२०७८ असोज ८ शुकर्बार
Mero Sabda

हाम्रो पालाबाट शनिश्चरेमा परीक्षा केन्द्र


(भोगाइ)

– लिलक सिटौला

हामी कक्षा दश पास गरेका साथीहरुलाई स्कूल प्रशासनले एसएलसी परीक्षामा हौसलाका साथ भिड्ने संकेत दिइसकेको थियो । शनिवारको दिन थियो । हाम्रो मिटिङ नियमित थियो । ठीक एघार बजे बैठक शुरु भयो । बैठकको विषयवस्तु सचिव विष्णु ढकालले प्रकाश पारे । एउटा विषय थियो, माविका सम्पूर्ण गुरुबा–गुरुआमाहरुप्रति सम्मान जनाउने । किनभने जेजस्तो अवस्थामा हामीलाई उहाँहरुले शिक्षा दिनु भए पनि उहाँहरुप्रति उच्च सम्मानको कदर गर्दै हाम्रो बैठक पुस्तिकामा लिखित निर्णय गर्यौं । अर्थात् हाम्रो अफिसको खातामा लिखत गर्यौं । साथै स्कूलभित्रका कर्मचारीलाई पनि धन्यवाद निदइरहन सकेनौं ।

अर्का विषय थियो राजनीतिक । नेविसंघ कुन साथीलाई जिम्मा लगाउँदा संगठन बलियो र विद्यार्थीहरुको हकहित गर्दछ भन्ने थियो । त्यो विषयमा धेरै साथीहरुको नाम हामी एकअर्काबाट आएपछि निर्णयमा जान मुस्किल भयो । त्यो छलफल हामीले किन गरेका थियौं भने हाम्रो म्याद सकिएको थिएन । अझै छ सात महिना थियो । नाम धेरै आयो, कसैले विजय देवान, कसैले रमेश मिन्त्री, केही साथीहरुले दुर्गा सुबेदीको नाम पनि लिएका थिए । लगभग एक बजिसकेको थियो । सबै साथीहरुको कुरा सुनेपछि अब मेरो पालो आयो । मैले साथीहरुलाई सम्झाएर भनें, ‘म एउटा साथीको नाम प्रस्ताव गर्दछु । तपाईहरुले नै दिएको नामभित्रबाट प्रस्ताव गर्दछु । त्यस कुरालाई तपाईहरुले अब जाने बेलामा मान्दिनु हुनेछ ।’

मैले नेविसंघको अध्यक्षमा दुर्गा सुबेदीको नाम प्रस्ताव गरें । सबैभन्दा पहिला दीपक भट्टराई, लीला खतिवडा अनि सरस्वती भेटवालले समर्थन दिए । अरु सबै साथीहरुले ताली पड्काए । प्रस्ताव पास भो । हामीहरुले किन एक जना मात्र चुनेका थियौं भन्दा नयाँ अध्यक्षले अरु साथीहरुलाई उपाध्यक्ष, सचिव र अन्य पदहरु छ सात महिनाको समयभित्र अनुकुल साथीहरुलाई ल्याउने अधिकार समेत हाम्रो बैठक खातामा निर्णय गरेका थियौं । प्रतिवन्धित अवस्थामा काम गर्न सजिलो होस् भनेर ।

भोलिपल्ट आइतवार छ कक्षादेखि दश कक्षासम्म हामीले दश मिनेटको समय लिएर ‘अबको नेतृत्व अर्थात् तपाई विद्यार्थीको हकहितका लागि विद्यार्थी संघको नेतृत्वमा दुर्गा सुबेदीलाई चयन गरेका छौं । तपाईहरुको समस्याहरुलाई उहाँको टीमले सहयोग गर्छ’ भन्दै परिचय कार्यक्रम गरेका थियौं । हामीले ‘स्कूलबाट विदा हुँदा अन्यत्र कतै गए पनि नेविसंघ प्रति हाम्रो आस्था रहनेछ । त्यसै कार्यक्रमहरुमा मैले हाम्रो टीम जहिले पनि न्यायको पक्षमा रहनेछ र मेरो जीवन जहिले पनि नेपाल विद्यार्थी संघप्रति समर्पण रहनेछ । यही हो मेरो जीवन पनि’ भनेर बोलेको थिएँ ।

नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेर हामी एसएलसीको परीक्षा तर्फ मोडिएका थियौं । त्यो बेला एसएलसी पास गर्नु भनेको फलामको गेट तोड्नु पर्छ भन्ने चलन थियो । भन्नुको अर्थ परीक्षा भयंकर कडा हुन्थ्यो ।

दाल, चामल, सुत्ने र ओड्नेको पोको बोकेर परीक्षा केन्द्र कहाँ तोक्छ, हामी जानका लागि तयार भएर बसेका थियौं । त्यो बेलामा मुख्य केन्द्र हाम्रो एरियामा धुलावारीलाई नै तोक्दथ्यो ।

