Mero Sabda

साइत नजुरेको घान्द्रुक रहर


(संस्मरण)

– निरज आचार्य

घान्द्रुक, आजसम्म पुगेको छैन म । पोखराबाट बत्तीस किमि उत्तर–पश्चिममा अन्नपूर्ण हिमालको काखमा करिब दुई हजार मिटर उचाइमा अबस्थित घान्द्रुक गुरुङ्ग सँस्कृतिको जीवित संग्राहलय मानिन्छ । पच्चीस बर्षअघि घान्द्रुकको यात्रा थालिएको थियो, दुर्घटनावस् पूरा हुन सकेन र आजसम्म पनि त्यो अपूरो नै छ ।

वि.सं. २०५२ साल माघ महिनाको पहिलो हप्ता थियो । सिभिल ईन्जिनियरिङ् स्नातक तहको शैक्षिक भ्रमणको सिलसिलामा हामी करिब साठी जना जति विद्यार्थीहरु पोखरा पुगेका थियौं । कलेजको औपचारिक कार्यक्रम सकेपछि आआफ्नो झुण्डमा थप भ्रमणमा गर्ने कार्यक्रम बन्यो साथीहरु माझ, कलेजको अन्तिम बर्षमा जो थियौं । हामी दशजना मिल्ने साथीहरु घान्द्रुक जाने भयौं । रानीमहल पाल्पा जाने कि घान्द्रुक जाने भन्नेमा लामै छलफल भएको थियो हामीबीच, अन्त्यमा घान्द्रुक जाने निश्चय गर्यौं ।

महेन्द्रपुल स्थित मारबाडी सेवा समितिको अतिथिसदनमा बसेका थियौं हामी । त्यो समय मारबाडी सेवा समितिको अतिथि सदन राम्रै चल्थ्यो । अहिले त्यो सञ्चालनमा छ कि छैन कुन्नि । सञ्चालनमा भए पनि त्यस ठाउँमा छ कि छैन कुन्नि ? भोलिपल्ट बिहानै बाग्लुङ जाने बस समातेर लागियो दश भाइ पश्चिम गण्डकीतिर । पोखराबाट छुटेको बस हेम्जा हुँदै नौडाँडा पुग्यो । फेवातालको शिर भन्दा माथिको सानो तर निकै सुन्दर बस्ति रहेछ नौडाँडा । त्यहाँबाट पूर्व तर्फ फर्किएर हेर्दा फेवाताल करिब पूरै देखिने । बिहानको कलिलो घाममा फेवा चाँदी झैं टल्केको देखिन्थ्यो त्यो दिन । बस त रोकिएन त्यहाँ तर बसको झ्यालबाट टाउको बाहिर निकालेर देखुन्जेल हेरें फेवालाई । फोटोमा कैद गर्न क्यामेरा थिएन आफूसँग ।

नौडाँडालाई पछाडि पार्दै बस लुम्ले पुग्यो । लुम्ले यानिकी नेपालको चेरापुञ्जी भनेर केटाकेटीदेखि सुनेको नाम । परिवेश ब्याण्डको ‘मुटु छुने लुम्लेको हावाले, मनै छुने लजालु मायाले’ गीतको मुटु छुने लुम्ले । यो गीत एकदमै प्रख्यात थियो । शायद गायक तिलक बम मल्लले गाएको जस्तो लाग्छ । लुम्लेमा घाम लागि सकेको थिएन, हुस्सुको बाक्लो घुम्टोभित्र थियो लुम्ले । शितले गर्दा रुख, पात, सडक सबै भिजेको देखिन्थ्यो, पानी परेर भर्खरै थामिए जस्तो । झ्यालको कापकापबाट छिरेको चिसो सिरेटोले सिरिङ्ग–सिरिङ्ग पाथ्र्यो, जाडोमा ठिहिर्याइ रहेको लुम्लेले साँच्चै मेरो मुटु पनि छोयो । मन भने कुनै लजालु मायाले छुन अझै बाँकी थियो ।
बस ओह्रालो लागेर नयाँ पुल पुग्यो । घान्द्रुक जाने बाटो यहींबाट छुट्टिन्छ । तर हामीलाई सिधै घान्द्रुक जानु थिएन । घान्द्रुकमा हामी एक रात मात्र बिताउन चाहन्थ्यौं । किनकि सुनेका थियौं कि घान्द्रुक एकदमै महङ्गो पर्यटकीय केन्द्र हो । केही वर्षअगाडि कार्यालयको तालिमको क्रममा घान्द्रुक पुगेर आएको साथी माधवले भनेको थियो कि एउटा उसिनेको अण्डाको चालीस रुपैंया पर्यो भनेर । चालीस रुपैंया एकदमै धेरै थियो त्यो बखत । पच्चीस रुपैंयाले त पोखरामा भात नै खान पुग्थ्यो । त्यसमाथि हामी त विद्यार्थी । महङ्गीलाई विचार गरेर एक रात मात्र बिताउने योजना बनाएका थियौं तसर्थ एक दिन बाग्लुङ्ग घुमेर भोलिपल्ट मात्र घान्द्रुक जाने योजनामा थियौं हामी ।

