Mero Sabda

राराको सौन्दर्य, कर्णालीको कष्ट


(यात्रा संस्मरण)

– निरज आचार्य

म पहिलो पल्ट सन् २०१२ मा जुम्ला पुगेको थिएँ, एकदम सुन्दर जिल्ला रहेछ । तिला, जिवा र हिमा नदीले बनाएका उर्वर बेंसी र त्यहाँ उत्पादन हुने प्रख्यात् मार्सी धान, जौं, सिमी, स्याउ र आलु । यी सबको अलावा शितोष्ण हावापानीमा हुने जडिबुटीहरुको भण्डार । कुनै पनि कोणबाट जुम्ला गरीबीमा बाँच्नु पर्ने जिल्ला जस्तो लागेन । जुम्ला साँच्चिकै गरीब थियो कि आधुनिक विकासे खेतीका लागि त्यति गरीब चित्रित गरियो, बुझ्न सकेको छैन । हो शिक्षा, स्वास्थ्य, बिजुली, सडक यातायात आदिमा त दशकौं पछाडि परेकोमा भने कुनै शंकै छैन । खैर यो विषयमा अरु कुनै दिन विवेचना गरौंला । आजलाई भने जुम्ला हुँदै मुगु यात्राको बारे केन्द्रित हुन चाहन्छु ।

जुम्लाको सदरमुकाम खलङ्गाबाट हिंड्दा साढेबाह्र बजिसकेको थियो । आजको बास सिंजा उपत्यकाको बडुवालबाडा भन्ने गाउँका उपभोक्ता समितिका अध्यक्षको घरमा मिलाइएको थियो । खलङ्गादेखि नाग्मासम्म करीब अठ्ठाइस किमि बाटो त राम्रै थियो तर नाग्मादेखि माथि मुगु जोड्ने बाटो भने भर्खर खनिदै थियो । नाग्माबाट माथि लागेपछि सडक खराब हुन शुरु भयो । गत रातको पानीले गर्दा सतह हिलो भएको थियो, त्यसमाथि ट्रयाक्टरको पाङ्ग्राले बनाएका लिकले गर्दा हाम्रो पिकअप भ्यानलाई अप्ठ्यारो पथ्र्यो । कति ठाउँमा त हामी ओर्लदैं साबेलले माटो पन्छाउँदै अगाडि बढ्नुपर्ने हुन्थ्यो । धन्न हाम्रो गाडीमा साबेल, पिक आदि औजारहरु हुने हुनाले सजिलो भयो ।

हामी बडुवालबाडासम्म गाडी लैजान चाहन्थ्यौं, त्यो भन्दामाथि त हिड्नु पर्ने निश्चित नै थियो । तर गाडी बडुवालबाडासम्म पनि नपुग्ने भयो । करिब डेढ घण्टा जतिको बाटो अगाबै गाडी छोड्नु पर्यो । ड्राइभरको बास र गाडीको सुरक्षाको लागि बन्दोबस्त मिलाउन सहकर्मी मित्र श्यामजीलाई त्यहीं छाडेर हामी (जर्जजी, चन्द्रजी र म) हिंड्दै बडुवालबाडा तर्फ लाग्यौं । शुरुको केहीबेर खेतको आलीमा हिंडेपछि चल्तिको गोरेटो भेटियो ।

करिब आधा घण्टा जति हिंडेपछि पानी पर्न शुरु भयो । हेर्दाहेर्दै वरपरका डाँडाका शिरहरु सेता देखिन थाले । चैत्र महिनाको यात्रा भएकोले न मैले रेनकोट बोकेको थिएँ, न छाता नै । केही थान टिसर्ट र एउटा पातलो हावा–ज्याकेटको भरमा हिंडेको थिएँ म । यो भन्दा अगाडि कुनै पनि हिमाली जिल्लाको भ्रमण नगरेकोले होला, मेरो तयारी बिल्कुल अपरिपक्व थियो । जर्जजीसँग रेनकोट रहेछ र चन्द्रजीसँग छाता । कहिले चन्द्रजीको छातामा ओत लाग्दै र कहिले भिज्दै हिंड्नुको विकल्प थिएन मसँग, भिजियो । निकैबेरको हिंडाइपछि नदीपारि ससानो बजार जस्तो देखियो । चन्द्रजी र म, दुबैले प्लाष्टिक किन्यौं त्यहाँ र घुम बनाएर ओढ्यौं, त्यसपछि भने मज्जाले हिंड्न पाइयो । तर भिजाइले गर्दा जाडो हुन थालिसकेको थियो ।

