२०७८ असोज ८ शुकर्बार
Mero Sabda

परीक्षाहलभित्र छुरी देखाएर कपी सारियो


(भोगाइ)

– लिलक सिटौला

ठीक दश बजेको थियो । हामी सबै विद्यार्थीहरु आआफ्नो परिचयपत्र देखाएर परीक्षा दिन शमावि प्रवेश गरिसकेका थियौं । एसएलसीको पहिलो परीक्षा दिन जाँदा सर्ट र पेन्ट धोवीकोमा लगेर आइरन लगाएर चिटिक्क भएर नै पहिलो जाँच दिन गएको थिएँ । त्यो दिन मैले दुर्गा मन्दिरमा बिहानै गएर पूजा पनि गरेको थिएँ । किनभने यो परीक्षा भनेको फलामको गेट भन्ने उखान अर्थात् चलन थियो । अरु परीक्षा जस्तो हल्लाखल्ला थिएन । शान्ति थिए सबै परीक्षार्थीहरु । आआफ्नो सिम्बल नम्बर भएको सिटमा बस्नु पर्नेरहेछ ।

मेरो सिम्बल नम्बर ६१६१६भी थियो । अरु साथीहरुको पनि आआफ्नो नम्बरहरु थिए । त्यो मलाई थाहा भएन । म आफ्नो नम्बरमा बसें । एउटा ठूलो बेञ्चमा मात्र दुई जना परीक्षार्थी हुन्थे । मेरो नम्बरको बेञ्चमा मेगराज भट्टराई थियो मसँगै । पहिलो परीक्षा अंग्रेजी थियो । म मात्र होइन असी प्रतिशत विद्यार्थीलाई अंग्रेजी आउँदैनथ्यो । वास्तवमा एसएलसी फलामकै सिंडी रहेछ ।

शनिश्चरे हाईस्कूलको पूर्व र पश्चिम फर्किएका भवन थिए । अहिले त्यो देख्न पाइँदैन, भत्काइसकिएको छ । अंग्रेजीको जाँच हुँदा छानाको टीन भएको स्कूलमा बाहिरबाट ससाना ढुङ्गामा कोइसन पेपर हालेर फाल्ने चलनले शुरु भयो । जाँच दिनेभन्दा बाहिरबाट चोराउनेको आवाज बढी घन्किन्थ्यो । दिनमा ढुङ्गा बारिस हुनथाल्यो । के लेख्ने भन्दा पनि बाहिरबाट आएको ढुङ्गामा के आयो भन्ने जिज्ञासा विद्यार्थीलाई बढी हुन्थ्यो ।

मलाई कस्तो लाग्यो भने फलामको गेट भन्ने हल्ला थियो, विद्यार्थीका अभिभावकले र आफन्तले दश बर्ष घरमा राखेर पढाएको हिसाब कहाँ कता गयो भनेर हामीलाई प्रश्नको उत्तर बाहिरै हेरेर पठाएका रहेछन् । भेट्नेले भेट्दथे, न भेट्नेहरु चिल्लै हुन्थे । जे होस् आफ्नो छोराछोरी जसरी भए पनि पास होस् भन्ने अभिभावकको चाहना गलत थिएन ।

तर मलाई भने चिटसिटको मतलब भएन । कारण मेरो बेञ्चमा मेघराज भट्टराई थियो । ऊ स्कूलमा गनेमानेको पढनदास थियो । त्यो बेलाको शब्दमा भन्नु पर्दा पढाइमा रिप्पु थियो । खै कुन सरले मलाई माया गरेर त्यो मेरो साथी मेरै बेञ्चमा राखिएको थियो । मेघराज भट्टराईले मलाई परीक्षाको बेला मज्जाले सघाएको थियो । मैले परीक्षा दिंदा अंग्रेजी र हिसाबमा त्यति दखल थिएन । अरु बिषयमा म अब्बल नै थिएँ ।

माथि उल्लेख गरेका विषयमा परीक्षा दिइसकेको थिएँ । मेरो एउटा बानी जहिले खराब रह्यो । पेन्टको पेटी लगाउने स्थानमा साइकलको चेन र एउटा सानो चुप्पी लिएर हिंड्ने बानी थियो । परीक्षामा म यी सबै सामाग्री लिएर हिंड्थें । किनभने कहिलेकाहिं हिंड्दा पनि मण्डलेको ममाथि आक्रमण हुने सम्भावना त्यो बेलामा थियो । त्यो मेरो वाध्यता पनि थियो ।