बाग्लुङ्ग पुग्ने बित्तिकै होटलको खोजीमा लाग्यौं । बाग्लुङ्ग बजार सानै थियो त्यति बेलासम्म । सिमेन्ट कंक्रिटका घरहरु बिरलै थिए होलान् । काठका दलिन र जस्ता पाताका छाना भएका घरहरु थिए बजारभरि । त्यस्तै कुनै भवनमा बसेको होटेलमा चेकइन गर्यौं र खानाको अर्डर गर्यौं । खाना पाकुञ्जेलमा बाग्लुङ्गबाट बेनी जाने बाटोको बारेमा होटेल साहुजीसँग केही सूचनाहरु संकलन गर्यौं । हतार–हतार खाना खाएर लाग्यौं बेनीतिर । कालीगण्डकीले बनाएको ह्याङ्गिङ्–भ्याली भन्दा हुन्छ बाग्लुङ्गलाई । काली नदीबाट दुई–तीन सय मिटरमाथि समथर फराकिलो टारमा बसेको छ बजार । बजार छाडेर अलिकति उत्तर तर्फ लागेपछि ठाडै ओह्रालो झरेर कालीगण्डकी नदीको किनारमै पुग्नु पर्दोरहेछ बेनी जाने घोडेटो समात्न । बेनी जान मोटरबाटो बनिसकेको थिएन त्यति बेलासम्म । काली नदीको किनारैकिनार दुई–अढाइ घण्टा जति हिडेंपछि बेनी पुगिने रहेछ । दश जना केटाहरु कञ्चन काली नदीको तिरैतिर बेनी तर्फ लर्कियौं । सुदूर–उत्तरमा धौलागिरी आफ्नो स्निग्ध रुपको आभा छर्दै हामीलाई लोभ्याइरहेको थियो ।

बेनी, काली नदी र म्याग्दी खोलाको संगममा अवस्थित म्याग्दी जिल्लाको सदरमुकाम । गायक टीकाबहादुर श्रेष्ठको कालजयी गीत ‘बेनीको बजार, जता माया उतै छ नजर, तिरेमिरे जाले रुमाल’ले चिनाएको बेनी बजार । बजार सानो थियो । घरहरु बाग्लुङ्गमा जस्तै काठका दलिन र जस्ताका छाना भएका तर बाग्लुङ्ग बजारका भन्दा धेरै साना । उत्तर–दक्षिण तर्फ एक लाइन र पूर्व–पश्चिम तर्फ अर्को लाइनमा पसलहरु थिए । सरकारी कार्यालयहरु चाहिं कता थिए, त्यति याद गरिएन । तर बजारको पूर्व–पश्चिम तर्फको लाइनमा रहेको नगरद्वार चाहिं याद छ, जसको भित्तामा गणतन्त्रका नाराहरु लेखिएका थिए । अचम्म लागेको थियो ती नाराहरु देख्दा । त्यही साल फागुनबाट माओवादीले सशस्त्र जनयुद्ध शुरु गरिहाल्यो ।

