Mero Sabda

राजनीतिमा पहिलो उम्मेद्वारी


(भोगाइ)

– लिलक सिटौला

धेरै संघर्ष र मेहनत गरे पनि छत्तीस सालको जनमत संग्रह हामीले हारेका थियौं । नेपाल र नेपालीको जे जस्तो अवस्था भए पनि समय र मानिसको जीवनमा आफ्नै किसिमको बन्देज र खुल्लापन रहेको पाइयो । बहदुलीय व्यवस्थाले हारेपछि सबै नेपाली जनताले हार स्वीकारेका थिए । त्यही कारणले नेपालमा शान्तिको लहर फैलिएको थियो ।

जनजीवन बिस्तारै सामान्य बन्दै जाँदै थियो । व्यापार व्यवसायहरु आफ्नै ठाउँमा फर्किएका थिए । स्कूल कलेजको वातावरण पनि पहिलाको जस्तै भएको थियो । नेपालमा परिवर्तनको आगेपिछे जे भए पनि पुरानो शक्ति र सत्ताले जितेको थियो । प्रजातन्त्रवादीहरुले त्यसलाई स्वीकार गरेका थिए । देशका लागि राम्रो पक्ष त्यो पनि थियो, र हो पनि ।

हामीसँग टीम बनाएर हिंड्ने साथीहरु पनि आआफ्नै धार र घर–व्यवहारमा अलिअलि गर्दै फर्किन थालेका थिए । जे होस्, त्यो पक्ष पनि राम्रो नै थियो । मलाई चाहिं एक किसिमको चोट लागेको जस्तो भएको थियो । मलाई के मतलब, म त सिस्टम विनाको मान्छे थिएँ । सिस्टम हुनेहरु आआफ्नो घरमा फर्किएको महसुस मलाई भएको थियो । म भने आफ्नो विचारलाई लिएर हिंड्ने निर्णय मेरो आत्माले रोज्यो । म त्यही खाल्टोमा गएँ । पञ्चायतसँग सम्झौता र समर्पण गर्दिनँ भन्ने लाग्यो । मलाई मेरै मनबाट गर्व भयो । बहुदलले हारे पनि म निरन्तर पञ्चायतको विरोधमा लागें । किनभने मेरो मन–मस्तिष्कमा त्यही रह्यो ।

मान्छेको जीवनमा अटल विश्वास भयो त्यो राम्रो पक्ष हुन्छ भन्ने कुरा मैले पछि गएर बुझें । जे होस्, मानिसहरुले बहदुलको लागि जिउ–ज्यान छाडेर आआफ्ना पक्षमा उभिएका थिए । त्यो सबै कुराहरु व्यावहारिक रुपमा को–कहाँबाट आएका थिए । त्यही स्थानमा फर्किने क्रम रहेको थियो । म भने शनिश्चरे मावि तर्फ फर्किएरको अवस्था थियो । स्कूलमा पढाइको सिलसिला बाहेक अरु कुरा हुँदैन थियो ।

म पनि पढ्नै गएको थिएँ । अरु सम्पूर्ण साथीहरु पनि पढाइ मै थिए । हाम्रो व्यवस्थाले हारे पनि हामीलाई राजा र पञ्चबाट धोकाधडी र बदमासी भएको महसुस भएको थियो । त्यो पीडालाई सँगै लिएर हामी आआफ्नो हैसियत तथा आआफ्नै ठाउँमा फर्किएका थियौं । २०३६ सालको अन्तिम र २०३७ सालको आगमन नै थियो, आन्दोलनमा कुद्ने र समर्थन गर्नेहरुको चहलपहल शुरु भएको थियो । यस क्षेत्रका ठूला–ठूला नेताहरुले मेरो बारेमा चासो लिएको मैले महसुस गरें ।

यस क्षेत्रका नेताहरु फत्तेबहादुर बुढाथोकी, दलकृष्ण श्रेष्ठ, दलबहादुर थापा आदि सहित स्कुल प्रशासनमा रहेकाहरु शिवप्रसाद दहाल, मोहन जोशी, कृष्णप्रसाद शिवाकोटी, भरत विमली, शेखरनाथ अधिकारीहरुले मलार्य विद्यार्थी नेता बनाउने कुराको छलफल भएछ । म हिंड्दाहिंड्दै नेविसंघको सभापतिको उम्मेद्वार हुन पुगें । बाहिरबाट अहिलेका नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा लगायतको पनि समर्थन थियो ।

मेरो उम्मेद्वारी नै पञ्चायतको विरोधका लागि पर्याप्त थियो । त्यो बेलामा हामी देशभरिका विद्यार्थीहरुको चर्को आन्दोलनले पाएको एउटा अधिकार पनि थियो । बहुदलले हारे पनि नेपालमा आन्दोलन गर्ने विद्यार्थीले जितेका थिए । पञ्चायतले थाम्न नसकेर विद्यार्थीहरुलाई आफ्नो हक तथा सांगठनिक अधिकार दिने निर्णयपछि मात्र प्रत्येक स्कूल र कलेजमा विद्यार्थीहरु आआफ्ना पक्षको नारा सहित निर्विरोध तथा चुनाव हुने होड चलेको थियो ।

त्यसमा नेपाली कांग्रेसको तर्फबाट नेपाल विद्यार्थी संघ, कम्युनिष्टका तर्फबाट अखिल र फेडरेशन (रसियन कम्युनिष्ट), पञ्चायतको तर्पmबाट मण्डलहरुको भीडन्त स्कूल कलेजका क्षेत्रमा हुने गर्दथ्यो । अहिले पनि त्यही चलन छ । हाम्रो गाउँ शनिश्चरेमा त्यस बेलाका पञ्चायत समर्थक आदरणीय दाइ रामप्रसाद भट्टराई हुनुहुन्थ्यो । उहाँ जे जस्तो भए पनि सरल र भद्र मानिसको रुपमा मैले पाएको थिएँ ।

बाहिर र भित्रको दबावमा मैले नेविसंघको उम्मद्वारीमा आफूलाई प्रस्ताव गर्ने निर्णय गरें । बाहिर भनेको उद्वव थापा, पृथ्वी बुढाथोकी, भवानी ओली, मोहनकृष्ण ढकाल, टंक राय आदि–इत्यादि । मलाई अत्यन्तै माया गर्ने गुरुआमा अञ्जना पनि हुनुहुन्थ्यो मलाई हौसला प्रदान गर्नका लागि । सबैको सहमति र शनिश्चरे माविका विद्यार्थी साथीहरुको सल्लाह मार्फत मैले आफ्नो उम्मेद्वारीको भएको थियो । मलाई के को चिन्ता थियो, मैले पनि ‘हुन्छ’ भनिदिएँ ।

अब उठ्ने मान्छेको आफ्नो कर्मको प्रभावमा भोट आउने हो । सही विद्यार्थी नेता म थिएँ भने त्यो बेला विद्यार्थी साथीहरुबाट सहयोगबाट भोट ल्याइन्थ्यो । स्वच्छ निर्वाचन हुँदा । तर एउटा राजनीतिमा ठूलो झण्झट त उठाउने पक्षलाई पो हुँदोरहेछ । उठ्ने मुलाले त जित्छ कि हार्छ । हारे सबैले हारेको हुन्छ । सबैको नाकै काटिन्छ । जित्यो भने सबैको सान र मान हुन्छ । जे होस्, शनिश्चरेका सम्पूर्ण साथीहरु र बाहिरबाट समर्थन लिएर मैले शनिश्चरे माविको कांग्रेसको भातृ संगठन नेविसंघको अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरें ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।