Mero Sabda

छेका


(कथा)

– जनार्दन कट्टेल (ऋषि शान्तिप्रिय)

मुद्दा फाँटमा केही कामहरु गर्दै थिएँ । अचानक एउटा अत्यन्त आकर्षक विवाहको कार्डसँग  आँखा जुधे । नपढ्ने कुरै थिएन ।

मैथिली भाषामा लेखिएको त्यो कार्डले एकदिन मेरो मथिङ्गल हल्लाउछ भन्ने कुरा जीवनमा कहिल्यै सोचिएनछ । तल देखि माथिसम्म  दोहोर्‍याएँ ।

उमा रमा सुधि शारदा ब्रह्मा विष्णु महेश ।

शुभविवाह सुखमय करु गौरी पुत्र गणेश ॥

आयुष्मती निर्मला अधिकारी, सुपुत्री हरेराम अधिकारी तथा श्रीमती शान्ति अधिकारी एवम् आयुष्मान बिषेश्वर यादब, सुपुत्र देवनारायण यादब तथा श्रीमती सुनैनादेवी यादबके साथ होवकलेल शुभ परिणयोत्सब समारोहके विविध कार्यक्रमके एहि पुनित अवसर पर उपस्थित भऽ बर-बधुकें शुभआशिष प्रदान कऽ हमरा लोकिनीकें अनुगृहित कयलजाय ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसको बि.इ.फस्टइयरमा पढ्ने उनीसँग  मेरो परिचय भएको थियो  जतिबेला म भने सेकेण्ड इयरको सर्भेइङको कक्षाबाट फर्कदैथिएँ । कक्षा बहिरको कोरिडोरमा अनायसै हाम्रा आँखा चार भएका थिए । मैले दाँया तर्फबाट अघि बढ्न खोजे, उनी दाँया नै लाग्ने । म अर्को तर्फबाट जान खोज्दा उनी उतै जाने । एउटा मीठो बाटो छेकाई । दुबैको मुस्कानको प्रश्नोत्तर  अनि  “जान्छु है!” को  सहमति र छुट्याईले एउटा जीवनामा हम्मेसी भुल्न नसक्ने प्रीतियुक्त चिनजान भएको  थियो । त्यसपछि सर्भेइङको कक्षा मैले कहिल्यै बुझिंन । ध्यानजति उनीमै लगाएँ ।  साथीभाइसँग सोधेरै नाम पत्ता लगाएँ । सायद उनले पनि मेरो नाम त्यसरी नै पत्ता लगाइन् । त्यसपछि हामी एउटा सुन्दर प्रेम पंखी घोडामा सवार भयौं।

निर्मला । वास्तबमै निर्मल थिई । गोरी, सलक्क परेको कालो केश राशी, गोलो नाक, पातला अधर  ।  उनको आँखामा भएको चञ्चलताले  त हो मलाई हरदम आकर्षण गरेको । हामी एक अर्काको यति नजिक पुग्यौ कि कुनै दिन उनलाई होस्टेलको झ्यालमा विहान देखिन भने मलाई खाना रुच्दैनथ्यो । उनलाई कक्षा सकेपछि क्याम्पसको क्याफटेरियामै बसेर मसँगै पढ्नु पर्दथ्यो । हामी शुरुमा म्याथमेटिकल एनालिसिस अनि सि प्लस प्लस, फिजिक्स अनि बायोलजीमा रमाउथ्यो । पछि पछि साँझसँगै हाम्रो प्यार छिप्पिएर हामी दुई कुनै ब्लाक होलमा हराउथ्यौं ।  घण्टौ हराउदा हाम्रो भोक प्यासलाई लभडोजले आँफै मेटाइदिएको अनुभुति हुन्थ्यो । साँच्चै प्रेम भन्ने चिज यति सुन्दर हुन्छ, के यो कल्पना प्रेमी बाहेक अरु कोही जान्दथ्यो होला ?

