Mero Sabda

जाजरकोटको उपल्लो गाउँ पुग्दा


(संस्मरण)

– निरज आचार्य

सन् २००९ मा झाडापखाला फैलिएर करिब दुई–अढाई सय मान्छेहरु मरेपछि जाजरकोटको रोकाया गाउँ एकाएक चर्चित भएको थियो । उपचारका लागि बच्चा बोकेर सदरमुकाम खलङ्गा आइरहेका बाबुको पिठ्युँमै बच्चा मरेको खबरले स्तब्ध भएको थिएँ । संयोगले त्यसको चार बर्षपछि सोही ठाउँमा जाने मौका मिल्यो । नोभेम्बर २०११ मा जर्ज (व्यक्तिगत गोपनीयताका लागि नाम परिवर्तन गरिएको) र म त्यस तर्फ जाने भयौं ।

नेपालगञ्जबाट कार्यालयको गाडीमा छिन्चु, सल्लिबजार हुँदै पश्चिम रुकुमको चौरजहारी पुग्यौं र अर्जुनजी (नाम परिवर्तन गरिएको)लाई भेट्यौं । अर्जुनजी रोकाया गाउँको स्थानीय भएकाले उहाँलाई लोकल गाइडको रुपमा हामीसँग जान आग्रह गरेका थियौं, जुन उहाँले सहजै मानी दिनुभएको थियो । चौरजहारी भेरी नदीको पूर्र्वी किनारमा लमतन्न सुतेको टार, करिब पाँच किमी लामो र एक किमी चौडा । पश्चिम रुकुम र जाजरकोटका बासिन्दाको लागि भरपर्दाे बजार । त्यहाँ कलेज, एअरपोर्ट र मिशन अस्पताल पनि थियो, अहिले त धेरै विकास भइसकेको होला । चौरजहारीबाट डोल्पा जाने बाटो बन्दै थियो । गाडी चौरजहारीबाट केही परसम्म मात्र जान सक्थ्यो । करिब चार बजेतिर हामीले चौरजहारी र ड्राइभर दुबैलाई बिदा गर्यौं र यात्राको असली शुरुवात् गर्यौं ।

भर्खर खनिदै गरेको बाटोमा कतै सजिलै र कतै अप्ठ्यारो गरी हामी झमक्क साँझ पर्दा मसाने भन्ने ठाउँमा बास बस्न पुग्यौं । सडक किनारामा दुई–चार वटा घरहरु थिए । तिनै मध्ये कुनै–कुनै घरका पिंढीमा खाना बनाउने चुल्हो देखिन्थ्यो, ती होटेलहरु रैछन् । अर्जुनजीले एउटा होटेलमा बास मिलाउनु भयो । खाना खाएपछि कोठा सित्तैमा पाइने रहेछ । कोठामा एउटा खाट थियो, जर्जजी र म त्यसमा सुत्ने भयौं । हामीले आआफ्नो स्लिपिङ ब्याग बोकेका थियौं, त्यसैले सजिलो भयो । अर्जुनजीको लागि भुइँमा ओछ्यान लगाइ दिनु भयो होटेलको दिदीले । होटेलमा चर्पी भने थिएन । पिसाब गर्न घर भन्दा पछाडिको खेतमा जानु पर्ने । गाउँमा बिजुली बत्ती पुगेको थिएन । खाना खाइवरी चाँडै नै सुत्ने तर्खर गर्यौं । सुतेको एकछिन्पछि जिउमा सक्सक् लाग्न थाल्यो, उडुस पो हो कि । उठेर टर्च बालें । ‘के भो ?’ जर्जजीले सोध्नु भयो । ‘उडुस जस्तो छ’ मैले भनें र टर्चको उज्यालोमा स्लिपिङ ब्याग यसो पल्टाएर हेरें । साँच्चै नै उडुस देखियो । ‘लौ जा बर्बाद भो, उडुस रै छ’ मैले भनें । यतिञ्जेलसम्म जर्जजी र अर्जुनजी दुबै उठिसक्नु भएको थियो । जर्जजीको स्लिपिङ ब्यागमा पनि देखियो, एक दुईवटा त हामीले मार्यौं पनि । तर के गर्ने, सुत्नु त थियो । सुत्यो कि सक्सक् गर्छ, यतै चिलाउँछ उतै चिलाउँछ । आठ बजेतिरै सुतेको हामी करिब एघार बजेसम्म त्यत्तिकै बित्यो । त्यसपछि भने कुन सड्को निदाइयो । बिहान उठ्दा त जर्जजीको देब्रे आँखा त टेनिस बल जत्रो भएछ, आँखामुनि नै टोकेछ । ‘खैरेको रगत मिठो हुन्छ भनेर धेरै टोक्यो जस्तो छ’ हाँस्दै भन्नु भयो जर्जजीले । हामी सबै मज्जाले हाँस्यौं । शौचादिका लागि सुबिधा नभएकोले हामी दाँत मात्र माझेर बिहान सातै बजे होटेल छोडेर अगाडिको यात्रा तर्फ लाग्यौं ।