झमक्क साँझ पर्दा हामी बडुवालबाडा पुग्यौं । बडुवाल थर भएकाहरुको गाउँ रहेछ । जुम्लामा थर विशेष जनाउने अरु पनि गाउँहरु छन्, जस्तै कार्कीबाडा, आचार्यलिही आदि । बाडा नाम भएका गाउँहरु भारतको राजस्थान, महाराष्ट्र पनि धेरै छन । सिंजा यानि खसहरुको उद्गम स्थल । भनिन्छ एघारौं शताब्दिमा भारतबाट आएका खसहरु यही सिंजा उपत्यकामा बसेका थिए र त्यहींबाट आफ्नो राज्य बिस्तार गरेका थिए । बाडा नाम भएका ठाउँहरुको पृष्ठभूमि शायद त्यही होला । खैर, जे भए पनि, बडुवालबाडा पुगेर उपभोक्ता समितिका अध्यक्षको घर सोधखोज गरेर पत्ता लगायौं । हामी आउने पूर्व जानकारी भएकोले उहाँहरु हाम्रो बाटो हेरेर बसिरहनु भएको रहेछ । हाम्रो खाने–बस्ने ब्यवस्था अध्यक्षकै घरमा गरिएको रहेछ ।

भिजेका कारण मलाई भने निकै जाडो भइरहेको थियो । संयोगले उहाँकै घरमा सानो पसल पनि थियो, जहाँ केही लुगाहरु पनि बेच्न राखिएका थिए । जसमध्ये उनीको चोलो पनि थियो । ‘मरता क्या नही करता ।’ त्यही चोलो भए पनि किनें र लगाएँ यात्राभरि । खाना खाने बेलासम्म श्यामजी पनि गाडी र ड्राइभरको ब्यवस्था मिलाएर बडुवालबाडा आइपुग्नु भयो भने मुगुबाट मित्र पदमजी पनि आइपुग्नु भयो । रातिको खानामा मासु–भातको ब्यबस्था गरिएको रहेछ । म मासु नखाने थाहा पाएपछि मेरो लागि दुधभातको ब्यवस्था भयो । स्थानीय मार्सी चामलको भात र दुध त खिर खाए जस्तै हुँदोरहेछ । त्यसै मार्सीको नाम पछिल्लो समय चर्चामा आएको हैन रहेछ ।

राति अबेरैसम्म निर्माणाधिन परियोजनाको बारे उपभोक्ता समितिसँग छलफल गरियो, अनि मुगु जाने बाटोको बारे पनि जानकारी लिइयो उहाँहरुसँग । दुई वटा बाटाहरु रहेछन्– पहिलो, बडुवालबाडा भन्दा केही माथिको गोठेज्युला बजारबाट ठाडै उक्लेर रारा माथिको लेक काटी रारा हुँदै गमगढी जाने । र, दोस्रो– घुच्चीको लेक काटेर गमगढी हुँदै रारा जाने । गमगढी हाम्रो प्राथमिक लक्ष्य थियो, त्यसैले दोस्रो बाटो जाने तय गरियो । दोस्रो बाटो कम ठाडो भएकोले पनि हाम्रो रोजाइमा परेको थियो ।

भोलिपल्ट बिहान कालो चिया खाएर हिंड्ने तर्खर गरियो । श्यामजीको चाहिंं त्यहीं बसेर उपभोक्ता समितिलाई सघाउने काम थियो । तसर्थ जर्जजी, चन्द्रजी, पदमजी र म चाहिं गमगढी तर्फ लाग्यौं । हिंड्ने बेलामा उपभोक्ता समितिका पदाधिकारीहरुले रातो गुँरास सहित बिदाइ गर्नु भयो । मलाई र चन्द्रजीलाई एकुन्टा लौरीको पनि ब्यवस्था गरिदिनु भयो । उहाँहरुबाट पाएको त्यो सत्कार र न्यानोपनको स्मृति आजसम्म ताजा छ र जीवनपर्यन्त रहने छ ।

