Mero Sabda

हामीले चुनाव हार्यौं


(भोगाइ)

– लिलक सिटौला

प्रहरी हामीलाई समाउने कोसिसमा लागेका थिए । तर हामी पनि के कम, आदरणीय केशवकुमार बढाथोकीको नेपाल ब्रंक भएको ठूलो घरमा दिनभरि लुकेर बसेका थियौं । त्यसपछि हामीलाई ठूलै मुद्दा लाग्ने भन्ने खबर आएपछि बेलुकीपख हामी खुदुनावारी तर्फ लागेका थियौं । त्यहाँ हाम्रा अजग्रज डबल सुब्बाको घरमा रात्रिको बास भयो । दाइ भूविक्रम नेम्वाङ, शंकर हुँदै मदन विक्रम नेम्वाङका पिताको घरमा म सहित अरुण बुढाथोकी, भरत बुढाथोकी र रोशन गौतम आश्रय लिन पुगेका थियौं ।

उज्यालो हुना साथ खाजा खाइवरी दिनभरि उत्तर तर्फको जंगलमा बास हुन्थ्यौं । बेलुकी नेम्वाङ परिवारको घरमा खाना खाएर सुत्ने काम हुन्थ्यो । फेरि भोलिपल्ट जंगल मै । किनभने जंगलभित्र हिंस्रालु जनवार त्यति थिएनन्, जंगल बाक्लो थियो । लोकल चराचुरुङ्गीहरुको सुमधुर स्वरहरु जंगलभित्र गुन्जिन्थ्यो । हामीलाई पनि रोमाञ्चकारी बनाउथे । पशुपन्छिीहरुले त्यस बेलाको जंगलभित्र चराचुरुङ्गीहरुलाई खाने कुराको केही कमी थिएन । हामी चारै जनालाई धेरै रमाइलो लाग्न थालेको थियो ।

अहिले मान्छेहरु जंगल हेर्नलाई घरबाट गाडी लिएर पुग्छन् । हामीले त्यो बेला जंगलको मज्जा असाध्यै लिएका थियौं । जंगलभित्रको चिरविरको आवाजले हामी आन्दोलनकारीहरुलाई एकप्रकारको शान्ति दिएको थियो । साँझपख फेरि आफ्नै डेरा । हाम्रो मुद्दा नमिलिञ्जेल हाम्रो दैनिकी कार्य त्यही भएको थियो ।

जय होस् नेम्वाङ परिवारको, जसलाई हामीलाई दुःख परेको बेला साथ र सहयोग गरेका थिए । वास्तवमा राजनीतिक जीवनमा भूमिगत शब्द नै क्रान्तिकारी हुँदोरहेछ । हामी पनि अर्ध भूमिगत जीवन बिताउन वाध्य भएका थियौं । धेरै नेताहरुले लामो समयका लागि भूमिगत जीवन बिताएको इतिहास छ ।

हामी भने छ दिनपछि आजाद भएका थियौं । आजादको अर्थ देशद्रोहको मुद्दा मिलेपछि हामी स्वतन्त्र भएका थियौं । मुद्दा मिलेको खबर पाएपछि अरुण दाइ, भरत, रोशनलाई मैले भनेको थिएँ, ‘पञ्च र मण्डलेहरुको षडयन्त्र हुनसक्छ । पञ्च र मण्डलेहरुको षडयन्त्र हुनसक्छ । झण्डा च्यातेको आरोपमा हामीलाई जेल कोच्न पनि सक्छन् । होसियार हुनुपर्छ ।’ मेरा कुरा सुनेपछि भरत बोल्यो, ‘म पहिलो शनिश्चरे जान्छु र बुझेर खबर पठाउँछु, नभए आफै आउँछु ।’

