Mero Sabda

अलखोरको बसाइ


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

आठ महिनासम्म तलब भेला गरेर रातको नौ बजेतिर साथीलाई लिएर बजार लाग्यौं । दिउँसोको गर्मीमा बन्द रहेका दोकान र बैंकहरु दिन ढले पश्चात् मात्र खुल्थ्यो । हामी सरासर बैंकमा गयौं । साथमा बोकेको रियालको मुठा बैंकमा बुझाए पश्चात् हिसाब गरेर अमेरिकन डलर हात पारियो । नयाँ–नयाँ डलरका बिटा । त्यसको सुगन्ध नै रोमाञ्चित हुने खालको हुँदोरहेछ । त्यो कड्क–कड्क परेको डलर फरर.. पारेर गिन्ती गरेर पकेटमा हालियो । त्यो डलरलाई दोबार्न मिल्ने रहेनछ । त्यसैले त्यत्तिकै ल्याएर रुममा रहेको ब्यागमा राखियो ।

मेरो मनमा विदेश जानुको प्रतिफल र त्यो प्रतिफल प्राप्तिपछिको हर्ष अनि उमङ्गले गर्दा फुरुङ्ग उडेझैं भएको थियो । तर पनि आवश्यकताका पहाड चढ्न अझै धेरै बाँकी थियो । अहिले त आफूमाथि शिरमा रहेको साहुको ऋण अनि त्यो ऋणको ब्याज तिर्नु थियो । तर पनि जीवन र आवश्यकता भनेको बाँचुन्जेल निरन्तरता दिइरहनुपर्ने बाध्यता थियो । पहिला साहुलाई पन्छाइ हालौं भन्ने सोचाइले त्यही डलर बैंकमा लगेर रेमिट्यान्स गराइयो । त्यो बेला त्यहाँ नजिक पैसा प्राप्त गर्ने कुनै निकाय थिएन । त्यसैले एक पटक इटहरी र अर्को पटक धरान ठेगाना गरेर वेस्टर्न युनियनबाट पैसा पठाइयो । उता घरमा जान्ने बुझ्ने भनेको मेरो दाजु मात्र हुनुहुन्थ्यो र फोन गरेर त्यहाँबाट पैसा निकाल्नु भन्ने खबर दिए पश्चात् दाजुले उतै गएर पैसा निकाल्नु भएछ ।

मलाई सम्झना छ । साहुको ऋण तिरे पश्चात् मैले लोकगीत बजाएर केही क्षण नाचेको थिएँ । किनकि मलाई त्यो बेला जन्मकैदबाट सजाय पूर्ण गरेर खुल्ला आकाशमा निस्किएझैं लागेको थियो । त्यतिका महिना ऋणको भारीले थिचे पश्चात् आज बल्ल मुक्तिको सुस्केरा फेरेझैं लागेको थियो । सदा झैं शरीरबाट तातो बाफ निस्कनेको साँटो त्यो सुस्केरा शितल लागेको थियो ।

सधैं ड्युटी जाँदा गह्रो पाइला चालेर गइन्थ्यो । तर अब चाहिं आफैलाई हावामा तैरिएर ड्युटी जाउँ झैं लाग्न थालेको थियो । यसरी नै ड्युटी जाने र कहिले दश बजे त कहिले दुई बजे रुममा आउने निरन्तरता चलिरह्यो । साउथ इन्डियनको खाना पनि अब त सहज साथ खान थालिएको थियो । साम्भर, इडली, परौठा, गोरुको मासुमा नरिवलको टुक्रा हालेको, पहेलो दालमा यत्रा–यत्रा डल्ले खुर्सानी हालेको, बोडी भेण्डीको सब्जीमा नरिवलको धुलोसरि भएको खाना पनि स्वाद मानी मानी खान थालिएको थियो ।

अनि सन् २००२ सालतिरको कुरा हो । हामी नेपालीहरु बाह्र–चौध जनालाई अलखोर भन्ने ठाउँमा लाने भए । ती काठमाडौंंका श्रेष्ठ साथीहरु थिए । अर्को ओखलढुङ्गाका फ्र्साङ्गे शेर्पा, चितवनका लोकनाथ ढकाल, गोरखाको बाबुराम नेपाली, चतराको इन्द्र राई, जो हामी मध्येका उमेरमा केही माथिकै थिए । साथमा इन्डियनहरु पनि थिएँ ।

