Mero Sabda

उँटको विगविगी


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

अनकन्टार बगर । जसलाई त्यहाँको स्थानीयहरुले जंगल भन्दो रहेछ । जुलेबी भन्ने फल फल्नेको साना साना बुट्यान । उसको खुशीले बढ्न पाए त ठूलो–ठूलो रुख हुन्थ्यो होला । तर त्यहाँ खुला रुपमा छाडिएका उँटहरुको हुलले जति नयाँ पालुवा पलाए पनि खाइदिई हाल्ने रहेछ । त्यसैले त्यो रुख जति उमेर पुरानो भए पनि सानो पोथ्रामा नै सीमित हुने । फल पनि फल्ने तर कुपोषणको शिकार भए जस्तै सानो खिन्याउरो ।

पानीको त नाम निशान केही थिएन । त्यही जंगलका बीचमा पाइप पुरेको माटोको ढिस्को । पश्चिम तर्फ दुखान भन्ने ठाउँ रहेछ । जहाँबाट पेट्रोल निकालिदो रहेछ र त्यहींबाट पाइप ओट्याउँदै अन्दाजी पचास–साठी किलोमिटर दक्षिणमा रहेको रिफाइन्ड गर्ने ठाउँमा पु¥याइएको रहेछ । कतै–कतै पाइप खुल्लामा देखिन्थ्यो ।

त्यही पाइपको स्टेण्डहरु फेर्नुपर्ने ड्युटी पथ्र्यो । बिहान गाडीले ल्याएर छाडी दिने । कुलरमा पानी क्याम्पबाट आउँदा नै भरिहाल्नु पर्ने । त्यति भरेपछि कुलरको पानी दिनभर चिसै रहन्थ्यो । तर बस्ने ठाउँ आफै व्यवस्था गर्नुपर्ने । कहिलेकाहीं त मुर्ख दिमाग पनि लगाउनुपर्ने रहेछ । छेउमा रहेको त्यही जुलेबीको बोटमुनि पसेर त्यहाँ भएको तिखा काँडा र सुकेका हाँगाहरु भाँचेर निहुरेर बस्न हुने ठाउँ बनाउँथ्यौं । पहिला त साथीहरुले ‘हुँदैन होला’ भन्दै थिए तर आफू परियो झापाली । केही न केही उपाय लगाइ हालिन्थ्यो । अन्त्यमा साथीहरु पनि खुशी भएर त्यहीं आराम गर्न थाले । त्यहाँ काम गर्न त्यति गाह्रो हुन्थेन । तर गर्मीले भने प्राण नै लिने जस्तो हुन्थ्यो । आफूले ल्याएको खानाको पोकातिर आँखा दौडाउँदै गर्नुपर्ने रहेछ । नत्र त कुन बेला उँट आएर खानाको पोका नै खाइदिने त्रास ।

कतै त्यहाँबाट उँट आउँदैछ भनेर कसैले भन्यो भने खाना सबै पोको पारेर बस्ने अनि कोहीले गएर ती उँटहरुलाई खेदाउने । त्यस्तो अवस्था धेरै पटक आएको थियो । उँटहरुसँग भेंडा पनि हुन्थे तर भेंडा धेरै चाँडो भाग्ने तर उँट भने निकै ढिट । लठ्ठी लिएर खेदाउँदा पनि हतपत्त नभाग्ने । कति धेरै अटेरी । काम गर्ने साइडमा कहिले काहीं ड्रममा पानी भरेर राखिएको हुन्थ्यो । त्यो पानी उँटले भेटे भने पूरै रित्याइ दिने । कहिले काहीं जंगलको बाटो भएर गाडी एकोहोरो दौडिरहेको अवस्थामा अचानक बाटोमा सान्डा, जुन यहाँको सुन गोहोरो जस्तो, एक प्रजाती जस्तो हुन्छ । कुदिरहेको देखियो भने गाडी रोकेर हामी ओर्लेर त्यसलाई खेदाउँथ्यो । त्यो सान्डा पनि बालुवामा धेरै तेज दौड्ने । बालुवामा कुद्न हामीलाई धेरै सकस पर्ने । तर पनि हातमा ढुङ्गा लिएर त्यसलाई हिर्काउन थाल्थ्यौं । त्यसको तेज दौडाईमा ढुंगाले हतपत्त नलाग्ने । खेदाउँदा खेदाउँदा जब त्यो थाकेर गति अलिक कम हुन्थ्यो त्यसै बेला ढुङ्गाले हानेर मार्दिने हो । अनि त्यो सान्डा भन्ने जन्तु एक जना साउथ इन्यिनले लगेर पकाएर खान्थ्यो । त्यसको बोसो खारेर एक जना नेपाली ड्राइभरले शरीरमा दल्ने गथ्र्यो अरे ।

अनकण्टारमा ड्युटी गर्नुको बेग्लै अनुभव हुनेरहेछ । काम गर्दागर्दै पिउने पानी सकियो भने काम नै रोक्नुपर्ने अवस्था हुन्छ । त्यस्तो ठाउँमा चाहिं पानीको महत्व धेरै बुझिन्छ । यदि पानी निरन्तर पिउन पाइएन भने शरीर थाकेर आउँछ । त्यसमा फेरि शरीरभरि पसिना बगिरहेको हुन्छ । त्यसैले पानीको मात्रा कम भए मानिस बेहोस भएर ढल्न सक्छ । त्यति बेला पानी पिउन पाए ठीक हुन्छ नत्र मानिसको मृत्यु नै हुन सक्छ ।