समयको पंखा बायुपंखी घोडाको पंखाभन्दा छिटो घुमेछ । दुई वर्ष भित्रमा म ब्याचलर अफ इन्जिनियरिङको पढाइ सकेर घट्टेकुलोमा डेरा लिई लोक सेवा आयोगको परीक्षा तयारी गर्न थालें । उनले पनि अन्तिम वर्षको जाँच दिइन् ।  हाम्रो प्रेमरथमा कुनै अवरोध थिएन  । तथापी आँखा चार भएको करीब पाँच महिना पछिमात्र थाहा पाएको एउटा रहस्यले मलाई अझै थप रोमाञ्चित बनाउथ्यो । त्यो के भने उनी अधिकारी थरकी मधेशी मूलकी रहिछन् । म  भने पहाडे मूलको थिएँ । तथापी यसले मलाई र मेरो परिवारलाई (?) कुनै फरक पार्ने थिएन । जे होस हाम्रो जोडी अझै दुनियाँलाई ईर्श्याकै विषय थियो । पढाइ इन्जिनियरिङ भए पनि मेरो पछिल्लो समयमा रुचि फेरिएको थियो । म सार्वजनिक प्रशासन तिर आकर्षित भएको थिए । यसैबिच मैले जनप्रशासन क्याम्पसमा भर्ना गर्न भ्याइसकेको थिएँ ।

निर्मलाको जाँच सकिएपछि उनी सप्तरीस्थित आफ्नो पुर्ख्यौली घर गइन् । यो सहन र बानी पर्न मलाई करीब तीन महिना लाग्यो । तथापि सम्पर्क भइ नै रहन्थ्यो । फोनमै उनी भन्थिन  “अब मलाई बिहेको लागि घरबाट दवाब आइरहेछ तिमी किन छिटो मेरो हात माग्न आउदैनौ ? आँट पुग्दैन भने भगाए पनि हुन्छ त !”

साँच्चै भन्नु पर्दा आफ्नो खुट्टामा नउभिइकन बिहे गर्नु हुदैन भन्ने चेत मेरो दिमागमा हाम्रो प्रेम भन्दा गाढा गरी बसेको रहेछ । यो गाढापन मेरै परिवारमा घटेका विविध घटनाबाट मेरो मस्तिष्कमा छिरेको थियो । तथापी हिम्मत थियो लोकसेवाको जाँच पास गर्ने वित्तिकै निर्मलाको बाबुसँग ससम्मान वहाँकी छेरीको हात माग्न जान्छु । भित्र मनमा भरखरै दिएको लोकसेवाको जाँचमा पक्कै सफल हुन्छु भन्ने  लागेको थियो । मैले मेरी मायालुलाई पर्ख पर्ख भनी मोहलत मागेकै हो । सायद मैले उनको अनुरोधको पर्दा पछाडिका सबै घटना बुझिनछु ।

शुभ परिणयोत्सबको कार्ड त  हो, तर मिति करीब दश महिना अघिकै छ । मैले यकीन गरें- माया झुट रहेछ उनको । एकाएक फोन सम्पर्क समेत विच्छेद गराई चटक्कै माया मारेर उनले त कुनै गैरसँग विवाह गरिछन् । मैले जसलाई प्रेमले पूजा गरेको थिएँ । निर्मल भनेको थिएँ । पवित्र ठानेको थिएँ । के माया यति सस्तो हुन्छ ?   तीन वर्ष देखिको हाम्रो सामिप्यता यही देख्नका लागि थियो ?  के हाम्रो समुदाय अलग भएकोले हामी एक हुन नसकेको हो ?  निर्मलालाई नै सम्झिएर पहिलो पदस्थापन उनकै जिल्लामा गराएको थिएँ । मेरो सपना कति अघि खरानी भई हावामा उडिरहेछ म आँफै बेखबर रहेछु । म एकोहरो भइरहदा  फाँट अघि आँपको गाछिमा केही थान चराहरु आपसमा झगड्दै बस्न आए । त्यो दृश्यले मेरो स्मृतिको पाना पल्टाइदियो । विवाहको कार्डलाई पल्टाएर हेरें । पृष्ठ भाग उत्तिकै सुन्दर थियो । कार्ड कुनै निबेदनसँग स्टेप्लरले अट्याच गरिएको थियो जसरी म उनीसँग अट्याच हुन चाहन्थें । अमिल्दा र बेप्रसंगका कागजातहरु किन अट्याच गर्नु पर्थ्यो र ?

