२०७८ असोज ८ शुकर्बार
Mero Sabda

बमको त्रास


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

हामी बसेको क्याम्पबाट अन्दाजी दश किलोमिटर उत्तरतर्फ दुई वटा ग्याँस प्लान्ट थियो । एउटा रास ग्याँस र अर्को कतार ग्याँस । त्यसमध्ये हाम्रो ड्युटी कतार ग्याँसमा थियो । कम्पनीबाट भिषा सहितको पास बनाएर हामीलाई दिइएको थियो । कम्पनीको गाडीमा चढेर ग्याँस प्लान्टको मेनगेटमा उतारी दिन्थ्यो । त्यहाँ लाइन लागेर आफ्नो पास देखाउँदै गेटबाट पार हुनुपथ्र्यो । त्यस पश्चात् हाम्रो गाडी हामी भए ठाउँमा आइपुग्थ्यो । हामी पुनः त्यसमा सवार भएर ग्याँस प्लान्टको अर्को गेटमा पुगेर रोक्थ्यो । त्यहाँ पनि हामी सबैको पास चेक गथ्र्यो । त्यहाँबाट बल्ल हामी हाम्रो कम्पनीको क्याविनमा पुग्थ्यौं ।

त्यहीँ बसेर पहिला नास्ता खाइन्थ्यो । त्यस पश्चात् त्यो ग्याँस प्लान्टको कुन ठाउँमा काम गर्नुपर्ने हो, त्यही क्याविनको छेउमा रहेको एउटा बोर्डमा रहेको ठाउँमा आफ्नो गेटपास राख्थ्यौं र त्यहाँको कार्ड पकेटमा हालेर कार्यस्थलमा पुग्थ्यौं । शुरुशुरुमा त्यहाँ लगाइएको ग्याँसको पाइपहरु देखेर डर लागेर आउँथ्यो । यताबाट उता घुमेको । कुनै सिधा, कुनै हाम्रो लागि आवश्यक भन्दा धेरै घुमेको ।

कुनै साना–साना पाइप त कुनै हाम्रो अङ्गालोमा नआँट्ने खालका पाइपहरु । ठाउँ–ठाउँमा धुँवा निस्किरहेको हुन्थ्यो । केही पर कालो पाइप ठडिएको थियो र त्यसको टुप्पाबाट निरन्तर आगोको मुस्लो बलिरहेको थियो । कुनै बेला त्यसको छेउमा जाने काम परिहाले गर्मीले अत्यास पाथ्र्यो । हामी हिंड्ने बाटोमा तेर्सिएको त्यस्तै पाइप नाघेर जानुपथ्र्यो । त्यही आगोको मुस्लो सम्झेर डराइ–डराइ त्यसमा टेकेर पारि तर्ने गथ्र्यौं ।

त्या एलएनजी ग्याँसको प्लान्ट रहेछ । एलएनजी भनेको लिक्युफिड नेचुरल ग्याँस रहेछ । समुन्द्रको केही किलोमिटर टाढा गएर तल ड्रिलिङ गरेर निकालिंदो रहेछ । त्यो प्लान्ट राम्ररी निहार्दा मैले सपनामा नचिताएको संरचना रहेछ । प्लान्टभित्र मोबाइल प्रयोग गर्न नपाइने रहेछ । त्यहाँभित्र प्रज्वलनशील वस्तुहरुको प्रवेशमा कडाइ गरिंदोरहेछ । कत्रा–कत्रा फलामका पाइप ठड्याएका कोही त कोही तेस्र्याएका ।

हामीले यहाँ प्लाष्टिकको सानो बट्टामा गन्धक बेच्न ल्याएको देख्ने मान्छे त्यहाँ त गन्धकको खानी नै हुँदोरहेछ । एक हप्तासम्मको उत्पादन भएको गन्धक एउटा गाडीले दिनभर बोक्दा पनि नसकिंदो रहेछ । त्यो गन्धक पनि त्यही समुन्द्रबाट ल्याइएको ग्याँसबाटै निस्कँदो रहेछ । त्यो ग्याँस जब धेरै प्रक्रिया पार गरेर शुद्ध ग्याँस भएर पाइपको बाटो भण्डारणका लागि लगिन्छ, तब त्यसलाई माइनस ५५ डिग्रीमा चिस्याएपछि मात्र बग्दो रहेछ । फेरि यता भण्डारणका लागि बनाइएको या बडेमानको दुईवटा ठूला ठूला ट्याङकी । दुई वटा ट्याङकी लगभग एक विगाहा जग्गामा बनाइएको । छेउमा गएर हेर्यौं, आफ्नै आँखाअगाडि आएर उभिएझैं लाग्ने । उचाइ पनि त्यतिकै । आकाश नै छोला जस्तो ।

यसको प्रयोग चाहिं ठूला–ठूला कारखानामा हुनेरहेछ । मैले सुनेको जापानबाट जहाज आउने रहेछ । पानीजहाजमा पनि ठूला–ठूला ट्याङकी बनाएको हुँदोरहेछ । हप्तामा तीन–तीन पटक आएर लिएर जाँदोरहेछ । त्यहाँबाट समुन्द्रको बाटो भएर एक हप्तामा जापान पु¥याउँछन् अरे । त्यसको प्रयोग मोटर कम्पनीमा हुन्छ अरे । ठूला–ठूला आणविक फ्याक्ट्रीमा प्रयोग हुन्छ अरे ।