कुनै कुनै मौसममा भने हावा धेरै चल्छ । हावामा बालुवा धेरै उडेर आउँछ । त्यस्तोमा आँखामा सेफ्टी चस्मा, हातमा ग्लाउज अनिवार्य हुनुपर्छ । शरीरका कुनै पनि अङ्ग खुला अवस्थामा राख्न नहुने । हावामा मिसिएर आएको बालुवाको कणले शरीर नै पोल्ने गरी घोच्ने । तातो हावा एकनास बगिरहेको हुन्छ । हावासँगै उडिरहेको बालुवाले गर्दा चारैतर्फ तुँवालोले ढाकेझैं लाग्ने । दुई–तीन मिटर परको दृश्यहरु केही नदेखिने । कहिलेकाहीं हावाको झोंकासँगै हामी पनि हल्लिन बाध्य हुन्थ्यौं । लाग्थ्यो– हावाले उडाएर लाने प्रयास गरिरहेको छ ।

यस्तोमा खाल्डो खन्दै गरेको छ भने धेरै कष्ट हुने । हेर्दाहेर्दै उडाएर ल्याएको बालुवाले खाल्डो पुरी दिइहाल्ने । त्यो बालुवा बारम्बार निकाली रहनुपर्ने । जब दिनको खाना खाने समय हुन्थ्यो, तब कम्पनीको गाडीभित्र प्रवेश गर्ने अनि गाडीको झ्याल, ढोका सबै बन्द गर्ने । झ्याल र ढोकाको कतै सानो प्वाल रह्यो भने पनि त्यहींबाट बालुवाभित्र प्रवेश गरिहाल्ने । त्यसैले झ्याल ढोका राम्ररी बन्द गरेर मात्र खाना खान बस्नुपर्ने । नत्र त खानाभरि बालुवा पस्ने त्रास ।

यति हो, त्यहाँ सेफ्टीलाई अनिवार्य ध्यानमा राखेर काम गर्नुपर्ने । ग्याँसको पाइपबीचमा काम गर्नुपर्ने । त्यहाँ काम गर्नुपर्ने हो भने ग्याँस चेक गर्ने सानो मिसिन अनिवार्य साथमा राख्नु पर्दोरहेछ । कहिलेकाहीं बीए ट्रेनिङ पनि गर्नुपर्ने रहेछ । त्यो बीए ट्रेनिङ गरेर मात्र ग्याँस प्लान्टमा काम गर्न पाइने रहेछ । तर यता हामी हाम्रो स्थानीय तहमा कुनै संरचना निर्माण गर्नुपरेमा सेफ्टीको ‘स’ पनि प्रयोग गर्दैनौं ।

यता त हरियो बाँस ल्यायो । डोरी जुन ल्याए पनि खासै फरक नपर्ने । त्यही डोरीले बाँध्यो । थाम्यो राम्रो । नथामे भगवान भरोसा । त्यस्तो अवस्था हुनुमा सायद यहींको स्थानीय जनता, जुन उपभोक्ता होस् या निर्माणकर्मीको दोष हो । किनकि उपभोक्तालाई जति सक्दो सुलभ र सस्तो दाममा भवन बनाउनुपर्ने छ र निर्माणकर्मी जो स्थापित छन् उनीहरुको दुई–चार जना मजदुरहरु खाली किन राख्ने भनेर हचुवाको भरमा ठेक्का लिएका हुन्छन् । जो नयाँ–नयाँ यस क्षेत्रमा प्रवेश गर्दै गरेका ठेकेदार हुन्छन्, उनीहरु पनि जसरी जुन हालतले पनि ठेक्का लिन पाए हुन्थ्यो भन्ने ध्येयले गर्दा आफ्नो र आफूसँग काम गर्ने मजदुरको हाँजिर जोडेर कति हुन्छ त्यतिमा नै ठेक्का लिन आतुर हुन्छन् । अनि त्यही कारणले गर्दा सेफ्टीको बारेमा कसैले सोच्दैनन् ।

हामी जस्तो वैदेशिक रोजगारबाट अनुभव बटुलेर आएका निर्माणकर्मीलाई सेफ्टी के हो थाहा त छ, तर यहाँको वातावरणले गर्दा हामीले पनि सम्झौता गर्न बाध्य हुनुपर्दो रहेछ । नत्र त सेफ्टी विनाको निर्माण कार्य जोखिमपूर्ण नै हुन्छ । त्यस्तो अवस्थाबाट म पनि गुज्रिएको छु । एक पटक धेरै वर्ष पहिला कवि तथा गीतकार कृसु क्षेत्रीको घर मदनपुरमा दुर्घटना भएको छ । सायद कृसु क्षेत्रीलाई याद होला ।

अझ यसमा भारतीय मजदुरको कारणले पनि यो अवस्था आएको हो जस्तो लाग्छ । किनकि हर निर्माणकर्ताले भारतीय मजदुरहरु आफैं खोजेर ल्याउँछन् । अनि निर्माणकर्ताले दिएको सीमित सामानले उनीहरु सम्पूर्ण काम सम्पन्न गर्छन् । अनि भोलि कतै कसैको निर्माण क्षेत्रमा दुर्घटना भइहाले मजदुर संगठनहरु गुहार्छन् । पहिला विना सम्झौता काममा लगाउँछन्, यदि निर्माणकर्ताले आफ्नो घर निर्माण गर्नु छ र मानिस बोलाएको छ भने पनि कमसेकम एकपटक मजदुर संगठनमा गएर जानकारी गराइ सम्झौता गरे यो अवस्था आउने थिएन कि ?

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।