जिल्ला प्रशासन कायार्लय सप्तरी राजविराजमा चढाएको निवेदन पत्र

श्रीमान प्रमूख जिल्ला अधिकारीज्यू,

जिल्ला प्रशासन कार्यालय, सप्तरी राजविराज ।

विषयः विवाह कायम गराई पाँउ ।

सेवामा मेरो निवेदन यो  छ कि मैले मेरो छोरी निर्मला अधिकारीको सादीका निमित्त सबै तयारी पुरा गरे पनि अन्यायी दुलाहा पक्षबाट आलटाल गरी छेका भएको आज ९ महिना वितिसक्दा पनि विवाह अझैसम्म पनि सम्पन्न हुन नसकेकोले श्रीमानसमक्ष निवेदन गर्न आएको छु । अन्यायी जिल्ला सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं. ३ बस्ने  बच्चु यादबको छोरा देवनारायण यादबले अन्याय गरेको व्यहोरा यो छ कि  मिति २०७४/०९/२० गते ऐ. बस्ने देवनारयण यादबका छोरा श्री विषेश्वर यादबका साथ मेरी छोरीको विवाह निश्चित गरी तिलक दाइजोको रकम रु. १०,००,००० (दश लाख) समेत पक्का पक्की गरिएको तथा छेका पनि सम्पन्न भई सकेको छ । मैले आफ्नो घर घडेरी बेच बिखन गरी उक्त रकम तत्कालै दिइ सकेको छु । जसको भरपाई समेत यसैसाथ पेश गरेको छु ।  मेरी छोरी इन्जिनियर हो उसलाई पढाउँदा मैले जीवन भरीको कमाई खर्चेको छु । यस भन्दा बढी मेरो दाइजो तिलक दिने अर्थिक हैसियत समेत नभएकोमा अन्यायी  दुलाहाको बाबु देबनारायण यादबले  दहेज तिलक कमी भयो भन्दै अझै थप पाँचलाख तथा मोटरसमेत माग गरी सो उपलब्ध नगराए विवाह नहुने भन्दै मेरो इज्जत आमदमा समेत धक्का पुर्याई विवाह कार्यक्रम हाल सम्म पनि हुन नदिएकोले दुलाहालाई झिकाई विवाह कायम गराई पाँउ भनी श्रीमानसमक्ष यो निवेदन चढाएको छु ।

निवेदक जिल्ला सप्तरी विष्णुपुर गाँउपालिका वडा नं. ३ बरही बिरपुर बस्ने हरेराम अधिकारी । मिति २०७५/०८/१० गते रोज ३ शुभम् ।

बरु  पहिलो घटनाले एउटा तर्कना र एउटा निचोडमा पुर्याउथ्यो होला । अब यो दोश्रो घटनालाई कस्तो निचोड दिनु ?  म पुरै रन्थनिएँ ।  आँखा तिरमिर भयो । केही सोच्न सकिन । फाँटका साथीहरुबाट बचेर आँखाको आँशु पुछें । अगाडि सबै अध्यारो भए झैं लाग्यो । त्यहाँ बस्न सकिन । जाने, तर कहाँ ? जुरुक्क उठें । बाहिर निस्किएर बाथरुम तिर गएँ । बाथरुमको त्यो एकान्तमा म स्वतन्त्र रुपमा आँशु झार्न सक्थें । धेरै बेर त्यही बसें । फाँटमा आँउदा एकजना ब्यक्ति मलाई पर्खी रहेका थिए ।

– “प्रणाम हजुर!” मैथिल लवजमा उनले अभिवादन गरे ।

– “प्रणाम, के सेवा  गरौ ?”

