२०७८ असोज ८ शुकर्बार
Mero Sabda

कैसे खाएगा नास्ता 


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

केही दिनअघिदेखि नै अमेरिका र इराकको बारेमा समाचारहरु सुन्दै आइरहेका थियौं । इराकमाथि अमेरिकाले लगाएको व्यापारिक नाकाबन्दीहरुको चर्चा पनि सुन्दै थियौं । त्यस्तै पाकिस्तानमा अमेरिकाले नयाँ क्याम्प पनि खडा गरेको पनि गाईंगुईं हल्लाहरु सुनिन्थ्यो । त्यस्तोमा हामी वैदेशिक रोजगारीमा गएकालाई रोमाञ्चित पार्ने खालको समाचार हुन्थ्यो । मनमा नयाँ कौतुहल पार्ने खालको समाचार हुन्थ्यो । मनमा नयाँ कौतुहल जन्म भइरहन्थ्यो । साँच्चै अमेरिकाले इराकमा हमला गरे कस्तो हुन्छ होला ? त्यहाँ खसेको बमको आवाज हामी भए ठाउँमा सुनिन्छ कि सुनिदैन होला ? हामी साथीहरुबीच यस्तै जिज्ञासाहरु जन्मिन्थे ।

हरेक बेलुका रेडियो र टेलिभिजनबाट यस्ता समाचारहरु सुन्थ्यौं अथवा हेथ्र्यौं । तर अचानक त्यो दिनको उज्यालो भुइँमा खस्न नपाइ नै त्यस्तो कहालिलाग्दो समाचार सुन्न पाइयो । टेलिभिजनमा त प्रत्यक्ष हेर्न पाइएन । त्यसमा पनि खबर मात्र सुन्न पाइयो ।

सबै जना तयार भएर कम्पनीको गाडीमा बस्यौं । गाडीले आफ्नो गन्तव्यमा लगेर छाडिदियो । हामी सबै जनाको अनुहारमा एक प्रकारको त्रासको रेखा देख्न थालेका थियौं । जब नास्ता खाने बेला भयो । सबैले आ–आफ्ना नास्ता निकालेर खान थाल्यौं । तर एक जना भारत विहारका साथी जसको नाम मुजस्सीम थियो । उसले नास्ता खाने इच्छा देखाएन ।

‘किन के भो ? किन नास्ता नखाएको ?’ भनेर प्रश्न ग¥र्यौं । त्यस पश्चात् उसले मलिन अनुहार बनाएर हामीलाई हेर्दै ‘कैसे खाएगा नास्ता भाइ ?’ भन्ने जवाफ दियो । त्यो जवाफ सुनेर हामी सबै गलल हाँस्यौं । उसको शब्द सुनेर हामी हाँस्न त हाँस्यौं । तर हाम्रो मनमा पनि उसलाई जस्तै पीरले डेरा जमाएको थियो । त्यति हाँस्दा आफूसँग भएको डर लुक्छ भने त्यति हाँस्नेलाई के गाह्रो । अन्त्यसम्म पनि उसले त्यो नास्ता खाएन । आखिर जे जस्तो भए पनि ड्युटीमा जानै पर्यो । आफ्नो खानाको झोला क्याविनमा राखेर आफूले काम गर्नुपर्ने साइडमा जानलाई तर्खर गर्यौं ।

त्यही समय फोरमेन आएर हामीलाई सम्झाउन थाल्यो । ‘ड्यिुटी जाने बेलामा सबैले (मोस्टर पोइन्ट) याद गरिराख्नु है’ भनेर अत्यास देखायो । यो मोस्टर पोइन्ट भनेको चाहिं त्यो ग्याँसप्लान्टको चारैतर्फ बाहिर जाने सानो द्वार बनाएको हुन्छ । त्यसको बाहिरतर्फ सानो–सानो राम्रो बनाएर राखेको बस्ने ठाउँ हुन्छ । त्यो ठाउँलाई मोस्टर पोइन्ट भनिन्छ । त्यो मोस्टर पोइन्ट भनेको चाहिं कसैलाई चुरोट पिउन मन लागे त्यहीं गएर पिउँछन् । अनि जब प्लान्टभित्र केही घटना भए काम गर्ने श्रमिकहरु पनि त्यही ठाउँमा जम्मा हुने ठाउँ हो । जब दुर्घटना भएर मृत्यु भए त्यहीं बाहिर आएर श्रमिकको गन्ती गर्ने अनि को चाहिं दुर्घटनामा परेर मृत्यु भयो भनेर थाहा पाउनलाई चाहिं पहिला हामीले राखेको बोर्डको कार्ड हेरेर थाहा पाउने रहेछ ।