मैले यो सबै वृतान्त लेख्नको विशेष उद्देश्य भनेको संसारमा भइरहेको र भएको मध्येमा विज्ञानले पराकाष्टा कति नाघेको रहेछ भन्ने उदाहरण प्रष्ट्याएको हो । जुन समुन्द्रको कति मिटरभित्रसम्म ड्रिलिङ गरेर त्यहाँ रहेको प्रकृतिले दिएको मानवलाई आवश्यक पर्ने अकुत तेलको र ग्याँसको भण्डारलाई पाइपको माध्यमले बाहिर निकालेर अनेक प्रक्रियाको माध्यमबाट त्यस पदार्थलाई शुद्ध ग्याँसको रुप दिन कति दिमाग लगाउनु प¥यो होला ।

तर विज्ञानको प्रविधिले गर्दा त्यो सबै सम्भव भइरहेको थियो । तर हामी प्रायः नेपालीहरुमा सानो केही चिजमा सिद्धहस्त भयौं भने अभिमानको झल्को देखिन थाल्छ । उसले आफूले आफैंलाई सर्बज्ञान सम्पन्न ठान्न थाल्छ । जस्तै त्यहाँ गएर चालक अनुमति–पत्र प्राप्त ग¥यो भने आफै घमण्डले भ्यागुता फुलेझैं फुल्न थाल्छ । उसले अन्य क्षेत्रमा काम गर्ने नेपालीहरुलाई मानिस नै ठान्दैन । मैले धेरै सवारी चालकहरु देखेको छु । ती मध्ये आधा भन्दा धेरैको बानी–व्यहोरा त्यस्तै थियो । उनीहरु सोच्दा हुन् ‘मै जान्ने, मैले चलाउने गाडी मेरै हो ।’ तर यो सोच्दैनन् कि काम सबै बराबर हो । जसले जे काम गरे पनि आँखिर हामी सबै त्यहाँ नोकरको हैसियतले गएका हौं ।

त्यो ग्याँस प्लान्टभित्र हामी सबै सिभिल वर्कस भएर नै गएका थियौं । त्यहाँ हामीले दुई वटा ठूलो स्टोर रुम बनायौं । त्यसमा फोरमेनले मलाई नै अग्रसर गरेर काम गराउँथ्यो । भनौंन त्यहाँ भएका हामी नेपालीहरु मध्ये मलाई नै लिडर जस्तो काम सम्झाउँथे र मेरो नेतृत्वमा कामले निरन्तरता पाइरहेको थियो ।

जब एक समय आयो, त्यो ठूला–ठूला ग्याँसको भण्डारणका लागि रहेको ट्याङकीको छेउमा एउटा ट्वाइलेट बनाउन थालेका थियौं । त्यहाँ सेफ्टी हर समय परिक्रमा गरिरहन्थ्यो । एक फुट खाल्डा खन्न परे पनि पहिला सेफ्टीलाई त्यहाँ ग्याँस चेक गराउनुपथ्र्यो । उसले ग्याँस चेक गरेर गए पनि तल खाल्डोमा पस्ने बेलामा आफूसँग एउटा ग्याँस चेक गर्ने मिटर साथैमा लिएर खाल्डोमा पस्न पथ्र्याे । यदि काम गर्दागर्दै त्यो मिटर बज्न थाल्यो भन्ने काम गर्दै गरेको हतियार फ्यालेर बाहिर निस्कनु पथ्र्यो ।

धेरै गर्मी भएर हातको पञ्जा आँखामा लगाएको चश्मा र हेल्मेट खोल्न पनि नपाइने । यदि ती सबै खोलेको बेला सेफ्टीले देखे भने काम गर्ने ठाउँबाट नै निकाली दिन्थे । साथै कम्पनीलाई पनि खबरदारी गरिन्थ्यो । रुममा बस्दा बिबिसी सुन्ने बानीले गर्दा त्यो बेला अमेरिकाले इराकलाई धम्की दिएको र नाकाबन्दी गरेको खबर सुन्न थालियो । ‘ला अब अमेरिकाले इराकमा बमबारी गर्ने भएछ’ भन्ने गाइँगुइँ सुन्न थालियो ।

२००२ साल महिना अहिले याद भएन । बिहान ड्युटी जानलाई हामी सबै तर्खरमा लाग्न थाल्यौं । नास्ता पकाउने हतार थियो । कोही कपडा लगाउन हतार गर्दै थिए । एक जना साथीले टिभी खोल्यो । अचानक मुटु ढुकढुक भएर आयो । बिहानको चार बजेबाट नै अमेरिकाले इराकमा बमवर्षा गर्न थालेको थिएछ । त्यो खबरले हामी सबै स्तब्ध भयौं । किनकि इराक कतारबाट धेरै नजिक थियो । ‘यदि त्यहाँ हानेको बम गल्तीले एउटा मात्र ग्याँस प्लान्टमा झरे ?’ यस्तै सोचाइ साथ हामी गाडी चढ्न थाल्यौं । हाम्रो डरले सीमा नाघिसकेको थियो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।