सुब्बा परिवारको घोडा लिएर भारत शनिश्चरे तर्फ लाग्यो । घोडा शनिश्चरे पुगको खबर हामीले पायौं । जे होस्, त्यो बेलामा भरत बुढाथोकीको राम्रो हैसियत थियो । आँटी र न्यायप्रेमी थियो ऊ । दाइ अरुणलाई हाम िसम्मान गर्दथ्यौं । मेरा बचपनका साथीहरु मध्ये भरत र रोशन पनि अब्बल थिए । हाम्रो मुद्दा मिलाउनमा कुमार दाइ र अन्य नेताहरुको महत्वपूर्ण भूमिका भएको खबर भतरबाट पाएका थियौं । त्यसपछि हामी शनिश्चरे आएका थियौं । बहदुल र निर्दलको प्रचारप्रसारमा कहिलेकाहीं यस्त घटनाहरु हुने हुँदा मेलमिलाप गराएका थिए । तर हामीहरुले झण्डा च्यातेका भने थिएनौं ।

शनिश्चरे आएपछि हाम्रो काम पुरानै थियो । वास्तवमा देशभरि बहदुल र निर्दलको प्रचारप्रसार केही हदसम्म सम्मानजनक भएको हामीले महसुस गरेका थियौं । अब लडाइँ–झगडा अलिकम भएको थियो ।

त्यसो त बहुदलको पक्षमा धेरै नेताहरु र अनेकौं कार्यकर्ताहरु चुनावमा होमिएका थिए । उतापट्टि सुधारिएको निर्दलीय पञ्चायती व्यवस्थालाई जिताउन पनि व्यवस्था पक्षधरहरुको पनि उल्लेखनीय त्याग र बलिदान थियो । हामीलाई सञ्चालन गर्ने नेताहरुको नाम माथि नै उल्लेख भएको छ । तर पनि झापा जिल्लाभरिको प्रचारहरुमा धेरै नेताहरुको नाम मेरो मस्तिष्कमा अझै छाप झैं बसेको छ । ती नामहरुमा सीके प्रसाई, रामबाबु प्रसाई, फत्तेबहादुर बुढाथोकी, दलकृष्ण श्रेष्ठ, केशवकुमार बुढाथोकी, भूविक्रम नेम्वाङ, डिल्लीविक्रम नेम्वाङ, डा. शंकरप्रसाद उप्रेती, कृष्ण मिश्र, मछिन्द्र केरुङ, चक्रप्रसाद बाँस्तोला, उमो पोखरेल, टीका प्रसाई, देवी प्रसाई, हर्षकुमारी थपलिया, विष्णु प्रसाई, टीका दोर्जे, तारा भुर्तेल, डा. गोकुल अमात्य, केदारसिंह कार्की, काजीशेर देवान, चन्द्र अधिकारी, पर्शुराम पाठक, धनपति भट्टराई, होमबहादुर नेपाल, डिल्ली शिवाकोटी, श्रीप्रसाद गौतम, केशव लम्साल, रामप्रसाद खड्का, अम्बिका नेपाल, अम्बिका चापागाई, शान्ता पोखरेल लगायत ।

प्रचारप्रसार र बलिदानी जीवनमा अरु धेरै अग्रजहरु थिए । देवनारायण राजवंशी, कार्तिकलाल सुदमा, कलुवा राजवंशी साथै पटवारी राजवंशीको महत्वपूर्ण भूमिका रहेको थियो । हुन त दक्षिण भेगबाट साथै गौरीगञ्ज, कोहोवराबाट डिल्ली सेडाइँ, घनश्याम रिजाल, रामप्रसाद ताजपुरिया, छटपटिया राजवंशी, मानबहादुर प्रसाई लगायत हुनुहुन्थ्यो । गोपाल प्रसाई प्रधानपञ्चबाट राजिनामा दिएर बहुदलको प्रचारमा आउनु भएको थियो । हाम्रा अग्रजहरु अरु पनि थिए । मेघराज चम्लागाई, पहाडसिंह राजवंशी, सूर्यनारायण राजवंशी, दिनदयाल अग्रवाल, टीकादत्त रेग्मी, डा. राविन्द्र चक्रवर्ती (जुरोपानी), माइला राई, डा. डिआर प्रधान, विश्वनाथ घिमिरे (सहिद), मदनमोहन श्रेष्ठ ।