सडक भेरी नदीको किनारैकिनार थियो । कार्तिकको बिहानी, अलिअलि कुहिरो लागेको । धान काटेर खाली भएका खेतहरुबाट काँचो परालको बास्ना आइरहेको थियो । शितले लछ्लप्रै भिजेको परालमा कलिलो घाम पर्दा मधुरो बाफ उडिरहेको देखिन्थ्यो । त्यो बाफको पछाडि भेरीको सेतो बगर र नागबेली परेर बगिरहेको भेरी नदी । अनि नदीपारि पत्र–पत्र हरिया–नीला पहाडहरु । अवर्णनीय थियो त्यो दृश्य । क्यामेरामा कैद गरें त्यो पललाई । सामान्य सोनी साइबर सटले दृश्य त कैद गर्यो तर त्यसको सुन्दरतालाई त्यही गहिराइमा कैद गर्न भने सकेन ।

नौ बजेतिर चिया खान रिम्ना भन्ने ठाउँमा पुग्यौं । रुकुमतिरबाट आएको सानी भेरी र डोल्पाबाट आएको ठूली भेरीको संगममा भएको जाजरकोट तर्फको सानो बजार हो रिम्ना । रिम्नाको पुरानो झोलुङगे पुल तरेर ठूली भेरीको किनारैकिनार उत्तर लागेपछि जाजरकोटको उत्तरी क्षेत्र र डोल्पा पुगिन्छ भने सानी भेरीको किनारैकिनार पूर्व लागेमा रुकुमको रुकुमकोट । त्यतातिरबाट मध्यपहाडी लोकमार्ग खनिदै थियो । रिम्नामा चिया खाएर उत्तर तर्फ लाग्यौं, बाटोमुनि भेरी गहिरो नीलो रुपमा बग्दै थियो । यहाँदेखि घोडेटो शुरु भयो, खच्चरका लादि ठाउँ–ठाउँमा भेटिन्थे । केहीबेरको घोडेटोको यात्रापछि पुनः खनिदै गरेको सडक भेटियो, यो चाहिं डोल्पा जाने सडक थियो । त्यस्तो विषेश केही थिएन बाटोमा, आम पहाडी भूगोल र बाटो, फाट्टफुट्ट घर र पसलहरु । भेटिएका पसलहरु पनि अक्सर बन्द । दिउँसो गर्मी नै थियो । भोक लाग्न थालेपछि भने खाना खाने ठाउँको खोजी गर्न थालियो । अर्जुनजीले चिसापानी भन्ने ठाउँमा खाना खाने सल्लाह दिनु भयो । त्यहाँ पुग्नु भन्दा आधा घण्टाअगाडि जति जर्जजीको जुत्ताको सोल आधी खुस्कियो । त्यो गाउँमा अब कसरी बनाउनु ? उहाँले नै जुक्ति निकाल्नु भयो, डोरीले बाँधेर काम चलाउने र कुनै बजार भेटिए सुपर–ग्लु किनेर टाँस्ने । तर त्यसले गर्दा हिंडाइको गति आधा घट्यो, चिसापानी पुग्न करिब एक घण्टा लाग्यो । त्यस बीचमा दुई–तीन पटक जुत्ता बाँधेको डोरी फेर्नु पर्यो । केहीबेर हिंडेपछि धसिएर डोरी चुँडिइ हाल्थ्यो ।

