२०७८ असोज ८ शुकर्बार
Mero Sabda

द्वन्द्वकाल अनि खाडी


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

यता गाउँमा साथीहरु विदेश जानु भनेको ठूलै गौरवको विषयझैंं ठान्थे । जसरी पनि, जे गरेर पनि विदेशको यात्रा गर्न पाउनु भनेको एउटा ठूलै सपना प्ररा गरेको मान्थे । चाहे साहुसँग सयकडा दशको ब्याज नै किन तिर्न नपरोस् । आफ्नो सुन फल्ने खेत बन्धक राखेर त्यसमा पनि ब्याज तिनर््पर्ने । त्यसरी पनि विदेश जान चाहन्छन् । चाहे आफ्नो खेत बाँझो होस् । त्योसँग उनीहरुको सरोकार नै हुँदैन ।

देशमा दश वर्षे जनयुद्धले त झन् विकराल समस्या निम्त्याएको थियो । गाउँमा बस्ने वातावरण नै थिएन । कुनै युवा गाउँमा बसेको छ भने राज्यतर्फका सुरक्षाकर्मीको नजरमा केही खट्की रहेको हुन्थ्यो । उता विद्रोही पक्षकाले पनि आफ्नो शिकार बनाउने दाउमा हुन्थे । यस्तो अवस्थामा युवाहरु कसरी गरिखान सक्थे र । झन् रिटार्यड सुरक्षाकर्मीहरुको लागि त्यो समय एउटा कष्टपूर्ण समय थियो । त्यसैले पनि जसरी भए पनि वैदेशिक रोजगारको विकल्प देख्दैन थिए ।

यो कुरा मैले दोहामा हुँदै थाहा पाएको थिएँ । किनकि म त्यहाँ पुगेको केही महिनाको समय पश्चात् कलिला–कलिला युवा जो अठार–बीस बर्ष उमेरको भन्न पनि सुहाउने किशोर केटाहरुको भीड देख्न थालेको थिएँ । शुक्रबार नेपाली बजार गइन्थ्यो । त्यहाँ आफ्ना गाउँका साथीहरु आउँछन् कि भनेर यताउता नजर दौडाउँथें । नभन्दै गाउँका धेरै साथीहरुको आगमन भइसकेको रहेछ । विदेशको ठाउँमा आफ्नै आँखा अगाडि आफ्नै साथी प्रत्यक्ष देख्दा त हर्षले गद्गद् भइन्थ्यो । एकै स्वासमा सबै हालखबर सोधिसकिन्थ्यो । उनीहरु पनि उता गाउँका सबै कुरा बेलिबिस्तार लाएर सुनाउँथे । कसैले घरबाट सामान पनि ल्याइ दिएका हुन्थे । त्यो सामान हात पर्दा आफ्नै घरमा नै छु कि जस्तो आभाष हुन्थ्यो ।

घरबाट आएको सामानमा प्रायः जसो चिठीहरु हुन्थ्यो । घरको र गाउँका आफन्तको चिठीहरुको बण्डल नै हुन्थ्यो । अनि त्यसमा अरु मधु, गुट्खा, पान पनि हुन्थ्यो । त्यति सामान पाएपछि आफू केही दिन घरको स्पर्शमा नै छु झैं भान हुन्थ्यो । ‘अहिले त गाउँमा बसी नसक्नु भएको छ । फलानालाई भाँटेकार्वाही ग¥यो । फलानालाई सुरक्षाकर्मीले सुराकीको आरोप लगाएर लग्यो । फलानालाई गोली ठोकेर मा¥यो । नौ–दश जना माओवादी गएर आगो तापेर बसेको बेला आफ्नो परिवारको अगाडि नै गोली हानी हत्या ग¥यो ।’ भन्ने खबर सुनाउँथे । त्यो खबर सुनेर मन नै अमिलो भएर आउँथ्यो । यस्तो अवस्थामा मेरो घरकाहरु कसरी बस्दै होलान् ? मनमा अनुत्तरित प्रश्न रुमल्लिन्थ्यो ।

‘साथी तपाई त बेलैमा यता आउनु भएछ । हामीलाई र हामी जस्तालाई त त्यहाँ बसेर खाइनसक्नु छ । दिनभर मकैबारी, बाँसघारीमा लुक्थ्यौं । रात परेपछि पनि डराउँदै यता–उता चिहाउँदै खाना खान आइपुग्थ्यौं । हतार–हतार खाना खायो अनि फेरि मकैबारी तर्फ सुत्न जान्थ्यौं । एकदम कष्ट छ ।’ भनेर वृतान्त सुनाउँथे । आफू भने अक्क न बक्क परेर उसको कुरा सुनिरहने ।

‘किन त्यस्तो गरेको ?’ भन्ने प्रश्नमा टिठ मान्दै गन्गनाउँदै सुनाउँथे । ‘उनीहरुको महान जनयुद्धमा हामी जस्ता युवाहरुले तनमनले सहयोग गर्नुपर्ने अरे । भन्नुको तात्पर्य उनीहरुको हतियार बोकेर जंगल पस्नुपर्ने अरे । हामी जस्तो सोझासाझा मजदुरी गरिखाने मान्छेले उनीहरुको बन्दुक समाएर जंगल पस्ने हो भने घरकाले के खाएर बाँच्ने ?’ उनीहरुले मलाई उल्टै प्रतिप्रश्न गरे । मैले पनि हो मा हो मिलाएँ ।

