Mero Sabda

रुरु, रानी महल र एक जोडी भावशुन्य आँखाहरु


(यात्रा संस्मरण)

– निरज आचार्य

रुरु क्षेत्र स्थित हृषिकेशको पाउमा श्राद्ध गर्ने चाहाना ब्यक्त गर्नु भयो मेरो भानिज दाइले, मैले पनि जाने इच्छा देखाएँ । सोही बमोजिम सन् २०१८ को जनवरीमा हामी दाजुभाइ काठमाडौंको लगनटोलबाट माइक्रो बस समातेर बुटबल– तानसेन हुँदै रिडी पुग्यौं । रुरु क्षेत्र कालीगण्डकी र रिडी नदीको सङ्गममा अवस्थित तीर्थस्थल । पाल्लाका प्रथम राजा मुकुन्द सेनले कालीगण्डकी नदीमा नुहाउँदा भगवान हृषिकेशको मुर्ति भेटेकोले सो क्षेत्रमा मन्दिर बनाइ मुर्ति स्थापना गरेको भन्ने इतिहास रहेछ । हुन त म बीस बर्षअघि सन् १९९८ मा पनि रुरु क्षेत्र हुँदै गुल्मीको सदरमुकाम तम्घास गएको थिएँ तर भगवान हृषिकेशको दर्शन गर्ने अवसर जुरेको थिएन । यस पटक भगवानले बोलाउनु भयो, दर्शन पनि गरियो र प्रभुको पाउमा बसेर समस्त पितृहरुको सम्झनामा श्राद्ध पनि गर्न पाइयो ।

रिडीबाट कालीगण्डकी नदी पूर्व दक्षिण हुँदै बग्दछ । सोही नदी किनारमा करिब तेह्र किमी तल पर्दछ रानीमहल । रानीमहल पुग्ने धोको बाँकी नै थियो । यही मौकालाई सदुपयोग गर्ने विचार गरें । अर्गलीबाट हिंड्दै रानीमहल जानका लागि दाइलाई काठमाडौंमै राजी गराइसकेको थिएँ । श्राद्धको काम सकाएर लोकल बस चढेर अर्गलीसम्म पुगियो । अर्गलीबाट करिब नौ किमी जति हिंड्नु पर्ने रै’छ । बाटोको केही खण्ड ग्रामणी सडक, केही खण्ड खनिदै गरिएको कालीगण्डकी करिडोर र केही भाग गोरेटो । बिचमा केही जङ्गल र एक–दुई वटा गाउँ । अन्य पहाड गाउँ भन्दा विषेश फरक केही थिएन यो ठाउँमा । गाउँहरु नदीले बनाएका टारीमा थिए, पानी नपाएर खेती नभएका सुख्खा टारहरु । विडम्वना, तल कालीगण्डकी भने अबिरल बगिरहेको थियो । नेपालका सबै ठूला नदीको छेउछाउको ब्यथा हो यो । पहाडमा सिंचाइका हिसाबले स–साना खोलाहरु बढी उपयोगी छन् ठूला नदीहरु भन्दा, यहाँ पनि यस्तै देखियो ।

डेढ घण्टा जतिको हिंडाइपछि भने एउटा सुन्दर गाउँ आइपुग्यो, नाम के हो सम्झना छैन । गाउँ ठूलो पनि थियो र हरियो पनि । पहाडतिरबाट झरेको खोलाले पूरै गाउँलाई गुल्जार बनाएको थियो, तरेली परेका खेतभरि हरियो गहुँ लहराइ रहेको थियो ।