भोलिपल्ट शनिश्चरे बजारमा हल्ला आयो । एसएलसीको परीक्षा केन्द्र शनिश्चरे माविमा कायम भयो अरे । हामी दंग परेका थियौं । आफ्नो स्कूलमा केही छुट र बाहिर गएर पकाएर खानु परेन, भाडामा घर खोज्नु परेन । कति हो कति सुविधा भएको थियो हामी परीक्षार्थीहरुलाई । । त्यस बेलामा शनिश्चरेमा परीक्षा केन्द्र ल्याउनमा त्यस बेलाका भद्रभलाद्मीहरुको ठूलो हात थियो । उहाँहरुको नाम मैले यसअघिकै लेखहरुमा लेखिसकेको छु । हाम्रो पालामा परीक्षा केन्द्र पाएका थियौं । त्यसपछि अहिलेसम्म शनिश्चरे माविमा केन्द्र रहिरहेको छ ।

कतै जानु नपरेपछि हामी आआफ्नो घरमा अध्ययनरत् भएको थियौं । हामी जम्मा एकसठी जना मध्ये को पास हुन्छ, को फेल हुन्छ, त्यो त भगवानले नै जान्नु भएको थियो । मतलब फलामे गेट जे जस्तो भए पनि मेरो र अग्रज दाइहरुको दिमागमा शनिश्चरे स्कूलदेखि नयाँ शिक्षा पढाइ भएबाट अहिले र आजसम्म शनिश्चरे माविको ठूलो र शक्तिशाली एउटा पात्रको नाम यहाँ सम्झिएन भने मैले लेखेका शनिश्चरेका सबै लेख फिक्का हुने भएको हुँदा त्यो पात्रलाई म यहाँ लेखमा प्रस्तुत गर्दछु ।

इलाम जिल्लाको शान्तिडाँडा सुदुक भन्ने ठाउँबाट वि.सं. चन्द्रमाया बस्नेत २०२० सालमा झापा जिल्ला शनिश्चरे वार्ड नं. १ मा आएर शनिश्चरे माविको दक्षिण तर्फको पिपलको बोटमा मटर र मुराइ साथै रातो झोलको पसल खोलेर बसेकी थिइन् । पिपलको बोटमुनि पिपलका जराहरु थिए । त्यही जरामा ओल्टोकोल्टो हुँदै चन्द्रमाया बस्नेतको दोकान थियो । कयौं विद्यार्थीहरुले चन्द्रमाया दिदीले बनाएको खाजा खाएका थिए । दिदीले हजारौं विद्यार्थीलाई खाजा खुवाएकी थिइन् । समयानुसारको रकम लिएर खाजा दिन्थिन् । जे होस्, कहिले पैसा नहुँदा पनि बाँकी दिने महान् दिदीलाई हाम्रो टीमको सधैं सलाम छ । उहाँ अहिले विरामी अवस्थामा हुनुहुन्छ । तर पनि संस्थागत हिसाबले उहाँकी छोरी गीता बुढाथोकी र नातिनीहरुले पिपलको बोट छाडी स्कूलकै सटरमा परम्परागत त्यही नास्ताको परिकार बेचिरहेकै छन् । एउटै खाजाको परिकारहरु आज पनि खुब चलेको छ ।

यो परिवारको पनि शनिश्चरे स्कूलदेखि बजार र विद्यार्थीहरुमा त्यो बेलादेखि अहिलेसम्मका विद्यार्थीहरलई खाजा खुवाउनु निरन्तरताको हिसाबले ठूलो कुरा सम्झिन्छु । भन्नुको अर्थ यो परिवारको पनि शनिश्चरेमा ठूलो योगदान रहेको मैले महसुस गरेको छु । पचासौं बर्षसम्म पनि आलमटर र मुराईको स्वाद एउटै छ । पहिले जे थियो, अहिले पनि त्यही स्वादको पन रहनु ठूलो कुरा हो ।

हाम्रो समाजको बनावट नै त्यस्तै थियो । समाजका महत्वपूर्ण मानिस अर्थात् ठूलाबडाहरुले समाजलाई दिएका ठूलाठूला काम र त्यही संरचनाको मात्र सम्झना आउनु खराब त पक्कै होइन, तर ठूला मानिसहरुले गर्न नसक्ने कामहरु साना मान्छेहरुले पनि गरेका छन् मसिना कामहरु । जस्तै चन्द्रमाया दिदीले खाजा दोकान खोलेरै खाजा खुवाउनु भयो, रिजाल बाजेको चना, चिउरा र चिया, मंगरु दाइको सिंगडा, विशु दाइको पानदोकान, उर्मिला पाल पसल, भोलेनी आमैको दारु दोकान, जुत्ताचप्पल सिलाउने मोची, कपाल काट्ने हजाम, बजार सफा गर्ने डुम समुदाय । यस्तै धेरै पाहरुले अपूरो कामलाई पूरा गरको पाइन्छ ।

समाजभित्रका पात्रहरु चाहे त्यो ठूलो होस्, चाहे त्यो मझौला होस् वा कोही साना हुन्, सबैको योगदान अदृश्य तरिकाबाट हुने गरेको हुँदोरहेछ । जे होस्, शनिश्चरे बजार पनि रंगिचङ्गी रुपको थियो । शनिश्चरेभरि सबै वडासम्म फैलिएको गाउँ पञ्चायत अति नै रमणीय थियो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।