अलखोर दोहाबाट बीस–पच्चीस किलोमिटर उत्तरतर्फ पथ्र्यो । मरभूमिको ठाँउ भए पनि त्यति घनावस्ती थिएन । त्यसैले त्यहाँ दोहाभन्दा केही चिसोको अनुभूति हुन्थ्यो । बिहान बेलुकी त झन् सिरेटो पनि आउने रहेछ । एक दिन शुक्रबार बिहान घरमा फोन गर्ने भनेर बुथमा प्रवेश गरें । जाडोले लगलग कमाइरहेको थियो । विष्णु श्रेष्ठको घरमा बारम्बार फोन लगाइ रहेको थिएँ । उताबाट फोनमा खै के के भट्याइरहेको आवाज आइरहन्थ्यो । जाडोले गर्दा त्यो कुराको ख्यालै गरिएन । धेरैपटक प्रयास गर्दा पनि फोन नै सम्पर्क हुन सकेन । अन्त्यमा “०२३ पछि ५ अंक हान्नुहोला” भन्ने जस्तो लाग्यो र त्यसै गरे । त्यस पश्चात् एकै पटकमा फोन सम्पर्क भयो । सायद टेलिकमले ५ को अंक झापाको लागि भनेर थपेको रहेछ ।

फोन त गरियो तर विष्णु श्रेष्ठको बुबाले उठाउनु भएछ । उहाँले राम्ररी कान सुन्नु हुन्न रहेछ । त्यताबाट बोलेको सुने तर मैले बोलेको हरेक शब्दमा “हाँ……….के अरे ? को अरे भन्ने शब्द मात्र दोहोरी रह्यो । तीस रियालको कार्डले छ मिनेट मात्र फोन गर्न पाइन्थ्यो तर उहाँले हाँ र हुँ ले गर्दा त्यो बुथ कार्डको पैसा त्यत्तिकै सकियो ।

त्यो क्याम्पमा आए पश्चात् खाना हामी आफैले पकाएर खाने निर्णय ग¥यौं । त्यसमा इन्डियनहरु आफैं पकाउने र हामी अलग्गै पकाउने व्यवस्था मिलायौं । धेरै महिना पश्चात् नेपाली हातको खाना खान पाइन थाल्यो । त्यसपछि त न हिङ, न नरिवलको दुध, न नरिवलको धुलो । एकदम शुद्ध नेपाली खाना । एक दिन सानो रेडियोको मिटर घुमाउँदै सुन्दै गरेको थियौं । अचानक मधुरो आवाजमा रेडियो नेपालबाट कृषि कार्यक्रम सुन्यौं । त्यो सुनेर लोकनाथ ढकाल र म खुशीले गद्गद् भयौं । तर त्यो खुशी धेरै बेर टिकेन । केही बेरमा रेडियोबाट त्यो आवाज नै गायब भयो । हामीले फेरि धेरैबेर प्रयास ग¥यौं तर फेरि त्यो आवाज सुन्नबाट वञ्चित भयौं । तर पनि बीबीसी चाहिं निरन्तर आइरहन्थ्यो । रातको नौ बजे नेपालको छ बजेको हुन्थ्यो । त्यो समयको बीबीसी समाचार चाहिं सुन्ने बानी गरेका थियौं ।

नयाँ परिवेश । नयाँ क्याम्प । त्यहाँको वातावरण पनि हाम्रो अनुकुल । अरु कम्पनीका क्याम्पहरु पनि थियो । तर पनि घना होइन । छेउमा एउटा पेट्रोल पम्प थियो । त्यो पेट्रोल पम्पको छेउमा एउटा ठूलो मार्केट । मार्केट किन भनेको भने त्यहाँको त्यस्तो मार्केटमा नूनदेखि सुनसम्म पाइने भएर मार्केट भनी सम्बोधन गरेको । नेपालतिरको एउटा हटियामा पाउने सामग्री सबै एउटै मार्केटमा उपलब्ध हुन्छ भने त्यसलाई मार्केटको संज्ञा दिनैपर्छ । जस्तै मासु चाहियो । के को मासु, खसी, गोरु, चिकन सबै पाइने । सब्जी, तेल, कपडा आदि इत्यादि उपलब्ध हुन्छ ।

हाम्रो क्याम्पबाट केही पश्चिमतर्फ साना साना क्याम्प थिए । हामी त्यहाँ डिभिडी पाइन्छ अरे भनेर त्यो लिन गयौं । डिभिडी त पाइयो तर अर्को चिज पाँच रियालमा सिङ्गै खसीको आन्द्राभुँडी पाइन्छ भन्ने जानकारी पाइयो । ओहो….यति सस्तो ? हामीलाई लोभ लाग्न थाल्यो र साथीहरुसँग सल्लाह गरेर लिएर आयौं । त्यो रात खुब खाइयो । जीवनमा पहिलोपटक सिङ्गै खसीको आन्द्राभुँडी किनेर ल्याएर पकाएर खानु भनेको मेरो मात्र होइन हामी त्यहाँ भएका साथीहरुको लागि पनि अविष्मरणीय क्षण मान्नुपर्छ ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।