गाउँको पुछारबाट ओह्रालो–ओह्रालो लागेर कालीगण्डकीको तीरमा पुग्नु पर्ने रै’छ । नदीको वारि पाल्पा र पारिपट्टि स्याङ्जा । ओह्रालोको मुखैमा एउटी सानी नानी– करिब सत्र–अठार बर्ष जति की हुँदिहुन्, भाइलाई साथ लगाएर माइतीबाट घर जाँदै रहिछिन् । घर स्याङ्जा तर्फ रहेछ । एउटा चाउचाउको कार्टुन थियो, जो दिदीभाइ पालैपालो बोक्दथे । शायद माइतीको कोसेली होला । तिनलाई देखेर कस्तो–कस्तो लाग्यो । ती नानीको आँखामा न कुनै उत्साह देखिन्थ्यो, न कुनै उमेरजन्य चञ्चलता । ती आँखाहरुमा डर थियो कि उदासी थाहा छैन, ती भावशुन्य देखिन्थे । त्यो लाउँलाउँ खाउँखाउँको कलिलो उमेर, त्यो पढ्ने र भविष्य बनाउने गतिलो उमेर र त्यो संसारै जित्न सक्छु भन्ने उत्साहले भरिपूर्ण हुने उमेरमा विवाहको सांसारिक बन्धनले बाँधिएकी ती युवती, मालिकले नाकमा नत्थी बाँधेर घिस्याइ रहेको गाई जस्तै नचाहँदा नचाहँदै लुरुलुरु घरतिर गइरहेकी जस्तो लाग्थ्यो । सोध्न त मन थियो– किन यति चाँडो विवाह गरेको भनेर तर नौलो ठाउँ, आँट गरिएन । रहर थियो कि बाध्यता उनै जानुन् । ती एकजोडी भावशुन्य आँखाहरुले भने केही दिनसम्म पछ्याइ रह्यो ।

रानीमहल पुग्नै लाग्दा भने बाटो अफ्ठ्यारो थियो । यो कालीगण्डकी करिडोरको खण्ड, काम गर्दागर्दै एक्साभेटर पल्टेर कालीगण्डकीमा खसेर ड्राइभरको मृत्यु भएकोले काम रोकिएको रे । त्यसैले पुरानो गोरेटो पनि पुरिएको रहेछ । म त डाँडाकाँडा हिंडिरहने हुनाले मलाई त त्यति अफ्ठ्यारो भएन, तर दाइलाई चाहिं निकै अफ्ठ्यारो भयो । चार वटै हातखुट्टा नै टेक्नु पर्ने भयो उहाँलाई त । ‘यस्तो अफ्ठ्यारो बाटो हिंडाइस्, अबदेखि तँसँग हिड्ंदिन’ भन्नु हुन्थ्यो पछिसम्म पनि । जे होस् अर्गलीबाट हिंडेको अढाइ घण्टा जतिमा रानीमहल पुगियो, रहर पूरा भयो ।

खड्ग शमशेर जङ्गबहादुर राणाले सन् १८९२ मा कान्छीरानी तेजकुमारीदेवीको मृत्युपछि उनको सम्झनामा यो महल बनाएका थिए । पाल्पाको बतासेडाँडाबाट तल कालीगण्डकीको तीरमा विशाल ढुङ्गामाथि यो भव्य महल बनाइएको छ । रानीको सम्झनामा बनाइएकोले होला खड्ग शमशेरले यो महलको नाम मात्र रानी महल राखेनन् कि त्यो नदीको घाट र वरपरको बनको नाम पनि रानीघाट र रानीबन राख्न लगाए । सन् १९०२ मा खड्ग शमशेर भागेर भारत प्रवासमा गएपछि भने यो महलको रेखदेख गर्ने कोही भएन । धेरै बर्षसम्म रेखदेखको अभावमा जीर्ण भएको महल सन् १९९० पछि भने बिस्तारै स्थानीयहरु र सरकारको आँखामा पर्न थालेपछि यो अवस्थामा आइपुगेको हो ।