१५ मिनेटमा घुमेर सकिइ त हाल्यो । आढाइ–तीन घण्टाको हिंडाइले बिहानको भात पचिसकेको थियो । खाजाको खोजीमा एउटी युवतीको पसलमा पुगियो । युवती करिब बीस वर्ष जति कि थिइन् होली, हामीहरु बाइस–तेइसका अल्लारे । काली–काली तर हिस्सी परेकी छन्त्याल केटी, मिठो मुस्कानले स्वागत गरिन् हामीलाई । लुम्लेमा नछोइएको हाम्रो मन बेनीकी लजालु युवतीले एकै मुस्कानमा छोइन् । छन्त्याल युवतीको मुस्कानको मिठाससँगै एक–एक प्लेट राँगाको मःमः बुत्याएपछि बेनीलाई बाईबाई भन्ने निधो गर्यौं । करिब तीन बजिसकेको थियो, अन्यथा ढिलो हुन्थ्यो । बाग्लुङ्ग पुग्दा झमक्क साँझ परिसकेको थियो । बिहानै होटेल छोड्ने जानकारी साहुजीलाई गराएर बिल बेलुकी नै तिर्यौं । फटाफट भात खाएर सुत्यौं, बिहान चाँडै उठ्नु थियो, सपनाको गाउँ घान्द्रुक पुग्नु जो थियो ।

काठमाडौं जाने बसमा चढेर करिब साढे सातबजेतिर नयाँपुल पुग्यौं । एउटा होटेलमा हाम्रा झोलातुम्बा केही रकम दिएर एक रातका लागि राखिदिने बन्दोबस्त मिलाएर लगाएको लुगाको भरमा हिड्यौं घान्द्रुकतिर । म निकै रोमाञ्चित थिएँ । त्यति बेला नेपाल ट्राभलर भन्ने अंग्रेजी भाषाको पत्रिका हुन्थ्यो, जुन यदाकदा घरमा आउँथ्यो । खुम्बु क्षेत्र, अन्नपूर्ण क्षेत्र आदिको सुन्दर तस्वीर सहितको विवरण पढ्दा त्यहाँ पुग्ने लालसा बढ्थ्यो मेरो । घान्द्रुकको बारेमा त्यो पत्रिकामा पनि पढेको थिएँ । फेरि माधवले जुन रुपमा घान्द्रुकको बर्णन गरेको थियो, त्यसले घान्द्रुकप्रति म गहिरो किसिमले आकर्षित भएको थिएँ ।

नयाँपुलबाट ओह्रालो लागेर मोदीनदीको तिरैतिर आधा घण्टा जति हिंडेपछि बीरेठाँटी पुग्यौं । पश्चिमतिरबाट झरेको सानो खोलो मोदीनदीमा मिसिने दोभानमा पर्छ यो ठाउँ । त्यही सानो खोलामा रहेको परंम्परागत प्रविधिबाट बनेको झोलुङ्गेपुल तरेपछि पुगिन्छ वीरेठाँटी । माथि शान्त हरियो जंगल र तल कलकल बग्ने कञ्चन नीलो मोदी । बीस–पच्चीस वटा जति घरहरु र ती मध्ये केही साना ‘टी–हाउस’ अर्थात् होटेल । कुल मिलाएर प्रकृतिको सुन्दर सृजना थियो वीरेठाँटी । चियाको लागि एउटा पसलमा रोकियौं । पर्यटकीय क्षेत्र भएकोले होला, चिया गिलासमा हैन पट (चियादानी) मा मगाउनु पर्ने रहेछ, सानो पट या ठूलो पट । मेनुमा विभिन्न थरिका कफीहरु उल्लेख थिए । ती मध्ये एउटाले ध्यान तान्यो– मुस्ताङ्ग कफी । मैले त्यही चाख्ने रहर गरें । साथीहरुले मानिदिए र त्यही मगाइयो । साहुनी दिदीले एकछिन्मा सिलबरको चियादानी र केही सिसाका गिलासहरु ल्याएर टेबलमा राखिदिनु भयो । चियादानीबाट गिलासमा खन्याउँदा उडेको बाफ र बास्नाले मुखभरि पानी आयो । यसै पनि माघको जाडो त्यसमाथि तात्तातो कफी, कहिले सुक्र्याउँ झैं भयो मलाई । एउटा गिलास उठाएर एक घुट्को खाको त घाँटी पोल्दै पो गयो भित्र । तातोको मात्र पोलाइ थिएन त्यो, स्वाद पनि फरक थियो । अरु साथीहरुलाई पनि तेस्तै भयो । हामी सब रनभुल्ल । साहुनी दिदीलाई बोलाएर सोध्दा पो थाहा लाग्यो कि मुस्ताङ्ग कफी कसरी बन्छ भनेर । लोकल रक्सीलाई तताएर त्यसमा कफी मिसाएर बनाइँदो रहेछ मुस्ताङ्ग कफी । हैट, म रक्सी नखाने मान्छे तर मेनुको त्यति लामो लिस्टबाट छानेको पनि रक्सी–कफी नै पो छानेछु । खैर, खाने साथीहरुले कफी सिध्याएपछि लाग्यौं सपनाको गाउँतिर ।