चिसापानी पुगेर खाना अर्डर गर्यौं । खाना पाकुञ्जेल सुस्ताउने समयमा जुत्तालाई थप केही गर्न सकिन्छ कि भनेर जुगाड गर्दा ग्याबियन तार फेला पर्यो, त्यसैले बेसरी बाँधेर जुगाड गरियो । तर यसले पनि काम गरेन । चुँडिन त चुँडिएन, फलामे तार के चुँडिन्थ्यो तर फुस्किरहने समस्या भयो । पुनः कपडाको डोरि बाँध्दै कालिमाटीसम्मको करिब एक घण्टाको दूरी तय गरियो । चिसापानीदेखि केही पर झोलुङ्गे पुल तर्नु पथ्र्यो । पारिपट्टि सडक थिएन । त्यो भन्दा अगाडिको सबै बाटो घोडेटो र सामान ढुवानीको मूख्य साधन खच्चर । कालिमाटी पुग्दा तीन बजिसकेको थियो । बास बसिहाल्ने त बेला भएको थिएन तर यो भन्दा अगाडि बढे अर्को बास बस्ने ठाउँ शाक्ला नपुगिने भएकोले कालिमाटीमै बस्नु पर्ने भयो ।

कालिमाटी त्यस भेगको मूख्य बजार । बजार के भन्नु, केही कपडा, किराना, भाँडाकुँडा, किलाकाँटा, औषधि पसलहरु र केही होटेलहरु । बजार नलगाड खोलाको पश्चिमी किनार तर्फ । उत्तर–पूर्वतिरबाट आएको ठूली भेरी नदीमा जाजरकोटको उत्तर तर्फबाट आएको नलगाड नदी मिसिएको ठाउँमा बसेको कालिमाटी बजार र बस्ति । नलगाड, चार सय मेगावाटको जलाशय युक्त जलविद्युत परियोजना प्रस्ताव भएको नदी । सो परियोजनाको पावरहाउस यही कालिमाटी बजार भन्दा पारि बन्ने रे । पारिपट्टि हाईस्कूल र बस्तिहरु थिए, जसलाई नलगाडमाथिको झोलुङ्गे पुलले जोडेको थियो । त्यहाँ होटल खोजियो । होटल साहुनीलाई शुरुमै उडुस भए नभएको बारे जिज्ञासा राखें । उहाँले उडुस नभएको र ग्राहकबाट कहिल्यै गुनासो पनि नआएको भन्नु भयो । बिश्वास त थिएन तर कोठा बुक गर्यौं । हामीलाई थाहा थियो कालिमाटीमा जुन होटेलमा गए पनि उडुसले छाड्ने बाला छैन भनेर । ढुङ्गाको घरलाई माटो र गोबरले चिल्लो पारेर पोतेको कोठा, काठको झ्याल ढोका, नदी किनाराको बजार अनि खच्चड हिंड्ने बाटो । उडुस हुनुपर्ने सबै सर्त पूरा थियो । होटेलमा चर्पी थियो, तल नलगाडको तीरमा । जे होस् बिहान मसानेमा शौच गर्न नपाएको भर्पाइ कालिमाटीमा पूरा भयो । जर्जजीको जुत्ताको लागि सुपर–ग्लु खोज्यौं । त्यो नै त पाइएन तर त्यस्तै कुनै डुप्लिकेट चिज पाइयो, त्यसैले जुत्ता टास्यौं ।

मसानेमा झैं जर्जजी र मैले एउटा कोठा पायौं । अर्जुनजीले भने अर्को कोठामा अरु यात्रीहरुसँगै रात बिताउनु पर्यो । हिंडाइले थाकिएको थियो, खाना खाने बित्तिकै सुतेको भुसुक्कै निदाइयो । उडुसले टोकेको पनि थाहा भएन । बिहान बिउँझिदा शरीरमा जताततै चिलाइरहेको थियो, भसक्कै टोकेछ ।