नियो–क्लासिकल आर्किटेक्चरमा बनेको छ यो महल । काठमाडौंका राणाकालिन महलहरुको तुलनामा ठूलो पनि हैन र भव्य पनि हैन । तर जुन ठाउँमा यो महल बनेको छ, त्यो ठाउँका हिसाबले निकै भब्य र विशाल छ । त्यसो त यसलाई नेपालको ताजमहल पनि भनिन्छ । मुगल सम्राट शाहजहाँले मुमताजको असामयिक मृत्यु पश्चात् उनको यादमा ताज महल बनाए झैं रानीको सम्झनामा बनाइएकोले होला ‘ताजमहल’सँग दाँजिएको । ताजमहलको प्रशिद्धि त संसारभरि छ नै, रानीमहलको पनि ख्याति राम्रै छ नेपालमा । शाहजहाँले त ताज बनिसकेपछि कालिगढहरुका हात काटी दिए रे भन्ने किंबदन्ती छ, खड्ग शम्शेरले त त्यस्तो गरेनन् होलान् नि ।

कहिलेकाहिं सोच्छु कि ताजमहल या रानीमहल जस्ता स्मारक प्रख्यात हुनुमा त्यस्को निर्माण पछाडिको प्रेमानुभाव ठूलो छ कि त्यो स्मारकको भव्यता ? या अरु केही चिज पनि छ ? भब्यताको कुरा गर्ने हो भने यो महल भन्दा भब्य अरु थुप्रै दरबारहरु छाडेर गएका छन् राणाहरुले । के शाहजहाँ या खड्ग शमसेरले आफ्ना मृत रानीहरुको सम्झनामा चौतारो या पाटी मात्र बनाएर गएको भए यति ख्याति हुन्थ्यो त ? पक्कै पनि हुँदैनथ्यो होला । अथवा ताजमहल या रानीमहलमा विरहको कथा नजोडिएको भए यति ख्याति हुन्थ्यो त ? खै कुन्नि । विरहजन्य प्रेमको अभिब्यक्ति र भब्यता दुबै पो चाहिने हो कि यस्तो प्रख्याति का लागि । त्यसो हो भने त प्रेमानुभूति ब्यक्त गर्न पनि धनदौलत नै चाहिने भयो ? के अपरिमित प्रेमको मापन गर्ने मापदण्ड यस्तै स्मारकहरु मात्रै हुन् त ? प्रेमानुभाव त गरीबको पनि हुँदो हो– पक्कै पनि हुन्छ । तर स्रोतको अभावमा ऊ आफ्नो प्रेमको सार्वजनिक प्रदर्शनका लागि कुनै स्मारक बनाउन सक्दैन । त्यसो भए के गरीबको प्रेम, प्रेम हैन त ? कठै ! विचरा, गरीब त प्रेमको अभिब्यक्ति गर्न पनि गरीब नै हुनु पर्ने । प्रख्यात् उर्दु शायर शाहिर लुधियानविले यो बिडम्बनालाई बडो शानदार रुपमा आफ्नो कविता मार्फत प्रस्तुत गरेका छन् ।
ताज तेरे लिए इक मजहर–ए–उल्फत ही सही
तुझ को इस वादी–ए–रंगी से अकीदत ही सही
मेरी महबूब कहीं और मिला कर मुझ से
……………………………………………
ये चमन–जार ये जमुना का किनारा ये महल
ये मुनक्कश दर ओ दीवार ये मेहराब ये ताक
इक शहंशाह ने दौलत का सहारा ले कर
हम गरीबों की मोहब्बत का उड़ाया है मजाक

कविता लामो छ तर बेजोड छ । छोटकरीमा भन्दा शाहिर प्रश्न गर्छन् कि ताज दुनियाको लागि प्रेमको अभिव्यक्ति होला तर ती गरीबहरु, जसको सीपले ताजलाई अनुपम रुप दिएको छ, कुनै स्मारक बनाउने हैसियत राखेनन् भन्दैमा तिनको प्रेम चाहिं के कम होला र कुनै सम्राटहरुको भन्दा । ताज नै प्रेमको उच्चतम् अभिव्यक्ति मानिनु जरुरी छ र ? बरु अथाह धनको बलमा ताजको निर्माण गरेर कतै एउटा राजाले गरीबहरुको प्रेमको खिल्ली त उडाएका छैनन् ?