सिंजा, हिमा नदीले बनाएको एकदमै सुन्दर उपत्यका रहेछ । तल कलकल बगेको नदी, नदीको किनारमा विलोका रुखहरु, बाटोको दुबै तर्फ भर्खर रोपिएका हरिया धान खेतहरु, डाँडामा सल्ला र देबदारका रुखहरु र बिहानको घाममा टलक्क टल्केका घरहरु । प्राय दुई तल्ले हुँदा रहेछन् घरहरु । आधि रातो र आधि सेतो रङ्गले पोतेको, ढलान गरे जस्तो माटोको समथर छाना भएका घरहरु । केही–केही घरका छानोमा भने काठको टाइल लगाएको पनि देखियो । यो यात्रा भन्दा पहिले मैले तेस्तो छाना देखेको थिइनँ । दुख लाग्दो कुरा चाहिं जंगल मासिने क्रम तीब्र देखिन्थ्यो । आफ्नै वरपर पाइने प्राकृतिक स्रोतमा निर्वाह गर्दै आएका यी सुदूर जुम्लाका मानिसहरु केही बर्षपछि घर बनाउन आयातित सिमेन्ट, डण्डी र आलुमिनियममा भर पर्नु परे आश्चर्य नमाने हुन्छ ।

बिहानभरिको हिंडाइपछि एघार बजे चौथा भनिने सानो बजारमा पुगियो । चौथा पुग्नु अगाडिको बाटो एकदमै सुन्दर थियो । पूर्वतिरबाट बग्दै आएको सानो नदी अजङ्गको पहाडलाई काटेर सुस्तरी बग्दै थियो, त्यसैको किनारमा सानो घोडेटो र विशाल देबदारका रुखहरु । झट्ट हेर्दा स्विस–आल्प्सको कुनै पदमार्गमा हिंडे झैं लाग्यो मलाई । खलङ्गाबाट डाँफेको लेक तरेर आउने र सिंजाबाट आउने दुबै बाटोको संगम बजार रहेछ चौथा । तसर्थ खाना खाने र सुत्ने सुबिधा भएका केही होटेलहरु रहेछन् । चौथामा एउटा स्कूल पनि रहेछ, शायद हाईस्कूल जस्तो लाग्छ ।

होटेलमा मार्सी चामलको भात तयार थिएन, त्यसैले केहीबेर कुर्नु पर्ने भयो । शायद हामीसँग विदेशी पनि देखेर होला, होटेल साहुजी हामीलाई सेतो चामलको भात खुवाउन खोज्दै हुनुहुन्थ्यो । मार्सी भन्दा सेतो चामललाई मिठो मान्दा रहेछन् त्यता । कठै ! सुन नचिनेर पित्तलमा रमाइरहेका हामी । कर्णालीमा सेतो चामलको कथा अलग्गै छ– त्यतातिर अहिले नलागौं । करिब बाह्र बजेतिर खान पाइयो, मार्सी चामलको भात, जुम्ली सिमीको दाल र सागको तरकारी । अरु के चाहियो, मज्जाले खाइयो ।

चौथा पुगेदेखि नै पानी पर्ला जस्तो भइराखेको थियो । खाना खाएर हिंडेको केही समयपछि पर्न थालिहाल्यो । तर केहीबेरमा पानी सँगसँगै सेतो कपास जस्तो हिउँ पनि उड्न थाल्यो । हिउँ परेको अनुभव मैले काठमाडौंमै पाएको छु, फुल्चोकिमा । पचपन्न सालसम्म पनि हरेक साल जाडोमा पानी पर्यो कि फुल्चोकीमा हिउँ पथ्र्यो । खैर, हामी ओतको खोजीमा लाग्यौं, तर नजिकै कतै भेटिएन । पदमजीले ‘केही माथि राँदै भुलभुले भन्ने ठाउँमा होटेल छ’ भन्नु भएपछि चाहिं अलिक राहत भयो । पदमजी मुगुको बासिन्दा भएकोले उहाँलाई यो बाटोको बारेमा राम्रो ज्ञान रहेछ । यो यात्राभरि पदमजी हाम्रो लोकल गाइड हुनु हुन्थ्यो । भुलभुलेको एक मात्र होटेलमा ओत लागेर चिया मगायौं ।