कालो चिया खाएर बिहानको यात्रा थालियो । कालिमाटी भन्दा अगाडिको बाटो एकदम सुन्दर थियो । ढुङ्गे पहरोलाई खोपेर बनाएको सानो बाटो र त्यसको मुनि बेगले बगेको नलगाड । नदीको आवाज दुईतिरको पहरोमा ठोकिएर निरन्तर प्रतिध्वनित भइरहने । करिब पन्ध्र मिनेट जतिको हिंडाइपछि भने गोरेटो, नदी किनार छोडेर अलि माथि–माथि लाग्यो । त्यतैतिर कतै मेरो देब्रे खुट्टा मर्कियो, बिस्तारै दुख्न थाल्यो । खप्न सकुञ्जेल त कसैलाई पनि भनिनँ तर जब दुखाइ बढ्न थाल्यो, तब नभनी सुखै भएन । मसँग क्रेप ब्यान्डेज थियो, जहाँ जाँदा पनि बोक्ने गरेको थिएँ । खुट्टा र गोलीगाँठोमा मजाले क्रेप ब्यान्डेज बाँधे, दुखाइ अलि कम जस्तो भयो तर पूरै ठीक भएन । अर्जुनजीले रुखको हाँगा भाँचेर टेक्ने लट्ठी बनाइ दिनु भयो ।

म यात्रा बीचमा रोकेर फर्कन चाहन्न थें । पहिलो कारण– निकै लामो तयारीपछि यो यात्राको साइत जुरेको थियो । त्यो बेला फर्कनु परेको भए पछि फेरि त्यहाँ गइन्थ्यो गइँदैनथ्यो भन्न गाह्रो छ । म मेरो कारणले अरुको यात्रा भाँडियोस्, त्यो कदापि चाहन्न थें । दोस्रो कारण– हामी यात्राको यस्तो मुकाममा थियौं जहाँबाट अगाडि बढ्न वा पछाडि फर्कन, जे गरे पनि नहिंडी सुखै थिएन । जब हिंड्नु नै छ भने अगाडि नै जाने, जे होला देखा जायेगा भन्ने मुडमा पुगें । म पेन किलर (ब्रुफिन) खान चाहन्थें तर जर्जजीले नखाने सल्लाह दिनु भयो । सल्लाह मनासिब थियो, किनकि पेनकिलरले दुखाइ त कम गथ्र्यो तर त्यही कम दुखाइमा खुट्टामा केही सिरियस समस्या भएमा पत्तो नलाग्ने सम्भावना पनि बढ्थ्यो । तसर्थ बिना औषधि लट्ठीको सहारामा बिस्तारै हिंड्दै अगाडि बढियो ।

धेरै पर पुगेपछि बाटोमा एउटा गोठ भेटियो, त्यहाँ मकैको रोटी पाक्दै थियो । हामीलाई पनि खुवाउनु हुन्छ कि भन्दा गोठको दाइ तयार हुनु भयो । आँटाको जस्तो पातलो रोटी खुवाउनु भयो । आहा ! कस्तो मिठो । त्यति पातलो र त्यति मिठो मकैको रोटो न मैले पहिला खाएको थिएँ, न त्यसपछि खान पाएको छु । भरपेट मकैको रोटी खाएर गोठ छेउको झोलुङ्गे पुल तरेर हामी अगाडि बढ्यौं । यात्रा अगाडि बढ्दै जाँदा बिस्तारै बनस्पतिहरु फरक देखिन थाले । कोणधारी सल्लाका रुखहरुको मात्रा बढ्दै जान थाल्यो । तल ठूल्ठूला ढुङ्गाहरु बीच दुधिलो रंगमा नलगाड नृत्य गरे झैं लाग्दथ्यो । केही पर पुगेपछि अर्जुनजीले नलगाडको जलाशय बनाउने प्रस्तावित ठाउँ यही हो भनेर देखाउनु भयो । चाइनिज प्राविधिक टोलीले सर्वेक्षण गरेर गएको जानकारी पनि दिनुभयो । हाल नलगाडको काम कहाँ पुगेको छ कुन्नि, छुट्टै कार्यालय त खुलेको छ ।