हिंड्ने क्रममा हामी दश जना दुई समूहमा छुट्टिए छौं । अलि चाँडो हिंड्न सक्नेहरु एक समूह र बाँकी अर्को समूह । अघिल्लो समूहमा म, प्रमोद, केदार दाइ, लगेजु र शायद सुजित थियौं । पदमार्ग एकदमै मनमोहक थियो । चिटिक्क मिलाएर ढुङ्गा छापेको । फाट्टफुट्ट भेटिने घरहरुका छाना र आँगन पनि चिटिक्क मिलाएर ढुङ्गा छापेको, बाटोको दुबैपट्टि हरियो । आहा ! कस्तो सुन्दर । करिब एक घन्टा जतिको हिंडाइपछि स्याउले भनिने सानो बस्ति आइपुग्यो । झुरुप्प दश–बाह्र वटा घरहरु र केही पसलहरु थिए बस्तिमा । मोदीनदी बस्ति भन्दा करिब दुई सय मिटर जति पूर्व हुँदो हो । बस्तिबाट छुट्टिएर पूर्वपट्टि एउटा बाटो मोदी नदीतिर गएको थियो । झोलुङ्गे पुल पनि थियो त्यहाँ । शायद मोदीनदीपारिका गाउँहरु जाने बाटो होला । बिहानै नित्यकर्म समेत नगरी बाग्लुङ्गबाट हिंडेका थियौं हामी । त्यसैले झोलुङ्गे पुल भएतिर जाने र उपयुक्त ठाउँ भेटिएमा नित्यकर्मबाट निवृत्त हुने विचार गरियो । स्याउलेका स्थानीयहरुसँग कुरा गर्दा बाटो अब बिस्तारै नदी किनार छोडेर उकालो लाग्छ भन्ने जानकारी पायौं । त्यसैले पनि पानी पाइने ठाउँमै नित्यकर्मबाट निवृत्त हुन चाहन्थ्यौं हामी । हामी पाँच भाइ मोदीनदीतिर लाग्यौं, बाँकी पाँच भाइको अझै अत्तोपत्तो थिएन ।

नदी किनारको दृश्य स्वर्गीय थियो । माघ महिनाको पहेंलो घाम मोदीको सेतो बगरमा सुन जस्तै पोखिएको थियो । गाढा नीलो मोदी सेता पत्थरहरुबीच कतै शान्त त कतै उत्ताउलो भएर खेल्दै थियो । बिहानको कलिलो घामले शरीरमा मधुरो न्यानोपन फैलाइरहेको थियो । बगरमा ठूला–ठूला ढुङ्गाहरु थिए । एक डेढ तल्ला अग्ला ढुङ्गाहरु । एउटाबाट अर्को ढुङ्गामा फालहाल्न मिल्ने गरी बगरभरि छरिएका । दुधिला रङ्गका ढुंगाहरु । बाँकी तीन जना त शौचादिको लागि उपयुक्त कुना खोजेर हराइ हाले । प्रमोद र म भने ती ढुङ्गाहरुमा चढ्यौं । एउटाबाट अर्को ढुङ्गामा फालहालेर रमाउन थाल्यौं । हेर्दा खस्रा जस्ता देखिने ढुङ्गाको सतह वास्तबमा चिप्लो हुँदोरहेछ । एउटाबाट अर्को ढुङ्गामा फालहाल्ने क्रममा म चिप्लिएर लडें । म चिप्लने बित्तिकै प्रमोदले ‘ए’ भनेर निहुरेको चाहिं याद छ मलाई ।