त्यतातिर लेकमा पाइने घोडमच्चा भन्ने जडिबुटी प्रयोग गर्दा रहेछन् चियापत्तीको साटो । टाउको दुख्ने लगायतका समस्यामा यो जडिबुटी निकै लाभदायक छ भन्छन् त्यताका मान्छेहरु । मैले अघिल्लो साल पनि कालिकोटमा खाएको थें । शुरुशुरुमा त टर्रो लाग्छ, तर दुईचार पटक खाएपछि भने ठीकै लाग्ने रहेछ । एक–एक गिलास घोडमच्चाको तातो झोल रित्याउन्जेलसम्म आजको यात्रा त्यही बिसाउने निधो भइसकेको थियो । बाहिर भने हिउँ परि नै रहेको थियो । एक निन्द्रा सुतेर उठ्दा त बाहिर पूरै सेतो । रुख, घरको छानो, बाटो, बारी, पहाड सबै हिउँले पुरिएका थिए । टाङ्गटुङ्ग घण्टी बजाउँदै फाट्टफुट्ट खच्चडका बथान भने आइरहेका थिए । पछाडि–पछाडि खच्चड गोठालाहरु पनि हिउँमा त्यत्तिकै हिंडेका देखिन्थे ।

भोलिपल्ट बिहान घोडमच्चाको चिया पिएर सवेरै लागियो घुच्चीको लेकतिर । भुलभुलेबाट तेर्सो–तेर्साे हिंडेपछि एउटा भन्ज्याङ्ग आइपुग्यो, यसैलाई घुच्चीको लेक भन्दा रहेछन् । त्यसको दक्षिण पानीढलो जुम्ला र उत्तरी पानीढलो मुगु पर्दोरहेछ । आर्मीको ब्यारेक पनि थियो त्यहाँ । शायद बाटो बनाउने टोली होला । लेकमा हिउँ बाक्लो थियो । खच्चडहरु हिंड्न थालिसकेका थिए । जाडो निकै थियो, ताता लुगाहरु बोकिएको थिएन । शरीर पुछ्ने तौलियालाई मफलर र हाते रुमाललाई पञ्जा बनाएर गर्जो टारियो । गत रात किनेको ऊनी को चोलोले त राम्रै भरथेग गर्यो ।

घुच्चीको लेक चढ्न त सजिलै चढिएको थियो, तल ओर्लन चाहिं निकै सकस पर्यो । मुगुपट्टिको ओह्रालो निकै ठाडो थियो । त्यसमाथि हिउँ र हिलोले गर्दा निकै चिप्लो, बडो होस पुर्याएर हिंड्नु पर्ने । बडुवालबाडाबाट ल्याएको लट्ठीले निकै मद्दत गर्याे । ओह्रालो झर्दा खुट्टाका औंलाहरुमा बल पर्छ । जुत्ताको अगाडिको भागमा थिचिन जान्छ । त्यस्तोमा यदि औंलाको नङ लामो छ भने त काण्ड पुगिहाल्यो । विचरा चन्द्रजीको खुट्टको नङ लामो रैछ, उहाँको खुट्टा दुख्न थाल्यो । जति जति ओह्रालो झर्दै गयो, उति बढी दुख्न थाल्यो उहाँलाई । बिस्तारै बिस्तारै गर्दै भीरको बाटो सकाएपछि भने अलि सजिलो भयो तर दुख्न भने छोडेन । उहाँ खोच्याएर हिंड्न थाल्नु भयो ।

