२०७८ असोज ८ शुकर्बार
Mero Sabda

मुक्तिको सुस्केरा


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

कतारमा पुगेका प्रायः नेपाली युवाहरुले अरबी भाषमा दखल दिएका छन् । मलाई नेपाली हुनुमा यही गर्व छ कि हामी नेपालीहरु हिन्दी अँग्रेजी मात्र होइन विश्वमा रहेको बोलिने भाषा मध्ये आधा भाषाहरु नेपालीले बोल्न जानेका छन् । हिन्दी भाषा बोल्न जान्दैनन् तर जो मानिस कतार प्रवेश गर्छन् उनीहरुले त्यहीं आएर हिन्दी भाषा बोल्न जान्दछन् । भनौं गल्फमा आएर नै उनीहरुले हिन्दी बोल्न सिक्दछन् ।

त्यसरी नै नेपाली युवाहरुले यहाँ आएर हिन्दी मात्र होइन अरबी बंगाली लगायत दक्षिण भारतका भाषा पनि बोल्न सिक्छन् । त्यसरी नै हामी जो नयाँ नेपालीहरुले अरबी भाषा बोल्दा ‘आ जे सुकै होस्’ भनेर भन्न खोज्दा ‘खल्लीबल्ली’ भन्छौं । त्यस्तै पैसालाई ‘खुलुस’ छैन भन्दा ‘माफी’ भन्ने साधारण शब्दहरु बोल्न थालेका थियौं ।

हाम्रो कोठाको एक जना साथी, जो गोरखा जिल्लाको बाबुराम नेपाली हुनुहुन्थ्यो । उहाँले दक्षिण भारतको तमिल भाषा पनि बोलेको सुनेको छु । जुन भाषा हामी जस्तो नयाँ मान्छेका लागि ढुङ्गाघारीमा ट्रयाक्टर कुदे झैं लाग्थ्यो । त्यस्तोमा हामीलाई त्यो भाषा बुझ्न नै कठिन हुन्थ्यो ।

तर म चाहिं बङ्गालीको चाहिं पितृ बुझाइ दिन्थें । त्यसैले बङ्गालीहरुले भुलेर पनि गाली गर्थेन । नत्र त अन्य देशको मानिसले आफ्नो भाषामा गाली गर्थे । त्यसरी नै एउटा देशको नागरिकले अर्को देशको नागरिकलाई आफ्नो भाषा सिकाउनु परे पहिलो चरणमा गाली शब्द सिकाउँथे । जस्तै हामीले कुनै अरबीलाई गाली ग¥यौं भने उसले बुझिहाल्थ्यो ।

फिलिपिन्सका नागरिकलाई हाम्रो प्रदिप नेपालले पनि हिन्दी भाषामा नराम्रा शब्दहरु सिकाएका थिए । उनीहरु पसलमा एक्लै भएका बेला ठूलो ठूलो आवाजमा ‘मादर चो…’ भन्दै चिच्याउँथ्यो । सायद उनीहरुलाई त्यो शब्दको अर्थ नै थाहा हुन्थेन । उनीहरुले त अरुले जे सिकायो, त्यही बोल्थे । कहिलेकाहिं अरबीहरुलाई मसिनो स्वरमा गाली ग¥यो ‘सुनु कलाम ?’ (के भनिस ?) भनेर उनीहरु रिसाउन खोज्थे । अनि हामी अत्तालिएर ‘ला ला माफी’ ‘केही होइन’ भनेर टार्न खोज्थ्यौं ।

त्यसरी नै अन्य देशका मानिसहरुको अगाडि पनि मुखबाट अपशब्द बोल्नै गाह्रो । यो हुनुमा हामी नेपालीहरुकै मूर्खता हो । एवम् रीतले दिन बित्दै गयो । शुक्रबार छुट्टीको दिन बजार जानै पर्यो । तर बजार घुम्दा चाहिं साह्रै कष्ट हुने । पैदल हिंड्दै जाँदा हातका औलाका टुप्पोबाट तपतप पसिना बग्थ्यो । सारा शरीर पसिनाले लुथु्रक्कै भिज्थ्यो । यसो होटलमा गएर चिसो पिउन रहर लाग्थ्यो तर तलब नपाएर गोजी रित्तो थियो । मन खुम्च्याएर बाध्यतावस् बजार–बजार घुमिन्थ्यो । नयाँ नयाँ साथीहरु भेट्ने चाहनाले बजार जानै पथ्र्यो । यदि कुनै नयाँ साथी भर्खर गाउँबाट आएका रहेछन् भने त ती कष्टहरु सबै भुलिन्थ्यो । घरबाट पठाएको पत्र र पार्सलका पोका हातमा बोकेर हतार–हतार रुम पुगिन्थ्यो ।

