२०७८ असोज ८ शुकर्बार
Mero Sabda

हेडसरको घर घेरी साथी पास


(भोगाइ)

– लिलक सिटौला

शनिश्चरे माध्यमिक विद्यालय त्यस बेलाको चर्चित अर्थात् धेरै नै नाम कमाएको स्कूल । झापा जिल्लाभरिका स्कूलहरु मध्ये एक नम्बरमा थियो यो स्कूल । पढाइ र खेलकुदमा धेरै नाम थियो । विद्यार्थीहरु धेरुै भएका कारण सानोठूलो झगडा र समस्याहरु हाम्रो नेविसंघको कार्यालयमा आउँथ्यो । हामी सबै बसेर झगडाको किनार लगाउँथ्यौं ।

सेन्टअप परीक्षा आउन थालेको थियो । त्यो बेला कोचिङ पढाउने चलन थियो, अहिले पनि त्यही परम्परा रहिआएको छ । हाम्रो स्कूलमा म अध्यक्ष भएपछि जनकपुरबाट एक जना मण्डल सर आउनु भएको थियो । उहाँको नाम राजकिशोर मण्डल थियो । वडा रोचक किसिमको सर हुनुहुन्थ्यो । उहाँको पठाउने स्टाइल अचम्मको थियो । उहाँकाले धेरै संगत कृष्ण धराबासी र सञ्जीव उप्रेतीसँग गर्नुभएको थियो । त्यसो त मसँग पनि चिनजान राम्रो थियो । म गुरु भन्थें, उहाँ मलाई चेला भन्नु हुन्थ्यो ।

उहाँको विशेषता भनेको उहाँ जे पनि खाइदिनु हुन्थ्यो । हामी कक्षा दशको अन्तिम चरणमा थियौं । दुई महिनापछि कोचिङको पूर्वसन्ध्यामा थियौं । कोचिङमा सेक्सन ‘ए’ र ‘बी’ गरी करिब साठी–बैसठी जना थियौं । त्यस बेला कक्षा कोठामा एउटा घटना घट्यो । स्कूल प्रशासन अर्थात् स्कूलको अफिसको ठीक उत्तरपट्टि कक्षा दश थियो । हामी त्यहीं अध्ययन गर्दथ्यौं । त्यो दिन राजकिशोर सरको क्लास थियो । उहाँका कक्षामा प्रवेश गर्नु भयो । हामी सबै उठेका थियौं, ‘बस’ भन्नु भयो । हामी सबै बसेका मात्र के थियौं, उहाँले भन्नु भयो, ‘आज के पढ्ने ?’ मैले भनें, ‘आज पिस पढ्ने, अनि हाँस्ने ।’ उहाँले तुरुन्तै ‘हुन्छ’ भन्नु भयो । हसिमजाक शुरु भयो । लोटपोट, चाचा चौधरी, दार्जिलिङको हाजीमस्तान आदिका बारेमा कुरा सुनेर साथीहरु पनि गद्गद् थिए ।

राजकिशोर सर मजाको भए पनि मलाई भने मलाई भने त्यति सारो मन पर्दैनथ्यो । त्यही कारण राजकिशोर सर पिस भन्नमा मस्त हुनुहुन्थ्यो, म पछाडिको ढोकाबाट बाहिर फुत्त निस्किएँ । अनि जोशी सरलाई ‘पढाइको सट्टा पिस भइरहेछ कक्षामा’ भनेर पोल लगाएँ । हेडमास्टर जोशी सरले जुरुक्कै उठेर कक्षामा प्रवेश गर्नुभयो । राजकिशोर सर पिसमा मस्त थिए । हाम्रा साथीहरु मरिमरि हाँसिरहेका थिए । जोशी सरले मार झपार्नु भयो राजकिशोर सरलाई । राजकिशार सरले मलाई भन्नु भयो, ‘वाह ! गुरुलाई फसाएर छाडिस् नि ।’ पछि आफैलाई नमिठो लाग्यो ।

