Mero Sabda

मृत्युपछि बाँच्नेहरू


(कविता)

– नारायण अधिकारी

मरेर पनि बाँचिदोरहेछ
बाँचेर पनि मरिंदोरहेछ

मध्य जाडोमा सम्पूर्ण पात झरेपछि
सर्वाङ्ग नाङ्गै उभिएको ऊ त्यो वृक्ष
हाँगा–हाँगामा हिउँका चिसा फूल बोकेर
कठ्याङ्ग्रिंदै
हिउँको आँधीमा
आफ्ना करङ्ग काम्दै
मरेर बाँचिरहेछ ।

उस्तै, मध्य जाडोमा
चिसोकै प्रभावले
सम्पूर्ण मरेर पनि जमीनमाथि
भित्रभित्रै बाँचिरहन्छ
दुबोको लहरो ।

केवल
आपत्–विपत्को
गड्याङ्ङ अकाश चल्दा
बालुवामा मुन्टो लुकाएर
आकाश थामेको भ्रम पाल्ने सुतुरमुर्ग
बाँचेर पनि मरिरहेछ ।

जान नदेऊ
स्वाभिमान जसले
गिर्न दिँदैन ।

अँध्यारो रातलाई चिर्दै
धर्तीमा उज्यालो वीउ छर्ने
पूर्णाकार चन्द्रमा
हेर्दाहेर्दै पश्चिम डाँडापारि डुबेर पनि
बाँचिरहन्छ आँखा आँखामा ।

ताप र प्रकाशविना
रातको श्यामवर्ण आकाशमा
धिपधिप धिपधिप
उज्यालोविहीन बत्ती बालेर
सदियौँदेखि बाँचिरहेछन् ती चिसा ताराहरू ।

र, आफ्नो आलोक निभाएर
अरूको उज्यालो बाल्न मशाल बोक्ने हातहरू
सभ्यता निर्माण गर्ने कलाकर्मीहरू
ज्ञानका बुद्ध र विज्ञानका पिताहरू
सिङ्गो युगको स्वाभिमान बोकी
मरेर पनि बाँचिरहेछन् ।

अकाशको उचाइ छुन
पखेटा फिँजाएर उचालिएको त्यो पंक्षी
आफ्नै सीमाको उचाइ छोएर
बिस्तारै तल झर्छ
आफ्नो गुणको धरातल टेक्न
जसरी फर्किन्छ छाल
किनार नाघ्न नसकी
समुद्रकै गर्भमास
जसरी फर्किन्छ आरोही
चुचुरो छोएर
आफ्नै धरातलमा ।

केवल
अहङ्कार बोकेर
म मात्रै सक्दछु भन्दै
बाँचेर पनि
हरदिन मरिरहन्छ
अभिमान ।

आउन नदेऊ
अभिमान जसले
उठ्न दिँदैन ।

(गत जुलाई ३ तारिकका दिन अनेसास, एएनए र आन्माको सहकार्यमा उत्तर अमेरिकाव्यापी कविता प्रतियोगितामा प्रथम पुरस्कार तीन सय डलरसहित पुरस्कृत कविता ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।