जब फोरमेनले त्यस्तो आदेश सुनायो, हाम्रो हंसले ठाउँ नै छोड्यो । शरीरभरि चिट्चिट् पसिना उम्रन थाल्यो । हातखुट्ट शिथिल भएर आयो । ‘ला ! अब चाहिं पक्कै केही हुनेरहेछ’ भनेर हामी आत्तियौं । हामी ड्युटी जान बिर्सेर केहीबेर त्यत्तिकै बस्यौं । भरे केहीबेरमा फोरमेनले ढाडस दिँदै भन्यो, ‘किन डराउँछौ ? केही हुँदैन । इराक त हामीबाट धेरै टाढो पर्छ । फेरि केही भएमा यहाँ पनि त सेफ्टीहरु छ । जाओ नडराओ ।’ उसले त्यति भने पश्चात् हामी गह्रौं पाइला सार्दै कार्यस्थलतर्फ लाग्यौं ।

आफूले काम गर्ने स्थानकै अगाडि या….बडेमानको दुई वटा टंकी ठडिरहेको ठाउँमा अचानक बमको छिटा मात्र प¥यो भने सब सखाप हुन्छ भन्दै हामी एकआपसमा गफ गर्दै डराउँदै डराउँदै काम गर्न थाल्यौं । घरिघरि हाम्रो नजर त्यही मोस्टर पोइन्टतर्फ पुगिरहेको हुन्थ्यो । कुन बेला के हुने हो । सबैको मनमा डरले डेरा जमाइसकेको थियो । यदि केही भएमा त्यो मोस्टर पोइन्टसम्म दौडेर पुग्न कति समय लाग्ला ? हामी एकअर्कालाई प्रश्न गथ्र्यौं । तर जवाफ कसले दिने ? सबै जना नयाँ नयाँ थिए । आजसम्म यस्तो अवस्थाबाट कोही पनि गुज्रिएका थिएनन् ।

विहानको नास्ता त जसोतसो खाइएको थियो, अब दिनको खाना चाहिं कसरी खाने ? यस्तो सन्त्रासको अवस्थामा एक सिता भात पनि मुखमा छिर्ने हो या होइन । फेरि डरले भोक सबैको हराइसकेको थियो । त्यो दिन सायद दिनको खाना खाइएन होला । कुलरको चिसो पानी पिउँदै त्यो दिन जसोतसो बिताइयो ।

जब दुई बज्यो हतार–हतार गरेर त्यही ठूलो टंकीलाई छड्के नजर लगाउँदै क्याविन तर्फ लम्कियौं । हाम्रो मनमा त्रासले गर्दा कति बेला गाडी चढेर क्याम्प पुग्न पाउनु भन्ने अत्यास लागिरहेको थियो । हाम्रो हतारले नहुने । गाडी आफ्नो बेगले दौडिरह्यो । जब गाडी त्यो प्लान्ट र अर्को रास ग्याँसको पहुँचबाट धेरै टाढा पुगेनौं तबसम्म हाम्रो हतास कायम नै रह्यो । जब हामी मुलगेट नाघेरै अगाडि बढ्यौं, तब मात्र लामो शान्तिको श्वास फेर्यौं ।

जब हामी क्याम्प आएर गाडीबाट ओर्लियौं तब नुहाउन छाडेर त्यही ड्रेसमा धेरै बेरसम्म त्यतिकै ओइलाउँदै दिनभरको आफ्नो व्यथाका मालाहरु गाँसी रह्यौं । उताबाट फर्काएर ल्याएको खानाको पोका त्यतिकै भान्सा कोठामा मिल्कायौं । धेरैबेर पश्चात् जब हामी केही सामान्य भन्यौं, तब मात्र आफ्नो अन्य कार्यतर्फ लम्कियौं । जब साँझ पर्यो दिनभरको त्रास धेरै मत्थर भइसकेको थियो । मनमा रहेको त्रासको बादल धेरै नै छाँटिइसकेको थियो । बेलुकीको खाना खाइसकेर आ–आफ्नो बेडमा पल्टेर ‘आ ! जे सुकै होस् । काम गर्ने भनेर परदेशिएपछि यस्तो सानोतिनो डरले के डराउने । जति डराए पनि ड्युटी नगइ हुँदैन । जे पर्ला पर्ला’ भन्दै एकअर्कालाई हौसला दिँदै भोलि आउने दिनको आगमनको प्रतिक्षामा रहेर निदाउने प्रयास गर्न थाल्यौं ।

दोस्रो दिन सदा झैं निन्द्राबाट ब्यूँझिएर नित्यकर्ममा तल्लिन भइयो । सदाझैं गाडी आयो । हामी आफ्नो कर्मभूमि पुग्नलाई गाडी चढ्यौं । जब हामी प्लान्टको मुलगेट नजिक पुग्न लागेको थियौं । बाहिर वातावरणमा तुँवालोले छपक्क छोपेको दृश्य देख्न थाल्यौं । त्यो देखेर मलाई पहिला पहिलाको दिन याद आयो । मनमनमा सोच्न थाले ‘ला ! अब तुँवालो लागेछ । भरे फेरि हिम्युनिटी बढ्ने भो । फेरि गर्मीले सताउने भयो ।’ तर मेरो सोचाइ गलत रहेछ । त्यो तुँवालो त अरुथोककै पो रहेछ ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।