२०७८ असोज ८ शुकर्बार
Mero Sabda

जनमत संग्रह हारेपछिको पहिलो विजय जुलुस


(भोगाइ)

– लिलक सिटौला

राजनीतिमा टिकरमबाज के हो मलाई थाह नै थिएन । तर पनि मेरो उम्मेद्वारीले शनिश्चरे हल्लाएको थियो । मैले खोजेको पनि त्यही थियो । माथिको भोगाइमा मैले भनेको थिएँ– सबैको समर्थन पाएपछि मैले खुट्टा कमाउने कामै थिएन ।

बहदुल र निर्दलीय व्यवस्थाको हारजीतको कारणबाट जग्गा धनीपूर्जा जस्तै कित्ता फेरिएको अवस्था थियो । त्यसै अनुसार विद्यार्थीको चुनाव हुने भएको अवस्था थियो । हामी कांग्रेसका छोराछोरी अरुअरु नै भए । शनिश्चरे बजारभित्रको अवस्था बहुदलवादीहरु धेरै भएकाले बहदुलमय थियो । यहाँ कसैको केही चल्नेवाला थिएन । पञ्चायतले जीते पनि शनिश्चरेमा बहुदलवादी अर्थात् कांग्रेसहरुकै बोलबाला थियो । किनभने हामी पढेको स्कूल शनिश्चरे माविलाई कांग्रेसीहरुले नै जग्गा दिएका थिए स्कूल निर्माणका लागि । अरु सम्पत्तिहरु पनि कांग्रेसी मार्फत नै प्राप्त थियो स्कूललाई । हामी पनि त्यही स्कूलबाट ज्ञानसीप हासिल गरेका थियौं ।

चुनावको चहलपलह शुरु भएको थियो । स्कूल प्रशासन त्यो बेला हल्लिएको थिएन । २००५ सालमा जन्मेको इतिहासको अभिलेखलाई सम्झँदा आदरणीय शिवप्रसाद दहालहरुको योगदानबाट बलिदानी सम्वादको कारण स्कूल प्रशासन अटल थियो ।

बाहिरबाट पनि निरन्तर दबालका कारण मलाई मेरा साथीहरुसँग सम्वाद गर्नुपर्ने बाध्य बनाएको थियो । मेरा क्लास अर्थात्क्षाका साथीहरुसँग घेरै छलफल गरेपछि मेरो उम्मेद्वारीमा ज्ञानबहादुर थापा मगरले समर्थन गरेपछि हामी सहमत भएका थियौं ।

म नेविसंघको अध्यक्षमा उठेको थिएँ । अरु व्यवस्थाका साथीहरु पनि विद्यार्थी हकहितलाई दावी गर्दै उठेका थिए । त्यो बेला माले भन्ने कम्युनिष्ट पार्टीबाट एक जना सरल व्यक्ति, नाम बिर्सिएँ थर भने आचार्य थिए, उहाँले मलाई समर्थन गर्नुभएको थियो । मेरो विरुद्धमा पञ्चायत समर्थक भीम पौड्यालको उम्मेद्वारी परेको थियो ।

म त के जान्नु, चुनावमा उठेपछि सबैले भो दिन्छौं भन्छन् नै । मख्ख भएर हिंड्नु सिवाए केही थिएन । सर्बसम्मत् नहुने भएपछि चुनावमा जानु नै पर्दथ्यो । चुनावमा जाने क्रम जारी थियो । चुनाव आइतवार थियो ।

त्यो बेला कथा अर्कै थियो । मिटिङ बसेर कमै निर्णयहरु हुन्थे । इशाराबाटै गोप्य निर्णय हुँदोरहेछ । अब त म ठूलो मान्छे भएको थिएँ । किनभने म नेविसंघको अध्यक्षमा उठेको थिएँ । शनिबार सबै भित्रबाहिरका शक्तिहरुसँगको सल्लाह अनुसार हामीले काम गरेका थियौं । बाहिरबाट त्यो बेलामा उद्वव थापा नै अलिक राजनीति बुझे जस्तो लागेको थियो । भित्रबाट आदरणीय गुरुबा–गुरुआमाहरुको पूर्ण समर्थन थियो ।

मलाई चाहिं चुनावमा आफ्नो पक्षबाट निर्विरोध उठाउने निर्णय नेपाली कांग्रेस पार्टीको तर्फबाट भएको थियो । त्यसका लागि सम्वाद, सम्पर्क र समझदारीबाट भएको दरो काम थियो । त्यो काम पक्का थियो र त्यस्तै कामहरु पक्का हुन्छन् पनि ।

शनिवारमा नेताहरुले के निर्णय गरे मलाई थाहा भएन । म त मातेको हात्ती जस्तो भएको थिएँ । जीवनमा पहिलो पल्ट पार्टीको टिकट पाएको मान्छे, मलाई अरु के चाहिएको थियो र । भोलि आइतवार स्कूलको प्रार्थनासभामा ‘श्रीमान् गम्भीर नेपाली..’ मात्र के भनेका थिए, शनिश्चरे माविमा ज्ञानबहादुर र गोविन्द गिरीले भीम पौड्याललाई ड्याम्मै हानेर लडाए । किनभने ऊ मेरो प्रतिद्वन्दी थियो ।

प्रार्थना सभामै भीमलाई कुटेर लडाएपछि ऊ ज्यान बचाउन भागे । सोमबार म नेविसंघको अध्यक्ष पदमा निर्विरोध भएको थिएँ । अरु साथीहरुले चुनाव लड्नु भो । अरु साथीहरुको पदका लागि चुनाव नै भयो । सबैभन्दा बढी भोट लिएर आउने साथी लीला खतिवडाले थिए । उसको नाम लीला, मेरो नाम लिलक, यही कारणले शनिश्चरे माविमा हामीले जितेपछि बजार परिक्रमा गरेका थियौं ।

बजारभित्र नेविसंघ जिन्दावाद, विद्यार्थीको हकहितका लागि हाम्रो नारा समर्पित छ । तर हामीलाई हाम्रो टीमले बहुदलीय व्यवस्थाले जिते जस्तो लाग्यो । धन्य होस्, हाम्रो कलिलो मानसिकतामा त्यो कस्तो प्रभाव । हामीले बजारभरि नाराजुलुस निकालेको दिन थियो त्यो, जनमत संग्रह हारेपछिको पहिलो विजय उत्सव । हामीले त्यो बेलामा चुनाव जितेपछिको फोटो खिचेका थियौं ।

दायाँ तर्फबाट विष्णु ढकाल, लिलक सिटौला, सरोज बुढाथोकी, विजय उप्रेती, राजन वन । बायाँबाट लीला खतिवडा, सुरेस आचार्य, दीपकसेन भट्टराई, सरस्वती भेटवाल, सकिला ढकाल । झण्डा समाएर बस्ने ज्ञानबहादुर थापा, दीपक तामाङ । छेउमा सुबर्ण विष्ट र अन्य साथीहरु थिए । सबै यसै स्कूलको विद्यार्थीहरु थिए ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।