प्रश्नहरु थुप्रै हुन सक्छन् या कत्ति पनि नहुन सक्छन्, हेर्ने दृष्टिकोणमा भर पर्छ । खैर, जे भए पनि खड्ग शम्शेरले यो स्मारक नबाइदिएको भए यो ठाउँ प्रकृतिको गर्भमा गुमनाम कतै हराएको हुन्थ्यो होला । न म त्यहाँ पुग्थें, न अहिले यसको बारे चर्चा गरिरहेको हुन्थें ।

पाल्पा– रानीमहल रुटमा बिहान नौ बजेतिर एउटा बस चल्दो रै’छ, अरु समय या त रिजर्भ गरेको गाडी या पैदल । हामीसँग न पैदल जाने आँट थियो, न गाडी रिजर्भ गर्ने अवसर । रानीमहलको तल बगरमा एउटा पुरानो ल्याण्ड रोभर भने देखेका थियौं, ईलाम धनकुटातिर चल्ने वानटेन जस्तो । बासको लागि रानीमहल भन्दा केहीमाथि रहेको सानो बजारमा गयौं । साँच्चि भन्नु पर्दा मलाई त्यहाँ बास बस्न पटक्कै मन थिएन, कारण उडुस लाग्ला भन्ने डर । कर्णाली र भेरी नदी तीरका साना बजारहरुमा उडुस आतंक भोगिसकेको जो थिएँ । संजोगले चिया–खाजा खान बसेको होटेल साहुजीका कारण त्यो ल्याण्डरोभरमा लिफ्ट पाइने भयो । अरुले रिजर्भ गरेर लिएर आएका रहेछन् । रु. पाँच सयमा हामीलाई पनि लैजान ड्राइभर राजी भए, रिजर्भ गर्नेलाई मनाउने जिम्मा पनि ड्राइभरकै भयो । त्यही ल्याण्डरोभरमा हामी तानसेनको बतासेडाँडासम्म गयौं र त्यहाँदेखि बसपार्कसम्म पैदल ।

पहिलोपल्ट सन् १९८७ मा पाल्पा पुगेको थिएँ म । मामाको कार्यालयको गाडी काम विशेषले बुटवलबाट राम्दीघाटसम्म जान लागेको बेला सोही गाडीमा म पनि बर्तुङ्ग, आर्यभन्ज्याङ्ग हुँदै राम्दीघाटसम्म पुगेको थिएँ । त्यति बेला म कक्षा नौमा पढ्थें । जाडोको बिदा मनाउन काठमाडौंबाट बुटवल गएको थिएँ । गाडी तानसेन त गएन, त्यसैले कस्तो थियो थाहा छैन तर बर्तुङ्ग एकदमै सानो थियो । दुई–चार वटा झुप्रे पसलहरु मात्रै थिए । तिनै मध्ये कुनै पसलमा चिया र पफ खाएर हिंडेको र आर्यभन्ज्याङ्ग नपुग्दै सबै थाकेको सम्झना ताजै छ । सन १९९८ मा राप्ती प्राविधिक शिक्षालयमा कार्यरत् हुँदा गार्डेप भन्ने परियोजनाको कामको सिलसिलामा गुल्मीको तम्घास जाँदा भने तानसेनमा बास बसेका थियौं । होटेल धनुष (गोपनियताका लागि नाम परिवर्तन) – त्यति बेलाको राम्रो होटेल । गार्डेपकै साथीहरुले त्यहाँ लगेर राख्नु भएको थियो । होटेल सफा, शान्त र सुरक्षित थियो । त्यहि अनुभवका कारण तानसेन पुगेपछि होटेल धनुषमै बस्ने प्रस्ताव राखें मैले । बसपार्क वरपर अरु थुप्रै होटेलहरु खुलेका रहेछन् यद्दपि होटेल धनुष सजिलै पत्ता लाग्यो ।