माथितल जे भए पनि त्यो बेलाको एरियामा पर्ने धुलावारी क्षेत्रदेखि काँकरभिट्टासम्मको भूभागलाई पञ्चायतले बाँडेको थियो । त्यस क्षेत्रका अग्रजहरु सदानन्द भट्टराई, प्रेम राई, तमर राई, डम्बर केसी, हरि भट्टराई, कुलप्रसाद भट्टराई (बहुदले बूढा), श्यामलाल दहाल, सोम खनाल, युद्ध ओलीको महत्वपूर्ण भूमिका रहेको थियो । रत्नकुमार कार्की, हरिप्रसाद उप्रेती, पुष्प सिटौला लगायत अरु धेरै नेताहरुको बलिदानी रहेको छ । बहुदल र निर्दलको पक्ष र विपक्षको अन्तिम घडी अर्थात् अन्तिम फैसला हुनथालेको थियो ।

कर्मयोगीहरु रत्नबहादुर थापा, ठाकुर घिमिरे, पर्शुराम भण्डारी, याम भण्डारी, पुण्यप्रसाद पौडेल, केदार सुबेदी, सूर्यप्रसाद दहाल, लाल शर्मा लगायत हाम्रा अग्रजहरुले दिल खोलेर बहुदलको पक्षमा आफ्नो अमूल्य समय दिएका थिए ।

भोट हुनुभन्दा छ दिन अगाडि मेरा मामा जयप्रसाद सापकोटाको घरमा बहुदलको नारा लेख्ने हाम्रो निर्णय भएको थियो । किनभने त्यहाँ लेखेपछि हाम्रो भोट बढ्छ भन्ने हाम्रो विश्वास थियो । किनभने मामा पञ्चायती व्यवस्थाका कट्टर हिमायती हुनुहुन्थ्यो । त्यो कामको जिम्मा मदन बुढाथोकीलाई मैले प्रलोभनमा पारेर लगाएँ । त्यति बेलाको प्रलोभन भनेको मुराई, चना र चिउरा नै थियो । मदन र आनन्द चापागाइंको टीमा मनोज ओली, नवीन श्रेष्ठ, प्रकाश गिरी, शेखर वन, भीम काफ्लेहरुले मामाको घरको भित्तामा राति बहुदलीय व्यवस्था जिन्दावाद, निर्दलीय व्यवस्था मुर्दावाद लेखेका थिए ।

अन्तिम चरणमा भोट सम्पन्न भयो । बहुदलको पक्षमा बीस लाख मत खसेको सूचना आयो । निर्दलको पक्षमा चौबीस साख मत आएको कारणले बहुदलीय पक्षधरको हार भयो । हाम्रा नेता गणेशमान सिंह लगायत अरु नेताहरुले ‘निर्वाचन आयोगको घोषणालाई हामी मान्दैनौं’ भने । त्यस परिणाममा धोका र धाँधलीको आरोप उहाँहरुले लगाउनु भएको थियो ।

हाम्रो मेहनत खेरा गयो । पछि सान्दाइ (वीपी कोइराला) ले बहुदलले हारेको स्वीकार गर्नु भयो । त्यसै कारणले उहाँले धेरै गाली पनि खानु भयो । वीपी कोइराला जस्तो दूरदर्शी नेता हामीसँग अर्को कोही थिएन । उहाँले ‘आज बहुदलको पक्षमा बीस लाख मानिसहरुको यो देशमा जन्म भएको छ, त्यसको उपलक्ष्यमा हर्ष र उल्लास मनाउँ’ भन्नु भो पछि गएर गणेशमानजीले पनि वीपीको सम्वोधनलाई स्वीकारेका थिए । यदि त्यो परिणाम नस्वीकारेको भए त्यतिखेरै देशभरि गृहयुद्धको भयमय स्थिति बनेको थियो । वीपीको एक निर्णयले गृहकलह टरेर गयो ।

शनिश्चरे, झाप

प्रतिकृया व्यक्त गर्नुहोस् ।