घुच्चीको लेकबाट ओह्रालो लागेपछि भूगोल पनि फरक पर्दै जाँदोरहेछ । जुम्लापट्टि अलि मित्रवत् लाग्ने डाँडाहरु मुगु तर्फ एकदम ठाडा र फुस्रा देखिन थाल्दा रहेछन् । घरहरु पनि त्यै पृष्ठभूमिमा मिल्ने रङ्गका । परबाट त घरहरु छन् कि छैनन् छुट्याउनै कठिन । परिवेशमा एकदम केमोफ्लेज भएका । पहाडको जीवन त्यसै पनि असहज, मुगुको जीवन त झन् कठिन लाग्यो । पढ्दै आएको सुन्दै आएको कर्णालीको स्वरुपको बिस्तारै दर्शन हुन थाल्यो । घरहरुको क्लष्टरिङ चाहिं गजब लाग्यो । एउटा घरको आँगन अर्को घरको छत । फेरि त्यो घरको आगन अर्को घरको छत । भर्याङ्गको खुड्किलाहरु जस्तो । यसरी बस्न त समुदाय निकै होमोजिनियस चाहिन्छ होला । सामुहिक भावना निकै प्रवल चाहिन्छ होला । शायद कुनै सर्बमान्य मुखियाद्वारा निर्देशित हुने परम्ंपरा चाहिन्छ होला । अन्यथा कसरी सम्भव होला कुन्नि ? एउटा कुरा अचम्म लाग्यो, चर्पीको ब्यवस्था चाहिं कसरी मिलाउँदा हुन् ? बिहानै सात बजेतिर भुलभुलेबाट हिंडेको दिउँसो एक बजेतिर मुगुको सदरमुकाम गमगढी पुगियो र सिधै सहकर्मी साथी नेत्रजीको कोठामा गइयो । शनिवार भएकोले नेत्रजी कोठामै भेटिने निश्चित थियो ।

आशा अनुरुप नेत्रजी कोठामै भेटिनु भयो । उहाँको साथमा जिविसका इन्जिनियर थापाजी पनि । बाहिर जुत्ता फुकालेर कोठामा छिर्यौं, धेरै बेर हिंडेर थाकेको पाइतालाले आराम महसुस गर्यो । चन्द्रजीको त दुबै बूढी औंलाको नङ नीलो भइसकेको रहेछ, विचरा धन्न हिंड्नु भएछ । नेत्रजीले पकाएर खुवाएको चाउचाउले त्यो दिनको खाना टारियो । परियोजनाको बारे छलफल गर्दै हामी जिविस गयौं र थापाजी अनि नेत्रजीका साथ थप छलफल गर्यौं । शनिवारका बाबजुद थापाजीले अफिस खोलेर सहयोग गर्नु भयो । यो भ्रमणको उद्देश्य परियोजनाको लागि कर्णालीमा छुट्टै अफिस चाहिन्छ कि चाहिन्न भन्ने आंकलन गर्नु थियो । जुम्ला र मुगुका जिविस पदाधिकारीहरु, हाम्रा सहकर्मी साथीहरुसँगको छलफल र त्यहाँको भौगोलिक वस्तुस्थितिको अवलोकनपछि चाहिन्छ भन्ने निक्र्यौलमा पुगियो । यात्राको मूख्य उद्देश्य पूरा भयो । अब काठमाडौं फर्कनु थियो । बाजुराको कोल्टी हुँदै फर्कने तय भयो ।

मुगुबाट कोल्टी जान रारा हुँदै जानु पर्छ । अफिसियल भ्रमणले रारा पुग्ने अपूर्व अवसर जुराइ दियो । बिहानै कालो चिया खाएर गमगढीबाट ठाडै उकालो लागियो । हामी जस्ता कहिलेकाहिं मात्र हिंड्ने मान्छेलाई करिब अढाई–तीन घण्टा लाग्दोरहेछ । सदरमुकाम गमगढी सडकले नजोडिएता पनि मुगुको विमानस्थल ताल्चासँग भने सडकले जोडिएको थियो । ढेढ घण्टा जति उकालो हिंडेपछि सल्लाको जङ्गल शुरु भयो । हिमाली सल्लाको शितल हावाले अगिसम्मको सबै थकाइ बिर्साइ दियो । एक घण्टा जति सल्लाको जङ्गललै जङ्गल हिंडेपछि डाँडाको टुप्पोमा पुगियो । रारा जान त्यहाँबाट ओह्रालो लाग्नु पर्ने रहेछ । ओह्रालो लागेको दुई मिनेटमै एक्कासी आँखा अगाडि रारा ठोक्किन आइपुग्यो । शान्त नीलो पानीको विशाल फैलावट र त्यसमा प्रतिविम्वित भइराखेको हिमच्छादित सेता डाँडाहरु । आहा ! हृदय गद्गद् भयो । मन एउटा अचम्मको अनुभूतिले भरियो, लबालब भरियो । जुनको उज्यालोमा पहिलो पटक माछापुच्छ«े हिमाल देख्दा पनि त्यस्तै अनुभूति भएको थियो । त्यो अनुभूतिलाई म शब्दमा ब्यक्त गर्न असमर्थ छु, भरिएको हृदय पोख्न शब्दहरु अपुग हुँदारहेछन् ।

