहरुले आआफ्ना काम गर्थे । त्यो कुरा संविधानमा लेखिएको थिएन । सबै राम्रो थियो । तर पनि हामीहरु बहुदलको पक्षमा निरन्तर हिंडिरहेका थियौं । कहिले कुट्दै, कहिले कुटाइ खाँदै बहुदल व्यवस्थाको पक्षमा । बहुदलले हार्छ या जित्छ हामीलाई थाहा छैन । भन्नुको मतलब पञ्चायतले हामी सबै मध्यमवर्गका सोचाइहरुको कदर भएको थिएन । त्यही कारण हामी त्यो व्यवस्था विरोधी भएका थियौं ।

त्यो बेला पनि धनीका छोराछोरीहरुले जागिर पाउँथे । हाम्रो पक्षका मानिसहरुले जागिर पाउनु भनेको भगवानको बरदान हुनुपथ्र्यो । त्यो बेलाको चित्रण गर्दा मलाई आनन्दै लाग्छ एक प्रकारले । तर अहिलेको अवस्था हेर्दा घृणा जाग्न थालेको छ । ब्रह्मलुट भएको छ यतिखेर । खानै नपाएका मानिसहरुले सिंहदरवार कब्जा गरेर राज गरेका छन् । जनताहरुको बेहाल छ, दुःख लाग्छ । राजनीतिक दलहरुमा ठूलो गुटबन्दी, मारकाट ट । नेताहरुको नजरमा परे ठीक, नत्र पूरै बेठीकको अवस्था छ । कोभिडको कारण समस्त नेपाल यतिखेर आक्रान्त छ । यो नालायक र खलनायक सरकारसँग नागरिकको आस हराएको छ । नागरिकहरुले कसको आडमा बस्ने ? समस्या भएको छ । हाम्रो रक्षा यतिखेर पशुपतिनाथले मात्र गरेका छन् ।

छत्तीस सालको आन्दोलन गर्दा हामीले अहिलेको जस्तो अवस्था सिर्जना हुन्छ भनेर गरेका थिएनौं । तर पनि त्यस बेला हामीलाई बहुदललाई जिताउनु थियो । हामी बहुदलको पक्षमा लाग्ने प्रेरणा हामीलाई माथिल्लो स्तरका नेताहरुको कारणले मिलेको थियो । जो नेताको प्रभावमा हामी थियौं, ती सबै नेताहरु जेलनेल खाएर आएका थिए । उहाँहरुको पनि गोजीमा पैसा थिएन, तर जमिदार थिए । हामी भने दौडमा हिंडेका थियौं । मण्डले कुट्ने, नेताहरुको रक्षा गर्ने काम थियो हाम्रो । प्रचार छिप्पिदै जाँदा खान्कीको पनि हेरविचार हुन छाडेको थियो । हामीलाई बानी लगाएका थिए तर हाम्रो टिमले कसैसँग झुकेको थिएन । खाने ठाउँ ग्रिन होटल नै थियो । अहिलेको सम्झनामा पुष्प ओझा भाइको घर भएको ठाउँमा थियो त्यो होटल ।

युवाहरुलाई के थाहा, जहिले पनि हतियारको रुपमा प्रस्तुत हुनुपर्ने रहेछ भनेर । वास्तवमा यो देशको विकास र आफ्नो सीमा सम्बन्धि रक्षाको जिम्मा युवा पुस्ताले नै गरेको छ । त्यतिखेर हामीले शनिश्चरे बजारलाई ताला लगाए जस्तै बफदारशैलीमा उत्रेका थियौं ।

बेला बेला मलाई सोच्न बाध्य बनाउँछ समयले, त्यो बेलाको त्याग र परिश्रम खै कहाँ गयो त ? सोचमा झड्का लागेर के गर्नु बहुदल व्यवस्थाको प्रचारमा हिंडेका हामी ठेउकाहरुको त्यही बेला महत्वकांक्षा बढिसकेको थियो । बहुदल आएपछि कोही के हुने, कोही के हुने भनेर । त्यो बेलादेखि नै हामी के हुने, कसको ठाउँ कहाँ हो ? भनेर मनमा घर बसेको थियो । त्यो पाउनु मै पाटीभित्रका सदस्यहरुको जीवन बितेको हुँदोरहेछ ।