‘यदि उनीहरुको हतियार बोकेन र उनीहरुले भनेको कुरामा आनाकानी गरे रुपैयाँले सहयोग गर्नुपर्ने अरे । त्यसैले हामीहरु त विदेश जाने भन्दै साहुसँग ऋण खोजेर भए पनि यता होमिएको । यहाँ हामी जस्ता सोझासाझा नेपालीहरु धेरै आएका छन् । काठमाडौंको एयरपोर्टमा हामीसँग जहाज चढ्दा अन्दाजी दुई सय जना भन्दा धेरै थिए । यसरी नै एक दिनमै कतिवटा प्लेन उड्छ होला ? यस्तै अवस्था आइरहे देशमा काम गर्नसक्ने युवा किशोरहरुको खडेरी पर्नेरहेछ । कालान्तारमा नेपाल भन्ने देश वृद्धवृद्धा र बालक अनि महिलाहरु मात्र रहेको देश भनेर चिनिने रहेछ ।’

साथीले यो सबै एकै स्वासमा भनिसकेर खुइइ्य ग¥यो । मलाई पनि यो सबै सुनेर मनमा छटपटी भएर आयो । साँच्चै भन्दा आत्मा पोलेर आयो । दिउँसोको गर्मीमा पसिनाले सारा शरीर भिजेको भए पनि पसिनाको समुन्द्रमा डुबुल्की मारे झैं आभाष भयो । एक प्रकारले त्यो आन्दोलनकारीसँग रिस उठेर आयो । मैले साथी तर्फ आक्रोशित हुँदै भनें, ‘यो आन्दोलनकारीको युद्ध विशेष गरेर सरकारसँग हुनुपर्ने । सरकारको हरेक अंगमा प्रहार गर्नुपर्ने हो नि । तर किन सर्वसाधारणलाई निशाना बनाउँदो रहेछ ?’

साथीले हो मा हो मिलाउँदै जवाफ दिए । ‘हो त, प्रहरी चौकीमा आक्रमण गर्छन् त्यहाँ सर्वसाधारणका छोराछोरीहरु नै सुरक्षाकर्मी हुन्छन् । उनीहरुको त्यही हत्या गर्छन् । विरामी बोकेको एम्बुलेन्समा आक्रमण गर्छन् । एउटा गाउँबाट अर्को गाउँ जोड्ने पुलहरु भत्काउँछन् । त्यहाँको जनतालाई नै सास्ती । के त्यो झोलुङगे पुलमा सरकारमा बसेको मानिस मात्र हिँड्छन् होला ?’

साथीले आक्रोशित हुँदै अझै के–के बोल्दै थिए । मलाई अब अरु सुन्न सक्ने हिम्मत रहेन । मैले साथीलाई अर्कै प्रसङ्ग कोट्याएर विषय मोड्ने प्रयास गरें । गाउँघरका आफ्ना नजिकका मित्रहरुको हालखबर सोध्न थालें । उसले पनि जाने जतिको खबरहरु सुनाउन थाले । मैले पहिला नै जनाएको थिएँ कि त्यो बजारमा आफ्ना–आफ्ना जिल्लाको, आफ्ना–आफ्ना समूहहरु हुन्छ भनेर । त्यसमा पनि आफ्नो एरियाकोहरु अलग्गै हुन्थे । हेर्दाहेर्दै गाउँका साथीहरुको उपस्थिति निकै बाक्लै देखिन थाल्यो । त्यसमा सबैका समस्या अलग–अलग होला तर वास्तविक समस्या र गन्तव्य एउटै थियो ।

एउटा सानो झुप्रो र अलिकति करेसाबारी भएकाहरु प्नि त्यतिका पैसा बुझाएर यो खाडीमा आफ्नो भाग्य सुधार्नै आएका थिए । ‘अनि पैसा चाहिं कता खोजियो ?’ भनेर प्रश्न गर्दा साहुकोबाट ऋण लिएको । सयकडा पाँचले भन्थे । तर कोही चाहिं यतैबाट भिषा पठाएको हो तर म्यानपावरले बीस–तीस हजार खाइहाल्यो भन्थे । साथीहरुले– ‘अनि आफूले चांिहं कति तिरेर आएको ? पैसा कता फेला पारियो ?’ भन्ने प्रश्नमा ‘आऽऽ….मैले त साहुसँग सयकडा आठ रुपैयाँले ऋण काढेर आएको । अहिले महिनाको चार हजार ब्याज तिर्नुपर्छ । यहाँ आउँदा साठी हजार तिरेर आएको । यहाँ आइहालियो, कमाएर बिस्तारै तिरौंला ।’ भनेर जवाफ दिन्थें । यसरी नै त्यो दिनको छुट्टी साथीहरुसँग भेटघाटमा नै बित्थ्यो । अनि छुट्ने बेलामा अर्को बिहीबार हाम्रो क्याम्पमा आउनु भनेर ठेगाना दिएर साथीहरु विदा हुन्थे । अनि म पनि त्यही नजिक रहेको क्याम्पमा एक्लै हिँडेर जान्थे ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।