जिल्ला शिक्षा अधिकारहरुले स्कूलमा कडा गरेका थिए । सबै अभिभावक र आफन्तहरुलाई स्कूलको छानामा ढुङ्गा मार्फत चित पठाउन प्रतिबन्ध लगाएपछि स्कूलको छानामा सबै कुरो बज्न छाडेको थियो । हाम्रो पालामा आर्थिक पढाइमा धेरै लेख्नु पर्दथ्यो । सायद अहिले पनि त्यही होला– डेबिट, क्रेडिट आदि इत्यादि ।

अंग्रेजी, इकोनोमिक्समा म मात्र होइन, मेरो टीम र अरु साथीहरुले धेरै मेहनत गरेर परीक्षा दिएका थिए । शनिश्चरे स्कूलमा एउटा उत्सव जस्तै भएको थियो । हामी नेविसंघका पुराना साथीहरु परीक्षा दिएर मंगरु दाइकोमा, जसलाई अरुले चाचा भन्थे, चिया र सिंगडा खान गएका थियौं । खाजा खाएर तिर्ने पैसा हामीसँग थियो । हाम्रै टीमको कुनै साथीसँग थियो । अर्थात् विष्णु ढकालसँग थियो ।

शनिश्चरे बजारभित्र मोटे राइको देकानको छेउमा एउटा ठूलो कदमको रुख थियो । त्यही रुखमुनि बसेर विष्णुले हाम्रो भाषामा भन्ने हो भने डाइस खेलाउँथ्यो । उसलाई परीक्षासँग मतलब थिएन । खाली डाइस खेलाएर पैसा कमाउन पाए भयो । मोहन जोशी सरले ‘यो गुण्डा एसएलसी परीक्षा त दिंदैछ, तर पास हुँदैन’ भन्नु भयो मलाई । त्यही बेला जोशी सरले विष्णुको नाम घटघटे राख्नु भएको थियो । घटघटे भनेको हातले डाइसका गोटीहरु हल्लाउनेलाई भनिएको थियो ।

जे होस्, हामीले खाजा खाएको पैसा विष्णुले तिर्न आँटेको थियो । मगरु दाइले पैसा लिन मान्नु भएन । म छक्क परें । एक बेला ‘ऐ साले चोर’ भन्ने मंगरु दाइले पैसा हुँदा पनि लिएनन् । मैले भनें, ‘के हो मंगरु दाइ, पैसा लिनुहोस् ।’ उनले भने, ‘तपाईहरु यस ठाउँको नेता भएको खुशीयालीमा म पैसा लिन्न । जय होस् ।’

मलाई के लाग्यो भने मेरो मनमस्तिष्क, जिउहरुमा ठूलो परिवर्तन आए जस्तो भयो । खैर जे होस्, भोलिपल्ट अर्थशास्त्रको परीक्षा थियो । हामी आआफ्नो स्थानमा नम्बरसँग सम्बन्धित विद्यार्थीहरु बसेका थियौं । परीक्षा शुरु भयो । त्यो दिन हाम्रो कक्षाका सबैभन्दा ठूला मानिस श्री डिल्लीराम दहाल हुनुहुन्थ्यो । अर्थशास्त्रमा म पनि अध्ययनशलि भएको विद्यार्थी थिएँ । तर यति धेरै लेख्नु पर्दथ्यो कि म भन्दा दश गुणा बढी मेघराज भट्टराईले लेख्दथ्यो । म पनि लेखिरहेको थिएँ । मानौं सय मिटरको दौडमा मलाई मेघराजले सबै कुरामा छाड्यो ।

अनि मलाई भयंकर रिस उठ्यो र भनें, ‘ए मेघराज ! तँ लेख्न रोक, नत्र’ भनेको मात्र थिएँ, उसले ‘के गर्छस्’ भन्यो । मैले बोक्ने छुरी उसको छेउमा गाडिदिएँ । ऊ अत्तालिएर ‘सर ! लिलकले छुरी देखायो’ भनेर डिल्लीराम सरलाई पोल लगायो । सरले भन्नुभयो, ‘मिलेर परीक्षा दिनु ।’ मेघराजको कुरा अदालतले मानेन । म ढुक्क भएर उसको कपी तानेर लेख्न थालें ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।