-” हजुर !  हम्रा कनि न्याय दिलाई पाउनके खातिर यो निवेदन लिएर आएछु ।” बुढाले टेबलमा रहेको विवाहको कार्ड अट्याच गरिएको  निवेदन उठाउदै भने ।  थाहा भयो – उनी निर्मलाका बाबु रहेछन् ।

मेरो जीवनको कथांश यति छिटो क्लाइमेक्समा पुगेको एक अर्थले राम्रो थियो । किनकी निर्मालालाई अझै प्रेमको लागि उनकै बाबुको अघि याचना गर्न सक्थें । तथापी यदि उनले मेरो बारेमा पहिल्यै भनिसकेको भए तथा परिवारबाट अस्वीकृत भई अर्को सम्बन्ध कायम हुने क्रममा यस्तो घटना भएको भए मेरो प्रस्ताबले निर्मलाको जीवनमा अझ जटिलताहरु ल्याइदिन सक्थ्यो । मेरो निर्मलाप्रति प्रेम निश्वार्थ थियो । परम्परागत कुनै प्रेम कथाहरुमा जस्तो बिरक्तिएर जीवन बर्बाद पार्ने जस्तो तहको आशक्ति थिएन र त्यसलाई प्रेमप्रतिको समर्पण ठान्न म सक्दिनथें । म  त चाहन्थें उनलाई फूलले पनि नघोचोस् । किनकी उनलाई मैले प्रथम भेटदेखि नै हृदयमा राखेको थिएँ ।  म उनको पति हुन सकिन भने पनि उनको पति जो हो उसले मैले भन्दा बढी माया दियोस- मेरो कामना थियो । सम्भवत यो मेरो अन्य प्रेमीहरुभन्दा फरक सोच थियो । थाह छैन यो प्रेमसिद्धान्तले प्रेमशास्त्रलाई बलियो बनाउछ  वा कमजोर ।

-“आमा !!!………” उनलाई यो भन्दा ठूलो सरप्राइज के हुन्थ्यो होला ? उनी भित्र पस्दा मलाइ हठात् देखेर साँच्चै  नै तीन छक्क परिन् ।

म   त यसै पनि सम्हालिइसकेको थिएँ । भनें- “आमा होइन, बाबा ।  अनि यो सब के भयो ? यत्रो कुरा प्रगति गरेछौ है , म खुसी हुनु कि दुःखी ?  मलाई  यति छिटै बिर्स्यौ है ।”  हामी बीचको प्रेमको गहिराइ र मेरो प्रश्नको गहिराईलाई हामी दुईले मात्र बुझौं  । बाँकीले नबुझे हुन्थ्यो भनेर सतर्क थिएँ ।  केहि कुरा त भन्नै पर्‍यो उनको बाबलाई सोचेर  उनको लागि थपें- ” हामी काठमाण्डुमा सँगै पढ्थ्यौ । साथी । पुरानै चिनजान हो ।”

छोरीको साथीलाई हाकिमको रुपमा पाएर बुढा हौसिए –”अरे बाप रे बाप, मलाई किन भनेनौ तिमीले ?” छोरीलाई त्यति भनेर बुढा म तिर फर्किए – “ल बाबु मेरो छोरीको साथी हुनुहुदोरहेछ, खुसी लाग्यो । हामीलाई सहयोग गर्नुपर्यो ।”

प्रेम बिनाको बिवाह अनि त्यस पछिको जीवन कस्तो होला । मुद्दा मामला गरी जितेर ज्वाई किन्नु पर्ने बुढाको कत्रो बाध्यता होला । कल्पेर म के पर्नु ?  छक्क, दङ्ग वा अरु कुनै ? भनें-

“हेर्नुहोस, म तपाईलाई, अझ मेरो साथीलाई! दिलो ज्यानले सहयोग गर्छु । तर निर्मला, तिमीले बिना शर्त माया गर्ने कोही भटिनौ है ?  मुद्दा जितेर, रुपैयाँ खर्च गरेर तिमीले कुनै पराईलाई आफ्नो बनाउन कोशीष गरिराखेकी छौ । के तिमीमा बिद्रोह गर्ने सामर्थ्य छैन ? तिमी त यत्रो पढे लेखेकी मान्छे, आफ्नो खुट्टामा उभिन सक्छौ । तिमीलाई बाबुले दिएको दश लाख रुपैया दहेजसँग साटिन साँच्चै मन छ ?  के तिमी उल्टो आँफै पैसा दिई बेचिदैछैनौ ? सोच त !”