बीच बाटोमा सानो गाउँ बाहेक शाक्ला नपुगन्जेल कुनै बस्ति भेटिएन । पूर्वतिरबाट झरेको सानो खोलाले बनाएको सानो फाँटमा केही घरहरु थिए शाक्लामा । त्यसैको छेउमा नलगाडमाथि झोलुङगे पुल । पुल तरेर हामी पारि गयौं । केही बेर नलगाडको बगरैबगर र त्यसपछि खेतको सिरानी हुँदै अर्को गाउँमा पुग्यौं । त्यो गाउँ भन्दा अगाडि जाने हिम्मत थिएन ममा । त्यसो त चार बजिसकेको थियो । पाँच बजेपछि त अँध्यारो हुन थाल्थ्यो । गाउँमा कहाँ होटेल पाउनु र बास बस्नु । अर्जुनजीले जसोतसो एक जना शिक्षकको घरमा बास मिलाउनु भयो । स्थानीय प्राथमिक विद्यालयका शिक्षक हुनुहुँदो रहेछ । उहाँको घर र उहाँको दिदीको घरसंगै रहेछ, त्यसैले खाना दिदीको घरमा खाने गर्नु भएको रहेछ । हामीलाई पनि त्यस्तै बन्दोबस्त भयो, यानिकि शिक्षकको सुत्ने कोठा र दिदीको हातको भोजन उपलब्ध हुने भयो, गजब भयो । हामी दुई रात त्यहाँ बस्यौं । कारण मेरो दुखेको खुट्टाले आराम पाओस् भनेर । हामी खुट्टाको दुखाइको मनिटर गर्न चाहन्थ्यौं, ताकि यदि दुखाइ खप्न नसक्ने भयो भने त्यहींबाट फर्कन सकिन्थ्यो । भोलिपल्ट खुट्टामा गाईको घिउ दल्ने, स्लिपिङ्ग ब्याग सुकाउने र नुहाउने काम भयो मेरो । जर्जजी र अर्जुनजी चाहिं माथि गाउँको निरीक्षण गर्न जानु भयो । साँझ, सरले सोलारमा एउटा नेपाली सिनेमा देखाउनु भयो । बिजुली नपुगेको त्यो ठाउँमा सोलारमा सिनेमा हर्न पाउँदा म छक्क परेको थें । भोलिपल्ट बिहान दिदीलाई खानाको पैसा र सरलाई कोठाको लागि कृतज्ञता ब्यक्त गर्दै हामी अगाडि बढ्यौं ।

एक घण्टा जति हिंडेपछि काउले भन्ने अर्को सानो बजार आइपुग्यो । त्यहाँबाट तत्कालिन् रोकाया गाउँ र नायकबाडा गाबिस जाने बाटो छुट्टिने रहेछ । उत्तर–पूर्व लागे नायकबाडा र पश्चिम–उत्तर लागे रोकाया गाउँ । हामीलाई रोकाया गाउँ जानु थियो, त्यसैले हामी पश्चिम उत्तर तर्फ लाग्यौं । त्यो भन्दा अगाडि एक–एक पोका चाउचाउ बनाउन लगाएर खायौं । कति बेला भात खान पाइने हो, टुङ्गो थिएन ।

खोलाको तिरैतिर पश्चिम तर्फ पैंतालिस मिनेट हिंडेर पन्ध्र मिनेट जति उकालो चढेपछि लिम्सा भन्ने ठाउँ आउँदो रहेछ । त्यो भन्दा उत्तर डाँडामा करिब एक–डेढ घण्टाको दूरीमा रोकाया गाउँ । लिम्सामा एउटा ठूलो विद्यालय पनि थियो, जहाँ केही काष्ठकर्मीहरु काम गर्दै थिए । एकछिन् त्यो विद्यालयको पेटीमा सुस्ताएर हामी रोकाया गाउँ तर्फ लाग्यौं । गाउँ पुग्दा एघार बजेको थियो । उकालो हिंडेर थाकिएको थियो र भोक पनि लागेको थियो ।

