Mero Sabda

खल्ली बल्ली


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

प्रायः नेपाली युवाहरुमा वैदेशिक रोजगार जाने सोचाइ आउने बित्तिकै मनमा एक प्रकारको रोमाञ्च पैदा हुने गर्दछ । त्यहाँ पुगेर पैसाको बोट नै हल्लाएर बरर पैसा झारेर जम्मा गरेर स्वदेश पठाउने सोच प्रायः नेपाली युवामा हुन्छ । तर वैदेशिक रोजगार जानु भनेको आफ्नो आत्मसम्मान धरौटीमा राख्नुपर्ने बाध्यता हुन्छ । त्यहाँ पुगेर ड्युटी कार्डमा पञ्चिङ गर्ने मेसिनको इसारामा ड्युटी पुग्नुपर्ने । म्यानेजरले हातमा बोकेको मोबाइल खोसेर लाने अनि ड्युटी सकेपछि मात्र मोबाइल फिर्ता पाइने ।

यसरी प्रत्येक पल अपमान सहेर ड्युटी गर्नुपर्ने । यदि केही कारणले एक दिन ड्युटी गयल भयो भने दुई दिनको हाजिरा गयल पारिदिने । त्यति मात्र कहाँ हो र ! एउटा देशको नागरिकले दोस्रो देशको नागरिकलाई स्वीकार्ने । यदि कसैले फोरमेनलाई पानीमा उतार्न सकेमा त्यो सबै समस्याबाट निजात पाइने तर यदि फोरमेनसँग घमण्ड देखाएर आफ्नो ड्युटी इमानदार साथ गर्छु भन्ने हो भने त्यो सोचाइ मुर्खतापूर्ण हुन्छ ।

त्यहाँ जसले धेरै चम्चागिरी देखाउन सक्यो । उसको भाग्य खुल्यो भन्दा हुन्छ । किनकि फोरमेनको हातमा कसलाई ओभरटाइम दिने भन्ने अधिकार हुन्थ्यो । चम्चागिरी गर्नेमा प्रायः जसो भारतीय र बङलादेशी हुन्थे । तर मैले चाहिं आफ्नो कामबाट फोरमेनलाई प्रभावित पारेको थिएँ । मबाट कुनै काम पनि नहुने कुरै थिएन । त्यसैले फोरमेन मबाट प्रभावित भएको थियो । प्रायः साइडमा मेरै नेतृत्वमा काम हुन्थ्यो ।

एक दिन साथीकोबाट भेट्न आउनु भन्ने खबर पाएँ । बिहिबार साँझमा ट्याक्सी चढेर साथीले भनेको ठाउँमा पुगे । साथीहरु मेरै प्रतिक्षामा बसेका रहेछन् । साथीहरुसँग कोठामा बसेर धेरैबेर भलाकुसारी गरियो । केही बेर पश्चात् साथीहरु पसलमा सामान लिने भन्ने सल्लाह गरे र पसलतर्फ लागे । पछिपछि म पनि साथीहरुसँगै पसल गएँ ।

पसलमा साथीहरु त्यो लिने, यो लिने भन्ने सल्लाह गर्न थाले । अन्त्यमा कसैले एक हजारको चिकन लानुपर्छ भन्थे त कसैले त्यसले पुग्दैन पन्ध्र सयको लानु पर्छ भन्थे । म आश्चर्यमा परें । एक हजार र पन्ध्र सयको चिकन कति हुन्छ ? त्यति महङ्गो चिकन खाएर पुग्छ र ? यस्तै के के सोच्न थालें । साथीहरुले चिकन निकालेर ल्याए । अन्य सामान पनि पोको पारेर रुममा ल्याए । रुममा आएर साथीहरुलाई सोधें– ‘हैन हो साथी ! अनि एक हजार र पन्ध्र सयको चिकन खाएर पुग्छ त ?’ यो सुनेर साथीहरुल गलल हाँसे । अनि साथीहरुले स्पष्ट पारे । ‘एक हजार र पन्ध्र सय रुपैयाँको चिकन होइन । यो त ग्रामको कुरा गरेको । एक हजार भनेको एक किलो र पन्ध्र सय भनेको डेढ किलो चिकन हो । चिकन त किलोको दश रियल मात्र पर्छ ।’ अनि मात्र म लाजले रातो भएँ । उनीहरुले त ग्रामको कुरा गरेको रहेछ । म चाहिं रुपैयाँ (रियल)को कुरा गरेको होला भनेर सम्झिरहेको ।

साथीहरुले चिकन पकाउन थाले । पकाइ सकेपछि प्लेटमा निकालेर ल्याए । साथमा सानो सेतो बोतल पनि ल्याए । सायद साथीहरुले पिउने बन्दोबस्त गरेको होला । बोतल देखाएर ‘त्यो के हो ?’ भनेर सोधें । उनीहरुले ‘ट्वाइलेट सफा गर्ने स्याम्पु हो । यो खाँदा ट्रिप लाग्छ । खाने होइन ?’ भनेर मलाई प्रतिप्रश्न गरे । तर मैले खान मानिनँ । त्यसपछि आधा घण्टा पश्चात् हातमा रम लिएर आयो एउटा साथीले । अनि देखाउँदै सोध्यो, ‘यो त चल्छ नि ?’ मैले मज्जाले हाँसेर ‘चल्छ मात्रै होइन दौडन्छ’ भनें ।