कचौरामा पानी राखे जस्तै छ रारा । वरिपरि सल्लेरी पहाडहरु र तिनको बीचमा अण्डाकार आकारमा फैलिएको तिलस्मी ताल । करिब तेह्र–चौध किमि जति छ रे यसको परिधि । किनारैकिनार प्रदक्षिणा गर्न मिल्ने गरी पदमार्ग बनाइएको रहेछ । रारा– राष्ट्रिय निकुञ्ज घोषित क्षेत्र हो, त्यसैले यसको पवित्रता संरक्षित छ । त्यो बखत एउटा मात्र होटेल थियो रारामा । पछिल्ला वर्षहरुमा रारामा स्टार होटेलहरु खोल्नु पर्ने बहस र योजनाहरु सुन्नमा आउँछन् । विकास विरोधी जस्तो लाग्ला तर मेरो विचारमा त्यो पटक्कै गर्न नहुने काम हो । रारालाई यसको प्राकृतिक स्वरुपमै राख्नु पर्छ । होटेलहरु खोल्नु परे राराको पानी ढलो भन्दा बाहिर खोल्नु पर्छ र पदमार्गले मात्र जोडिनु पर्छ त्यसलाई । थाहा छैन अहिलेसम्म सडक मार्गले राराको फन्को पो लगाइ सक्यो कि ? म नीति निर्माताहरुसँग प्रार्थना गर्छु कि रारा अर्को फेवा नबनोस् ।

करिब दुई घण्टा जति किनारमा बिताएर रारालाई बाईबाई गर्नु पर्ने भयो । मन थिएन, बाध्यता थियो, जसरी पनि बाटो छोट्याउनु थियो । राराबाट बाहिर निस्कने पानीले बनेको खोलालाई खत्याड खोला भनिंदोरहेछ र त्यो क्षेत्रलाई खत्याड क्षेत्र । मुगुको सबभन्दा उर्वर क्षेत्र । त्यही खत्याड खोलाको तिरैतिर बाजुरा जाने बाटो रहेछ । बाटो ओह्रालो थियो, चन्द्रजीको खुट्टा दुख्न शुरु भइहाल्यो । एक बजेतिर राराबाट हिंडेका हामी पाँच बजेतिर मसाने भन्ने ठाउँमा पुग्यौं र बास बस्यौं । एउटै मात्र होटेल थियो त्यहाँ, सानो तर एकदम सफा । राति खानामा खत्याड खोलाको माछा र रोटी । शाकाहारी भएका कारण मैले भने दुध रोटी खाने चाहना राखें तर दुध पाइएन । दही पाइएको थियो, मैले खाइनँ । यात्रामा दही खान डर लाग्छ । त्यसैले तातो पानीसँग रोटी खाएँ । भोक लागेको बेलामा सुख्खा रोटी पनि अमृत झैं भयो ।