चिप्लिएर म मोदीनदीमा खसें । तर भाग्य भन्नु पर्छ किनारातिर करिब घुँडा–घुँडा पानी भएको ठाउँमा खसेछु । होस सम्हालिएपछि उठ्न खोजें सकिएन । पानीभित्रको ढुङ्गाहरु टेक्नै नसकिने चिप्ला हुने रहेछन्, थाहा थिएन । काठमाडौंमा जन्मेहुर्केकाहरुलाई यस्ता धेरै कुराहरु थाहा हुँदैन । म पनि त्यही श्रेणीमा न परें । दुई–तीन पटकको कोसिसपछि बल्लतल्ल उठेर किनारामा आएँ । यसो हेरेको त प्रमोद मोदीनदीको बीचमा एउटा ठूलो ढुङ्गालाई अङ्गालो हालेर जसोतसो उभिएको थियो । उसको छातीसम्म पानी छ, दुई ढुङ्गाको बीचबाट बेगले बगेको मोदीको पानी । एक त मोदीको चिसो पानी, त्यसमाथि माघ महिना । कल्पना गर्नुस् त कति चिसो होला । म अक्क न बक्क परें र चिच्याएँ । शौचादिमा लागेका साथीहरु मेरो चिच्याइ सुनेर आँत्तिदै जम्मा भए । अब के गर्ने ? हामी मध्ये कसैलाई पनि पौडी खेल्न आउँदैन रहेछ । त्यो हिउँ जस्तो चिसो र बेगले बगेको पानी उसको कायाले कतिबेर धान्न सक्थ्यो होला र ? तत्काल केही नगरे उसको हात त्यो ढुङ्गाबाट फुस्कने निश्चित थियो । कदाचित फुस्कियो भने डुब्ने जोखिम पनि करिब–करिब निश्चित थियो । किनकि प्रमोद उभिएको ठाउँ भन्दा तल दह जमेको थियो । जहाँ परेको भूमरी स्पष्ट देखिन्थ्यो ।

चार भाइले एक अर्कालाई समातेर साङ्गलो बनाएर खोलामा छिर्ने र प्रमोदलाई तान्ने विचार गरी खोलामा छिरियो । तर भुइँका ढुङ्गा यति चिप्ला थिए कि उसको छेउ पुग्नै सकिएन, नाकाम भयो त्यो कोशिस । अब के गर्ने ? गाउँलेलाई बोलाएर ल्याउँ त समय छैन, केही समय त लागिहाल्छ । यता सेकेण्ड–सेकेण्ड समस्याग्रस्त छ । तुरुन्त बाहिर निकाल्न सकिएन भने हाइपोथर्मिया होला भन्ने डर । परमात्माको कृपा भनौं या सिनेमा हेरेको फाइदा, त्यस्तो असमन्जस्यताको मौकामा पनि एउटा आइडिया फुर्यो । साथीहरुलाई फटाफट पाइन्ट फुकाल्न लगाएर पाइन्टको डोरी बनायौं र त्यसको एउटा छेउ प्रमोद भएतिर फाल्यौं । तर उसको पहुँचमा पुग्नै नपाइ नदीले किनारातिरै फालिदियो । फेरि फाल्यौं, फेरि किनारातिरै फालिदियो । हामीसँग यो भन्दा अरु कुनै विकल्प पनि थिएन, त्यसैले कोशिस गर्न छोडेनौं । अन्ततः पाँच सात पटकको प्रयासमा प्रमोद पाइन्टको फेरो समाउन सफल भयो । हामीले उसलाई डोरीको बलमा घिसारेर बाहिर निकाल्यौं । अब चाहिं बाँच्यो भन्ने भयो । अड्किएको स्वास बल्ल फुक्यो उसको पनि र हाम्रो पनि ।

प्रमोद गोरो मान्छे हो तर त्यति बेला ऊ निकै कालो देखिएको थियो । गाला र आँखाहरु पूरै धसिएको । प्रमोद र मेरो बीचमा गजबको केमिष्ट्री थियो । हामि दुई जना आँखा जुध्दा मात्र पनि विनाकारण मरिमरि हाँस्न सक्थ्यौं । त्यति बेला पनि तेस्तै भयो । मोदीको बगरमा उभिएर निथ्रुक्क भिजेका हामी आँखा जुध्ने बित्तिकै मरीमरी हाँस्यौं । हामी हाँसेको देखेर अरु साथीहरु पनि हाँस्न थाले । प्रमोदले भने ‘ऐया’ भन्यो । के भयो भनेको हात दुख्यो भन्यो । अब भने हाम्रो आँखा उसको हाततिर गयो । उसको एउटा काँध अर्को काँध भन्दा तल झुन्डिएको थियो । मोदीको बेगले थियो कि हामीले डोरी लगाएर तान्दा हो, उसको एउटा काँध त ‘डिस्लोकेट’ भइसकेछ । त्यतिबेला ‘डिस्लोकेट’ भन्ने हामी कसैलाई थाहा थिएन । हामीले त हात भाँचियो भन्ठान्यौं र तत्काल त्यो यात्रा रद्द गरेर उपचारको लागि पोखरा जाने निर्णय गर्यौं ।