काउन्टर बाहिर दुईजना ब्यक्तिहरु गफ गर्दै थिए । ती मध्ये एकजना गोरा तर पाकेको गोलभेंडा जस्ता आँखा भएका हेर्दै ‘चौबीस घण्टे सोमरसी’ होलान् जस्ता देखिन्थे, झर्रो भाषामा भन्दा ‘ट्वाके’ । यो शब्द प्रयोग गरेकोमा माफी चाहन्छु तर यसको भुगतान् हामीले गर्नुपरेकोले यो भाषा प्रयोग गर्दैछु । हामीले कोठा हेर्ने चाहना राखेपछि उनले हामीलाई कोठा देखाए । कोठा सामान्य थियो, दुई वटा खाट, सेतो तन्ना र सेतै तकियाको खोल अनि चाइनिज ब्ल्याङ्केट । भुइँमा कार्पेट थिएन, बाथरुम चाहिं अट्याच्ड । एक रात बिताउने त हो भनेर कोठा पक्का गरियो । बाथरुममा पानी चेक गरेको आएन । तिनै होटेल साहुजीलाई पानी चढाउन भनेर हामी दाजुभाइ तानसेन घुम्न निस्कियौं । बसपार्क, तानसेन दरबार, टुँडिखेल– सकिइ त हाल्यो । घुमेर फर्कदा पनि धारामा पानी थिएन । माथि ट्याङ्कीमा चढाएकै रहेनछन् बरु आफ्नो ट्याङ्कीमा भने चढाउन भ्याएछन् । सेवा त खत्तम भइसकेको रहेछ । मेरो मानसपटलमा बसेको होटेल धनुषको छवि गल्र्यामगुर्लुम भत्किहाल्यो । शायद होटेलको किनबेच भइसकेको थियो कि जस्तो लाग्छ । होटेल छोड्न त मन थियो तर ढिलो भइसकेकोले त्यो रात जसोतसो बिताउनु बाहेक उपाय थिएन । बिताइयो र सजाय पनि भोगियो । बिहान पाँचै बजे पोखराको लागि निस्कनु पर्ने भएकोले बिल बेलुकी नै तिरिएको थियो । सुत्ने बेलामा भित्ताको कालो दाग देखेर दाइले ‘यहाँ उडुस छ जस्तो छ’ भन्नु भयो । ‘तानसेनमा कहाँबाट उडुस हुन्छ, त्यो पनि माघमा । आनन्दले सुत्नुस्’ भनेर म अजासु –अति जान्ने सुन्ने – पल्टिएँ । र, म पनि सुतें, थाकिएको थियो, सुत्नै बित्तिकै निदाए छु ।