गाउँमा एउटा पसल रहेछ, जहाँ केही मान्छेहरु गफ गर्दै थिए । हामी पनि त्यही सुस्तायौं । अर्जुनजीले करिब–करिब सबैलाई चिन्नु हुने रहेछ । खानाको लागि कुरा गर्दा एकजना चौबिस–पच्चिस बर्ष जतिका हंसिला युवकले आफ्नो घरमा बनाउने हुनु भयो । तर त्यसको लागि एक घण्टा जति समय लाग्ने बताउनु भयो । गजब भयो, यस बीचमा हामीले गाउँलेहरुसँग कुरा गर्न पाउने भयौं । हामीले त्यहाँको मौसम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य सुविधा, रोजगारी, भारत आप्रवासन र सन् २००९ को झाडापखाला बारे कुरा गर्यौं । जीवन सहज छैन पहाडमा, दुर्गम पहाड मा त पटक्कै छैन । सदरमुकाम पुग्न दुई दिन लाग्छ । गाउँमा बत्ती छैन । भएको हेल्थपोष्टमा स्वास्थ्यकर्मी छैनन् । कदाचित स्वास्थ्यकर्मी भेटिए औषधि छैन । धेरैलाई आफ्नो उत्पादनले छ महिना भन्दा बढी खान पुग्दैन । छ महिना तरकारीको लागि सिस्नु, गुन्द्रुक आदि जोहो गर्नु पर्छ । कमाउनको लागि भारतमा न्यून वैतनिक रोजगारीमा नगइ हुन्न । मतलब सुख छैन । तर यी सबका बाबजुद मान्छेहरु हँसिला छन् । सहयोगी छन् । खुशी देखिन्छन् । सुखी हुनु र खुशी हुनुमा ठुलो अन्तर रहेछ । भौतिकरुपमा सुखी नभए पनि खुशी हुन ठीक कि सुखी भएर पनि खुसी हुन नसक्नु ठीक ? बहसको विषय होला । त्यसो त ब्यक्तिगत प्राथमिकताको कुरा पनि होला । दुबै हुनसके त सुनमा सुगन्ध भै हाल्यो ।

एक घण्टापछि खाना पाक्यो होला भनेर सोध्यौं । ती युवकले त कुराको सुरमा घरमा भन्नै बिर्सेका रहेछन् । परेन फसाद । अर्को एक घण्टा कुर्ने समय हामीसँग थिएन । तिनको घरमा बिहानको केही रोटी रहेछ र अलिकति तरकारी पनि । हामीले त्यही भए काफि हुन्छ भनेपछि उहाँले हामीलाई आफ्नो घरमा लैजानु भयो । दुई तले घर । जाडो ठाउँ भएकोले होला होचो र ससाना झ्याल भएको । भान्सा कोठा माथिल्लो तलामा रहेछ । उहाँको श्रीमती चुल्होमा दाउरा फुक्दै हुनुहुन्थ्यो । भान्सा धुँवाले कुहिरीमण्डल थियो । भान्सामा एउटा कुकुर थियो, यसो यताउता फक्र्यो कि झम्टिउँला झैं गर्दथ्यो । उहाँको सानो छोरा थियो भर्खर टुकुटुकु हिंड्न थालेको । उसको नाकभरि सिंगान थियो र कम्मरमुनि ऊ नाङ्गै थियो । ती बहिनीले हामीलाई बिहानको रोटी र तरकारी दिनु भयो । तरकारी हेर्दा त हरियो साग जस्तो लाग्थ्यो तर केको हो चिनिदैन थियो । कारण धेरै पाकेर चन्दन जस्तो भएको थ्यो र सेलाएर अलि कक्रक्क पनि परेको । खाँदा पनि नून बाहेक अरु स्वाद पाउन सकिनँ मैले ।

एउटा रोटी र दिएको साग जसोतसो सिध्याएँ । जर्जजीले भने त्यो साग थपेर खानु भयो । बिहानको रोटीले नपुग्ला भनेर बहिनी रोटी बनाउँदै हुनुहुन्थ्यो । सानो केटो कुन सटको नाङ्गो जिउ रोटी बेल्ने चकलामा बसिदियो । उसलाई हटाएर त्यही चकलामा रोटी बेलेर तावामा हाल्नु भयो । हामी त्यो देखेर अघाइ हाल्यौं, हिन्दी चलचित्र थ्री इडियटको खुजलिवाली रोटीको सम्झना आयो । खानाको पैसा दिएर हामी हिंड्न खोज्यौं । लिन मान्नु भएको थिएन, बल्लतल्ल दियौं । बरु काँक्राको बोटमा एउटा पाक्न तयार भएको काँक्रो झुण्डिएको देखेर त्यो माग्यौं, खुशी साथ दिनु भयो । त्यो दुर्गम गाउँमा रुखासुखा जे भए पनि भन्ने बित्तिकै खान पाइयो । पेट भर्न पाइयो । ती दम्पतिप्रति म कृतज्ञ छु र सदा रहने छु । अब करिब तीन घण्टाको सुनसान बाटो हिंड्नु थियो । एक–डेढ घण्टाको विश्रामले मेरो खुट्टाको दुखाइ भने केही कम भएको थियो ।