मसाने भन्दा केहीअगाडि तत्कालिन सेरी गाविसको जाम भन्ने ठाउँमा सानो बजार भेटियो भोलिपल्ट । त्यहाँ पुगेपछि चन्द्रजीलाई चप्पल किन्ने सल्लाह दिएँ, त्यसपछि भने उहाँलाइ हिंड्न सजिलो भयो । तर त्यति बेलासम्म उहाँको नङ बिग्रिसकेको थियो । काठमाडौं आएपछि दुबै बूढी औंलाका नङहरु उप्किएर फाल्नु पर्ने भएछ । त्यो दिन चन्द्रजीलाई हुम्लाको ह्याङ्लु भन्ने ठाउँ पुग्नु थियो भने हामी सकेसम्म कोल्टी नै पुग्न चाहन्थ्यौं । राराबाट बगेर आएको खत्याड खोला हुम्लाबाट बगेर आएको कर्णाली नदीमा मिसिने दोभानबाट माथितिर लागे हुम्ला र तल लागे बाजुरा पुगिने रहेछ । चन्द्रजी हुम्लातिर लाग्नु भयो र जर्जजी र म बाजुरातिर ।

कर्णालीको तिरैतिर रहेछ घोडेटो । दिउँसो बेस्सरी हावा चल्ने । साँघुरो बाटो, ठाडो भीर र तल कर्णाली । कुनै–कुनै ठाउँमा त भित्तामा टाँसिएर हिँड्नु पर्ने । म जस्तो पातलो मान्छेलाई त झनै जोगिनु पर्ने रहेछ । निकैबेरको हिंडाइपछि झोगलाघाट भन्ने ठाउँ आइपुग्यो । पारिपट्टि बाजुरा र वारिपट्टि मुगु । बीचमा कर्णाली र त्यसमाथि झोलुङ्गे पुल । झोलुङ्गे पुलहरु साँच्चै नै ग्रामीण यातायातका जीवनरेखा हुन् । हाल नेपालमा आठ हजार भन्दा बढी झोलुङ्गे पुलहरु बनिसकेका छन् । अझै थुप्रै बन्न बाँकी नै छन् । कहिलेकाहिं सोच्छु यी झोलुङ्गे पुलहरु नहुँदा हुन त ग्रामीण जीवन कति कष्टकर हुन्थ्यो होला ।

झोगलाघाटबासीहरुले त्यहाँ भन्दा अगाडि नजान सुझाए । कारण, झोगलाघाट भन्दा केहीअगाडि डरलाग्दो भीर रहेछ । जुन दिउँसो हावा चलेको बेला धेरै जोखिमयुक्त हुने रहेछ । धेरै मान्छेहरु लडेर मरेका छन् रे । बिहान हावा नचल्ने समयमा त्यो भीर काट्नु उपयुक्त हुने सल्लाह बमोजिम त्यो रात हामी त्यहीं बास बस्यौं । खोपा जत्रो कोठामा रात काटियो तर निन्द्रा भने साह्रै मिठो लाग्यो, अनि खाना पनि त्यस्तै मिठो थियो ।

भोलिपल्ट बिहानै त्यो भीर छिचोलियो । भीर साँच्ची नै डरलाग्दो थियो, एकदमै साँघुरो बाटो । त्यसमाथि चिप्लो भुइँ । तल, निकै तल देखिने कर्णाली । कदाचित खुट्टा चिप्लियो भने बाँचिएला भनेर कल्पना नगरे पनि हुने । अहिले त त्यो भन्दा माथिबाट मोटर बाटो बनिसक्यो रे । त्यतातिरको भूगोल मरुभूमि जस्तो उजाड । गिट्टी थुपारेका जस्ता नाङ्गा डाँडाहरुमा क्याक्टस र लैंठ भन्ने बिरुवा बाहेक अरु कुनै बिरुवा देखिन मैले । तल कर्णालीमा बाहेक पानीका स्रोत कतै नदेखिने । प्रकृतिले ठगेको क्षेत्र भन्दा हुने । कर्णालीले यो भेगमा मान्छेलाई दुःख बाहेक अरु केही दिए जस्तो लागेन । त्यत्रो पानी अनवरत् बगेको बगेकै छ, न त बिजुली निकाल्न सकेका छौं, न सिंचाइ गरेर खेती बढाउन सकेका छौं ।