त्यस पश्चात् गाउँघरका कुरा गर्दै कति खाइएछ थाहै भएन । खाँदै जाँदा कति बेला मातिएछ । धेरै मात लागेपछि खाना पनि नखाइ सुतिएछ । बिहान उठ्दा त भोक लागि रहेको थियो । बल्ल बल्ल उठेर नास्ता गरियो । दिँउसो खाना खाएर साथीहरुसँगै नेपाली बजार लागियो । जब साँझमा रुममा आएर साथीहरुलाई त्यो स्याम्पुको बारेमा जिज्ञासा राखेको साथीहरुले भने, ‘त्यो ट्वाइलेट सफा गर्ने स्याम्पु हो । त्यसलाई हामी नेपालीहरुले खजुरगाछी नाम दिएका छौं । पहिला पहिला त्यो चिज ल्याएर थालमा खन्याउने अनि त्यसमा आगो लगाउने त्यसमा आगो लगाउँदा पेट्रोलमा आगो लागे जस्तै हुन्थ्यो । अनि जब त्यो आगो त्यसको पावर सकेपछी निभ्थ्यो तब त्यसलाई सेलाएर त्यतिकै पिउँथे । तर आजभोलि त्यसलाई आगो नलगाइ पेप्सीसँग मिसाएर पिउँछन् । सस्तो पनि र नसा त्यतिकै लाग्ने । त्यसैले यो दोहाभरिका प्रायः नेपाली, बङगाली र श्रीलंकन मजदुरहरुले त्यही चिज प्रयोग गर्छन् । यसले स्वास्थ्यलाई धेरै असर गर्छ । धन्य तपाईले पिउनु भएन रहेछ ।’

यति सुनेपछि मनमा चिसो पस्यो । धन्य त्यो चिज पिइएन । नत्र के असर गथ्र्यो को नि ? तर पनि त्यो परदेशमा पहिलो पटक रम चाहिं बजाइयो । रातिको समय त्यो पनि एसी भएको रुममा बसेर पिउँदा त त्यति याद भएन तर दिँउसो चाहिं शरीरको तपक्रम बढेर सदा भन्दा धेरै गर्मी भएझैं लाग्यो ।

बस्दै जाँदा आफू पनि त्यहाँको परिवेशमा घुलमिल हुन थालेको थिएँ । घरका यादहरु पनि केही मत्थर हुनथालेको थियो । याद त नआउने होइन तर पनि पहिला झैं असह्य हुन छाडेको थियो । चिठीपत्रको आदानप्रदान चलिरहेको थियो । उता घरबाट चिठीसँग फोटोहरु पनि पठाउँथे । यताबाट मैले पनि त्यसरी नै यहाँको फोटोहरु पठाइरहन्थें ।
यता आएको पनि दुई–तीन महिना बितिसकेको थियो । तलब पाइएको थिएन । साहुको पचास हजारको ऋणको भारी प्रत्येक महिना चार हजारका दरले थपिदै गइरहेको थियो । ब्याजको सगरमाथा चढ्दै गइरहेको थियो । घरबाट पनि साहुको पैसा चाँडै फिर्ता गरिदिनु भनेर पत्र आउँथ्यो । तर म विवश, प्रत्येक महिना सगरमाथाको चुचुरा नाप्न मात्र बाध्य थिएँ ।

पुराना साथीहरु जो छुट्टीमा जाने समय भएकाहरु रातको समयमा बजार गएर झोला झोला सामान खरिद गरेर लिएर आउँथे । त्यो देखेर आफूलाई छट्पटी नलागेको पनि होइन तर आफ्नो त कहिले हो कहिले । त्यो समयमा रेमिट्यान्स पठाउनका लागि त्यहींको रुपैयाँ (रियल)बाट पठाउन मिल्थेन । त्यो रियल बैंकमा गएर डलरमा साँटेपछि मात्र रेमिट्यान्स पठाउन मिल्ने । त्यसैले साथीहरु आफूसँग भएका रुपैयाँ बैंक गएर डलरमा साँटेर ल्याउँथे । त्यो देखेर मनमा झन् छट्पटी हुन्थ्यो तर विवश । आफू चाहिं हातको हत्केला घोटेर मैला निकाल्दै टक्टक्याउन बाहेक अरु केही उपाय थिएन ।

त्यो समयमा अरबी भाषा त्यति जानिएको थिएन । तर पनि एक–दुई शब्द चाहिं फाट्टफुट्ट निस्किहाल्थ्यो । त्यस्तोमा साथीहरुको अवस्था खेदेर आफूले आफैलाई सम्हाल्दै अरबी भाषामा भनिन्थ्यो– खल्ली बल्ली ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।