रोकाया गाउँबाट तेर्सैतेर्सो निकै परसम्म गएपछि ओह्रालो झरेर खोलामा पुग्नु पर्ने रहेछ । त्यहाँ पुग्दासम्म मेरो खुट्टाको दुखाइ बढ्न थालिसकेको थियो तर उपाय थिएन । खोलामा केहीबेर बिश्राम गरेर अघि ल्याएको काँक्रो खाइवरी उकालो लागियो । ठाडै उकालो रहेछ । हम्मेहम्मे पयों मलाई । त्यहाँ वरपर बास बस्ने ठाउँ भएको भए म त्यतै बास बस्न जोड गर्थें होला । तर हाम्रो पुग्नु पर्ने गाउँ भन्दा अगाडि कुनै गाउँ थिएन र त्यस भन्दा पछाडि पनि । हामी त्यो भेगको अन्तिम बस्तिमा जाँदै थियौं । त्यो भन्दा अगाडि बस्तिहिन लेक थियो र त्यसको पारिपट्टि जुम्ला । बाटो जंगलको बीचबाट जान्थ्यो । अर्जुनजीको भनाइ अनुसार जंगलमा भालु निकै छन् रे । मानिसहरुलाई आक्रमण गरेको घटनाहरु पनि । तसर्थ अलमल गर्ने गुन्जाइस थिएन, उज्यालैमा गाउँ पुग्नु थियो । बडो मुश्किलले आफूलाई करिब–करिब घिसार्दै धेरै ठाउँमा बिसाउँदै झमक्क साँझमा गाउँ पुगियो । यो गाउँ अर्जुनजीको गाउँ, त्यसैले उहाँकै घरमा बास बसियो ।
जाजरकोटको यो सुदूर उत्तरी गाउँले त्यतिबेलासम्म कुनै विदेशीलाई देखेको रहेनछ । जर्जजी पहिलो बिदेशी नागरिक हुनुभयो त्यहाँ पुग्ने । त्यसैले अर्जुनजीको घरमा बेलुकी राम्रै जमघट थियो गाउँका अगुवाहरुको । जर्जजीले फरर्र नेपाली बोलेको देखेर उहाँहरु अचम्म हुनु भयो । त्यसैले कुराकानी गर्न धेरै सजिलो पनि भयो । अगेनाको वरिपरि बसेर कुरा गर्यौं हामीले । अर्जुनजीको आमाले पकाउनु भएको तातो रोटी र स्थानीय मह खांदै निकैबेरसम्म गाउँको भौगोलिक, आर्थिक, सामाजिक र राजनैतिक विषयमा कुरा गर्यौं । आगो नजिक हुनुको फाइदा उठाएर खुट्टामा तेल घसें मैले, मालिस गर्न एक प्रकारको जडिबुटी पनि दिनु भयो अर्जुनजीको बुबाले । मड्केर दुखेको र हिंडेर थाकेको खुट्टाले निकै राहत महसुस गर्यो । बाहिर निकै चिसो थियो । करिब पच्चिस सय मिटर उचाइ जो थियो । म अलि चाँडै सुत्न गएँ । जर्जजीहरु राति निकैबेरसम्म गफ गर्नु भएछ ।