खैर, यात्रा त रद्द गरियो तर यसको जानकारि अर्को समूहलाई त गराउनु पर्यो । अहिलेको जस्तो मोबाइल फोन हुन्थ्यो भने कुरै बेग्लै हुन्थ्यो । तर त्यति बेला भेटेर कुरा गर्नु बाहेक त कुनै उपाय नै थिएन । प्रमोदको हातलाई नहल्लिने गरी रुमालको टेको बाँधेर हामी स्याउले आयौं र गाउँलेलाई घट्ना बेलिबिस्तार लगायौं । हाम्रो बाँकी साथीहरु स्याउलेबाट आगाडि गइसकेका छन् कि छैनन् भनेर पनि जान्नु थियो, थाहा लाग्यो गइसकेछन् । म र लगेजु ती साथीहरुलाई भेट्न जाने र बाँकी दुई जनाले प्रमोदलाई लिएर फर्कंदै गर्ने सल्लाह गरेर भेट्न भनी दौडियौं । हामी साँच्ची नै दौडियौं किनकि हामीलाई फर्केर चाँडो भन्दा चाँडो पोखरा पुग्नु थियो । करिब दश–पन्ध्र मिनेट जत्तिको दौडाइपछि भेटिए साथीहरु । मोदीको तिरमा शौचादिबाट निवृत्त भइवरि दाँत माझ्दै बसेका । हामी दुई त्यसरी हस्याङ्ग–फस्याङ्ग गर्दैआएको देखेर आँत्तिए पनि । हामीले दुर्घट्नाको बेलिबिस्तार लगायौं र हामी फर्कन लागेको जानकारी दियौं । अनि के पनि आग्रह गर्याैं भने सबै जना फर्कनु जरुरी छैन, त्यसैले यात्रा जारी राख भन्ने । मानेका थिएनन् साथीहरु तर बल्ल बल्ल केही साथीहरुलाई मनाउन सकियो भने केही फर्कने नै भए । प्रमोद सहित जम्माजम्मी छ जना हामी पोखरा फक्र्यौं र सिधै अस्पताल गयौं । अस्पतालले ‘डिस्लोकेटेड ज्वाइन्ट’लाई आफ्नै ठाउँमा फर्काएर ब्यान्डेज बाँधेर पठाइदियो । त्यो रात पोखरामै बिताएर भोलिपल्ट हामी काठमाडौं फर्कियौं । विचरा प्रमोदले करिब एक महिना ब्यान्डेज बाँधि नै रहनु पर्यो ।

अहिले सम्झदा अचम्म लाग्छ, कुन हौसलाले प्रमोदले मोदीनदीको त्यो चिसोपन र बहाबसँग संघर्ष गर्न सक्यो होला ? एड्रेनालिन त होला जसले त्यो तागत दियो होला ? उसको हात, समातेको ढुङ्गाबाट फुस्केर ऊ पछाडिको दहमा खसेको भए के हुन्थ्यो होला ? अथवा दहमा नखसे पनि लामो समय त्यसरी नै बस्नु परेको भए के हुन्थ्यो होला ? ऊ नदीमा खस्ने र निस्कने बीच करिब तीन–चार मिनेटको समय ब्यतित भएको छ । मिनपचासको जाडोमा मोदीको पानीमा छातीसम्म डुबाएर तीन–चार मिनेट बस्नु हाइपोथर्मियाका लागि के काफी हुन्थ्यो होला ? पाइन्टको डोरी बनाउने विचार नफुरेको भए के हुन्थ्यो होला ? कथंकदाचित प्रमोदलाई तलमाथि केही भइहालेको भए के हुन्थ्यो होला ? तर एउटा कुरा चाँहि निश्चित छ, म आफूलाई जिन्दगीभरि क्षमा गर्न सक्ने थिइंनँ होला ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।