रुममा पुगेर पत्र खोलेर पढ्दा एकपटक आफू घरैमा पुगेझैं भान हुन्थ्यो । तर ‘घरमा खर्च चाहियो, साहुले पनि पैसाको कुरा गर्दै थियो’ भन्ने शब्दले चाहिं मनको अन्तर कुनाबाट बेकारमा अरब आइएछ भन्ने आभाष हुन्थ्यो । झन् त्यसको साथै ‘नानीको पढाइको लागि स्कूलमा तिर्ने पैसा छैन’ भन्ने शब्दले त आफूलाई धिक्कार नै लागेर आउँथ्यो । दोहा आएको चार–पाँच महिनासम्म हातमा पैसाको गर्मीको अनुभव हुनै पाएको थिएन ।

दुई वर्ष पुगिसकेका साथीहरुले बजारबाट घर लानका लागि झोला भरेर सामान खरिद गरेको देख्दा आफूलाई छट्पटी लागेर आउँथ्यो । जब कुनै साथीको छुट्टीको समय आउने बेला हुन्थ्यो, तब उनीहरुले तराजु ल्याएर आफ्नै सामान तौलन्थे । अनि ठूला सुटकेसमा सामान भरेर डोरीले बेस्सरी कसेर बाँध्थे । त्यो दृश्य देख्दा पनि आफ्नो चाहिं पालो कहिले आउने होला भन्ने झन् छट्पटी बढ्थ्यो । रातभर निदाउने प्रयास गर्दा पनि निन्द्रा लाग्थेन । अहिले यहाँ यो शब्द लेखिरहँदा मेरो मन छट्पटिएको अवस्था छ भने झन् त्यो समयमा कस्तो अवस्था भएको थियो होला । त्यो दृश्यको बखान गर्नै गाह्रो भएको छ ।

आखिरमा त्यो दिन पनि आयो । खाममा हालेको अवस्थामा एकै पटकमा चार महिनाको तलब पाइयो । त्यो क्षण श्वास नै रोकिएको अनुभव भयो । पैसाको बिटो समाएर रुममा आइयो । अनि खामबाट पैसा निकालेर हतार हतार गन्न थालियो । तीस–पैंतीस सय रियल पाइएको रहेछ । मनै थाम्न सकिएन । अब कहिले यो रियललाई डलरमा साँट्नु । मनमा कौतुहलता जागिरह्यो । हातमा अमेरिकन डलर समाउँदाको क्षणको कल्पनामा डुबी रहें ।

फेरि अर्को तर्फ घरमा भएको ऋणको हिसाब लगाइयो । फलानालाई यति, स्कूलमा दिनु पर्ने यति, साहुको पचास हजार, त्यसको ब्याज चार महिनाको सोह्र हजार । पाँच महिना पुग्यो भने त बीस हजार ब्याज खुरुक्क तिर्नुपर्छ । फेरि अर्को तर्फ दिदीभेनाबाट लिएको अलग्गै खर्च । ओहो यतिका महिना पश्चात् तलब पाएर खुशी भएको मन पलभरमा नै खरानी भयो । तलब थाप्दाको खुशी जति थियो, अब त्यो खुशी भन्दा ज्यादा पीर बढ्यो । मुण्डी चकराउन थाल्यो । के गर्ने ? कसलाई दिने ? सबैलाई अनिवार्य चाहिएको थियो अरे । आऽऽ.. जे सुकै होस् भनेर साहुको ऋण थाँती राखेर घरमा चाहिने रकम मात्र पठाइयो । स्कूलको पैसा र सानातिना सापटी तिर्नका लागि पैसा पुग्यो, अब एकमुष्ट साहुको ऋण तिरिन्छ । अनि मात्र ढुक्क भएर काम गरेर कमाइन्छ ।

त्यसको केही महिना पश्चात् जसोतसो गरेर पचास हजार साउँ र आठ महिनाको ब्याज बत्तीस हजार तिरे पश्चात् ऋणको सगरमाथा आफ्नो टाउकोबाट बिसाइयो । एक क्षण भए पनि मुक्तिको लामो सुस्केरा फेरियो । त्यसपछिका सानातिना समस्याहरु कति आए कति गए, त्यो मरभूमिमा पसिना बगाउँदै भए पनि त्यसलाई निदान गर्दै आफ्नो स्वास्थ्यको ख्याल राख्दै ड्यिुटीको निरन्तरता चलिरह्यो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।