बिहान उठेर गाउँको दर्शन गरियो । गाउँ ठीकैको थियो । करिब साठी–सत्तरी वटा जति घरहरु डाँडाको बीचदेखि करिब तल खोलासम्म छरिएका । डाँडा पश्चिम फर्किएकोले बिहानको घाम नआउने, खोलापारिको गाउँमा झलमल घाम लाग्दा यता भने ओझेल पर्ने । गाउँको पुछारमा स्कूल थियो । स्कूलको हेडमास्टर सत्ताइस बर्षअघि गोर्खाबाट जागिर खान आउनु भएको रे, र त्यतै बिहेबारी गरी बस्न थाल्नु भएको रे । उहाँ आफैंले सुनाउनु भएको । अहिले त पुग्नलाई तीन दिन हिंड्नु पर्ने ठाउँ, उहाँ जागिर खान आउँदा कति दुर्गम थियो होला ? कुन उत्प्रेरणाले उहाँलाई त्यहाँ ल्याइ पुर्यायो होला ? कुन हौसलाले टिकायो होला ? सोध्न त मन थियो, समयले साथ दिएन ।

नौ बजेतिर हामी अर्जुनजीको घरमा बिदा मागेर फर्कियौं । खाना घरमै खुवाएर मात्र जान दिनु भयो । अर्जुनजीको घरको बसाइ आफ्नै घरमा बसे झैं भयो । फर्कदा बाटोमा दुई रात बास दिनुहुने सरलाई भेट्न मन थियो तर घरमा भेटिनु भएन । बाटो ओह्रालो भएर होला, साँझ नपर्दै शाक्ला आइपुग्यौं । त्यसो त मेरो खुट्टाको दुखाइ पनि अलि कम भएको थियो, शायद जडिबुटीको कमाल होला । शाक्लामा एकजना सेनाबाट सेवानिवृत्त हुनुभएको भाइले होटेल चलाउनु भएको रहेछ । होटेल सफा थियो र खाना पनि उत्तिकै मिठो ।

भोलिपल्टको बास रिम्नामा गरियो । अर्को दिन रिम्नाबाट चौरजहारी फर्कदा बाटोमा निकै भिडभाड देखिन्थ्यो । ठूलो एकादशीको दिन रहेछ । चौरजहारी मेला लाग्दोरहेछ । त्यसैले मेला भर्न जानेहरुको लर्को थियो । तिनै मेलालुहरुको साथ लाग्दै चौरजहारी पुगियो । बाटोमा राणाकालिन मटेलाको झोलुङ्गेपुलको अवलोकन गर्नु थियो र केही सूचनाहरु पनि संकलन गर्नु थियो ।

त्यो दिनको बास चौरजहारीमा थियो । सात दिनको हिंडाइमा लुगा मैलेर काति भइसकेको थियो । त्यो भन्दा बढी पाइन्टको मोतामा खच्चरको गोबर लागेर पूरै जिउ खच्चर जस्तै गन्हाउने भएको थियो । होटेल पुगेर लगाएको पाइन्ट फुकालेर फालियो र नुहाएर ताजा भइयो । अर्को दिन नेपालगञ्ज हुँदै काठमाडौं फर्कनु पर्ने । शितलहरले गर्दा साँझ पाँच बजेको प्लेन राति एघार बजे नेपालगञ्जबाट उड्यो, बल्ल राति बाह्र बजे घर पुगियो । उडुसको संगतबाट आइएएको थियो । त्यसैले बाहिर आँगनमै सबै लुगा फुकालेर नुहाइयो । ब्यागलाई पनि बाहिरै छोडेर बल्ल घरभित्र छिरियो । भोलिपल्ट सबै लुगाहरु उम्लिएको पानीमा डुबाएर धोएपछि मात्र भित्र लाने आँट गरियो । यो तरिकाले काम गर्दोरहेछ । घरमा कुनै उडुस आजसम्म भेटेको छैन ।

दोहोर्याएर रोकाया गाउँ पुग्ने मौका मिलेको छैन । जान मन छ, कति परिवर्तन भयो होला । जिल्ला सदरमुकाम पुग्न दुई दिन लाग्ने त्यो गाउँलाई अहिले गाउँपालिका केन्द्र पुग्न चाहिं कति समय लाग्छ होला ? गाउँको सिहंदरबारले जीवन अलि सहज त भएको होला नि ।

काठमाडौं

प्रतिकृया व्यक्त गर्नुहोस् ।