निर्मलासँग रुन पनि मलाई भीडले दिएन । धक फुकाएर गाली गर्न पनि सकिन ।  एक पटक  किन धोका दियौ निष्ठुरी भनेर प्रश्न गर्ने सम्म उचीत वातावरण मलाई उपलब्ध थिएन ।  हुन त यसलाई धोका भन्न पनि सक्दिन, त्यो अर्थमा लिन म अझै तयार छैन । मैले निर्मलालाई यसरी बुझ्ने हो भने मैले उनलाई कुनै अर्थमा पनि माया नगरेको ठहर्छ, मायामा स्वार्थ भेटिन्छ- विवाहको स्वार्थ ।

जे होस लेखक अहिले निरिह छ । ‘स्यालले अंगुर नपाए पछि, छोड्यो- अमिलो रहेछ भन्यो’ भन्ने उखानको प्रहार गर्न पाठक बृन्दलाई आफ्नो क्षमताअनुसार स्वतन्त्रता प्रदान गरिएको छ ।

निर्मला रसिली भई । उनका आँखा लाल भए । उनको त्यो हालतले म झन द्रबिभुत भएँ । दुई वटा ज्वालामुखी एकैसाथ बिस्फोट नहोस भनेर म सजग भएँ । आँखा चिम्लिएँ । अब आज थप सम्बादको लागि म क्रमशः असमर्थ हुँदै थिएँ ।

-“बिद्रोहको कुरा नगर्नु सर । हमर ज्वाईसाब अखन तक बहुत नीक आदमी अइछ ।  लेकिन ओकर बाबुके  कोइ उछाइल देनेछे । मेरो परिवार  र छोरीको इज्जतको सवाल छ ।  फेरि दहेज त मैले निर्मलाकै सुखका लागि दिएको हो । ये त हमसभके परम्परा अइछ । यदि निर्मलाको यो सादि रोकियो भने कुनै लडकाले उसलाई हेर्दैन ।”

उसलाई बिना दहेज नै हेर्न सक्नै म थिएँ । चिनेनौ बुढा । छोरीको प्रेमलाई कुनै मूल्य गरेनौ ।  अझै पनि उसको बिद्रोहमा म साथ दिनेथिएँ ।  तर मैले यो सब कुरा भन्न सकिन ।

मलाई लाग्यो मधेशको पूरा मनोविज्ञान मैले बुझेको छैन । बिद्रोह गरेर मैले निर्मलालाई भगाउँदा निर्मला र म त खुसी हुन सकौला । तर उसको बाबुको समाजमा के नाम रहला । सायद सबैले तिरस्कार गर्लान । उसलाई  गाँउबाट निकालिदेलान् । सबैले हेप्न थाल्लान । उसकी आमालाई आरोप लाग्ला – छोरीलाई असल सँस्कार नसिकाएको भनेर । बुढी भए पछि उनकी ममतामयी आमालाई कसैले बोक्सी सम्म भन्न भ्याउला । यी सब कुरा सोचेरे म झन कमजोर भएँ । मेरो पुरुषत्व छैन बराबर भयो ।

यस्तो पनि लाग्यो – दहेज माग्दैमा उसको दुलाहाले माया नै नगर्ने त कहाँ होला र ? छोराहरु पनि त बाबुसँग अंश माग्छन् । झगडा गर्छन् ।  छोराले अंशका लागि बाबुसँग झगडा गर्‌यो, छोरीका तर्फबाट ज्वाईले ससुरासँग । कुरा बराबर ।