कामको अभावमा पुरुष युवाहरु बर्षेनी भारत जान्छन्– केवल दैनिक गर्जो टार्नका लागि, छोराछोरी पढाउनका लागि । घरमा बस्ने विवाहित महिलाहरुको अवस्था झनै कष्टकर छ । घरपरिवार, वस्तुभाउ, खेतीपाति सबै एक्लै धान्नु परेको छ । बाजुरा मात्र हैन मुगु, कालिकोट, जुम्ला, हुम्ला, बझाङ्ग सबैतिरको हालत उस्तै हो । भारतीय प्रधानमन्त्री मोदीले ‘पानी और जवानी पहाडों मे नही टिकती’ भन्नु भए जस्तै यतातिरका युवाहरु कमाउनका लागि हरेक साल पश्चिम भारतका होटेल, खेत या कारखानाहरुमा न्यून वैतनिक मजदुर भएर काम गर्न बाध्य छन् । कठै ! आफ्नै गाउँठाउँमा काम पाइँदो हो त को जान्थ्यो होला परदेश । वर्तमान युगका चर्चित पाकिस्तानी शायर तहजिब हाफीको शेरले भने जस्तो–
‘बहुत मजबुर होकर तेरी आँखो से निकला
खुशी से कौन अपने मुल्क से बाहर रहा है’

बाटोमा एउटा सानो चिया पसलमा रोकिएर चिया पिउन लाग्दा केही महिलाहरु पिठ्युँमा भारी बोकेर उकालो लाग्दै थिए । यो बाटो उत्तरी बाजुरा जाने बाटो पनि हो रे, त्यतै जान लागेका होलान् । सोचें हातमुख जोर्दैमा जीवन बिताउन बाध्य यी दिदीबहिनीहरुका कति सपना र रहरहरु कर्णालीमा बगे होलान् । दुःखका कैयन कथाब्यथाहरु कर्णालीमा मिसिएका होलान् । त्यसैले त होला, कर्णाली एकनास तमासले सुसाइरहेको थियो, मन भारी भयो ।

कोल्टी पुग्दा करिब साँढे नौ जति बजेको हुँदो हो । पन्ध्र मिनेटले त्यो दिनको प्लेन छुट्यो । अर्को दिनलाई कुर्नु पर्ने भयो । त्यही दिन ढिलो–ढिलो गरी चन्द्रजी पनि ह्याङ्लुबाट कोल्टी आइपुग्नु भयो । भोलिपल्ट एक इन्जिनवाला विमान चढेर नेपालगञ्ज र त्यही साँझ बुद्ध एअरबाट काठमाडौ आइयो । काठमाडौं फर्केपछि पनि आँखाभरि राराको सौन्दर्य र कर्णालीको कष्ट आइरह्यो । फोटोमा बाजुरामा भेटिएका ती महिलाहरुलाई देखेर उनीहरुको स्थानमा आफूलाई कल्पना गरेर यो गीत लेखें–

बगेरै खेर गयो कर्णालीको पानी
हातमुख जोड्दै बित्यो कठै ! जिन्दगानी

सपना त मेरा पनि चरा सँगै उड्ने
सुनाखरी आँखाभरि, डालीडाली झुल्ने
एक मुरी भोक र एक मुठी सामल
जोहो गर्दै बित्यो कठै ! मेरो यो जवानी

परदेशबाट प्रियतम् आउने होला कहिले
यी ओठहरुले प्रेमगीत गाउने होला कहिले
कहिले होला बैंसालु रात न्यानो ओढी काट्ने
कुन साइतमा पूरा होला मेरो प्रेम कहानी

बगेरै खेर गयो कर्णालीको पानी
हातमुख जोड्दै बित्यो कठै ! जिन्दगानी

यस बीच नौ वर्ष बितिसक्यो, तर त्यतातिरको जीवनमा तात्विक भिन्नता खासै केही आएको छैन । युवाहरुको बाध्यात्मक भारत आप्रवासन जारी नै छ । ईश्वरसँग प्रार्थना गर्छु कि कर्णाली केवल बगेर मात्र खेर नजाओस् । चाँडै जलविद्युत प्लान्ट बनोस्, त्यहाँका युवाहरुले आफ्नै ठाउँमा रोजगारी पाउन्, जिन्दगानी केवल हातमुख जोर्दै नबितोस् । सबैको जय होस् ।

२२ अगस्त २०२१

प्रतिकृया व्यक्त गर्नुहोस् ।