बिहान साढेचार बजेतिर दाइले बिउँझाउनु भयो । उहाँले नित्यकर्म समेत सकिसक्नु भएको रहेछ । नुहाउँदा नुहाउँदै धारामा पानी सकियो रे । हैट, कस्तो घामटको होटेलमा बस्न पुगिएछ । ओछ्यानबाट उठ्नलाई ब्ल्याङ्केट उठाएको त उडुस खुरर्र भाग्यो, अलिक तल अर्को पनि भाग्यो । ‘देखिस् त कस्तो लाग्यो, हिजो पत्याइनस् नि । टोकेर म त रातभरि निदाउनै सकेको छैन’ दाइले भन्नु भयो । मैले आफ्नो गल्ति स्वीकारें । लामखुट्टे, उडुस, उपियाँ र जुम्रा यी सबैले टोक्छन् । तर लामखुट्टेले टोक्ने मात्र हो, बाँकि अरुले चाहिं टोक्ने पनि र बोक्ने पनि । मतलब उडुस, उपियाँ र जुम्रा चाहिं लुगासँगै हाम्रो घरमा पनि पुग्छन् । अनि एक पटक घरमा छिरेपछि उडुसबाट मुक्ति पाउनु महाभारतको युद्ध जिते जस्तै हो । जुन कुराको डरले म रानीघाटमा बस्न डराइरहेको थिएँ, त्यही भयो तानसेनको यो होटेलमा । माघ महिना, मलाई एकदम जाडो लाग्ने भएकोले म थर्मोवेयर (ट्राउजर र टिसर्ट) लगाएरै सुतेको थें । अब, लगाएका सबै लुगाहरु फाल्नु पर्ने भयो अन्यथा उडुस तिनै लुगामा बोकिन सक्थे । त्यसैले लगाएर सुतेको सबै लुगा फुकालेर फालें । नुहाउनलाई पानी थिएन, भएको बोटल (मिनरल वाटरको)को पानीले मुख धोएँ । धन्न शौचादिलाई पुग्ने पानी भने बाल्टिनमा रहेछ । कपालमा अल्झिएर उडुस जाला भनेर धेरै पटक काइँयो गाढीगाढी कपाल कोरें । होटेलको मूलढोका खोलाउनलाई पनि कम्ति कष्ट गर्नु परेन । मनमनै मिस्टर ट्वाकेन्द्रलाई सराप्दै होटेल छोडियो र बिहानको पहिलो बस चढेर लागियो पोखरा तर्फ ।

पोखराको बारे धेरै कुरा गर्दिनँ म अहिले । सराङ्गकोट यात्राको बारे छुट्टै लेख्ने विचार छ । बिहान नुहाउन नपाएको कसर भने होटेल पुग्ने बित्तिकै पूरा गरियो । बादल लागेर मौसम धुम्मिएको थियो, हिमालको दर्शन पाइएन । पोखरा पुगेर अन्नपूर्ण रेञ्ज, माछापुच्छ्रे र धौलागिरी हिमाल देख्न नपाए नून नहालेको तरकारी खाए झैं हुन्छ मलाई । जति पल्ट गए पनि पोखरामा घुम्ने ठाउँ त्यही लेकसाइड न हो । फेवा किनारको पोखरा लिटरेचर फेस्टिभल हुने चौरमा धेरै बेर बितायौं । रातको खाना भने माइली भान्छाघरमा खायौं । पोखरा पुगेर माइली भान्छाघर बारे अनभिज्ञ रहनु हुने ब्यक्तिहरु कमै हुनुहुन्छ होला । केही बर्षअघि कुनै राष्ट्रिय दैनिक (सायद कान्तिपुर)ले ठूलै कभरेज गरेको थियो सो होटेलको । यो होटेलको जानकारी ट्रिपएडभाइजरमा पनि भेट्न सकिन्छ ।

भोलिपल्ट बिहान, कुहिरोको पर्दाबाट अल्छिऽऽऽऽ मानेर उदाइरहेको घामलाई त्यही चौरबाट क्यामेरामा कैद गरेर पोखरालाई बाईबाई गरियो । भ्रमणको प्राथमिक उद्देश्य श्राद्ध गर्नु थियो, पूरा भयो भने द्वितीय उद्देश्य रानीमहलको भ्रमण गर्नु थियो, सो पनि पूरा भयो । तानसेनमा अलिकति दुख पाइयो तर त्यति नभएको भए अहिले लेख्ने मसला पनि कम हुन्थ्यो । दुखः भोग्ने बेलामा त कठिन हुन्छ तर भोगिएको दुःख पछाडि फर्केर हेर्दा भने रमाइलै लाग्ने रै’छ ।

यो लेख लेखिरहँदा रानीमहल नजिकै भेटिएकी ती नानीलाई सम्झिरहेको छु । कस्ती भइन् होला ? बालबच्चा पाइन् होलिन् कि ? त्यति बेला देखिएका भावशुन्य आँखाहरुमा कुनै परिवर्तन आयो कि आएन होल अहिलेसम्म ? परमेश्वरले तिनको कल्याण गरुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।