अनि फेरि, के झगडालाई मधेशको परम्परा सम्झन मिल्ला ? अनि आफ्नो वर्षौ देखिको प्रेमलाई हराएर मधेशको विकृत परम्परालाई जिताउने ?  मलाई दोधार भयो । उनीहरुलाई अब के भनेर पठाउने ? मैले त्यो निवेदनमा कुनै न्यायिक समिति वा जिल्ला प्रहरी कार्यालय वा छलफलका लागि यँही बोलाउने हो, कुनै निर्णय गरी तोक लगाउन सकिन । भनें- एक पटक सि.डि. ओ. साबलाई भेट्नू ।

मैले तोक नलगादिएकोमा बाबु चै निक्कै असन्तुष्ट देखिए ।  निर्मला निरपेक्ष थिई । उसले अर्को फोन नं. लिएकी रहिछ ।  फोन गरौला भनेर आश्वासन दिएँ । आभारी भई । बाबु बाहिर गएको मौका पारेर उसले स्पष्टीकरण दिन थाली ।

–” म दुःखी छु हाम्रो सम्बन्धलाई मैले लाख कोशिष गरेर पनि निरन्तरता दिन सकिन । वास्तबमा मधेशीका ज्वाई पहाडिया हुन गार्हो रहेछ । यो मेरो असफलताको अनुभव हो । मलाई माफ गरेर बिर्सिदेऊ । बिन्ति छ । सकेसम्म असल साथीमा सिमित रहौला । हाम्रो सम्बन्धको बारेमा मेरो वहाँलाई थाहा छैन । यो सब मेरो हुनेवालाको वार्गेनिङ हो । हाम्रो फोनमा कुरा हुन्छ । वहाँले मलाई माया गर्नु हुन्छ ।  पीर मान्नु पर्दैन ।”

उसको त्यति कुरा सुनेपछि  मेरो मन हलुका भयो ।  मेरो असफलता कसैको सफलता सिद्ध हुँदै थियो । एउटा त्यागले प्रेमलाई  निष्कर्षमा पुर्याउदै थियो ।  प्रेमपंखी घोडाको रथमा सारथी फेरिदै थियो ।  कल्पना गरें – मेरी मायालुलाई त्यसै गरी जतनले अंगालोमा बेर्न लालायित थियो सारथी जसरी मैले मायाले बेरेको थिएँ – न्यानो अँगालोमा ।

– “भैगो त ।  म तोक लगाइ दिन्छु ।” यति भनेर निवेदनतर्फ हात बढाएँ । “श्री मुद्दा फाँट, दुबै पक्षलाई कार्यालयमा बोलाई छलफल गराउने ।” यति लेखेर सुब्बा साब तर्फ निवेदन राखिदिएँ ।

बाबु चैं अझै जिद्दी गर्दै थिए । प्रहरीमा लेखिदिनु पर्यो भन्दै थिए । तर निर्मलाले बाबुलाई आश्वस्त पार्न कोशिष गरी – ” एक चोटी छलफल गरौ न त, यँही । कुरा मिल्छ होला ।”

फाँट अगाडिको रुखमा भएका चराहरु झगडा गर्न छोडी हामी तर्फ नै चासोसाथ हेर्दैथिए । निर्मलाले मलाई सँधैका लागि छोडेर ढोका बाहिर निस्किई । बाबु केही असन्तुष्ट हुँदै बाहिरिए ।

बाहिरको चियापसलमा कसैले रेडियो खोल्यो । “………… मुठी एक उँच छथीन सीयाके सजनवाँ हे…….सिया के सजनवा सखि हे दशरथ के  ललनवाँ हे ……………… मुठी एक उँच छथीन …….  श्यामल गोर किशोर मनोहर आयल जनक भवनमाँ हे माथपर ……”

छलफल हुनुभन्दा अघि नै मेरो सरुवा भएकोले मैले रमाना लिएँ । निर्मलालाई फोन गरेर  बिस्तारै बस्न लागेको खाटो कोट्याउन अझै हिम्मत जुटेको छैन ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।