भोलिपल्ट देवीवस्तीबाट एउटा खामबन्दी चिठ्ठी आयो । खाम खोलियो र पढ्न शुरु गरें । पत्रको माथि पत्र पठाउनेको नाम, ठेगाना लेखिएको थियो । त्यो पत्र समाजवादी चिन्तक सीके प्रसाईको थियो ।

कक्षा दशको कोचिङ शुरु हुनुभन्दा तीन दिनअगाडि पढाउने शिक्षकहरुको छनौट गर्नुपर्ने हुँदा स्कूल प्रशासनले मलाई पनि विद्यार्थी प्रतिनिधिको हैसियतले बैठकमा बोलाएको थियो । बैठक स्कूलको स्टेजको पश्चिमपट्टि थियो । बैठक शुरु भयो । गुरुबा र गुरुआमाहरुले दुई महिना पढाउँदा हाम्रो हाजिरी पनि उठ्ने भएन भनेर गुनासो पोख्न थाल्नु भयो । स्कुल प्रशासनले कोचिङ वापत एउटा विद्यार्थीबाट रु. एक सय रुपैंया फिस तोकेको थियो ।

म चुपचाप बैठकमा बसेको थिएँ । आँखेरी शिक्षकहरुले आफ्नै हकहितको बारेमा निर्णय लिन आँट्नु भएको थियो । लिखित निर्णय गर्नुभन्दा पहिले जोशी सरले मलाई पनि बोल्ने मौका दिनुभयो । उहाँहरुले मलाई सोध्नु भयो, ‘एक सय रुपैयाँ विद्यार्थीहरुले दिन सक्छन् त ?’

मैले भनें, ‘शिक्षकहरुको छनौट हेरेर मात्र जवाफ आउँछ सर ।’ मोहन जोशी सरले लिष्ट तयार पार्नुभयो र सुनाउनु भयो । आइतवार– मोहन शिवाकोटी, सोमवार– अनिल मण्डल, मंगलवार– लक्ष्मीश्वर पाण्डेय, बुधबार– भरत विमली, बिहिवार– गंगादेवी जोशी, शुक्रवार गुणानन्द झा, शनिवार छुट्टी । गुरुबा र गुरुआमाहरुको नाम सुनेपछि मैले भनें, ‘प्रत्येक विद्र्याीहरुसँग दुई महिना पढाएको फि वापतको दुई सय रुपैयाँ उठाएर दिने जिम्मा हामी पदाधिकारीहरुको । त्यो कुरा सुनेपछि हाम्रा अभिभावकहरु पनि खुशी हुनुभयो । जम्मा एकसठ्ठी विद्यार्थीहरुको बाह्र हजार दुई सय रुपैयाँ हुनेरहेछ । त्यो बेला त्यो रकम निक्कै ठूलो मानिन्थ्यो । भोलिपल्ट नेविसंघको बैठकमा मैले प्रस्ताव राखें, साथीहरु मसँग रिसाउनु भयो । यसको परिणाम पछि थाहा हुन्छ साथी हो भनेर बैठक स्थगित गरेका थियौं ।

दुई महिना सरहरु फेरिफेरि अध्ययन गरेको त्यो क्षण रमाइलो थियो । कोचिङ समाप्त भयो । पछि एक सय रुपैयाँको दरले पैसा उठ्यो । पैसा लगेर जोशी सरलाई छ हजार एक सय गुरुभेटी टक्र्यायौं । विद्यार्थी नेता भएकोले कुटाइ खाइन, नत्र मेरै रामधुलाइ हुन्थ्यो । कसैले रोक्नेवाला थिएन । झा सरले ‘बजारे गुण्डाहरुले डुबाए’ भन्नु भयो । मोहन सर हास्नु भयो । दहाल सरले भैगोभैगो भन्नु भयो । त्यस बेला ठीक स्कूलबाट विदा लिने समय आइसकेको थियो । सेन्टअप परीक्षा सकियो । साठी जना हामी पास भएका थियौं । एक जना साथी फेल भए । केही विद्यार्थी साथीहरु लिएर मोहन सरको घर घेरा हाली उसलाई पनि पास गराइयो । किनभने त्यो बेला सेन्टअप परीक्षाको खाता आफ्नै स्कूलमा काटिन्थ्यो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।