त्यो सँस्कारको अन्त्य हुनु नै सबै पार्टीहरुको भलाइ थियो । देशको बारे भन्दा पनि आफ्नो बारेमा राणा, पञ्च र हामीहरुको सोच रहेछ । हामी शनिश्चरेका युवा साथीहरु राति आआफ्नो घर पुग्थ्यौं । एक दिन बिहान साथीहरु भेट भएपछि एउटा विद्रोही भावनाको विकास भयो । त्यो हो पुष एक गते विर्तामोडमा पञ्च र मण्डलेहरुले देशका प्रधानमन्त्री श्री सूर्यबहादुर थापालाई ल्याएर बहदुलको विरुद्धमा पञ्च र्यालीको आयोजना गरेका थिए । हाम्रा आदरणीय नेताहरुलाई पार्टीले जिल्लाभरि कहाँ र कुन ठाउँमा खटाएको थियो हामीलाई थाहा थिएन ।

मेरो बचपनको साथीहरु धेरै थिए । त्यो भित्र पनि अब्बल साथी थियो भरत बुढाथोकी । मान्छे पनि आँटी थियो । न्याय गर्न पनि जानेको थियो । सत्र सालको पुष एक गते निर्वाचित जनप्रतिनिधिको बहुमत सरकारलाई वास्थ नै नगरिकन राजा महेन्द्रले सबै प्रतिनिधिहरुलाई थुनेर सत्ता आफ्नो हातमा लिएका दिन । भरतले मलाई भन्यो– विर्तामोडको पञ्चको कार्यक्रममा हाम्रो उपस्थिति अनिवार्य हुनुपर्छ । मैले समर्थन गरें ।

करिब एक बजे पञ्चहरुको र्याली थियो । विर्तामोडमा भन्तुराम भन्ने मारवाडीको दोकान अगाडि हामी विरोधमा उत्रिएका थियौं । शनिश्चरेबाट आदरणीय दाइ मोहनकृष्ण ढकाल, टेक राय, अरुण बुढाथोकी, रोशन गौतम लगायतहरु थियौं । भद्रपुरबाट भरत भुर्तेल, मुकुन्द ढुङ्गाना, हरि न्यौपानेहरुको जत्था आएको थियो । विरोधका लागि हामी लगभग चौधदेखि सोह्र जना जति साथीहरु थियौं ।

पञ्चहरुको दवावका बीच हामी सबै विरोधमा उत्रिएका थियौं । देशका प्रधानमन्त्री सूर्यबहादुर थापाको गाडीलाई भीडमा गएर पहिला भरत बुढाथोकीले रोक्यो । त्यसपछि म पुगें । हामीलाई के लाग्यो भने राष्ट्रिय झण्डा हाम्रो पनि हो । पञ्च र मण्डलेहरुले त्यसलाई आफ्नो मात्र बनाएका थिए । हामीमाथि आक्रमण भयो । भरत र मलाई झण्डै मारे । रोशनले हामीलाई बचाएर ल्यायो ।

त्यस काण्डमा हामीलाई प्रशासनले फसायो राष्ट्रिय झण्डा च्यातेको आरोपमा । कार्यक्रम सकेर हामीहरु सबै शनिश्चरे स्कूलको खेल मैदानमा हामी आएका मात्र के थियौं, प्रहरीको तैनाथ भयो । कारण हामी सबैलाई देशद्रोहीको आरोपमा पक्राउपुर्जी आएको रहेछ । त्यो कुरा सत्य पनि हो, हामी सबै भावुक भएका थियौं । देशकै प्रधानमन्त्रीको गाडी रोक्नु, राष्ट्रिय झण्डा सबैको हो भनेर तानातान गनुर््, झण्डा च्यातेको आरोप लाग्नु, स्वभाविक थियो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।